६ वैशाख २०८१ बिहीबार
राजनीति

तीन दलको सहकार्य नभएसम्म संविधान कार्यान्वयन हुन सक्दैन: खनाल

इलाम- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एमाले, नेपाली कांग्रेस र एमाओवादीको सहकार्य नभएसम्म नयाँ संविधान कार्यान्वयन हुनै नसक्ने बताएका छन्। उनले ४ दलबीच गत जेठ २५ मा भएको १६ बुँदे सहमति कार्यान्वयन हुन नसक्दा दलहरूको एकता टुटेको र त्यसले राजनीतिक अस्थिरता निम्त्याएको बताए।

मुख्य दलबीचको एकता टुटाएर गठबन्धन बनाउँदै सरकार गठन गर्ने चलनले कतै सही ठाउँमा नपुर्‍याउने उनको भनाई थियो। ‘जब गठबन्धनका नाममा सरकार बनाउने ह्विम सुरु भयो, त्यहींदेखि राजनीतिक अस्थिरता र दलहरूबीच अविश्वास बढेको हो,’ पे्रेस चौतारी इलामले सदरमुकाममा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले भने, ‘मुख्य दलहरू पुनः एकठाउँ नउभिएसम्म नयाँ संविधान कार्यान्वयन सम्भव छैन।’  

                खनालले सरकार र मधेसवादी दलहरू संविधान संशोधनको बाटोमा लागेपनि औचित्य र आवश्यकताबिनै संशोधन गर्न नसकिने बताए। ‘नेकपा एमाले संविधान संशोधनकै पक्षमा छ तर किन संशोधन आवश्यक परेको हो भन्ने पुष्टि त गर्नुप¥यो नि !’ उनले भने, ‘सरकार र मधेसवादी दलले संविधान संशोधनपछि मात्रै कार्यान्वयनमा जानुपर्छ भन्ने तर्क गर्नु उल्टो बाटो हिँड्नु हो ।’ नयाँ संविधान संशोधनको औचित्यबारे एमाले सरकार र मधेसवादी दलसँग पलेंटी कसेर बहस गर्न तयार रहेको उनले बताए।

                प्रमुख दलसहित सबैको अहिलेको मुख्य जिम्मेवारी नयाँ संविधानको कार्यान्वयन नै भएको उनको भनाइ छ । ‘संविधान कार्यान्वयन नहुँदा यो देश कता जान्छ भन्नेतिर सोच्नुपर्छ,’ उनले भने, ‘कसैले आवश्यकता र औचित्यबिना जबर्जस्ती अशान्ति निम्त्याउन खोज्नु चाहिँ सरकारको कमजोरी हुन्छ। सरकारले त्यसलाई नियन्त्रण गर्नुपर्छ ।’ सामाजिक सञ्जालहरूमा चौतर्फी आलोचना भइरहेको कांग्रेस नेतृ सुजाता कोइरालालाई ५० लाख रुपैयाँ उपचार खर्च दिने निर्णयबारे खनालले भने, ‘म यो विषयमा केही बोल्दिनँ, नेपालमा यदि उहाँको उपचार हुन नसक्ने हो भने त्यसरी खर्च दिनुपर्छ भन्ने मेरो बुझाइ छ।’  

प्रकाशित: ३० कार्तिक २०७३ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App