७ वैशाख २०८१ शुक्रबार
अर्थ

मकवानपुरको निर्यात व्यापारमा भारी गिरावट

मकवानपुर - सरकारले समृद्धिको नारा लगाइरहे पनि मकवानपुरबाट भारत तथा तेस्रो मुलुक हुँदै आएको निर्यात व्यापारमा धेरै कमी आएको छ । देशको समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका बेला मकवानपुरबाट हुँदै आएको निर्यात व्यापारमा पनि कमी आएको देखिन्छ।

मकवानपुरबाट चालु आर्थिक वर्ष ०७४- ७५ को साउनदेखि पुससम्मको ६ महिनाको तथ्यांक अनुसार भारत तथा तेस्रो मुलुकमा भएको निर्यात व्यापार करिब ६१ प्रतिशतले घटेको छ । अघिल्लो आव ०७३÷७४ को पहिलो ६ महिनामा मकवानपुरबाट नौ करोड ७१ लाख ३१ हजार चार सय रुपैयाँ बराबरको निर्यात व्यापार भएकामा चालु आवको सोही अवधिमा निर्यात व्यापार तीन करोड ८० लाख ४९ हजार तीन सय रुपैयाँ मात्र भएको छ ।

गिटी, बालुवा सबैभन्दा धेरै निर्यात गर्दै आएको मकवानपुरमा क्रसर उद्योग बन्द र्हुातमा सबैभन्दा बढी असर पारेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । उनका अनुसार अदुवा निर्यातमा समेत अवरोध सिर्जना भएपछि निर्यात व्यापार खस्किएको छ ।जिल्लाको निकासीमा ह्रास आउनुमा लोडसेडिङ, मजदुर समस्या र उद्योगहरु बन्द हुनु जस्ता कारण रहेको अध्यक्ष कटुवालको भनाइ छ । गत आवको पहिलो ६ महिनामा मकवानपुरका सातवटा उद्योगको निर्यातका लागि मकवानपुर उद्योग वाणिज्य संघले उत्पत्तिको प्रमाणपत्र जारी गरेकामा चालु आवमा तीनवटा उद्योगमा सीमित भएको छ ।

चालु आवको पहिलो ६ महिनाको अवधिमा प्रोजिओकेम प्रालि, बालाजी नेचुरल इन्डस्ट्रिज र सिएसआई नेपाल प्रालिले मात्र भारतमा आफ्ना उत्पादन निर्यात गर्न सफल भएको छ ।आव ०६९- ७० को पहिलो ६ महिनामा मकवानपुरबाट २२ करोड २९ लाख ८६ हजार रुपैयाँ बराबरको निर्यात गर्न सफल भएको थियो । तर पाँच वर्षको अन्तरालमा निर्यात व्यापारमा भारी गिरावट आएपछि उद्योगी, व्यवसायी समेत चिन्तित छन् । पाँच वर्षअघि २५ निर्यातमूलक उद्योगमा सबैभन्दा बढी १९ वटा क्रसर उद्योग रहेका थिए ।

क्रसरजन्य उत्पादन विदेश निर्यात ठप्प पारिएसँगै नवीकरण र सञ्चालनमा समेत रोक लगाएपछि क्रसर उद्योग धरासायी बन्दै गएका छन् । देशकै पुरानो हेटौंडा औद्योगिक क्षेत्र रहेपनि भित्रिएको बहुराष्ट्रिय उद्योगलाई रोक्न नसक्दा निर्यात व्यापारमा योगदान दिन सकिएको छैन ।हेटौंडा औद्योगिक क्षेत्र भाग २ निर्माणका क्रममा रहेको बताउँदै उद्योग संघ हेटौंडाका अध्यक्ष नवराज अर्यालले औद्योगिक क्षेत्र १ मा पनि उद्योग सञ्चालनको राम्रो वातावरण बने मात्र विदेशमा सामान निर्यात गर्ने उद्योग थपिने बताए ।

प्रदेश ३ को अस्थायी राजधानी हेटौंडा तोकेपछि औद्योगिक वातावरणमा सुधार हुने उद्योगीले आशा गरेपनि त्यसो हुन नसकेको उनको भनाइ छ । मुख्यमन्त्री डोरमणि पौडेलसहित प्रदेशका मन्त्रीले औद्योगिकीकरण विना समृद्धिको सपना पुरा नहुने बताएपनि त्यसतर्फ काम अघि बढ्न सकेको छैन ।

औद्योगिक ऐनमा भारी सुधार गर्दै उद्योगीमैत्री कानुन बनाउने उद्घोष गरेपनि प्रदेश सरकार ऐन, कानुन निर्माण र स्थायी राजधानीको विषयमै केन्द्रित रहेको छ ।देशकै केन्द्रभागमा रहेको हेटौंडा औद्योगिक क्षेत्रमा ९५ वटा उद्योग सञ्चालनमा छन् । हेटौंडा औद्योगिक क्षेत्रमा पाँच हजार किलोवाट थपिएर १० हजार किलोवाट विद्युत्को व्यवस्था गरेसँगै लोडसेडिङ मुक्त भएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख नेपाल भुषण बैद्यले बताए । उनका अनुसार साँझ ६ देखि राती १० बजेसम्म विद्युत् कटौती हटाइएपछि आरएम केमिकल्स, एसिएन पेन्टस् लगायत उद्योग तीन सिफ्ट चलाउन थालेका छन् ।

बिराट लेदर, नेपाल बनस्पती घ्यू उद्योग भने सञ्चालनको तयारीमा छन् । केही समयअघि मात्र फेसन पेन्ट्स्, सुप्रिम प्लास्टो, श्री हाइड्रो पावर, लक्ष्मी टेक्नोप्लास्ट, सूर्य पेन्ट्स्लगायत नयाँ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्रमा करिब चार हजार जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।औद्योगिक क्षेत्रभित्र एसिएन पेन्ट्स, बर्जर पेन्टस्, सिएसआई क्लोजर सिस्टम गरी तीन बहुराष्ट्रिय उद्योग सञ्चालित छन् । बहुराष्ट्रिय कम्पनी युनिलिभरदेखि शिवम् सिमेन्ट, हेटौंडा सिमेन्ट, निक जस्ता ठूला उद्योगहरु हेटौंडा औद्योगिक क्षेत्रबाहिर सञ्चालित छन् ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०१:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App