८ वैशाख २०८१ शनिबार
समाज

घाँसका लागि उपभोक्ता नै लगाउँछन् सामुदायिक वनमा आगो

डडेल्धुरा –  डडेल्धुराका सामुदायिक वनमा आगो लाग्ने क्रम शुरु भएको छ । सुक्खायाम र गर्मी मौसम बढेसँगै डडेल्धुराका करीब दर्जनभन्दा बढी सामुदायिक र सल्लेरी वनमा आगो लागेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । 

जिल्लाका त्रिशूल सामुदायिक वन, असुर्पा, अजयमेरु, भद्रपुरका सामुदायिक वन र कैलपालमाण्डौँका सामुदायिक वनमा आगो लागेको छ । साथै जिल्लाका अन्य सामुदायिक र सरकारी वनमा समेत आगो लागेको वनकर्मीहरु बताउँछन्। 

नयाँ घाँस पलाउने भन्दै सामुदायिक वनका उपभोक्ताले आफैँ आगो लगाउने गर्छन् । सुक्खा मौसमका कारण आगो नियन्त्रमा ल्याउन नसक्दा अन्य वन पनि विनाश हुने गर्छ। गाईगोरु चराउन सजिलो हुने भन्दै सल्लेरी वनमा उपभोक्ताले नै आगो लगाउँछन् तर अत्यधिक स्याउला र सोत्तरका कारण आगो नियन्त्रण गर्न नसकी वन विनाश हुने गर्छ। भिरालो र घना जंगल र स्याउला सोत्तर र हावाका कारण आगो नियन्त्रण गर्न नसकिएको थाम वनका उपभोक्ताले जनाएका छन्। 

आगलागीसम्बन्धी जनचेतना गराउँदा गराउँदै पनि धेरै वनमा आगो लाग्ने क्रम शुरु भएको वन अधिकारीहरुको भनाइ छ। अमरगढी–७ को कालापाथ्थर सामुदायिक वन, अजयमेरुका शिखरसुइडोव, त्रिशूल, धुरापनलोडा सामुदायिक वन र भद्रपुरलगायतका वन क्षेत्रमा आगो लागेको छ। 

सुक्खा मौसमका कारण सल्लेरी वनमा आगो लाग्ने क्रम स्थानीयबाट नै बढ हुने गरेको खुल्न आएको छ। जनचेतनाको कमी र गाईभैँसीलाई वनमा चराउन सजिलो हुने भन्दै उपभोक्ताले आगो लगाउने गरेको बुझिएको छ। अग्निरेखा खोलेर सल्लेरी वनमा लगाइएको आगोले शिखरसमैजी सामुदायिक वनमा रहेका स–साना बुट्यान नयाँ बिरुवा विनाश गरेको उक्त वनका पदाधिकारीले जनाएका छन्। 

उपभोक्ताको लापरवाही र निजी वन खोरिया गजालहरुमा घाँसका लागि स्याउला र अन्य झारपात जलाउन खोज्दा आगो नियन्त्रण गर्न नसकी पूरै वन सखाप हुने गरेको सामुदायिक वनका पदाधिकार बताउँछन्। 

आगोलाई स्थानीय उपभोक्ताले नियन्त्रण गर्न खोज्दाखोज्दै पनि लामो खडेरीका कारण र बाक्लो स्याउला सोत्तरले गर्दा आगो निभाउन कठिन हुने गरेको समैजी सल्लेरी सामुदायिक वन उपभोक्ता समितिले जनाएको छ। 

सामुदायिक र कबुलियती वनमा लामो समयपश्चात् आगो लाग्दा साना बुट्यान, बिरुवा सखाप हुने जंगली जनावरसमेत प्रभावित हुने गरेको स्थानीय उपभोक्ताले जनाएको छ। 

डडेल्धुरामा मात्रै करीब छ शय्या सामुदायिक र कबुलिती वन रहेका छन्। हरेक वर्ष गर्मी मौसममा डडेल्धुराका प्रायःजसो सबै सल्लेरी वन र अन्य वनमा आगोका कारण वन विनाश हुँदै गइरहेको छ। 

प्रकाशित: १४ जेष्ठ २०७५ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App