८ वैशाख २०८१ शनिबार
अन्य

निकुन्जमा हात्ती पूजा

कोहलपुर-बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्न बर्दिया राष्ट्रिय निकुञ्जबाट सोमबार ल्याएका चारवटा हात्तीको मंगलबार पूजाआजा गरिएको छ। नयाँ स्थानमा हात्ती सञ्चालनमा ल्याउनुअघि पूजाआज गर्ने प्रचलन अनुसार मंगलबार बाँके निकुञ्जमा हात्तीको विशेष पूजा गरिएको हो।

         चार हात्तीसहित बाँकेमा अस्थायी दरबन्दीका लागि काजमा आएका आठजना माउते, पछुवा र फनितले संयुक्त रूपमा हात्ती पूजा गरे । उनीहरूले हात्तीसारको शुभकार्य र प्रगतिको कामना गर्दै पूजा गरेको बाँके राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख लालबहादुर भण्डारीले बताए । बर्दियाबाट सोमबार दिउँसो बाँकेमा हात्ती ल्याएका थिए । महादेवपुरी–२ बुचापुरमा हात्तीसार स्थापना गरिएको छ । अब यहाँबाट निकुञ्जले पर्यटकीय रूपमा हात्तीसार स्थापना गरेको हो । ‘हात्तीको पूजाआजा सकिएको छ,’ भण्डारीले भने, ‘अब पर्यटनका लागि हात्ती चढाउन सकिन्छ ।’ नयाँ स्थानमा आएपछि कुनै अप्ठ्यारो, समस्या नआओस् भनेर पूजा गरिएको उनले बताए । चारवटा हात्तीसहित आठजना कर्मचारी अहिलेलाई काजमा आएका छन् । बाँके राष्ट्रिय निकुञ्जले हात्तीसारका लागि दस दरबन्दी नियुक्ति गरिसकेको छ । बर्दियाबाट काजमा ल्याइएका हात्ती र कर्मचारीको दरबन्दी यहीँ कायम गर्न सकिने निकुञ्जले जनायो । हात्तीमा सवारका लागि नेपालीका लागि पाँच सय, सार्क राष्ट्रका पर्यटकका लागि एक हजार पाँच सय र तेस्रो मुलुकका पर्यटकका लागि दुई हजार पाँच सय रूपैयाँ दस्तुर तोकिएको छ । यो मूल्य दर प्रतिव्यक्ति एक घण्टा सवारका लागि रहेको निमित्त वार्डेन भण्डारीले जानकारी दिए।

हात्तीसार निकुञ्जले कोहलपुर–१२ खड्गजार र महादेवपुर–५ ढकेरीमा स्थापना गर्ने छ । यहाँ संरचना तयार नभएकाले तत्कालका लागि बुचापुरबाट अस्थायी रूपमा सञ्चालनमा आएको हो । हात्तीसार सञ्चालनका लागि निकुञ्जले नियमावली समेत बनाइसकेको छ । व्यवसायिक रूपमा पर्यटक लक्षित गरी पूजाआज पछि सूरु हुने भए पनि साउन १ गतेदेखि हात्ती चढ्न सुरु गरिने बताइएको छ । त्यसका लागि मचना बनाउन बाँकी रहेको छ । हात्तीका लागि एक हात्ती बराबर तीनजना कर्मचारी चाहिन्छ । तत्कालका लागि अहिले दुईजना कर्मचारी राखिएको बाँके निकुञ्जले जनाएको छ ।

 

प्रकाशित: १५ असार २०७३ ०५:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App