५ वैशाख २०८१ बुधबार
समाज

कमिसन खेलले चामल ढुवानी हुन नसकेको आरोप

सदरमुकाममा रहेको संस्थानको कार्यालयमा चामल लिन आएका स्थानीय। तस्बिर : पवित्रकुमार शाही

कालिकोट – जिल्लाको पलाता गाउँपालिका र आसपास क्षेत्रका बासिन्दाले चामलको चरम अभाव झेल्दै आएका छन्। नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाले थिर्पु खाद्य डिपोमा खाद्यान्न ढुवानी नगर्दा खाद्यान्नको चरम अभाव भएको हो।

सधैं भोकमरी हुने पलाता क्षेत्रमा खाद्यान्नको अभाव हुँदा यसपटक पनि भोकमरी हुने संकेत देखिएको छ। नेपाल खाद्य संस्थान बिक्री वितरण केन्द्र सुर्खेतका प्रमुख भीमबहादुर थापाले कमिसन मागेको र आफूहरूले दिन नमानेका कारण खाद्यान्न ढुवानीमा समस्या भएको ढुवानी जिम्मा लिएका ठेकेदारहरूको आरोप छ।

खाद्य संस्थान बिक्री वितरण केन्द्र सुर्खेतका प्रमुख भीमबहादुर थापाले कमिसन मागेको र आफूहरूले दिन नमानेका कारण खाद्यान्न ढुवानीमा समस्या भएको ढुवानी जिम्मा लिएका ठेकेदारहरूको आरोप छ।

‘खाद्यान्न ढुवानीका लागि सुर्खेत वितरण केन्द्रका प्रमुखले कमिसन माग्नु भएको थियो,’ एक ठेकेदार कमल गुरुङले भने, ‘हामीले दिन मानेनौं, त्यही भएर ढुवानी गर्न समस्या भएको हो।’ अर्का खाद्यान्न ढुवानीका ठेकेदार निलो तिरुवाले पनि ढुवानी रकममा हाकिमले मागेको कमिसन आफूहरूले दिन नमानेकै कारण पलाता क्षेत्रका लागि छुटाएको खाद्यान्न नै कटौती भएको आरोप लगाएका छन्। ‘चामल ढुवानीमा कमिसन खेलका कारण पलाता क्षेत्रको खाद्यान्न ढुवानीमा नै कटौती भएको छ,’ उनले भने, ‘यसमा सुर्खेतका हाकिमले बदमासी गरेका छन्।’

नेपाल खाद्य संस्थान सुर्खेत बिक्री वितरण शाखाका प्रमुख भीमबहादुर थापालाई सम्पर्क गर्दा फोन उठेन। नेपाल खाद्य संस्थान बिक्री वितरण केन्द्र सुर्खेतले केही बदमासी गरेकाले खाद्यान्न ढुवानीमा समस्या आएको नेपाल खाद्य संस्थान बिक्री वितरण महाशाखा थापाथली काठमाडौंका प्रमुख सुरेन्द्र विष्टले बताए। ‘हामीले पनि सुर्खेत वितरण केन्द्रबाट खाद्यान्न ढुवानीमा केही बदमासी गरेको भन्ने सुनेका छौं,’ उनले भने, ‘त्यही भएर पलाताको थिर्पु डिपोमा खाद्यान्न ढुवानीमा समस्या आएको छ।’

नेपाल खाद्य संस्थान केन्द्रीय कार्यालय थापाथलीले कर्णाली प्रदेशका २७ वटा डिपोमा ९२ हजार क्वीन्टल खाद्यान्न माग भएको तर पलाता क्षेत्रको थिर्पु डिपोका लागि खाद्यान्न नै माग नगरेको जनाएको छ।

नेपाल खाद्य संस्थान सञ्चालन समितिले मौज्दात खाद्यान्न सकिएको र थप खाद्यान्न ढुवानीका लागि स्विकृति नगर्दा माग भएर आएको खाद्यान्न आपूर्ति गर्न नसकिएको नेपाल खाद्य संस्थान बिक्री वितरण महाशाखा काठमाडौंले जनाएको छ। कर्णाली क्षेत्रका विभिन्न डिपोबाट खाद्यान्न माग आएको तर सञ्चालक समितिले थप खाद्यान्न ढुवानी स्विकृति नगर्दा समस्या भएको छ।

पलाता क्षेत्रमा खाद्यान्नको चरम संकट भएकाले आपूर्तिका लागि नेपाल खाद्य संस्थानसँग माग गरिएको तर अहिलेसम्म खाद्यान्न नआएको पलाता गाउँपालिका अध्यक्ष लक्ष्मण बमले बताए। उनले भने, ‘खाद्यान्न नहुँदा भोकमरी हुने देखिएको छ।’

गाउँमा चामल अभाव, सदरमुकाममा फालाफाल
जिल्लाका अधिकतर गाउँ तथा नगरपालिकाका स्थानीयले चामल पाउन सकेका छैनन्। तर सदरमुकाममा भने क्वीन्टलका क्वीन्टर चामल छन्। सदरमुकाम मान्ममा रहेको नेपाल खाद्य संस्थानको कार्यालयमा ६ सय ३२ क्वीन्टल चामल मौज्दात रहेको निमित्त कार्यालय प्रमुख खर्कबहादुर बुढाले बताए । जिल्लाका तीन ठाउँमा स्थानीय डिपो छन्। तर, सदरमुकाम बाहेकका डिपोमा चामल अभाव भइरहने स्थानीय बासिन्दा बताउँछन्।

पलाताको खिन घर भएका वीरबहादुर विक र राम विक चामल लिन जिल्ला सदरमुकाम पुगेका छन्। गाउँको डिपो खाली भएपछि उनीहरू सदरमुकाम पुगेका हुन्। ‘थिर्पु डिपोबाट चामल लिने गरेका थियौं,’ वीरबहादुर विकले भने, ‘खच्चरबाट चामल ढुवानी गर्नुपर्ने बाध्यता भयो। चामल थिर्पु भएको भए धेरै सुविधा हुने थियो।’ हाल सदरमुकामबाट कम्तिमा १२ देखि १५ क्वीन्टल चामल बिक्री भइरहेको निमित्त प्रमुख बुढाले बताए। तिलागुफा नगरपालिकामा रहेको खल्लागाड खाद्य डिपोमा ६० क्वीन्टल चामल मात्र मौज्दात रहेको डिपो प्रमुख प्रेमबहादुर थापाले बताए।

प्रकाशित: १४ जेष्ठ २०७५ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App