coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

उपत्यकामा रगत अभाव

काठमाडौं – काठमाडौं उपत्यकामा रगत अभाव भएको छ। मागको तुलनामा अत्यन्तै न्यून परिमाणमा रगत संकलन हुँदा अत्यावश्यक बिरामीका लागि उपलब्ध गराउन कठिन भइरहेको नेपाल रेडक्रस रक्तसञ्चार केन्द्रले जनाएको छ। सामान्यतया दसैंतिहारजस्ता चाडमा लगातार धेरै दिन बिदा हुँदा केन्द्रमा रगत अभाव हुन्थ्यो। पछिल्ला दिनमा भने सधैंजसो अभाव हुन थालेको केन्द्रका अधिकारी बताउँछन्।

ठूला अस्पताल खुल्नु र ती अस्पतालमा विभिन्न खालका शल्यक्रिया सेवा सुरु भएसँगै रगतको माग ह्वात्तै बढेको छ। केन्द्रका अनुसार राजधानीमा दैनिक चार सय पिन्ट हाराहारीमा रगत माग छ। केन्द्रका उपनिर्देशक डा. प्रकाश यादवले आइतबार साँझ ४ बजेसम्म २२ पिन्ट रगत केन्द्रमा संकलित भएको बताए। ‘एक ठाउँको आउँन बाँकी छ, सयदेखि डेढ सय पिन्ट आउला। माग धेरै छ, संकलन थोरै हुन्छ। अनि कसरी पुग्छ?’

सामान्यतया दसैंतिहारजस्ता चाडमा लगातार धेरै दिन बिदा हुँदा रगत अभाव हुन्थ्यो। पछिल्ला दिनमा भने सधैंजसो अभाव हुन थालेको रक्तसञ्चार केन्द्रका अधिकारी बताउँछन्।

सबैभन्दा बढी शनिबार रगत संकलन हुँदै आएको थियो। अचेल शनिबार पनि रगत संकलनमा कमी आएको छ। शनिबार पाँच सय पिन्टको लक्ष्य राखेर सात ठाउँमा रक्तदान कार्यक्रम राखिएकोमा एक सय ६७ पिन्टमात्रै संकलन भएको यादवले बताए। संकलित रगत साँझै सकिएपछि आइतबार व्यवस्थापन गर्न कठिन भएको केन्द्रले जनाएको छ।

आइतबार विभिन्न अस्पतालको सिफारिसमा रगत लिन बालकुमारीस्थित केन्द्रमा पुगेका सेवाग्राही रित्तो हात पर्खिनुपरेको थियो। ‘धेरैजसो सेवाग्राहीलाई रगत समूह मिल्ने मान्छे खोजेर ल्याउनुस् भन्न गरेका छौं। त्यसरी पनि रगत संकलन गरेर ‘प्रोसेसिङ’ गरी उपलब्ध गराउँदै आएका छौं,’ यादवले भने, ‘आकस्मिक शल्यक्रिया गर्नुपर्ने अवस्थाका बिरामीका आफन्तले घन्टौं कुर्नुपर्दा झन्झट बेहोर्नुपरेको छ।’ उनले अस्पतालबाट हतारिँदै आएका सेवाग्राहीलाई परामर्श दिएर रक्तदाता खोज्न लगाउने, रगत निकाल्ने र प्रोसेसिङ गर्न समय लाग्ने भएकाले सेवाग्राहीले झन्झट बेहोर्नुपरेको बताए।

केन्द्रका अनुसार रगत संकलन गरेपछि समूहका आधारमा सामान्य अवस्थामा रगत दिनयोग्य बनाउन एकदेखि डेढ घन्टा लाग्छ। यस्तै विशेष खालका कम्पोनेन्ट रगत तयार पार्न तीन घन्टासम्म लाग्छ। ‘सेवाग्राही आत्तिएका हुन्छन्,’ यादवले भने, ‘हामीसँग पनि विकल्पै हुन्न।’

केन्द्रले दिनभर जोहो गरेर साँझ बाँड्ने गरेको रगत रातिको समयमा सकिन्छ। रातिको समयमा केही मौजदात नभए आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीको ज्यान जोखिममा पर्न सक्छ।

हाल काठमाडौंमा एक हजार दुई सयवटा संघसंस्थाले रगत संकलन गर्दै आएका छन्। अधिकांशले वर्षको एकदुईपटक मात्र रगत संकलन गर्छन्। तीबाहेक माडवारी सेवा समितिका तर्फबाट सुवास गोयलको अगुवाइमा वर्षौंदेखि हरेक बिहीबार र शुक्रबार काठमाडौंको भूगोलपार्कमा रगत संकलन हुँदै आएको छ। संघबाहेक विभिन्न संघसंगठनले पनि रगत संकलन गरिरहेका छन्। यस्तो प्रयास पछिल्लो माग धान्न पर्याप्त नभएको केन्द्रले जनाएको छ।

गत वर्ष देशभर तीन लाख ३७ हजार पिन्ट रगत माग भएको थियो। अहिले नेपाल रेडक्रसअन्तर्गत ७५ जिल्लाका १०६ रगत केन्द्र संकलन तथा वितरण केन्द्र कार्यरत छन्। तीबाहेक केही ठूला अस्पतालले आफ्ना एकाइमार्फत रगत संकलन गरिरहेका छन्। सर्वसाधारणमा रगतदान गर्दा स्वास्थ्यमा असर गर्छ भन्ने भ्रम, रक्तदान जीवन दान भन्ने नाराबारे सबैमा जनचेतना नहुनु तथा रक्तदान गर्न महत्वपूर्ण नठान्ने प्रवृत्तिका कारणले नयाँ रक्तदाता आउने क्रम कम भइरहेको छ। १८ वर्ष उमेर पुगेका र विशेष रोग नभएका जोकोहीले तीनतीन महिनामा रगत दान गर्न सक्छन्।

‘विशेष खर्च गर्ने पैसा पनि हुन्न, सामान्य खर्चको रिकभरी हुने पैसा मात्रै हुन्छ,’ यादवले भने, ‘विशेष बजेट वा अनुदान भए जनचेतना वृद्धि वा संकलन विशेष अभियान चलाएर भए पनि मागअनुसार संकलन गर्न सकिन्थ्यो।’ सरकारले रेडक्रसलाई रक्तसञ्चार व्यवस्थापनको जिम्मेवारी २०२३ सालदेखि दिएको हो। रक्तसञ्चार सेवासम्बन्धी नयाँ नीति जारी गरेपछि पनि रगत आपूर्ति र वितरणको जिम्मेवारी २०४८ सालदेखि केन्द्रले गर्दै आएको छ।

प्रकाशित: १४ जेष्ठ २०७५ ०१:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App