१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कांग्रेस र माओवादीले संविधान संशोधनमा सहमति जुटाउन प्रयास गर्ने

बालुवाटारमा संविधान संशोधनबारे छलफल गर्दै कांग्रेस र माओवादी नेताहरु। तस्बिर: सिएम प्रचण्ड डटकमबाट

काठमाडौं- संविधान संशोधनलगायतका विषयमा सहमति जुटाउनका लागि सत्तारुढ दलले पुनः एकपटक सबै पक्षसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीचको बैठकले सत्तारुढ दल, मधेस केन्द्रित दल र अन्य पक्षसँग पुनः एकपटक औपचारिक तथा अनौपचारिक छलफल गर्ने निष्कर्ष निकालेको हो।

संविधान संशोधन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पूर्णतः असहमति जनाएको र मधेश केन्द्रित दलहरुले आन्दोलनको धम्की दिइरहेका बेला सबै पक्षसँग मिलेर नै अगाडि बढ्ने र सकेसम्म धेरैको सहमति जुटाउने प्रयास गर्ने बैठकमा सहमति भएको बताइएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सबै पक्षसँग एकसरो छलफल गर्ने तयारी गरेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

काँग्रेस सभापति शेरबहादुर देउवाले पनि एकपटक अनौपचारिक रुपमा मधेसवादी दलसँग छलफल गर्ने र त्यस आधारमा शनिबार थप परामर्श गरेर संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरिएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्रीले कानुनी पाटोबाट पनि छलफल गरेका थिए। प्रेस सल्लाहकार आचार्यले सबै पक्षसँगको छलफलका आधारमा नै सहमतिमा नै संशोधन प्रस्ताव दर्ता गराउने तयारी गरिएको र छलफल सोही दिशामा केन्द्रित रहेको बताए।

आजको बैठकमा प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि, कृष्णबहादुर महरा, काँग्रेस सभापति शेरबहादुर देउवा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए। रासस

 

प्रकाशित: १० मंसिर २०७३ ०९:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App