२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

गोली हान्दै जंगलमा बिलाए चोर

प्रहरीले मातातिर्थ चिहान डाँडामा भएको गोलीकाण्ड पछि बरामद गरेको सेफ ।

काठमाडौं–महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी प्रद्युम्न कार्कीको वाकीटकीमा प्रहरी गतिविधिका सूचना आइरहेकै थिए । उनी ती सूचना लिँदै सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिइरहेका थिए ।  एक्कासि मातातीर्थ प्रहरी एकाइका कमान्डर प्रहरी सहायक निरीक्षक देउबहादुर चन्दको आवाजले कार्की झस्किए ।

चन्द भनिरहेका थिए, ‘केही अज्ञात व्यक्तिले प्रहरीउपर फायरिङ खोले, दुई राउन्ड जवाफी फायर गरियो, उताबाट दुई राउन्ड फायर भयो ।’ प्रसंग हो, बिहीबार बिहान ५ बजेर २२ मिनेटको । यो सूचनालगत्तै एसपी कार्की अलर्ट भए । तत्काल चन्दलाई फोन गरेर विस्तृत जानकारी मागे ।  प्रहरीका अनुसार चार जनाको समूह एकाबिहानै मातातीर्थबाट चित्लाङ हुँदै मकवानपुर जाँदै थियो । निकै पातलो सवारी आवागमन रहने बाटोमा अचानक टाटासुमो जिप हुइँकिएपछि असई चन्दसहितको टोली चनाखो भयो । निकै अघिसम्म पछयाएपछि अर्कोबाटो नजिक गाडी रोकिएको अवस्थामा भेटियो । मातातीर्थ, च्यानडाँडा जंगलनजिक  ना१ज ३९४८ नम्बर जिप रोकिएको थियो । प्रहरीटोली नजिक गएर सोध्दा चारमध्ये एक जनाले बिरामी लिन आएको बताए । प्रहरीलाई उनीहरूको गतिविधि शंकास्पद लागिरहेकै थियो । गाडीमा के छ भनी हेर्न खोज्दा चारै जना ढोका खोलेर भाग्न थाले ।

‘भाग्न थालेपछि प्रहरीले रोक्न खोज्यो, उनीहरू चेतावनी दिँदासमेत रोकिएनन्, एक जनाले अत्याधुनिक पेस्तोल निकाले,’ एसपी कार्कीले भने, ‘उताबाट दुई राउन्ड फायर भएपछि हामीले पनि दुई राउन्ड फायर गर्यौं, त्यसपछि जंगलतिर भागेका उनीहरू पक्राउ भने परेका छैनन् ।’
घटनास्थलमा सेतोरंगको टाटासुमो, मकवानपुर, फाखेल–५ स्थायी ठेगाना उल्लेख हर्कबहादुर तामाङका नाममा जारी भएको सवारीचालक अनुमतिपत्रको प्रतिलिपी र रामेछाप, सुकाजोर–६ की गंगा तामाङको नागरिकता प्रतिलिपि फेला पर्यो । टोलीले गाडीको पछाडिपट्टि भागमा निकै गह्रांै सेफ पनि बरामद गर्यो ।

प्रहरीले उक्त गाडीसहित सेफ तत्काल महानगरीय परिसर झिकायो । प्रहरीवृत्त कालिमाटी, कीर्तिपुर र कालिमाटीसहित मातहत टोली फरार समूहको खोजीमा जंगल पस्यो ।

महानगरीय प्रहरीपरिसर, ललितपुरले पनि विभिन्न स्थानमा ‘चेकप्वाइन्ट’ राखेर जाँच गरिरहेको थियो । परिसरप्रमुख एसएसपी पीताम्बर अधिकारीलाई ९ बजेर ३५ मिनेटमा खबर आयो– ललितपुर, चापागाउँ वृत्तअन्तर्गत वज्रवाराहीनजिक एउटा सहकारी चोरी भएको छ । ढोका फोडिएको छ, सेफ र केही नगद गायब छ ।

‘यस्तो विवरण सुनेपछि मातातीर्थमा बरामद सेफ त्यही हो कि भन्ने लाग्यो । सहकारीका कर्मचारीले पनि त्यस्तै बताए । उनीहरूलाई तत्काल डिएसपीको नेतृत्वमा काठमाडौं परिसर पठायौं,’ अधिकारीले भने ।

सहकारीका कर्मचारीले बोकेको चाबी उक्त सेफमा ठ्याक्कै मिल्यो । तर, जब करिब सय केजी वजनको सेफ खुल्यो, प्रहरी अचम्मित भए । त्यहाँ जम्मा सात सय रुपैयाँ र केही कागजपत्र मात्र थिए । उक्त सेफ वज्रवाराहीस्थित सन्तानेश्वर बचत तथा ऋण सहकारी संस्थाको थियो । काठमाडौं प्रहरीले मुचुल्कासहित घटना ललितपुर प्रहरीलाई बुझायो । प्रहरीका अनुसार चोर समूहले अत्याधुनिक हतियार र आधुनिक सवारीसाधन प्रयोग गरेको पाइएको छ ।
समूहले सेफसँगै घर्रामा रहेको झन्डै २५ हजार रुपैयाँ पनि चोरी गरेको सहकारीका कर्मचारी बताउँछन् । उक्त रकम भने बरामद भएको छैन ।
प्रहरीले काठमाडौं–सर्लाही चल्ने उक्त गाडीधनी अनिता लामालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । अनुसन्धानमा गाडी चालक मकवानपुर, फाखेल बस्ने कुमार लामा रहेको खुलेको छ । चोर समूहले साताअघि बल्खुस्थित मामा ग्यारेजमा बनाउन छाडिएको गाडी प्रयोग गरेको पाइएको छ । उनीहरुले बुधबार राति गुराँस सुमो सेवाबाट टिकट काटेर गाडी भाडामा लिएका हुन् ।

‘पैसा पाएपछि गाडीको प्रयोग र प्रयोजनबारे जानकारी नराख्ने सवारीधनीका कारण देशभर आपराधिक समूहले सहजै भाडाका गाडी प्रयोग गरेको पाइयो, गाडीधनीसँग सोधपुछ गर्दै छौं,’ एसपी कार्कीले भने ।

प्रकाशित: २४ भाद्र २०७३ ०२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App