coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भएन चाँगुनारायणको पुनर्निर्माण

काठमाडौं- भूकम्प गएको १८ महिना बित्दा पनि भक्तपुर जिल्लामा पर्ने चाँगुनारायण मन्दिर अझै पुनर्निर्माण भएको छैन। लामो समय पुनर्निर्माण नहुँदा विश्वसम्पदा सूचीमा राखिएको सम्पदा टेकाकै भरमा अडिएको छ। राष्ट्रिय पुनर्निर्माचाँण प्राधिकरण र पुरातत्व विभागको हानथापले पुनर्निर्माण सुरु हुन नसकेको स्थानीयले आरोप लगाएका छन्।

'भूकम्प गएको डेढ वर्ष भइसक्यो, पुनर्निर्माणको सुरसारै छैन,' स्थानीय सत्यनारायण भडेलले भने, 'क्षतिग्रस्त सम्पदा पुनर्निर्माण नगर्दा दुर्घटना हुने त्रास बढेको छ।' भूकम्पमा चाँगुनारायण मन्दिर परिसरका चारैतर्फका सत्तल ध्वस्त भएका थिए। प्यागोडा शैलीको चाँगुनारायण मन्दिरको माथिल्लो भाग चर्किएर पश्चिमतर्फ ढल्किएको छ।

मन्दिर समयमा पुनर्निर्माण नहुँदा मन्दिरको नियमित पूजा र जात्रा निकाल्न समस्या भएको चाँगुनारायण विकास समिति अध्यक्ष तथा मन्दिरका पुजारी चक्रधरानन्दराज उपाध्यायले बताए। 'टेकोले अड्याइएको मन्दिरमा नियमित पूजा समेत डराइडराइ गर्नुपर्ने अवस्था छ,' उनले भने, 'कतिबेला मन्दिर भत्केर थिच्ने हो भन्ने डर लागिरहन्छ।'

पुरातत्व विभागले मन्दिर पुनर्निर्माणमा ध्यान नदिएको उनले बताए। 'विभागले भूकम्पलगत्तै निकै चासो देखायो,' उनले भने, 'तर पछिल्लो समय किन सुस्ताएको हो बु‰नै सकिएन।'

ऐतिहासिक र पुरातात्विक महत्वको सम्पदा निर्माणमा विभाग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चासो नदिएको स्थानीय रामकृष्ण काँसुलाले गुनासो गरे। 'सरोकारवाला निकायबीच हानथापले नै पुनर्निर्माणमा ढिलाइ भएको हो,' उनले भने, 'पुनर्निर्माण नहुँदा सम्पदा जोगाउनै कठिन भएको छ।' चाँगुनारायण मन्दिर परिसरका जीर्ण सत्तल पुनर्निर्माण गरेर मात्रै चाँगुनारायण मन्दिर बनाउन स्थानीयले अनुरोध गरेका छन्। 'भत्किएका संरचना देख्दा मनै खिन्न भयो।' चाँगुनारायण मन्दिर परिसरमा भेटिएका दर्शनार्थी दिपेन्द्र शर्माले भने, 'ऐतिहासिक सम्पदा अलपत्र हुँदा पर्यटन क्षेत्रमा नै नकारात्मक असर पर्छ। त्यसैले तत्काल पुनर्निर्माण गरियोस्।'

विभागका प्रवक्ता रामबहादुर कुँवरले चाँगुनारायण मन्दिरलगायत सम्पदाको अध्ययन अनुसन्धान गरिरहेको बताएका छन्। 'सम्पदाको अध्ययन अनुुुसन्धान गरिरहेकाले केही समय पुनर्निर्माणका काम रोकिएको हो,' उनले भने, 'छिट्टै टेन्डर प्रक्रिया अघि बढाएर पुनर्निर्माण थाल्नेछौं।'

कुँवरले पुरातात्विक महत्वका सम्पदा हचुवाको भरमा पुनर्निर्माण गर्न नमिल्ने बताए। ऐतिहासिक सम्पदा जथाभावी पुनर्निर्माण गर्न मिल्दैन,' उनले भने, 'सम्पदा निर्माण एक जना व्यक्तिको घरमा जग हालेजस्तो हुँदैन। सबै सम्पदाको इतिहास र निर्माण सामग्री प्रयोगमा समेत ध्यान दिनुपर्ने हुन्छ।'

विभागले चाँगुनारायण पुनर्निर्माण गर्न छिट्टै टेन्डर खोल्ने जनाएको छ। दातृनिकायको सहयोगमा विभागको प्रत्यक्ष निगरानीमा चाँगुनारायण मन्दिर परिसरस्थित किलेश्वर महादेव मन्दिरको पुनर्निर्माण सम्पन्न गरिसकेको प्रवक्ता कुँवरले जानकारी दिए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले उपत्यकाका सम्पदा पुनर्निर्माण गर्न चालु आवमा १ अर्ब रुपैयाँ बजेट छुट्याइएको बताए। 'भूकम्प प्रभावित जनताको आवास निर्माणलाई प्राधिकरणले पहिलो प्राथमिकता दिएको छ,' उनले भने, 'कतिपय सम्पदा पुनर्निर्माणमा स्थानीयको अवरोधले समस्या निम्ताएको छ।'

सम्पदा पुनर्निर्माणमा अभिरुचि देखाएका विभिन्न दातृनिकायले जिम्मा लिने प्रक्रिया चलिरहेकाले पुनर्निर्माण सुरु हुन अझै केही समय लाग्ने उनले बताए। चाँगुनारायण मन्दिरको निर्माण लिच्छवि राजा हरिदत्त वर्माले मौलिक प्यागोडा शैलीमा इसापूर्व ३२३ वर्षअघि निर्माण गरेको जनविश्वास रहेको छ।

प्रकाशित: ९ मंसिर २०७३ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App