७ वैशाख २०८१ शुक्रबार
समाज

सगरमाथा अस्पतालमा पनि अनशन

राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल परिसरमा आमरण अनशन बसेका स्थानीय नेताहरू । तस्बिरः जितेन्द्रकुमार झा

राजविराज– राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अवस्था सुधार गर्नुपर्ने मागसहित मधेसी मोर्चा सप्तरीका नेताहरू बुधबारदेखि अस्पताल परिसरमै आमरण अनशन बसेका छन् ।
मधेसी मोर्चा सप्तरीका संयोजक सुबी यादव, नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका केन्द्रीय अध्यक्ष विकास तिवारी, अवकाश प्राप्त प्रधानाध्यापक जयसुन्दर खिडहरी यादव, सावित्री पण्डित र प्रभाकर सिंह आमरण अनशन बसेका हुन् ।

अस्पतालमा देखिएका समस्या समाधान गर्नुपर्ने मागसहित तीन महिनादेखि जारी आन्दोलनलाई अस्पताल प्रशासनले बेवास्ता गरेपछि बाध्य भएर आमरण अनशन थालेको तिवारीले बताए । ‘अव्यवस्था, असुविधा, अभाव र फोहरको केन्द्रका रुपमा चिनिने यो अस्पतालको अवस्था सुधार हाम्रो एकमात्र लक्ष्य हो’, तिवारीले भने, ‘राज्यको उदासीनता सँगसँगै यहाँका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) देखि अन्य कर्मचारीको हैकमवादले अस्पतालको अवस्था यस्तो हुन पुगेको हो ।’

आफूले पछिल्लो तीन महिनादेखि अस्पताल सुधारका निम्ति चरणबद्ध प्रयास गर्दै आएको बताउँदै उनले भने, ‘यहाँका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जानकारीसमेत दिन चाहँदैनन्, प्रश्न गर्न आउनेलाई हप्काएर भगाउने गर्छन्, उपचार गराउन आउनेलाई प्रभावकारी सुविधा त परै जाओस्, राम्रो मुखले समस्या सुन्नेसम्म कोही हुँदैन ।’

अस्पतालको सेवासुविधा प्रभावकारी बनाउनुका साथै व्यवस्थित गर्न तिवारीको नेतृत्वमा मोर्चाले दबाबमूलक गतिविधि गर्दै आएको छ । यसअघि मोर्चाका संयोजक सुबी यादवको नेतृत्वमा कात्तिक १२ गते सातदिने अल्टिमेटम दिई मागपत्र बुझाइएको थियो ।

अस्पताल बालमैत्री बनाउनुपर्ने, बिरामी बालबालिकालाई उपलब्ध हुने खाना स्वस्थकर हुनुपर्ने, बिरामीलाई स्वस्थ, पोषिलो खाना, स्वच्छ पानीको व्यवस्था गरिनुपर्ने लगायतका माग अघि सारिएको थियो । यसैगरी नाक, कान, घाँटी, छाला, हाडजोर्नी, मुटु रोग, रेडियोलोजीका चिकित्सक, प्राविधिक उपलब्ध हुनुपर्ने, प्रसूतिगृह, निर्माणाधीन भवनको अविलम्ब निर्माण, चिकित्सकको आवास व्यवस्थापन लगायतका माग पनि आन्दोलनरत पक्षले उठाएका छन् ।

कात्तिक १२ गते बुझाएको मागपत्रबारे बुधबार जानकारी माग्न जाँदा निमित्त मेसु डा. दिलीप साहले थाहा नभएको भन्दै मागसमेत पूरा गर्न नसक्ने अभिव्यक्ति दिएको नेता तिवारीको भनाइ छ । यसबारे मेसु साहसँग पटकपटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

विशेषज्ञका १८ मध्ये १७ दरबन्दी खाली

भारतीय सहयोगमा २०२८ सालमा स्थापित सगरमाथा अञ्चल अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टसहित १८ जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ । तीमध्ये १७ दरबन्दी रिक्त छन् । अस्पतालमा हाल एकजना वरिष्ठ कन्सलटेन्ट फिजिसियनमात्र छन् । सर्जनको अभावमा पछिल्लो ८ वर्षयता प्रसूतिबाहेक अलि गम्भीर प्रकृतिको सर्जरी हुन सकेको छैन ।

सगरमाथा अञ्चलका ६ जिल्लाको स्वास्थ्य सेवाको जिम्मेवारी बोकेको यस अस्पतालसँग स्त्री रोग तथा बालरोग विशेषज्ञसमेत छैनन् । दरबन्दीअनुसार अञ्चल अस्पतालमा ११औं तहका प्रमुख कन्सलटेन्ट ‘अब्स एन्ड गाइने’, ‘जनरल फिजिसियन’ र ‘पिडियाट्रिसियन’ एकएक जना रहनुपर्नेमा हाल तीनै पद रिक्त छन् । त्यस्तै ९ र १०औं तहका वरिष्ठ कन्सलटेन्ट ‘अब्स एन्ड गाइने’, ‘पिडियाट्रिसियन’ र ‘फिजिसियन’, दुईदुई जनाको दरबन्दी रहेकोमा एक फिजिसियनबाहेक पाँच पद रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ ।
यसैगरी ९ र १०औं तहकै वरिष्ठ कन्सलटेन्ट ‘प्याथोलजिस्ट’, ‘एनेस्थेसियोलजिस्ट’, ‘डर्माटोलजिस्ट’, ‘इएनटी’, ‘सर्जन’, ‘साइक्याट्रिक्स’, ‘अर्थो सर्जन’, ‘मेडिकल जनरलिस्ट’ र ‘रेडियोलोजिस्ट’ का एकएक दरबन्दी रहेकोमा सबै पद पछिल्लो एक दशकदेखि रिक्त छन् । ६ जना मेडिकल अधिकृतको दरबन्दी रहेकोमा तीमध्ये चार पद रिक्त छन् भने डेन्टल सर्जन, नर्सिङ अधिकृत, हाउसकिपर, एम्बुलेन्स चालक लगायतका पद समेत रिक्त रहेकाले अस्पताल बिरामीलाई रेफर गर्ने केन्द्र बनेको प्रशासनको स्वीकारोक्ति छ ।
रिक्त स्थानमा पदपूर्तिका लागि पटकपटक विभागमा लेखेर पठाए पनि चिकित्सक नआउँदा उपलब्ध स्रोतसाधनकै आधारमा जसोतसो स्वास्थ्य सेवा प्रदान गरिराख्नुपरेको अस्पताल प्रशासनको भनाइ छ ।

निमित्तकै भरमा एक दशक
एक दशकदेखि अञ्चल अस्पताल निमित्त मेसुका भरमा सञ्चालित छ । पछिल्लो पटक गत वर्ष डा. महेश खनाल मेसु बनेर आए पनि उनी ६ महिना नबित्दै फर्किए । त्यसबाहेक डा. अशोकानन्द मिश्रको अवकाशपश्चात् हालसम्म अस्पताल निमित्तकै भरमा छ । सप्तरी नै घर भएका र सदरमुकाम राजविराजमा प्रभाव जमाएर बसेका दुईचार जना चिकित्सकको इसारामा विभागले पूर्णकालीन मेसु नपठाई पालैपालो तिनै चिकित्सकलाई निमित्तको कार्यभार दिँदै आएको सरोकारवालाको गुनासो छ । राजविराजमा निजी क्लिनिक चलाई महिनामै लाखौं कमाउने चिकित्सकले स्वास्थ्य क्षेत्रमा आफ्नो सिन्डिकेट नटुटोस् भनेर बाहिरका दक्ष चिकित्सकलाई सप्तरी आउनै नदिने नागरिक अगुवा शशि यादवको भनाइ छ ।

डा. मिश्रले अवकाश पाएपछि डा. मुरलीप्रसाद सिंह, डा. सत्यदेव गिरी, डा. तारानन्द झा, डा. शैलेशकुमार झा, डा. टेकनारायण मण्डल, डा. दीपा यादव, डा. दिलीपकुमार साहलगायतले निमित्त मेसुको कार्यभार सम्हालिसकेका छन् । यीमध्ये मण्डल, यादव र साह अञ्चल अस्पतालमै कार्यरत छन् ।

डा. खनालले डा. यादवलाई निमित्त मेसुको कार्यभार दिएका थिए । त्यसपछि सगरमाथा अञ्चल अस्पतालमा काजमा रहेका डा. दिलीपकुमार साहले पहुँचको आधारमा केन्द्रबाट निमित्त मेसुको नियुक्ति लिएर आए । काजमा आएका चिकित्सकलाई निमित्त मेसु बनाउनु अनुपयुक्त रहेको भन्दै अन्य कर्मचारी र चिकित्सक असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

 

प्रकाशित: १० मंसिर २०७३ ०६:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App