१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मुहान भत्काउँदा खानेपानीको हाहाकार

सुर्खेत – सिम्ता गाउँपालिका–१ घोरेटाकी कस्तुरीकुमारी रानाको दैनिकी खानेपानीको जोहो गर्नमै बित्छ । एक गाग्री पानी ल्याउन उनलाई तीन घण्टा समय लाग्छ। ‘विहानदेखि रातिसम्म पानी बोक्दै ठिक्क हुन्छ’ उनले प्रश्न गरिन्, ‘कहिलेसम्म यसरी पानी बोक्नुपर्ने हो थाहा छैन्।’ बस्तीदेखि ओरालोमा मुहान छ । पानी बोकेर उकालो चढ्दा सास्ती हुने गरेको उनले बताइन् । जाजरकोटसँगको विवादका कारण पानीको मुहान र पाइपलाइन काटिएपछि उनीजस्तै यहाँका करिव दुई सय घरधूरीलाई अहिले पानीको जोहो गर्न हम्मेहम्मे भइरहेको छ ।

सुर्खेत र जाजरकोटबीच वर्षौदेखि सीमा विवाद छ । यहीँ विवादका कारण जाजरकोटको शिवालय गाउँपालिकाका बासिन्दाले पानीको मुहान भत्काउनुका साथै पाइपलाइन काटिदिएपछि घोरेटामा खानेपानीको समस्या भएको हो । घोरेटामा पानीको स्रोत छैन् । खानेपानीका लागि जाजरकोटको शिवालय गाउँपालिकाको लयकाँडा मुहानको भर पर्नुपर्छ। पछिल्लो समय जेठ ४ गते शिवालय गाउँपालिका–२ का स्थानीयले लयकाँडाको मुहान भत्काउनुका साथै पाइपलाइन काटिदिए। ‘विवाद समाधानका लागि दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच पनि पटक–पटक वार्ता र छलफल भएका हुन्’ वडा सचिव लालबहादुर विकले भने, ‘केही दिन मिलेजस्तो देखिन्छ, फेरि उस्तै समस्या आइहाल्छ।’

वडा सचिव विकका अनुसार क्षेत्रीय अनुगमन तथा सुपरिक्षण कार्यालयले उपलब्ध गराएको एक करोड रुपियाँबाट खानेपानीको मुहान सुधारको काम भइरहेको थियो। मुहान सुधारको काम अन्तिममा पुगेका बेला शिवालयका युवाहरुले भत्काइदिए। घोरेटाबासीले २०४२ सालदेखि यहाँको पानी प्रयोग गर्दै आइरहेका छन्।

‘खानेपानीकै विषयमा वर्षौदेखि दुई जिल्लाबीच विवाद हुने गरेको छ’ सचिव विकले भने, ‘अन्तर जिल्ला स्थानीय तह, प्रहरी र प्रशासनबीच पटक–पटक छलफल भएपनि स्थायी समाधान हुन सकेको छैन् ।’ अघिल्लो वर्ष पनि शिवालयका स्थानीयले खानेपानीको पाइप काटे। महिनौसम्म घोरेटाबासीले सास्ती भोगे। त्यसको विरुद्धमा सिम्ताका बासिन्दाले जाजरकोट सडक अवरुद्ध पारिदिए । तीन दिनसम्म सडक अवरुद्ध भएपछि दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच छलफल भयो। 

शिवालयका बासिन्दाले खानेपानीमा अवरोध नगर्ने र सिम्ताका बासिन्दाले सडक अवरोध नगर्ने सहमति बन्यो । ‘प्रमुख जिल्ला अधिकारीबीच भएको सहमतिको दुई सातापछि फेरि विवाद उत्पन्न भयो’ स्थानीय विष्णु शर्माले भनिन्, ‘फेरि खानेपानीका पाइप काटिए, घोरेटामा खानेपानीको हाहाकार भयो ।’

वर्षौदेखि उपभोग गर्दै आएको पानीमा पटक–पटक अवरोध हुन थालेपछि स्थानीयले फेरि जिल्ला प्रशासन कार्यालयलाई गुहारे । फेरि छलफल भयो । केही समय पानीमा अवरोध भएन् । खानेपानीको स्रोत सुर्खेती बस्तीमा छैन् । घोरेटालगायतका आसपासका बस्ती खानेपानीका लागि जाजरकोटको स्रोतको भर पर्नुपर्ने अवस्था छ।

खानेपानीको समस्या समाधानका लागि दुई गाउँपालिकाबीच पनि पटक–पटक छलफल नभएका होइनन्, समाधान भने फेला परेको छैन्। सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी र शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्र शाहीबीच भएको पटक–पटकको छलफलमा खानेपानीमा अवरोध नगर्ने सहमति भएको हो । तर, स्थानीय स्तरमा त्यो कार्यान्वयन हुँदैन्। 

अब गाउँपालिका आफैँ कानुनी प्रक्रियामा जाने तयारीमा छ । ‘अब एक पटक फेरि शिवालय गाउँपालिकासँग खानेपानीको दीर्घकालिन समाधानका लागि छलफल गछौं’ अध्यक्ष केसीले भने, ‘समाधानको उपाय नआए कानुनी प्रक्रियामा जान्छौं ।’ उनले खानेपानी जनताको मौलिक अधिकार भएकाले अवरोध गर्न नहुने बताए । ‘हामीसँग पानीको स्रोत छैन्, उता (जाजरकोट) प्रशस्त स्रोत छ’ उनले भने, ‘वर्षौदेखि प्रयोग गर्दै आएको मुहानमा अवरोध हुँदा तीन सयबढी घरधूरी समस्यामा परेका छन् ।’

प्रकाशित: १४ जेष्ठ २०७५ ०४:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App