८ वैशाख २०८१ शनिबार
विचार

अबकोे बाटोः हरित आर्थिक पथ

डा. प्रभु बुढाथोकी

नेपालमा राजनीतिक अस्थिरता, द्वन्द्व र फितलो कार्यान्वयनले गर्दा विगतका कतिपय राम्रा नीति तथा कार्यक्रम तिनीहरुको भावनाअनुरूप दृढताका साथ लागु हुन सकेनन् जसले गर्दा अपेक्षाअनुरूप देशमा आर्थिक विकास हुन सकेन । दशकौंदेखि देशको औसत आर्थिक वृद्धिदर ३–४ प्रतिशतको हाराहारीमा मात्र छ । देशमा अझै २० प्रतिशत जनता गरिबीको रेखामुनि बाँच्नुपरेको छ भने ३० प्रतिशतभन्दा बढी मानिस बेरोजगार छन् । आज देशमा सबैजसो राजनीतिक मुद्दाले निकास पाएको अवस्था छ । देश संघीय शासन प्रणालीमा रूपान्तरित भइसकेको छ । यस्तो अवस्थामा सबैको ध्यान आर्थिक उन्नति र समृद्धितर्फ केन्द्रित हुनु जरुरी छ । अबको नेपाललाई कस्तो आर्थिक विकासको दिशामा डोराउने हो भन्नेबारे गहन विवेचना, विमर्श र विश्लेषण गरी देशको आर्थिक उन्नतिको उपयुक्त र प्रष्ट मार्गचित्र कोर्ने बेला आएको छ । विगतका कमजोरी र सफलताबाट पाठ सिक्दैआफ्नो भूगोल, समाज, आर्थिक अवस्था र राजनीतिक परिस्थितिका साथै विश्वले लिइरहेको आर्थिक अवधारणालाई मनन र मूल्याड्ढन गरी सुहाउँदो आर्थिक विकासको खाका तयार पारीदेशमा द्रुतआर्थिक प्रगति गर्नु नै हामी सवैको मुख्य एजेन्डा हुनुपर्छ ।
 

हरित आर्थिक पथ

आजको विश्व जलवायु परिवर्तन र आर्थिक असमानताबाट सिर्जित समस्याहरुबाट पिरोलिएको छ । धनी र गरिबबीचको खाडल बढाउने, वातावरण विनास गर्ने र वातावरण विनासबाट विपन्न समुदायहरुको जीवन अझ कष्टकर हुने आर्थिक विकासको नीतिबाट कुनै पनि राष्ट्रले दिगो विकास र सामाजिक, राजनीतिक स्थायित्व प्राप्त गर्न सक्दैन । त्यसैले सबै देशले वातावरण विनास नगरी समानता र समावेशी आर्थिक प्रगतिको बाटो हिँड्न कोसिस गरिरहेका छन् । यसलाई विकासविज्ञहरुले हरित अर्थ पथ नाम दिएका छन् । यो अवधारणालाई सन् २०१२ मा व्राजिलको रियो डि जिनेरियो सहरमा भएको दोस्रो पृथ्वी दिवसले वातावरण विनास नगरी विश्वमा आर्थिक समृद्धि हासिल गर्ने मुख्य उपायका रूपमा अंगीकार गरेको छ । संयुक्त राष्ट्र संघले पनि हरित आर्थिक अवधारणालाई दिगो विकासका लक्ष्यहरु प्राप्त गर्ने मुख्य आधारका रूपमा स्वीकार गरेको छ ।यसलाई नेपाललगायत सयौविकासशील तथा विकसित देशले हस्ताक्षर गरी स्वीकृति दिइसकेका छन् । जलवायु परिवर्तनका असर न्यून गदै भविष्यका पुस्ताहरुको जीवन समृद्ध र सुरक्षित बनाउन हरित अर्थपथ या कम कार्बन उत्सर्जन गर्ने विकास नीति अंगाल्नु अपरिहार्य भइसकेको छ ।
 

किन अपनाउनेयो पथ ?

अर्थशास्त्रमा नोवेल पुरस्कार प्राप्त गरेका डा.योसेफ स्तिग्लिजको विचारमा देशको आर्थिक अवस्थासुधारका लागि आर्थिक नीतिमा नै सुधार आवश्यक हुन्छ । त्यसैले नेपालले पनि समृद्धि र दिगो विकासका लागि आफ्ना आर्थिक विकासका नीतिमाथि पुनर्मूल्यांकन गर्नुपर्ने देखिन्छ।नेपालको आर्थिक, सामाजिक, भौगोलिक र वातावरणीय अवस्था मनन गर्दा हरित आर्थिक पथ समृद्ध नेपाल निर्माणका लागि उपयुक्त उपाय हुन सक्छ ।प्रगतिका लागि स्रोतमात्र होइन, सही सोच र नीति पनि आवश्यक हुन्छ ।नेपालको परिप्रेक्ष्यमा प्राकृतिक र हरित स्रोतहरुको दिगो व्यवस्थापन र सदुपयोगमा आधारित समावेशी, समतामूलक र ग्रामीणमुखी आर्थिक विकास गर्ने नीति तथा क्रियाकलापलाई हरित आर्थिक अवधारणा भन्न सकिन्छ । वास्तवमा नेपालमा किन हरित आर्थिक अवधारणा लागु गर्नु उपयुक्त देखिन्छभन्ने कुरा तलका बँुदाले प्रष्ट्याउँछन्ः

१.संविधान कार्यान्वयन गर्न

हाम्रो संविधानले जनताको सुरक्षित र स्वच्छ वातावरणमा बाँच्ने अधिकार सुनिश्चित गरेको छ । त्यस्तै यसले समावेशी, समृद्ध र दिगो विकासको अवधारणा पनि अंगीकार गरेको छ । प्राकृतिक स्रोतको दिगो संरक्षण र सदुपयोगलाई महत्व दिएको छ । नेपाल राष्ट्र संवैधानिकरूपमा वातावरण र आर्थिक विकासको सन्तुलन राख्दै सहभागी, समावेशी र समतामूलक आर्थिक विकासमा प्रतिबद्ध छ । अतः संविधानको सच्चा भावनाअनुरूप सफल कार्यान्वयन गर्न हरित आर्थिक विकासको अवधारणा उपयुक्त देखिन्छ ।

२. शान्ति, समृद्धि र राजनीतिक स्थायित्वका लागि

हाम्रो देश आर्थिक विकासका हिसावले एकदमै असमान मुलुक हो । नेपालमा २० प्रतिशत अतिधनीहरुले देशको ५६ प्रतिशत सम्पत्ति नियन्त्रण गर्छन् । आर्थिकरूपमा असमान समाज सदैव द्वन्द्व र अस्थिरताको चपेटामा परिरहने सम्भावना हुन्छ । त्यसैले शान्ति र समृद्धि प्राप्त गर्न नेपालले हरित आर्थिक अवधारणामा आधारित आर्थिक नीति तथा कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । किनकियस अवधारणाले केही व्यक्ति वा समूहलाई मात्र हित हुने कार्यक्रमभन्दा जनता र वातावरणलाई केन्द्रविन्दुमा राखी नीति, योजना र कार्यक्रम सञ्चालनमा जोड दिन्छ । अनि समावेशी, समानुपातिक र समृद्ध आर्थिक विकासलाई प्रवर्धन गर्र्दे धनी र गरिबबीचको खाडल कम गर्न मद्दत गर्छ ।

३. जलवायु परिवर्तनसँग जुध्न

नेपाल प्राकृतिक स्रोत र साधनमा जति धनी र सुन्दर छ त्यतिनै प्राकृतिक प्रकोप, वातावरणीय विनास जलवायु परिवर्तन आदिवाट सिर्जित समस्याहरुबाट अति जोखिमयुक्त पनि छ । वास्तवमा हाम्रा सामाजिक, आर्थिक सूचकांकमा भन्दा पनि वातावरणीय सूचकांक अझ बढी नाजुक छन् । जस्तै नेपाल वायु प्रदुषणमा ११ आँै स्थानमा छ । काठमाडौँत विश्वको तेस्रो अति वायु प्रदूषण भएको सहर मानिन्छ । जलवायु परिवर्तनको असरको जोखिममा हामी चौथो स्थानमा छाँै भने बहुप्राकृतिक प्रकोप जोखिममा २० आँै स्थानमा । देशको कमजोर अर्थतन्त्र र गरिबीलेगर्दा यस्ता समस्या व्यवस्थापन गर्ने हाम्रो क्षमता ज्यादै न्यून छ । त्यसैले हाम्रो जस्तो देशमा प्राकृतिक प्रकोपको सबैभन्दा उत्तम व्यवस्थापन भनेको प्राकृतिक प्रकोप आउन नदिनु नै हो ।

४. स्रोतहरुको उच्चतम परिचालन

हरित स्रोतहरु नेपालको मुख्य स्रोत हुन् । प्राकृतिकरूपमा हामीसँग प्रशस्त हरित स्रोत छन् । त्यस्तै प्रशस्त हरित स्रोतहरुको उत्पादन गर्नेउपयुक्त प्राकृतिक वातावरण पनि छ । नेपालको मुख्य हरित स्रोत भनेको जमिन, जल, जंगल, जडीबुटी, सुन्दर प्राकृतिक भूदृष्य र जीवन्त संस्कृति हुन् । अर्काे अर्थमा नेपालमा पाइने सबैजसो स्रोत हरित स्रोत नै हुन् । जुन देशले आफ्ना प्रमुख प्राकृतिक स्रोतको राम्रोसँग उपयोग गरेका छन् ती देश नै आर्थिक प्रगति पथमा अगाडि छन् । उदाहरणका लागि अस्टे«लियाले खनिज स्रोतको, खाडी मुलुकले खनिज तेलको, स्विडेन, मलेसिया, इन्डोनेसिया जस्ता देशले वन्यस्रोतको, स्विट्जरल्यान्डले सुन्दर प्रकृतिको, ब्राजिलले कृषि उपजहरुको उपयोग गरी समृद्धिको पथमा अग्रसर छन् । नेपाल पनि आफ्नो जल र विविध जैविक स्रोतहरु उपयोग गरी विकासमा फड्को मार्न सक्छ भन्ने तथ्य निम्न विवेचनाले उजागर गर्छः

जंगलः हरियो वन नेपालको धन भन्ने उखान पहिलेदेखि चलिआएको हो । नेपालको जंगलबाट ९ करोड क्यु. फुट काठ उत्पादन हुने, १० लाखले रोजगारी पाउने र २ खर्बभन्दा बढी आम्दानी गर्न सकिने एक अध्ययनले देखाएको छ । तर विडम्बना,आफ्नो देशकोवनको सदुपयोग गर्नुको साटो हामी काठ र फर्निचर आयात गरिरहेका छौँ । २०७१÷७२ मा मात्र रु. ३ अर्व १४ करोड जतिको काठ तथा काठजन्य सामग्री आयात भएको पाइन्छ । देशको भू–भागको ४४ प्रतिशतभन्दा बढी ओगटेको वन क्षेत्रको व्यवस्थापन गर्न यस वर्ष १३ अर्ब ७७ करोड रुपियाँ विनियोजन भएको छ । जुन कुलवार्षिक बजेटको १.३१ प्रतिशतमात्र हो।यस तथ्यले नेपालमा वन संरक्षण, विकास र सदुपयोग गर्न लगानी ज्यादै कम छ भन्ने देखाउँछ । जबकि वैज्ञानिक व्यवस्थापनबाट तराईको जिल्लाबाट लगानीभन्दा तीन गुणा आम्दानी हुन सक्ने तथ्यांक छ ।
जडीबुटीः  वैदिक कालदेखि नै नेपाल बहुमूल्य जडीबुटी पाउने स्थलका रूपमा प्रख्यात छ । संसारमा ७०००० भन्दा बढी औँषधिजन्य बिरुवा पाइने रेकर्ड छ जसमध्ये १६००भन्दा बढी किसिमका यस्ता बिरुवा नेपालमा पाइन्छ । नेपालका विभिन्न जंगलबाट १०० भन्दा बढी प्रजातिका बिरुवाबाट वार्षिक २० हजार मेट्रिक टनभन्दा बढी जडीबुटी संकलन र व्यापार हुने गर्छ । नेपालका ४८ जिल्लाका ३ लाखभन्दा बढी मानिस जडीबुटी संकलन र वेचविखनमा संलग्न छन् । झण्डै ८० प्रतिशत जडीबुटी संकलन सुदूर र मध्यपश्चिमाञ्चल क्षेत्रहरुमा हुने गर्छ । अधिकांश संकलन र व्यापार नेपालका दुर्गम र गरिब जिल्लाहरुमा हुने भएकाले उक्त क्षेत्रको आय आर्जनमा यसले ठूलो टेवा पु¥याएको छ ।.

पर्यटनः नेपाल प्राकृतिकरूपमा संसारकै एक सुन्दर देश हो । साथै हरेक वर्ष विश्वकोप्रमुख गन्तव्य मुलुकको सूचीमा पनि पर्छ । संसारका पर्यटकको जीवनमा घुम्नैपर्ने देशमध्ये नेपाल पनि एक हो । तर प्राकृतिकरूपमा सुन्दर र संसारका मानिसले घुम्ने चाहना राख्दाराख्दै पनि हामीले ७–८ लाखभन्दा बढी पर्यटक भित्र्याउन सकिराखेका छैनौं । हाम्रो वार्षिक १० लाख पर्यटक ल्याउने सपना अझै सपनामै सीमित छ ।संसारमा सन् २०१४ मा १.१विलियम पर्यटकले विभिन्न देशको भ्रमण गरेका थिए र १.३४ ट्रिलियन डलर खर्च गरेका थिए । तर विडम्बना,पोखरा जस्तो सुन्दर ठाउँसंसारको प्रमुख १० सस्तो गन्तव्य शहरका रूपमा परिचित छ । नेपालमा पर्यटकले प्रतिदिन ४८ डलर खर्च गर्ने  र सरदर  १३ दिनमात्र बस्छन् । जुन संसारकै न्यून खर्च र बसाई गर्ने देशमध्ये पर्दछ । ठूला कुरा भन्दा पर्यटकको एक दिनको मात्र बसाई लम्ब्याउन सकियो र उनीहरुलाई दिनको २ डलरमात्र बढी खर्च गराउन सकियो भने पनिवार्षिक६ अर्बभन्दा बढी आम्दानी बढाउन सकिन्छ ।

जलस्रोतः नेपाल जलस्रोतमा संसारकै एक धनी देश हो । यहाँ करिव ६००० जति नदी, २ हजारभन्दा बढी हिमाली ताल र ३००० हजारभन्दा बढी अन्य तालतलैया छन् । यी जलस्रोतको उपयोग हामीले राम्रोसँग गर्न सकेका छैनौं । अझै एक चौथाई जति जनताको विद्युत्मा पहुँच छैन । साथै पहँुच भएकाले पनि १५ घण्टाभन्दा बढी लोडसेडिङको मार खेप्नु परिरहेको छ । आधा जनसङ्ख्यालाई सफा पानीको पहँुच छैन भने ७० प्रतिशतभन्दा बढी कृषियोग्य जमिनमा सिँचाइ सुविधा छैन । जलस्रोतको उपयोग र जलजन्य उद्योग, जस्तै– मिनरल वाटर, जल पर्यटन, जलचर खेती आदिको विकासबाट नेपालमा समृद्धि ल्याउन सकिनेमा दुई मत छैन् । विद्युत् जस्तो नवीकरणीय ऊर्जाको उपयोग नै नेपाललाई हरित आर्थिक पथमा डोराउने मुख्य कडी हो ।

जमिनः नेपालको भैगोलिक बनावट र हावापानीले गर्दा विभिन्न प्रकारका खाद्यान्न बाली, फलफूल र सागसब्जीे खेतीगर्न सकिन्छ । तर विडम्बना,७० प्रतिशत किसान भएको मुलुक खाद्यान्नमा परनिर्भर हुँदैछ ।पहाडमात्र नभई खाद्यान्नका भण्डार भनिने तराईका ५० प्रतिशतभन्दा बढी जिल्ला खाद्यान्न संकटापन्न जिल्लामा परिसकेका छन्। हाल कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रकोे योगदान रेमिटेन्सको भन्दा कम छ ।त्यसैले कृषिलाई व्यवस्थित, विशिष्टीकृत र व्यावसायिक बनाउन हरित आर्थिकनीति अंगीकार गर्नु जरुरी छ ।

५. विश्वबाट फाइदा लिन

नेपालको भु–बनोट, भौगोलिक अवस्थिति र हावापानीले गर्दा हामी थुप्रै हरित वस्तु कम लगानीमा प्रशस्त उत्पादन गर्न सक्छौ । यस्ता वस्तुको माग विश्व बजारमा वढ्दो छ र हामीले यी वस्तुलाई आकर्षक मूल्यमा बेच्न सक्छौँ ।गत साल विश्वमा ७२ विलियन डलरको अर्गानिक खाद्यवस्तुको व्यापार भएको देखिन्छ । नेपाल सुगन्धित तेलको मुख्य उत्पादक बन्न सक्ने सम्भावना उत्तिकै छ ।यसरी जलविद्युत् जस्तो सफा ऊर्जाको व्यापक प्रयोग र कार्बन व्यापारले नेपालको व्यापार सन्तुलनमा पनि ठूलो टेवा पुग्छ । जलविद्युत्को व्यापक उपयोग गरीनेपाल कार्बनशून्य विकासको उदाहरणीय देश बन्न सक्छ ।

                  (सदस्य– राष्ट्रिय योजना आयोग तथा पूर्वराष्ट्रिय प्रतिनिधि– आइयुसिएन, नेपाल)

प्रकाशित: १३ आश्विन २०७३ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App