coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

प्रदूषित काठमाडौं

केही दिनअघिको कुरा हो, अमेरिकी राष्ट्रपति बाराक ओबामाले हवाई राज्यको होनोलुलु पुगेर त्यसै राज्यको एउटा विशाल क्षेत्रलाई विश्वको सबैभन्दा ठूलो प्रकृति संरक्षण क्षेत्र घोषणा गरे। यो संरक्षण क्षेत्र अब पाँच लाख ६३ हजाुर बर्गमाइलमा विस्तारित हुँदैछ । अर्काेतिर अमेरिकी राष्ट्रपति ओबामा र चिनियाँ राष्ट्रपति सि जिनपिङ आ–आफ्ना मुलुकमा ठूलो परिमाणमा हुँदै आएको कार्बन उत्सर्जन न्यूनीकरण गर्न सहमत भएको समाचार पनि प्रकाशमा आएको छ र कार्बन उत्सर्जन गर्ने राष्ट्रमध्येको एक अर्काे प्रमुख राष्ट्र बेलायत पनि कार्बन उत्सर्जनको कटौतीसम्बन्धी सम्झौतामा सहमति जनाउन तत्पर भएको छ । उपर्युक्त घटनाहरूले विश्वका प्रमुख राष्ट्रहरूको विश्वमा पर्यावरणीय सन्तुलन राख्ने विषयको चिन्ता र तत्परता प्रकट भएको पुष्टि गरेका छन् । विश्वका सम्पन्न मुलुकमा रहेका कलकारखाना, उद्योगधन्दा र तिनको सञ्चालनस्वरूप उत्पन्न हुने कार्बनले विश्वको वायुमण्डलमा भएको प्रदूषणले विश्वको समग्र जनताको स्वास्थ्यलाई गम्भीर प्रभाव पारेको चिन्ता सम्बन्धित राष्ट्रकै जनताको चासोको विषय बनेको र ती ठूला शक्ति राष्ट्रका नेताहरूले आ–आफ्ना राजनीतिक कुरामा विमति राखे पनि स्वास्थ्यजस्तो आधारभूत मानवीय समस्यामा समान धारणका साथ सहमतिमा आउनुले एउटा सकारात्मक सन्देश प्रवाहित भएको छ ।

                यी भए विश्व पर्यावरणीय महŒवका कुरा । त्यही विश्वको वायुमण्डलसँग जोडिएका छन् विश्वका प्रत्येक मुलुकमाथिका वायुमण्डल । तिनै वायुमण्डलको समष्टि नै विश्व वायुमण्डल हो । यसैले साना–साना भौगोलिक एकाइ र ती भौगोलिक एकाइभित्रका साना–ठूला सहरमाथिको वायुमण्डलको प्रदूषणले पनि विश्व पर्यावरणमा प्रभाव पारेका छन् । कुरा मात्रात्मक अन्तरको मात्र हो । बेलायतको राजधानी लन्डन सहरभित्र मात्र तीन हजार पार्क छन् भन्ने सुन्दा जोकोहीलाई पत्यार नलाग्ला तर विश्वका विकसित सहरहरू घरै–घरको सिमेन्ट जङ्गलका कारणबाट मात्र विकसित र सभ्य मानिएका होइनन् । जुन बेलाती सहर बने त्यस बेलाती मुलुकका शासकको अधीनमा काम गर्ने सहरी वास्तुकलाविद्हरूले मानव वस्तीबीचमा त्यहाँ बस्ने आवश्यकताको अनुभव गरे हुनन् अनि लन्डनजस्ता विश्वका प्राचीन सहरका बीचमा स–साना बालउद्यानदेखि ठूला–ठूला पार्क  (उद्यान) बने होलान् ।

                विश्वका सम्पन्न राष्ट्रहरूले आफ्नो भूमि र त्यसभित्रका जनताको स्वास्थ्य सुरक्षाका विषयमा यति धेरै चासो लिइरहेका बेला हाम्रो देशको सबभन्दा ठूलो सहर र राजधानी काठमाडौंभित्रको पर्यावरणसम्बन्धी समाचार भने झन्–झन् निराशजनक बनेको पढिँदै–सुनिँदै आएको छ । केही दिनअघि पाएको समाचार अझ स्तब्ध तुल्याउने र निराशजनक छ– जलवायुविज्ञहरूले काठमाडौंमा बिहान बेलुका गरिने भ्रमणले मानिसको स्वास्थ्यमा गम्भीर प्रभाव पार्ने चेतावनी दिएका छन् । दिनको कामको व्यस्तता र रातको आरामको समयबाहेक मानिसले स्वस्थ रहन गर्ने भ्रमण नै साँझ वा बिहानको हो । यही फुर्सदिलो समयको भ्रमण नै खतरापूर्ण छ भने अब काठमाडौंबासीले घुम्ने र ताजा सास लिने कहिले हो र कहाँ गएर हो ? यो प्रश्न जटिल बनेर उभिएको छ काठमाडौंबासीका अगाडि । भोलि गएर यो समस्या उपत्यकाबाहिरका नेपालका अरू सहरमा पनि नदेखिएला भन्न सकिँदैन ।

                माथि उल्लिखित काठमाडौंको समस्या यसको अव्यवस्थित सहरीकरणका कारण उत्पन्न भएको हो भन्ने कुरा सबैका सामु छर्लङ्ग छ । यस्तो अव्यवस्थित सहरीकरण आजको समस्यामात्र होइन । काठमाडौंमा जहिलेदेखि घर र बस्तीहरूको सङ्ख्यामा वृद्धि हुन थाल्यो त्यस बेलादेखि सहरीकरण बिर्सिइयो र नागरिकमा सहरीकरणको चेतना पनि हुन छाड्यो । मुलुकका सम्पन्न र अर्धसम्पन्न मानिसको काठमाडौंमा जसरी पनि घर ठड्याउने मानसिकता व्यक्तिगत सुविधामुखी बन्न पुग्यो । पहिला घडेरी किन्ने, दोस्रोमा बाटो खोज्ने, त्यसपछि मात्र पानी, बिजुली, ढल निकास आदिका निम्ति सङ्घर्ष गर्ने तर त्यसका लागि नागरिक आफू भने एक इन्च जमिन पनि छोड्न तयार नहुने र राज्य सरकार त्यो समस्यालाई नागरिकको व्यक्तिगत समस्या ठानी त्यसप्रति उदासीन रहने परम्परा बस्दै आएको छ । र, यसले आजको अव्यवस्थित सहरीकरणलाई समेत प्रोत्साहन दिइरहेको छ । अहिले आएर त राज्य र नागरिकबीच सम्बन्धको खाडल झन् ठूलो बन्दै गइरहेको छ । काठमाडौंका कुनै पनि बाटो सडक भन्न सुहाउँदा छैनन् । पानी पर्दा हिलाम्मे र पानी सुकेपछि धुलाम्मे हुने सडकका यात्री त्यस्ता सडकमा मिसिने ढलको प्रदूषित वायुमा सास फेर्न विवश बनेका छन् । राज्यसंयन्त्रका तथाकथित राजसेवकहरू तिनै धुलोका कणले छोपिएको अँध्यारो आकाश र हिलाम्मे सडकको धमिलो पानीमा मौका छोपेर शिकार खेल्न आतुर देखिन्छन् र बर्खे बजेटको धमिलो छोप्न हिउँदका दिन हाई काडेर बिताइरहेका हुन्छन् ।

यस पंक्तिकार १३ वर्षको उमेरमा काठमाडौं पढ्न आउँदा २०१७ सालमा ककनी डाँडाको उचाइबाट देखेको काठमाडौं रुख र वनस्पतिले ढाकेको थियो र सहर त्यसभित्र लुकेको थियो । तर काठमाडौं बसाईकै विद्यार्थी जीवनमा यसले क्रमशः अर्गानिक तरकारी फलाउने ठूला–ठूला फाँट सिमेन्टको जङ्गलले ढाक्दै गएको देख्यो । ती ठूला खाली फाँटका जमिन कति व्यक्तिका निजी थिए, कति सरकारी थिए र कति ऐलानी थिए। त्यसको स्रेस्ता सरकारी मालपोत कार्यलयमा होला । तर यस सहरका बीचमा सास फेर्नका लागि पनि केही जमिन छोड्नुपर्छ भन्ने चेतना न राज्यव्यवस्थाका सञ्चालकमा न त नागरिकमै उठ्यो । आज त्यसैको भयाबह परिणाम काठमाडौंका ठूला महलमा बस्नेदेखि झोपडीमा बस्नेसमेतका नागरिकले भोगिरहेका छन् । यो सहर वनस्पति वृक्षहरूलाई विस्थापित गर्दै सिमेन्टको जङ्गलमा परिणत भएको छ र यसभित्रको जनजीवन उकुसमुकुसिएको अवस्थामा छ ।

आफ्नै आँखाअगाडिको रानीपोखरीदेखि वर्तमान दशरथ रङ्गशालासम्मको एसियाकै ठूलोमध्येको एकमा गनिएको ठूलो चौर टँुडिखेल टुक्राटुक्रामा विभाजित बन्यो र त्यसबीचको एउटा सानो जमिनको टुक्रामा सीमित रत्नपार्कले देखावटीरूपमा पार्कको प्रतिनिधित्व ग¥यो । यसभन्दा अझ बढी दुःखदायी स्थिति लैनचौरले भोग्यो । ठमेल चोकको वरपरदेखि नारायणहिटी दरबारको पर्खालसम्म विस्तारित लैनचौर यतिबेला सानो बालउद्यान बन्न पनि नपुग्ने जमिनको टुक्रामा सीमित बनेको छ । दरबारबाट बक्सिस पाएका नारायणहिटीका दरबारिया कर्मचारी र आसेपासेका घडेरीका रूपमा टुक्रिनेदेखि लिएर दुग्ध उत्पादन केन्द्र, टेबुलटेनिसको कबर्ड हल र कतिपय शिक्षण संस्थाले ओगटेका भवनसम्ममा विभाजित लैनचौरलाई पार्कका रूपमा सुरक्षित राख्ने सोचाइ पञ्चायतकालदेखि वर्तमान गणतन्त्रकालका शासक–प्रशासकसम्म पनि देखिएन । काठमाडौंको मुख्य घना आवादीबीचका उपर्युक्त दुई ठूला मैदान टुक्रा टुक्रामा अन्य प्रयोजनका लागि विभाजित गरिएपछि यहाँ पर्यावरणीय प्रदूषणको चाप बढेको छ र सवारी साधनबाट उत्पन्न प्रदूषणले काठमाडौंका बासिन्दामा श्वास–प्रश्वासको समस्या अरू थप जटिल बनेको छ ।

विगत वर्ष (२०७२) मा भएको विनाशकारी भूकम्पका कारण काठमाडौंको धरहरादेखि काष्ठमण्डपलगायतका पुरातात्विक घर–मन्दिरहरूको भग्नावशेषका वस्तुहरू ल्याएर थुपार्ने ठाउँको दायित्व पनि टुँडिखेलले नै बोकेको छ । शहीद गेटको दक्षिणपट्टिको टुँडिखेलको एउटा टुक्रा नेपाल सैनिक मुख्यालयको क्लबले ओगटेको छ र त्यहाँ अरु भवन बनाउने तयारी गर्दैछ नेपाली सेना । यसरी टुक्रा–टुक्रामा विभाजित टँुडिखेलमा उभिएर–दौडिएर स्वच्छ हावामा सास फेर्ने दिन गइसकेको अनुभव हुँदैछ यहाँका बासिन्दामा ।

काठमाडौं बालाजुको बाइसधारा उद्यान धेरै पुरानो उद्यान (पार्क) हो । तर त्यसमा पनि एक जना सांसद्ले आफ्ना स्थानीय मतदातालाई खुसी पार्न त्यसमाथि हमला गरेको कुरा पत्रपत्रिकामा छापियो । भानुभक्त आचार्यले ‘यति दिनपछि मैले आज बालाजि देख्याँ’ भनेर पद्य रचना गरेको यस पार्कले आफू अव्यवस्थित भएर पनि मानिसलाई केही सुविधा दिएकै छ । चक्रपथको शंखपार्क र थानकोटको त्रिभुवनपार्कले अव्यवस्थाकै बीच पनि केही सास फेर्ने ठाउँ दिएकै छन् ।

काठमाडौंभित्र अलिकति ठाउँ देख्नासाथ त्यहाँ सरकारले कुनै भौतिक निर्माण गर्ने आतुरता देखाइहाल्छ । बागबजारको पुरानो बसपार्कलाई खुला मञ्चअगाडि सारेर नगरपालिकाले त्यहाँ टावर निर्माण गर्ने योजना थालेको छ । यसप्रति स्थानीय जनताले असहमति प्रकट गरेको कुरा छापा माध्यममै आयो तर नगरपालिका टावर बनाउन अघि सरिसकेको छ । यसरी काठमाडौंका खाली ठाउँहरूलाई क्रमशः भौतिकीकरण गर्दैै जाने हो भने यसै पनि धुलो र मैलोले व्याप्त काठमाडौंको पर्यावरणका बीच यहाँका जनताले सास फेर्ने कार्य अरू दुष्कर हुँदै जानेछ र यसले राजधानीको मुटुका बासिन्दालाई ठूला रोग र महामारीले सताउने निश्चित छ । यसतर्फ नगरपालिका र सम्बन्धित सरकारी निकाय किन चासो राख्दैनन्?

 

प्रकाशित: १२ आश्विन २०७३ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App