coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमाले सहमतिबाट भाग्न सक्दैन : पौडेल

जनकपुर- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमाले अहिले भइरहेको संविधान संशोधन प्रक्रियामा सहभागी हुने दाबी गरेका छन्। तत्काल एमालेले संविधान संशोधनको विरोध गरेपनि अन्ततः सहमतिमा आउने पौडेलको दाबी छ।

मधेसी र जनजातिको माग सम्बोधन नगरी चुनावमा जाने वातावरण नबन्ने बताउँदै पौडेलले यसका लागि राष्ट्रिय सहमति बनाउने प्रयास भइरहेको बताए। 'एमालेले कुनै हालतमा संविधान संशोधन हुन नदिने भनिसक्यो त?' मंगलबार जनकपुरमा आयोजित पत्रकार भेटघाटमा सञ्चारकर्मीले राखेको जिज्ञासामा पौडेलले भने, 'एमालेको यो नै अन्तिम निचोड होइन।'

एक वर्षभित्र तीन तहको निर्वाचन गराउनैपर्ने बाध्यता रहेको बताउँदै पौडेलले यो सबै जिम्मेवारी पूरा गर्न अहिलेको राजनीतिक अवरोध नफुकाए सम्भव नहुने जिकिर गरे। 'निर्वाचन पनि गराउनैपर्छ,' उनले भने, 'तर, त्यसअघि निर्वाचन गराउने वातावरण पनि त बनाउनुपर्‍यो।' यो वातावरण बनाउन पहिलो चरणमा संविधानको संशोधन नै गर्नुपर्ने उनले दोहोर्‍याए।

एमालेलाई संविधान संशोधन प्र्रक्रियामा सहयोग गर्न लोकमान प्रकरण 'बार्गेनिङ पोइन्ट' हुनसक्ने संकेत गर्दै पौडेलले एमाले तत्काललाई संशोधन प्रक्रियाको विरोध गरेपनि उसको (एमाले) यो नै अन्तिम निर्णय नरहेको प्रष्ट्याए। 'अहिले समय बाँकी छ,' उनले भने, 'एमालेलाई पनि संविधान संशोधनको प्रक्रियामा सहमति गराएरै छोड्छौं।'

संवादमा सांसदको अनुपस्थिति

मधेस आन्दोलनले मधेस क्षेत्रमा पातलिएको पार्टीको उपस्थिति मजबुत बनाउने उद्देश्यले 'तराई मधेसमा नेपाली कांग्रेसको संवाद' अभियान चलाइएको छ। सोही क्रममा मंगलबार जनकपुरमा आयोजित संवाद कार्यक्रममा पौडेल सहभागी भएपनि यसै जिल्लाका बहुसंख्यक सांसद भने अनुपस्थित देखिए।

संसदमा धनुषाबाट नेपाली कांग्रेसका १४ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन्। तीमध्ये पौडेल प्रमुख अतिथि रहेको मंगलबारको संवाद कार्यक्रममा जम्मा चार सांसद देखिए। पार्टीको संस्थापन पक्षका चन्द्रमोहन यादव, रामकृष्ण यादव, मोक्ताकुमारी यादव र पुष्पलता लामाबाहेक देउवा पक्षधर एउटै सांसद देखिएन।

चितवनबाट सुरु गरिएको तराई-मधेस संवाद अभियान क्रमशः मकवानपुर, पर्सा, रौतहट, बारा, सर्लाही, महोत्तरीहुँदै मंगलबार धनुषामा आयोजित संवाद कार्यक्रमको सम्बोधन गरेर पौडेल राजधानी फर्केका छन्।

प्रकाशित: ७ मंसिर २०७३ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App