७ वैशाख २०८१ शुक्रबार
समाज

अपराधमा जकडिँदै समाज

इलाम- जिल्लामा पछिल्लो समय नयाँ–नयाँ प्रकृतिका अपराधको संख्या बढिरहेको स्थानीय नागरिकले गुनासो गरेका छन्। प्रहरी र नागरिक समन्वयात्मक तवरले अपराध नियन्त्रणमा नलागेे समाजमा अपराध भयावह भएर जानेतर्फ उनीहरूले प्रहरी निकायको ध्यानाकर्षणसमेत गराए।

 मेची अञ्चलको शान्ति–सुरक्षा अवस्था बु‰न सदरमुकाम आएका नेपाल प्रहरीका एआइजी विज्ञानराज शर्मासमक्ष स्थानीयले पछिल्लो समय बढेको हत्या, साइबर अपराध, लागूऔषध ओसारपसार, दुर्व्यसनी, सीमा क्षेत्रमा हुने अपराध, तस्करी, अपहरणलगायत नियन्त्रण गर्न आग्रहसमेत गरे। उनीहरूले 'रुट' परिवर्तन गरी–गरी दिनहुँजसो भइरहेको मानव बेचबिखन, वैदेशिक रोजगारीले निम्त्याएको कलह र मदिरा पिएर भइरहेका अपराध रोक्न नसके यसले समाजलाई तहसनहस बनाउनसक्नेतर्फ सचेत गराए।

 महिला जागरण संघ अध्यक्ष विष्णु दाहालले गाउँमा 'झोले व्यापार' गर्न पसेका युवाले स्थानीय बालबालिका, युवतीलाई फसाउने गरेको बताइन्। उनले बाटो र तरिका परिवर्तन गरेर मानव बेचबिखन भइरहेको भन्दै नियन्त्रण नगरे यसले भयावह अवस्थामा पुर्‍याउने बताइन्। पाँचथरमा केही समयअघि एक बालिकाको हत्या भएको तर प्रहरीले दोषी पक्रन नसक्दा अपराधीको मनोबल बढ्ने देखिएको उनको भनाइ छ। नेकपा एमालेका जिल्ला उपसचिव उमेश गुरुङले सीमा क्षेत्रमा अपराध नरोकिएको भन्दै शान्ति–सुरक्षाका लागि प्रहरी सशक्त हुनुपर्ने बताए। 'जिल्लाको उत्तरी क्षेत्र जैविक विविधता र लोपोन्मुख जनावरसमेत रहेको संरक्षणयोग्य स्थान हो,' उनले भने, 'तर, भारतीय सीमा क्षेत्रको नजिक भएकाले सुरक्षामा प्रश्न उठ्ने गरेको छ। प्रहरीले सर्वसाधारणसम्म सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ।'

 स्थानीयले मदिरा पिएर हुने घरेलु हिंसा अपराधसम्म पुग्ने गरेको भन्दै प्रहरीको ध्यानाकर्षण गरे। गाउँ क्षेत्रमा उत्पादन हुने घरेलु मदिरामा नियमन हुन नसक्दा त्यही मदिरा अपराधको ठूलो कारण बनिरहेको स्थानीय रमा अधिकारीले बताइन्। 'रक्सी खानु सामान्यजस्तो लागेपनि यसले ठूला अपराध निम्त्याइरहेको छ,' उनले भनिन्, 'हामी महिलाले केही स्थानमा मदिरा नियन्त्रणको प्रयास पनि गरेका छौं तर प्रहरीले यस्तो प्रयासमा साथ दिन जरुरी छ।' मदिरा पिएर हिंसा गर्नेहरूलाई प्रहरीले समातिहाले पनि रिहा भएपछि उसको मनोबल अझ बढ्ने गरेको अर्की महिलाले बताइन्।

 कानुन व्यवसायी तारानाथ पराजुलीले निर्दाेष नागरिकलाई सजाय दिने नयाँ तरिकाको अपराध सुरु भएको बताए। 'अचेल कसैलाई फसाउनु परे उसले कुनै गल्ती नै नगरी सजाय दिने अपराधको अर्काे तरिका सुरु भएको छ,' उनले भने, 'यस्तो घटना बलात्कार, यौनशोषण र अपहरणजस्ता केसमा बढी छन्।' उनले सुरुमा कुनै युवक र युवतीले सहमतिमै गरेका कार्यकलाप पछि एकजनालाई चित्त नबुझे अपराधमा रूपान्तरण गरेर पसाउनेक्रम बढेको बताए। इलाम नगरपालिकाका कृष्ण श्रेष्ठले जिल्लामा काठ तस्करी मौलाएको बताए। उनले जिल्लाको वन फँडानी हेर्दा 'हरियो वन नेपालको धन' अब भनाइमा मात्रै सीमित भइरहेको जनाए। उनले गाउँ–गाउँमा प्रहरी चौकी स्थापना गर्न पनि प्रहरीलाई आग्रह गरे।

 कार्यक्रमका सहभागी राजनीतिक दलका नेता–कार्यकर्ता, नागरिक समाजका अगुवा, पत्रकार, व्यवसायीलगायतले समग्र मेची अञ्चलको सुरक्षा अवस्था र मानवअधिकार उल्लंघनबारे एआइजी शर्माको ध्यानाकर्षण गरेका थिए। इलामसहित ताप्लेजुङ, पाँचथर र झापाका प्रहरी प्रमुखसमेत उपस्थित रहेको कार्यक्रममा सहभागीले भारतीय भूभागसँग जोडिएको मेचीको सुरक्षा संवेदनशील रहेको भन्दै गाउँहरूमा प्रहरी इकाई विस्तार गर्न आग्रह गरे। सीमा क्षेत्रको प्रत्येक ३ किलोमिटरमा भारतले सुरक्षाकर्मी राखेपनि नेपालले भने आफ्नो भूभाग र स्थानीयको सुरक्षाका लागि सीमा क्षेत्रमा प्रभावकारी उपस्थिति जनाउन नसकेको गुनासो स्थानीयले गरेका थिए।

 प्रहरीको अनुसन्धान विभाग प्रमुखसमेत रहेका एआइजी शर्माले नेपाल चीन, भारतजस्ता ठूला मुलुकको सीमाभित्र रहेकाले नागरिक र प्रहरी संवेदनशील नभए कुनैपनि बेला ठूलो अपराध हुनसक्ने सम्भावना रहेको बताए। भारतको बिहारमा रक्सी प्रतिबन्ध गर्दा त्यहाँका भारतीय नागरिक नेपाली सीमा क्षेत्रमा आउन थालेकाले सीमा क्षेत्रमा गम्भीर अपराध हुनसक्नेतर्फ उनले सचेत गराए।

 शर्माले अपराध अनुसन्धानक्रममा प्रहरीले चारैतिरको दबाब खेप्नुपरेको पनि बताए। अपराधी उम्किन नदिनमात्र होइन छुटाउन पनि चौतर्फी दबाब आउने गरेको बताउँदै शर्माले प्रहरीले मात्रै केही गर्न नसक्ने सुनाए। 'कुनै घटना हुनेबित्तिकै दोषी उम्काउन चौतर्फी दबाब आउँछ,' उनले भने, 'तर, प्रहरी त्यस्तो दबाब झेल्न सक्षम छ, यसमा नागरिकले साथ दिनुपर्छ।' उनले प्रहरीले अब 'कसैले भनेको नमान्ने तर सकारात्मक काम जसले भनेको पनि मान्ने' बताए। 'अरू त उम्किने छैनन् नै, सुरक्षा निकायका जिल्ला प्रमुखहरूले अपराध गरे भनेपनि अब उम्किने छैनन्,' उनले भने, 'जब अपराध हुन्छ, पीडितलाई सबैभन्दा बढी तनाब हुन्छ, त्यसपछिको तनाब हुने प्रहरीलाई हो।' उनले अपराध अनुसन्धान र दोषीलाई कारबाही गर्न प्रहरी कहिल्यै नथाक्ने बताए। मदिरा पिउनु अपराधको पहिलो कारण भएको भन्दै शर्माले देशमा पछिल्लो समय साइबर अपराध अत्यन्त बढेको बताए।

प्रकाशित: ११ असार २०७३ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App