coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

चैतभित्रै स्थानीय निकायको निर्वाचनः मन्त्री पाण्डे

मन्त्री पाण्डे ।

काठमाडौं–संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले अहिलेसम्म ६२ वटा जिल्लाको स्थानीय पूर्नसंरचना भइसकेको बताएका छन्। बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मान्त्री पाण्डेले आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार स्थानीय तह पूर्नसंरचना आयोगले काम गरिरहेको बताए। ‘अहिलेसम्म ६२ वटा जिल्लाको रिपोर्ट आईसकेको छ,’ उनले भने, ‘आयोगका अनुसार बाँकी जिल्लाहरुमा पनि द्रुत गतिमा काम भैरहेको छ ।’
मन्त्री पाण्डेले सरकारले आयोगलाई छिटोभन्दा छिटो रिपोर्ट बुझाउनको लागि निर्देशन दिएको जानकारी दिँदै भने, ‘आयोगले पनि मंसिर पहिलो हप्ता वा दोस्रो हप्ताभित्रै रिपोर्ट बुझाउने कुरा गरेको छ, मन्त्रालयको तर्फबाट गर्नुपर्ने कामहरु तिव्रताका साथ काम भइरहेको छ।’ उनले चैत्र मसान्तभित्रै स्थानीय तहको निर्वाचन हुने विश्वास व्यक्त गरे।
मन्त्री पाण्डेले संविधानको स्पिरिट अनुसार नै तीन वटै निकायको चुनाव गर्ने वर्तमान सरकारको प्रमुख दायित्व भएकोले चैत मसान्तभित्रै स्थानीय तहको चुनाव हुने दाबी गरे।
उनले संविधान संशोधन प्रस्ताव सहमतिमै संसदमा दर्ता गर्नेगरी प्रधानमन्त्री पुष्पकमल दाहालले तयारी गरिरहेकोले छिट्टै दर्ता हुने स्पष्ट पारे। उनले अघि थपे, ‘अहिले प्रधानमन्त्रीजीले द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय छलफल तथा भेटवार्ताहरु गरिरहनुभएको छ।’ उनले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरुसँग पनि कुराकानी भइरहेको जनाए।

पाण्डेले संशोधन प्रस्ताव पारित हुनेगरी प्रधानमन्त्रीले गृहकार्य जारी राखेको बताउँदै थपे, ‘पारित हुनेगरी राष्ट्रिय सहमतिको प्रयास भैरहेको छ।’
मन्त्री पाण्डेले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको बारेमा अहिले संसदमा छलफल भइरहेको भन्दै उक्त प्रस्ताव सहमतिमै पारित हुने विश्वास व्यक्त गरे। उनले भने, ‘सांसदहरुले आफ्नो भनाई राखिरहनुभएको छ, यो विषय सहमतिमै टुँगिनेमा म विश्वस्त छु ।’

 

प्रकाशित: १ मंसिर २०७३ ०९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App