८ वैशाख २०८१ शनिबार
प्रविधि

'क्यान्डी क्रस'को डरलाग्दो लत

फेसबुके साथीले पठाएको क्यान्डी क्रस खेल्ने आमन्त्रणसहितको 'नोटिफिकेसन'लाई पछ्याउँदै तपाईं पनि क्यान्डी क्रस खेल्न थाल्नुभएको त छैन? यदि थाल्नुभएको छैन भने के फुर्सदको दिन खेल्ने योजना बनाइरहनुभएको छ? यदि यस्तो योजना बनाउनुभएको छ भने होसियार हुनुस्। किनकि, तपाईं ठूलो र डरलाग्दो लतमा फस्दै हुनुहुन्छ।

लागुऔषध र जुवातासजस्तै लत लगाउने बन्न पुगेको छ, क्यान्डी क्रस। यो खेलमा घोत्लिएर घण्टौँ बिताउने, खेलमा लीन हुने धुनमा शारीरिक श्रम कम गरेर स्वास्थ्य बिगार्नेदेखि क्यान्डी क्रस खेल्नकै निम्ति लाखौँ रुपैयाँ खर्चिनेसम्मका क्यान्डी क्रस दुर्व्यसनीका संख्या संसारभरि बढ्दै छ। यसको दुर्व्यसन भयावह रूपमा बढ्दै गएकाले विभिन्न देशमा क्यान्डी क्रसको लतबाट व्यक्तिलाई मुक्त गर्नकै लागि पुनःस्थापना केन्द्र स्थापना हुने क्रम धमाधम बढ्दै छ। र, यी पुनःस्थापना केन्द्रमा भर्ना हुनेहरूमध्ये महिला बढी छन्। किनकि, क्यान्डी क्रसले महिलालाई बढी दुर्व्यसनी बनाउने गरेको छ।

डरलाग्दो लत

बेलायतको एउटा कम्पनीमा निर्देशकको हैसियतले काम गर्दै आएकी ४४ वर्षीया लुसी बर्कले क्यान्डी क्रसकी खंुखार अम्मली हुन्। यसको अम्मलका कारण उनी अहिले मेरुदण्ड दुख्ने रोगले पीडित छिन्।

'सप्ताहान्तमा त म लगातार १० घण्टासम्म क्यान्डी क्रस खेल्ने गर्छु। अरू बेला पनि ध्यान यसैमा गइरहेको हुन्छ। कहिले फुर्सद मिल्छ र क्यान्डी क्रसमा नयाँ 'च्यालेन्ज' फेस गरूँ भन्ने भइरहन्छ। आइप्याडमा निहुरिएर लगातार क्यान्डी क्रस खेल्ने हुँदा ढाड दुख्ने समस्याले बेस्कन गाँजेको छ,' उनले भनिन्। महिलाहरूले मात्रै हरेक दिन क्यान्डी क्रस खेलेर चार लाख पाउन्डभन्दा बढी खर्च गर्ने गरेका छन्।

बेलायतको एउटा बैंकमा काम गर्ने स्टेफ ब्रोफी पनि क्यान्डी क्रसकी अम्मली हुन्। पाँच साताअघि उनले क्यान्डी क्रस खेल्न सुरु गरेकी थिइन्। यति छिट्टै उनलाई यो खेलले अम्मली बनायो। अहिले उनी प्रतिदिन आठ घण्टा क्यान्डी क्रस खेलेर बिताउने गर्छिन्।

'घरबाट अफिस नपुगुञ्जेल बाटोमा क्यान्डी क्रस खेल्ने गर्छु। फर्किंदा पनि त्यसै गर्छु। भात पकाउँदै गर्दा, टीभी हेर्दै गर्दा, निदाउनुअघि र बिहान उठेपछि स्मार्ट फोनमा क्यान्डी क्रस खेल्छु। यसको लत यतिसम्म लागेको छ कि अफिसमा पनि मौका मिल्नासाथ खेलिहाल्छु। नखेलेको बेला पनि मेरो मन त्यसमै गइरहेको हुन्छ,' उनले भनिन्।

हङकङमा धेरै लोकप्रिय

क्यान्डी क्रस 'पजल भिडियो गेम'कै एउटा रूप हो, जुन किङ डिजिटल कम्पनीले बनाएको हो। सन् २०१२ मा सार्वजनिक भएको यो गेम यति छिट्टै विश्वव्यापी भयो कि यसले स्मार्ट फोन, ट्याब्लेट र विन्डोमा खेलिने सबै खेललाई पछि पारिदिएको छ।

सार्वजनिक भएकै वर्ष क्यान्डी क्रसलाई एक करोड मानिसले डाउनलोड गरे। सन् २०१३ मा सार्वजनिक एक रिपोर्टअनुसार हरेक दिन ९ करोड ३० लाख मानिस दिनहुँ क्यान्डी क्रस खेल्ने गर्छन्। र, यसरी खेलेबापत खेल निर्माण कम्पनी किङ डटकमलाई प्रतिदिन आठ लाख डलर आम्दानी हुने गर्छ।

सन् २०१३ को जुलाईसम्ममा आईओएस स्टोरबाट मात्रै क्यान्डी क्रसले करिब साढे छ लाख अमेरिकी डलर आम्दानी गरेको थियो। सोही वर्ष क्यान्डी क्रस फेसबुक, आईओएस र एन्ड्रोइड उपकरणमा ५० करोड पटक 'इन्सटल' गरिएको थियो। यो खेल संसारभरि लोकप्रिय भए पनि हङकङमा यतिबिघ्न लोकप्रिय भयो कि हङकङका सातमध्ये एक व्यक्ति क्यान्डी क्रसको अम्मली रहेको पाइयो।

कसरी फैलियो दुर्व्यसन?

क्यान्डी क्रस खेल्न साह्रै सजिलो छ। एउटै रङका क्यान्डी 'म्याच' गराएर नयाँ 'लेभल'मा पुग्न सकिन्छ, जुन भर्खरै स्कुल जान थालेको बालकले पनि खेल्न सक्छ। सुरुका केही 'लेभल' खेल्न असाध्यै सजिलो हुन्छ, जसकारण लेभल पार गर्दै जाँदा खेल्नेको मन आत्मसन्तुष्टि र आत्मविश्वासले पूर्ण हुँदै जान्छ । लेभल पार गर्दै गएपछि अप्ठेरो चरण आउँदै जान्छ। नयाँ चरण आउने क्रम रोकिँदैन, जसले क्यान्डी क्रस प्रयोगकर्तालाई कहिल्यै नटुंगिने माखेसाङ्लोमा बन्दी बनाइदिन्छ र व्यक्तिमा यसको दुर्व्यसन भरिदिन्छ।

क्यान्डी क्रस खेल्नेहरूको शरीरमा आउने रासायनिक परिवर्तनको अध्ययन गर्दा खेल खेल्दै गर्दा उनीहरूको दिमागमा डोफामिन नाम गरेको न्युरोकेमिकल उत्सर्जन हने र यसले व्यक्तिलाई दुर्व्यसनमा लगाउने गरेको देखिएको थियो।

खेल उत्पादकका अनुसार क्यान्डी क्रस खेलमा व्यक्तिको क्षमताभन्दा पनि भाग्य हाबी हुन्छ। खेलाडीको 'स्विप' गर्ने क्षमताले भन्दा पनि स्त्रि्कनमा कस्ता रङका क्यान्डी देखा पर्छन् भन्ने कुराले बढी महŒव राख्छ। अर्को 'लेभल'मा पुग्दा कस्तो खालको चुनौती आइलाग्छ भन्ने भेउसम्म पनि पाइँदैन। यसले गर्दा क्यान्डी क्रसका लेभलले रहस्याका नयाँ पत्र क्रमशः उघार्दै जान्छन्। र, यही विशेषताले गर्दा यो गेम बढी 'एडिक्टिभ' बन्न पुगेको छ।

के भन्छ मनोविज्ञानले?

बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयबाट मनोविज्ञानमा विद्यावारिधि गरेका स्टिभ सर्म्यानले 'ग्याम्बलिङ'बारे अनुसन्धान गरिरहेका छन्। 'जब हामीलाई महसुस हुन्छ कि हामीले चाल्ने कदमले खेलको परिणामलाई निर्धारण गरिरहेको हुन्छ, तब हामी दुर्व्यसनमा फसिरहेका छौँ भन्ने महसुस गरे हुन्छ। क्यान्डी क्रसमा कहिलेकाहीँ हाम्रो कदमले परिणाम निर्धारण पनि गर्दो हो, तर वास्तवमा यस्तो हुँदैन। हामी खेलमाथि हाबी छौँ भन्ने भ्रम यसले सिर्जना गरिदिन्छ। एडिक्सनको कारण यही भ्रम हो,' उनी भन्छन्।

क्यान्डी क्रस उत्पादन कम्पनीले भने यसलाई 'ग्याम्बलिङ' मानेको छैन। 'यो साधारण खेल हो, जुन सिक्न सजिलो छ तर यसमा महारथ हासिल गर्न गाह्रो छ,' कम्पनीले भनेको छ।

महिलामा बढी समस्या

क्यान्डी क्रस खेल्नेमध्ये महिला बढी छन्। त्यही भएर यसको दुर्व्यसनले पनि महिलालाई बढी गाँज्ने गरेको छ। गेम उत्पादकका अनुसार महिलालाई केन्द्रित गरेर गेम डिजाइन गरिएकाले यो महिलामाझ बढी लोकप्रिय भएको हो।

स्त्रि्कनमा अहिलेसम्म खेलिँदै आएका प्रायः सबै खेल युवा तथा किशोरहरूलाई लक्ष्य गरी डिजाइन गरिएका थिए। क्यान्डी क्रसले भने २५ देखि ५५ वर्ष उमेर समूहका महिलालाई लक्ष्य गरेर गेम डिजाइन गरेको हो। खेल सार्वजनिक गर्नुअघि यसको उत्पादकले यो उमेर समूहका महिलामाझ क्यान्डी क्रसको परीक्षण गरेको थियो। परिक्षणमा खरो उत्रिएपछि यसलाई सार्वजनिक गरिएको थियो।

पुरुषका लागि गेम बन्दै आएकामा आफूहरूको रुचिलाई ध्यानमा राखेर नयाँ गेम आएपछि महिलाहरू यसप्रति ह्वात्तै आकर्षित भएका थिए। क्यान्डी क्रस उत्पादकले यो खेल २५ देखि ५५ वर्ष बीचका महिलामाझ बढी लोकप्रिय भएको स्वीकार गरेको छ। क्यान्डी क्रसको कुलतमा फसेर सुधार गृहमा राखिएकामध्ये पनि महिलाको संख्या उल्लेख्य पाउने गरिएको छ। यति हुँदाहुँदै पनि किङ डिजिटल इन्टरटेनमेन्टले यो खेल धेरै हदसम्म लैंगिक समानतामा आधारित रहेको जनाएको छ।
(एजेन्सीको सहयोगमा)

प्रकाशित: ७ वैशाख २०७३ ०२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App