coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

ब्ल्याक फेमिनिज्म

नेपालको संविधानको प्रस्तावनामा नै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूत अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समानतामूलक समाज निर्माण गर्ने संकल्प गरेको छ ।

तर राज्यले संविधानको प्रस्तावमा उल्लेख भए जस्तै सबै जाति, धर्म, भाषा, संस्कृति, वर्ग, लिंगलाई समान व्यवहार नभएको महसुस गरिरहेको अवस्था छ भने त्यसमा पनि महिला वर्ग लैंगिकरूपमा पनि थप पीडित भइरहेका छन् । तसर्थ नेपाली महिला लैंगिकरूपमा मात्र होइन, जातीय, भाषिक, सांस्कृतिक र छुवाछूत जस्ता सामाजिकरूपमा  समेत पीडित हुनु परिरहेको अवस्थाको कारण दोहोरो पीडामा छन् । समग्र महिलामध्ये पनि दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम महिलाले यस प्रकारका थप पीडा भोगिरहेका छन् ।

नेपालको महिला आन्दोलनले अधिकांश समय पितृसत्तात्मक समाजको विरुद्ध खर्चिनुपरेकाले पनि समग्र सबै जाति, धर्म, संस्कृति बोकेका समुदायका महिलाको पक्षलाई आफ्नो आन्दोलनको पाटोका रूपमा सम्बोधन गर्न सकिरहेको छैन । महिला आन्दोलनले विविध समुदायका महिलाभित्रका विविध समस्यालाई आफ्नो आन्दोलनमा मूलप्रवाहीकरण गर्नु अपरिहार्य छ । उदाहरणका लागि एउटी दलित महिला, महिला भएकै कारण विभेद खेपिरहेकी हुन्छिन् सँगसँगै उनले दलित भएकै कारण पनि थप असमान व्यवहार, जातीय छुवाछूत र विभेदबाट शोषित हुनुपरिरहेको छ ।

नेपालको महिला आन्दोलन कहिल्यै पनि भाषिक र जातीय समानताका लागि भइरहेको आन्दोलनसँग एकाकार भएन । आजसम्मको महिला आन्दोलनले महिला र पुरुषमाथिको विभेद, पैतृक सम्पत्तिमा समान अंश, राज्यका हरेक तहमा महिलाको सहभागितालगायतका मुद्दालाई मात्र आफ्नो आन्दोलनको पाटो बनाएको छ । तर महिलाभित्रको समावेशिताको मुद्दालाई भने सँगसँगै लान सकेको छैन । त्यसैले आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिमलगायतका महिलाले राज्य र समाजसँग मात्र होइन, महिलाभित्र पनि थप अधिकारका लागि लड्नुपर्ने अवस्था छ ।

नेपालका आदिवासी जनजाति महिला परम्परागत र सांस्कृतिकरूपले आफ्नो घर र समाजमा निर्णायक भूमिका खेल्ने हैसियत राख्छन् तर राज्यले उनीहरूको त्यो हैसियत खोसेको छ । आदिवासी महिलासँग पृथ्वीको पर्यावरण र प्राकृतिक स्रोतको दोहनबारे विशिष्ट ज्ञान छ तर उनीहरू भूमि अधिकारबाट वञ्चित भएका कारण यो ज्ञान पनि सदुपयोग हुन सकिरहेको छैन । अरु जातिका महिलाका लागि भूमिमाथिको अधिकार केवल सम्पत्तिको अधिकार मात्रै हो भने आदिवासी जनजाति महिलाका लागि यो अधिकार भनेको उनीहरूको परम्परागत सिप र ज्ञानको सदुपयोग गर्ने अधिकार पनि हो ।

अमेरिकालाई विश्वले नै स्वतन्त्रताका लागि आदर्श मान्ने गरेको छ । त्यसैले त्यहाँभित्रको महिला आन्दोलन पनि विश्वका सम्पूर्ण स्वतन्त्रताप्रेमी महिलाका लागि एक आदर्श नै हो । तर अमेरिकाको त्यो महिला आन्दोलन पनि सम्पूर्ण महिला मुक्तिका लागि पर्याप्त भने देखिएन । त्यसैले अमेरिकाको त्यो महिला आन्दोलनले छुन नसकेको अर्को पाटोलाई समेत समेटेर अर्को महिला आन्दोलन सुरु भयो । जसले आफूलाई ‘ब्ल्याक फेमिनिज्म’ को नामबाट स्थापित ग¥यो ।

सुरु सुरुमा यसका अभियन्ता दाबी गर्थे कि अमेरिकाका सम्पूर्ण काला जातिका महिला ‘ब्ल्याक फेमिनिस्ट’ हुन् । उनीहरू यसलाई वैचारिकभन्दा पनि जैविक विषय ठान्थे । तर यसमाथि अझ बढ्दै गएको बहसले ब्ल्याक फेमिनिज्मको व्याख्यालाई अझ स्पष्ट र स्थापित गर्दै लगे । यसलाई जैविकभन्दा पनि वैचारिक विषयका रूपमा मान्यता दिनुपर्ने तर्क गर्दै ब्ल्याक फेमिनिज्मका अभियन्ता क्याटी क्याननले लेखे– अमेरिकाको इतिहासमा गोरा जातिको प्रभुत्व र पुरुष वर्गको प्रभुत्व निरन्तर कायम रहँदै आएको छ । काला जातिका महिला यी दुवै प्रभुत्वबाट उत्पीडित छन् ।

यसरी पुरुषबाट लैंगिकरूपमा र उच्च जातिबाट जातीयरूपमा भएको कुनै पनि उत्पीडनविरुद्ध जसले आवाज उठाउँछ ती सबै ‘ब्ल्याक फेमिनिस्ट’ हुन् भन्ने अवधारणा यसले स्थापित गरेको छ । अमेरिकामा महिलावादी आन्दोलनका अभियन्ताले उठाउने विशेष माग भनेको घरेलु काममा श्रीमान्ले सहयोग गरेनन्, श्रीमान्हरू बढी दुव्र्यसनी हुन थाले, कार्यालयमा पुरुषहरू बढी हावी हुन थाले, कार्यालयमा यौन दुव्र्यवहार गर्नेलाई कारबाही गर्नुपर्छ आदि हो । तर काला जातिका महिलाका समस्या भने योभन्दा फरक छन् । उनीहरूको समस्या भनेको अशिक्षा, गरिबी, बेराजगारी, यौन हिंसा, गोरा जातिबाट हुने दुव्र्यवहार आदि । अमेरिकी महिला आन्दोलनले यी कुरा सम्बोधन गर्दैन । त्यसैले काला जातिका महिला अमेरिकी महिला आन्दोलनलाई पूर्ण आन्दोलन ठान्दैनन् । उनीहरूका लागि यो आधामात्रै आन्दोलन हो । बाँकी आधा ‘ब्ल्याक फेमिनिज्म’ ले पूरा गर्छ ।

यतिबेला अमेरिकी राष्ट्रपति चुनावमा पहिलो पटक एक महिला पनि उम्मेदवार बन्दैछन् । र, चुनावमा ती महिला उम्मेदवार विजयी हुने सम्भावना पनि व्यक्त गरिँदैछ । यस्तो अवस्थामा अहिले अमेरिकामा महिला आन्दोलनकारीहरू पनि अत्यन्त उत्साहित भएका छन् । तर यो उत्साहभित्र पनि काला जातिका महिलाको आवाज भने झिनो मात्रै सुनिने गरेको छ । अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामा पुरुष भए पनि उनी काला जातिका हुन् । अब आउनेवाला राष्ट्रपति महिला भए पनि गोरा जातिकी हुन् । अब अमेरिकी काला जातिका महिलाले महसुस गर्ने बेला आएको छ, उनीहरू काला जातिका पुरुष राष्ट्रपति भएकोमा बढी खुसी छन् वा गोरा जातिका महिला राष्ट्रपति भएकोमा !

आदिवासी जनजाति, दलित र मधेसी महिलाले सदियौँदेखि जुन उत्पीडन भोग्दै आइरहेका छन् त्यसलाई नेपालको महिला आन्दोलनले अझै पनि सम्बोधन गर्न सकिरहेको छैन । त्यसैले यो समुदायका नेपाली महिलाले उठाउने महिलावाद अमेरिकाका काला जातिका महिलाले उठाउने ‘ब्ल्याक फेमिनिज्म’ को दर्शनसँग सामीप्य रहनु आवश्यक देखिन्छ ।


 

 

प्रकाशित: २१ कार्तिक २०७३ ००:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App