coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बुद्धि बहुलालाई 'थाहा'

'थाहा' आन्दोलनका प्रणेता रूपचन्द्र विष्टका विचार सदैव मननीय छन्। हामी सानै छँदा पञ्चायती उत्कर्षको त्यो समय विष्टबारे अनेक 'किंवदन्ती' सुनिन्थ्यो। हाम्रा स्कुल, पाटीपौवा जताततै भित्तामा 'थाहा' लेखिएको हुन्थ्यो। प्रजातन्त्र पुनर्स्थापनापछि बिस्तारै उनी पुरानो किताबको आवरणजस्तै जनताको सम्झनाको पानाबाट च्यातिँदै गए। हो, मैले उनलाई भेट्न पाइनँ। भेटेको भए पनि सातै लिन्थे होलान्। उनी पत्रकारको प्रवृत्ति र मानसिकता राम्ररी बुझ्थे र ठाडै दपेट्थे रे। 'घटना र विचार' का सम्पादक देवप्रकाश त्रिपाठीलाई त उनले कुनै दिन 'अरुको दास रिपोर्टर भएर होइन, आफैँ सम्पादक भएपछि अन्तर्वार्ता गर्न आउनू' भनेर दपेटेका थिए रे। तथापि मेरो पत्रकारिता जीवनको २० वर्षमा सबैभन्दा खट्कँदो एउटा पक्ष उनलाई भेट्न नपाउनु, उनीसँग अन्तर्वार्ता गर्न नपाउनु होे।

कुनै दिन मैले अंग्रेजी भाषामा महिला, समाज र मनोरञ्जन समाचार लेख्न थालेकी एक किशोरीलाई विष्टबारे सोधेको थिएँ। उनले आश्चर्य प्रकट गरिन्, 'इज हि अ न्यु हिरो?'

 'होइन।'

 'देन हु द हेल इज दिस गाई?'

पूर्वराष्ट्रपतिको सरकारी आवासमा अनेक असुविधा भएका गुनासा सुनिए। गुनासा गर्ने ठाउँ नराख्दा राम्रै हुन्थ्यो तर आफ्नो शानदार महल हुँदाहुँदै सरकारी आवासमै बस्नु कति नैतिक होला?

'गाईभैँसी होइन, उनी गरिब, दुःखी, दलित, हेपिएका जनता र महिलाका सबैभन्दा नजिकका इष्ट हुन्। त्यसो भए, तिमीलाई टम क्रुजबारे थाहा होला?' मेरो प्रश्नलाई छड्के हान्दै उनले टमबारे जोडदार आवाजमा एक 'लेक्चर' दिइन्। निकोल किडम्यान र मिमी रोजरपछि केटी होल्म्ससँग पनि 'डिभोर्स' गरिसकेका हलिउडका सर्वाधिक ह्यान्डसम हिरोबारे उनलाई थाहा नहुनु!  

 पूर्वराष्ट्रपतिको उपचार

मध्यमवर्गीय जीवनको कुहिरोमा हराउँदा सुदूर पूर्वको आकाशमा वैजनी घाम झुल्केजस्तै आत्मज्ञानको पर्दामा रूपचन्द्र विष्टको तस्बिर जब देखा पर्छ, एकाएक मलाई यो कुहिरो च्यातेर बाहिर निस्कने हुटहुटी जाग्छ। जे सोच्ने, त्यही गर्ने, जसको राजनीति गर्‍यो, उसैको स्तरमा बाँच्ने उनको जीवनशैली थियो। अन्तिमपल्ट बिरामी हुँदा उनका सहयोगीले सुविधासम्पन्न अस्पताल लान चाहेका थिए। विरोध जनाउँदै उनले भने रे, 'झुत्रेझाम्रेले उपचार गराउनसक्ने ठाउँ वीर अस्पताल हो। मलाई त्यहीँ लैजाऊ। त्यहाँ क्याबिनमा होइन, जनरल वार्डमा भर्ना गर। झुत्रेझाम्रेहरू क्याबिनमा उपचार गराउन सक्दैनन्।' अन्ततः जनरल वार्डमा उपचार गराउँदा गराउँदै उनको निधन भयो। विष्टका किंवदन्तीजस्ता लाग्ने अनेक प्रसंग मकवानपुरका गाउँ–गाउँमा चर्चित छन्। तिनले उनका महान् निष्पक्षता र न्यायप्रियता उजागर गर्छन्।

यता, हाम्रा पूर्वराष्ट्रपति राववरण यादवको उपचार प्रसंग निकै चर्चित छ। यादवलाई प्रोस्टेड क्यान्सर छ । त्यो निर्मूल होस्, सबैको शुभकामना छ। तर, देशले उनीजतिका खर्च धान्ने ल्याकत भएका व्यक्तिको उपचारका खातिर ३ करोड रुपियाँ खर्चँदैछ। अमेरिकामा उपचार गरुन्जेल उनलाई दैनिक तीन सय अमेरिकी डलर र तीन जना सहयोगीलाई दैनिक १ सय ५० अमेरिकी डलर भत्ताको व्यवस्था गरिनेछ। यता, हप्तामा ३ हजार रुपियाँ जुटाउन नसक्दा दोलखा मालुका मिर्गौलापीडित विजय खड्काले १९ वर्षको रहरलाग्दो उमेरमै अस्पतालको छतबाट फाल हालेर आत्महत्या गर्नुपरेको खबरले देशै तरंगित हुँदा पनि सरकारी अधिकारीको रौँ हल्लँदैन।

पूर्वराष्ट्रपति यादवले प्रयोग गरिरहेको आवास सुविधा पनि कम रोचक छैन। उनी काठमाडौँमा सुविधासम्पन्न घर भएका व्यक्ति हुन्। निवर्तमान हुनासाथ सरकारले उनलाई आवासको व्यवस्था गर्‍यो। त्यसमा अनेक असुविधा भएका गुनासा सुनिए। गुनासा गर्ने ठाउँ नराख्दा राम्रै हुन्थ्यो। तर आफ्नो शानदार महल हुँदाहुँदै सरकारले दिएकै घरमै बस्नु कति नैतिक होला? राजनीतिको प्राण नैतिकता हो भनिन्छ। यो बाध्यकारी होइन, जीवनशैलीमा अपनाउने कुरा हो। राष्ट्रको सम्पत्तिमा त्यत्रा बगाल सल्लाहकार पालेका व्यक्तिलाई यस्तो कुरा हामीले सम्झाउनुपर्ने हो?

विष्टको नैतिकता

यादव एक उदाहरणमात्र हुन्। यस्तो प्रवृत्ति अनेक नेतामा देख्न पाइन्छ। यसलाई मधेसीलाई हेपेको अर्थ नलगाइयोस्। यता, रूपचन्द्र विष्ट भने नैतिकताका हिमाल थिए। उनी नैतिक भ्रष्टाचारलाई नै भ्रष्टाचारको जग ठान्थे। एक पटक मकवानपुरको दुर्गम पहाडी गाउँ डुल्दा बोकेर हिँडेको भुटेको मकैको फूलफूल एउटाले छानेर खाइदिएछ। रूपचन्द्रले तुरुन्तै भने– 'मकै पाउँदा त फूलफूल छानेर खान्छस्, भ्रष्टाचार गर्छस् भने देशै पाइस् भने के गर्लास्?' गाउँमा आमसभा गर्दा उनी वक्तालाई मुखमा घाम पर्नेगरी र स्रोतालाई शीतल हुनेगरी मञ्च बनाउँथे। एउटा सभामा सहिनसक्नु घामले पोलेपछि उनकी कार्यकर्ता विश्वकान्त कलावतीले विरोध जनाइछन्। रूपचन्द्रले मञ्चबाटै भण्डाफोर गरे– यो केटी खुब सुविधाभोगी छे, मौका पाई भने यसले सुविधाजति आफ्नो भागमा र असुविधा जति जनताको भागमा पार्छे।

राष्ट्रिय पञ्चायतका सदस्य रहँदा विष्टलाई राजाका दूत वीरेन्द्रकेशरी पोखरेलले मन्त्री बन्न प्रस्ताव पठाएका थिए। प्रस्तावको खिल्ली उडाउँदै उनले भनेछन्– 'रापस जनताले पठाएको प्रतिनिधि हो, मन्त्री राजाले बनाउने र व्यवस्था चलाउने ठेकेदार हो। म जनप्रतिनिधि, राजाको भाट हुन र व्यवस्था टिकाउन मन्त्री हुन किन जानु?' परिणामस्वरूप उनलाई जेल हालियो। रूपचन्द्रको यो शैली गणतन्त्र नेपालमा किंवदन्तीजस्तै लाग्छ। मन्त्री हुन २०१५ सालमै विश्वबन्धु थापाले कस्तो कृत्य गरेका थिए भन्ने बिपी कोइरालाले 'आत्मवृत्तान्त'मा उल्लेख गरेका छन्। मन्त्री र अन्य पदकै लागि गणतन्त्र नेपालका नेताहरूले केसम्म गरे भन्ने प्रस्ट छ। संसदीय विकृतिविरुद्ध दश वर्ष जनयुद्ध गरेको माओवादी केन्द्रका हिमाल शर्मा स्तरका नेतासमेत मन्त्रीका पिए बनेको घटनाले धेरै कुरा उजागर गर्छ।

 कटु सम्बोधनको निहितार्थ

रूपचन्द्र अधिकांश मान्छेलाई 'तँ, भाते, कुकुर' भनेर दपेट्थे। विष्टका सहयोगी रामनारायण बिँडारीका अनुसार सुन्दा अत्यन्त कटु लाग्ने यी सम्बोधन पनि तर्कविहीन थिएनन्। उनी हातमा ठेला उठेका श्रमिक, किसान र मजदुरलाई 'तपाईँ' भन्थेँ। दुनियाँले 'जीहजुरी' गर्ने सरकारी अधिकारी, सामन्त र मालिक वर्गलाई 'तँ, भाते, कुकुर' भनेर हकार्थे। मानिस सामान्यतया व्यक्तिको उपस्थितिमा 'तपाईँ' र अनुपस्थितिमा 'तँ' सम्बोधन गर्छन्। उपस्थितिमा होस् वा अनुपस्थितिमा, 'तँ' लायकलाई 'तँ' र 'तपाईँ' लायकलाई 'तपाईँ' भन्नुपर्छ भन्ने उनको ठाडो तर्क थियो।

 'भाते' र 'कुकुर' सम्बोधनमाथि पनि उनको तर्क कम थिएन। भातेको अर्थ हो, परिश्रमबिना भात पचाउने। ब्रह्माण्डमा सबैभन्दा विवेकशील मानिएको मान्छे विवेक गुमाएपछि भाते हुन्छ। ऊ शक्तिको आडमा भ्रष्टाचार गर्छ। हावा, पानी, घाम, माटो प्रकृतिले दिएका सार्वजनिक उपहार हुन्। सार्वजनिक सम्पत्ति निःशुल्क उपयोग गरेपछि कामचाहिँ नितान्त व्यक्तिगत गर्नुहुँदैन, सार्वजनिक हितकै गर्नुपर्छ। यिनको तिरो तिर्न कम्तीमा दिनको पाँच मिनेट सत्य थाहा पाउन, पाँच मिनेट थाहा पाएको सत्य फैलाउन र अर्को पाँच मिनेट फैलाएको थाहा कार्यान्वयन गर्न सदुपयोग गर्नुपर्छ। बल्ल 'भाते'को कलंकबाट मुक्ति पाइन्छ। कुकुरको अर्थ हो, विवेक प्रयोग नगरी पक्ष/विपक्षमा लाग्ने। घुस दिने, आफूलाई फाइदा हुने काम गरिदिने, झुटो प्रशंसा र चाकरी गर्नेका पक्षमा सत्य र ठीकलाई मिचेर पनि लाग्नु कुकुर प्रवृत्ति हो। कसैका पक्षमा नलाग्ने, सत्य र ठीकका पक्षमा लाग्ने, त्यसैका लागि सक्रिय हुने हो भने बल्ल 'कुकुर' कलंकबाट मुक्ति पाइन्छ। यस्तो चाला देख्दा विरोधीहरू उनलाई 'बहुला' भन्थे। जबाफमा उनी भन्थे रे– मेरो नाम बहुला, तेरो बुद्धि बहुला!

खासमा, हामी पनि 'तँ', 'भाते', 'कुकुर' र 'बुद्धि बहुला' उपाधिका सर्वाधिक योग्य अधिकारी हौँ। बधाई छ हामी सबैलाई!

प्रकाशित: ७ आश्विन २०७३ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App