७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

क्युबाली क्रान्ति नायक फिडेल क्यास्ट्रो

मणि दाहाल/सामीप्य तिमल्सेना

काठमाडौं- पुँजीवादी विश्वसँग एक्लै पौंठेजोरी खेलेर झन्डै पाँच दशकसम्म एकछत्र शासन गरेका क्युबाली क्रान्ति नायक फिडेल क्यास्ट्रोको स्थानीय समयअनुसार शुक्रबार राति निधन भएको छ। विश्वको शक्ति आन्ध्र महासागर आसपासका देशमा केन्द्रित रहेको २०औं शताब्दीमा वैकल्पिक राजनीतिक धारलाई नेतृत्व प्रदान गर्ने क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको हो। 'उनको जीवन हाम्रो समयको इतिहासका सबै घटनामा जोडिन्छ, क्रान्तिकारी अभियान, शीतयुद्ध, पूर्वविरुद्ध पश्चिम, उत्तरविरुद्ध दक्षिण, कम्युनिस्टविरुद्ध पुँजीवाद, यी सबै गतिविधिमा उनी जोडिएका छन्,' बिबिसीले लेखेको छ, 'फिडेल सधैं एकै प्रकारको रहे। क्रान्तिको प्रतीक, संसारबाट कम्युनिस्ट शासन व्यवस्था ढल्दा पनि बाँच्न सफल कम्युनिस्ट।'

पुँजीवादी विश्वको एकछत्र नेतृत्व गर्ने अमेरिकाको नाकैमुनि त्यसको वैकल्पिक राजनीतिक धारको नेतृत्व गरी क्यास्ट्रोले विश्वलाई चकित पारेका थिए।

'उनी विकासोन्मुख राष्ट्रका नेता हुन्, अमेरिकाको नजिकै वैकल्पिक शासन व्यवस्थालाई यति लामो समयसम्म कायम राख्न चामत्कारिक नेतृत्वले मात्रै सक्छ,' राजनीतिक विश्लेषक हरि रोकाले भने, 'उनको प्रभाव ल्याटिन अमेरिका र अफ्रिकामा बढी नै पर्‍यो, एसियाली देशमा पनि देखिन्छ।'

ल्याटिन अमेरिकालाई उपनिवेशबाट मुक्ति दिने सिमोन बोलिभार, मार्टीपछि त्यस क्षेत्रको सबैभन्दा प्रभावशाली नेताका रुपमा क्यास्ट्रो आउने रोकाको विश्लेषण छ।

क्यास्ट्रोले क्युबामा ४९ वर्ष शासन गरे। फिडेल क्यास्ट्रोले सन् १९५९ मा पहिलो पल्ट सत्ता सम्हालेका थिए। त्यसयता भाइलाई सन् २००६ मा सत्ता सुम्पनुअघिसम्म उनी निरन्तर सत्तामा रहे। अमेरिका क्यास्ट्रोको दुस्मन थियो र उनलाई मार्न दर्जनौं पटक प्रयास गर्‍यो। तर, क्यास्ट्रोले क्युबामा एकछत्र शासन गरिरहँदा अमेरिकामा १० वटा राष्ट्रपति फेरिए।

त्यस समयमा शीतयुद्धको शक्ति सन्तुलनका कारण क्युबा जोगिएको ठान्नेहरुका लागि सोभियत संघको पतनपछि पनि क्यास्ट्रोले आफ्नो शासनलाई निरन्तरता दिन सक्नु आश्चर्यको घटना थियो। तत्कालीन समयमा कम्युनिस्ट मुलुकले एकअर्काले उत्पादन गरेका सामग्री किन्ने गरे पनि सोभियत संघको विघटनपछि यो क्रम टुंगियो। क्युबाले कम्युनिस्ट मुलुकलाई सिगार र चिनी बेच्ने गर्थ्याे अनि अरु आवश्यक सामग्री तिनै मुलुकसँग किन्थ्यो।

'सोभियत संघको विघटनपछि संकटमा परेको देशका जनतालाई संगठित गरेर क्यास्ट्रोले एक दशकभित्रै धेरै अघि बताए', विश्लेषक एवं एमाले उपमहासचिव घनश्याम भुसालले भने, 'त्यो पनि ६० को दशकमा गरेको क्रान्तिभन्दा कम थिएन।'

क्यास्ट्रोले भ्रष्टाचार, असमानता र पछौटेपनका लागि तत्कालीन बाटिस्टा शासनलाई जिम्मेवार ठहर्‍याउँदै सशस्त्र आन्दोलन सुरु गरेका थिए। उनले नेतृत्व गरेको वि›ोही सेनाले २ जनवरी १९५९ मा राजधानी हवानामा प्रवेश गरी बाटिस्टा सरकारलाई अपदस्थ गरेको थियो।

बाटिस्टा भागेपछि क्यास्ट्रोले नयाँ सरकार गठन गरे जसमा अर्जेन्टिनामा जन्मिएका अर्का क्रान्तिकारी अर्नेस्टो चे ग्वेभेरा पनि सहभागी थिए।

क्यास्ट्रोको नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र कृषिमा ठूलो प्रगति गर्‍यो। 'क्यास्ट्रो नेतृत्वमा क्युबाले स्वास्थ्य, शिक्षा र अर्गानिक खेतीमा ठूलो उपलब्धि प्राप्त गर्‍यो', रोकाले भने, 'स्वास्थ्य क्षेत्रको उपलब्धिलाई संसारभर उदाहरणका रुपमा लिइन्छ।'

क्यास्ट्रोको शासनकालमा क्युबामा गुणस्तरीय चिकित्सा सेवा निःशुल्क उपलब्ध थियो, बाल मृत्युदर पनि उल्लेख्य घटेको थियो। पछिल्लो समय क्यास्ट्रोले बिस्तारै बजार अर्थतन्त्रमा आधारित सुधार सुरु गरेका थिए।

राजनीतिशास्त्री हरि शर्मा सामाजिक न्यायको क्षेत्रमा क्यास्ट्रोको योगदान उदाहरणीय रहेको बताउँछन्। 'शक्तिशाली मुलुकको अघि पनि क्युबालाई सधैं स्वतन्त्र राष्ट्रका रुपमा राख्न सफल भए,' शर्माले भने, 'राजनीतिक विषयमा मात्रै नभई आर्थिक तथा सामाजिक क्षेत्रमा पनि देशलाई अघि बढाए।'

सधैं खाकी बर्दीमा सुसज्जित रहेन क्यास्ट्रोको भाषण कला निकै प्रभावशाली थियो। 'उनी भाषणमार्फत मानिसलाई सम्मोहित गर्न सक्थे,' शर्माले भने।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सन् १९९२ मा क्यास्ट्रोलाई ब्राजिलको रियो द जेनेरियामा भेट्दा शर्मा पनि सँगै थिए। शर्मा अहिले पनि उनको बोल्ने कला र हाँसो सम्भि्कन्छन्।

क्यास्ट्रोका भाइ वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले क्युबाको राष्ट्रिय टेलिभिजनमार्फत पूर्वराष्ट्रपतिको निधन भएको खबर सार्वजनिक गरेका हुन्। 'क्युबाको क्रान्तिका सर्वोच्च कमान्डर तथा पूर्वराष्ट्रपति क्यास्ट्रोको शुक्रबार राति ११ बजेर २९ मिनेटमा निधन भएको छ,' राउलले टेलिभिजन सम्बोधनमा भनेका थिए। क्यास्ट्रोको सन् १९२६ मा जमिनदार परिवारमा जन्म भएको थियो। आफ्नो सुविधासम्पन्न जीवनशैली तर बहुसंख्यक जनताको विपन्नता देखेर उनी क्रान्तिकारी बनेका थिए।

समाजवादी कार्यक्रम लागू गर्न खोजिरहेका क्यास्ट्रोलाई अमेरिकाले सुरुदेखि नै रुचाएनन्। अमेरिकी राष्ट्रपति आइजनहावरले क्यास्ट्रो रुसीहरुको अँगालोमा पुगेको आरोप लगाए। त्यसपछि क्युबा शीतयुद्धको रणभूमि बन्न पुग्यो। बारम्बार अमेरिकीले उनलाई अपदस्थ गर्ने र मार्ने प्रयत्न गरिरहे। सन्  १९६१ मा अमेरिकाले निर्वासनमा रहेका क्युबालीको निजी सेना बनाएर क्यास्ट्रो नेतृत्वको सरकारलाई हटाउन खोज्यो। बे अफ पिग्स नाक ठाउँमा भएको लडाइँमा क्युबाली सेनाले थुप्रै वि›ोहीलाई मारिदिए भने एक हजार जतिलाई बन्दी बनाए।

त्यसको एक वर्षपछि अमेरिकी जासुसी विमानहरुले सोभियत क्षेप्यास्त्र क्युबातर्फ गइरहेको देखेपछि अमेरिकाले पनि टर्कीमा त्यस्तै क्षेप्यास्त्र राख्यो। अमेरिका र तत्कालीन सोभियत संघ आणविक युद्धको संघारमा उभिन पुगे।

पछि सोभियत संघका तत्कालीन राष्ट्रपति निकिता ख्रुस्चेभले क्युबाबाट क्षेप्यास्त्र फिर्ता गरेपछि अमेरिकाले पनि टर्कीबाट क्षेप्यास्त्र हटायो र सम्भाव्य आणविक युद्धको खतरा टर्‍यो।

अमेरिकी गुप्तचर संस्था सिआइएले त्यसपछि पनि पटकपटक क्यास्ट्रोको हत्या गर्ने प्रयास गर्‍यो तर ती सफल भएनन्। क्यास्ट्रोले ६ दशक लामो अमेरिकी नाकाबन्दीको पनि सामना गरे।

८० वर्ष पुग्नु केही दिनअघि ३१ जुलाई २००६ मा क्यास्ट्रोले भाइ राउललाई अस्थायी रुपमा सत्ता हस्तान्तरण गरे। सन् २००८ मा क्यास्ट्रोले राष्ट्रपति र सेनाको कमान्डर इन चिफको जिम्मेवारी पनि त्यागेको घोषणा गरे। राउल त्यसपछि औपचारिक रुपमा क्युबाको राष्ट्रपति भए।

क्यास्ट्रोको मृत्युसँगै धेरै देशका कार्यकारी प्रमुखले संसारले नै साम्यवादी नेता गुमाएको र उनको राजनीतिक जीवनबाट धेरै सिक्ने सकिने टिप्पणी गरेका छन्।

पुँजीवादी विश्वको एकछत्र नेतृत्व गर्ने अमेरिकाको नाकैमुनि त्यसको वैकल्पिक राजनीतिक धारको नेतृत्व गरी क्यास्ट्रोले विश्वलाई चकित पारेका थिए।

प्रकाशित: १२ मंसिर २०७३ ०२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App