८ वैशाख २०८१ शनिबार
कला

डोल्पाका बालबालिकाको लागि म्याराथुन डान्स

काठमाडौं– डोल्पाका बालबालिकाको सहयोगार्थ राजधानीमा शनिबार म्याराथुन डान्स आयोजना गरिएको छ । स्नो याक फाउन्डेसनमार्फत डोल्पाका बालबालिकालाई सहयोग गर्नका लागि रोट्रयाक्ट क्लब अफ न्युरोड सिटी, रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पस तथा सेन्ट जेभियर्स स्कुलमा सोसियल वर्क पढ्ने विद्यार्थीहरूको संयुक्त आयोजनामा म्याराथुन डान्स भएको हो ।

यसअघि आठसय बालबालिकाका लागि कापी किताब लगायतका पठन सामग्री उपलब्ध गराउँदै आएकामा अबदेखि बाह्रसय बालबालिकाका लागि सहयोग जुटाउनका लागि म्याराथुन डान्स आयोजना गरी आर्थिक संकलन गरिएको रोट्रयाक्ट क्लबका अध्यक्ष अबिन तुलाधरले बताए । तीनघण्टा  लागतार डान्स गरेर अन्तिमसम्म जो टिक्न सक्छ उ नै विजयी हुने नियम अनुसार सहभागीहरूलाई नचाइएको थियो।

कार्यक्रमको संयोजन गरेका सेन्ट जेभियर्सस्थित सोसियल वर्कमा स्नातक गरिरहेका सरु घिमिरे र टिना मानन्धरले पढेको कुरालाई  व्यवहारमा पनि लागु गर्ने उद्देश्य अनुरुप कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । ‘ यत्तिकै पैसा लिनभन्दा सहयोग  दिनेलाई मनोरञ्जन पनि दिउँ भन्ने अभिप्रायले डान्स म्याराथुनको कन्सेप्ट निकालेका हौं । अरुको खुशीको लागि केही गर्न सक्नु पनि राम्रो हो नि ,सरुले भनिन् । 

स्नो याक फाउन्डेसनका सञ्चालक विनोद शाहीले डोल्पामा पढ्न नपाउने बालबालिकालाई सहरका बालबालिकाले सहयोग गर्नुपर्छ भन्ने मान्यता बोकेर सन २००५ देखि कापी कलम लगायतका सहयोग गरेर दिइरहेको सुनाए । ‘विदेशीसँग मैले कहिले पैसा लिइँन,’ उनले भने, ‘नेपालको समस्या आफै समाधान गर्नुपर्छ ।’ काठमाडौंमा डोल्पाका बालबालिकालाई पढाउने अवसर पाएपछि शाही  डोल्पाप्रति उत्सुक भएका थिए । 

डोल्पा पुगेपछि उनले थाहा पाए त्यहाँ बाँच्नु नै ठूलो कुरा हो । उनका अनुसार वर्षको छ महिना हिउँले ठप्प हुने जीवनयापनकाबीच बालबालिकाले पढ्न पाउने कुरै भएन । बाँकीको छ महिना स्कुलमा शिक्षक नहुँदा उनीहरू पढ्न पाउन्नथे ।

त्यसपछि आफै सहयोग बटुलेर स्वयंसेवी शिक्षक बनेर शाहीले केही वर्ष पढाए । एक्लैले गरेर सम्भव नहुने देखेर आफूजस्तै स्वयंसेवी खोजेर अभियान नै चलाए । विद्यार्थीसँग कापी किताब अनि गृहणी आमासँग मरमसला र खाद्यान्न सहयोग लिएर उनी डोल्पाका बालबालिका पढाइरहेका छन् । ‘मैले पढाएका बालबालिका कोही गएको चुनावमा वडा अध्यक्ष भए कोही शिक्षक भैसके,’ म्याराथुन डान्स कार्यक्रममा सहभागि हुन आएका उनले भने, ‘अबको पुस्ताले आफै डोल्पा बनाउन भन्ने सोच राखेको छु ।’ अहिले १७ जना शिक्षकलाई फाउन्डेसनका तर्फबाट वर्षको ५० हजार न्युनतम खर्च दिएर पढाउने व्यवस्था मिलाएका छन् ।

सरकारी शिक्षकको दरबन्दी भएपनि भौगोलिक विकटताका कारण उनीहरू त्यस ठाउँमा बस्न रुचाउँदैनन् । त्यसैले कहिले फिल्म देखाएर ,कहिले सांस्कृतिक कार्यक्रम गरेर अनि सानो सानो सहयोग बटुलेर उनी खर्च जुटाउँछन् । राजधानीको नेवार समुदायका भएपनि उनी फरक भूगोलमा फरक काम गरेकैले चर्चित पनि छन् ।
म्याराथुन डान्सबाट करिब ५० हजार सहयोग बालबालिकालका लागि पठाउन सकिने अनुमान आयोजकले गरेका छन् । डान्समा झण्डै ३ सय सहभागि भएका थिए । तीनघण्टा समयको अन्तिम सम्म नाचेर उत्कृष्ट भएका १३ जनाले पुरस्कार समेत पाएका थिए।
 
 

प्रकाशित: १४ जेष्ठ २०७५ ०४:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App