८ वैशाख २०८१ शनिबार
समाज

'लीलामदन पोलिक्लिनिकलाई कारबाही हुन्छ'

इटाटार (सिरहा)- बिरामीलाई चर्को उपचार खर्च असुल्ने र इजाजत नभएको सेवा दिने लहानस्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहमाथि कारबाही हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन एवं निमित्त प्रमुख उमेशलाल कर्ण भन्छन्, ‘लीलामदन पोलिक्लिनिक एन्ड प्रसूति गृहलाई शल्यक्रिया गर्ने अनुमति छैन। अल्ट्रासाउन्ड र फार्मेसी सेवा सञ्चालन गर्ने इजाजतसमेत छैन। इजाजत नै नभएको काम गर्ने, दिँदै नदिएको सेवाबापतको रकम असुल्नेलाई कारबाही हुन्छ।'

उनले सञ्चालन अनुमति पाएका यहाँका कुनै पनि पोलिक्लिनिकमा शल्यक्रियामार्फत प्रसूति गराउने इजाजत नभएको बताए।

जिल्लाभरि ४८ वटा पोलिक्लिनिकलाई जिल्ला स्वास्थ्य कार्यालय सिरहाले सञ्चालन अनुमति दिएको छ। जसमा पाँचवटा सेवा गर्न पाइने प्रावधान छ।

लीलामदन पोलिक्लिनिकलाई प्रसूति (नर्मल), बहिरंग, इसिजी, प्रयोगशाला र एक्स–रे सेवा सञ्चालन गर्न मात्र इजाजतपत्र दिइएको उनले बताए। यो पोलिक्लिनिकलाई यसअघि पनि अन्तिमपटकका लागि सचेत गराइसकिएको उनको भनाइ छ।  ‘यसपटक सम्पूर्ण सेवा बन्द गरेर कारबाही चलाउने तयारीमा हामी छौं,’ उनले भने।

जिल्ला स्वास्थ्य प्रमुख डा.दयाशंकरलाल कर्ण जिल्ला बाहिर भएकाले उनी फर्कनेबित्तिकै कारबाही सुरु हुने उनको भनाइ छ।

 

रामवती र सन्तोषले क्षतिपूर्ति पाउलान् कि नपाउलान्?

यो पोलिक्लिनिकमा सिरहा सीमावर्ती गाउँ इटाटार– ८ कमलपुर टोलकी रामवतीले प्रसूति सेवा लिने क्रममा सन्तान गुमाएकी थिइन्। यसबारे यसअघि नै नागरिकमा समाचार प्रकाशित भएको थियो।   

सोमबार दिउँसो १ बजे नागरिक संवाददाता पुग्दा कमलपुर टोलका अधिकतम गाउँले खेतमा धान काट्न व्यस्त थिए। एउटा घरमा छोरा जन्मेको खुसियाली थियो। नजिकै एउटा छाप्रोको कुनामा रामवती देवी टाउकोमा हात राखेर विलाप गर्दै थिइन्, ‘ऋण पनि लाग्यो, सन्तान पनि गुम्यो।’

घाम र पानी समेत राम्ररी थेग्न नसक्ने छाप्रोको बास भएकी उनले प्रसूति सेवा लिने क्रममा सन्तान गुमाइनन् मात्रै ऋण पनि लाग्यो।

रामवतीलाई पति लालबाबु यादवले गत कात्तिक २९ गते लहानस्थित लीलामदन पोलिक्लिनिक एन्ड प्रसुति गृह लगेका थिए, प्रसूति सेवाका लागि।

त्यतिबेला  पोलिक्लिनिकले बच्चा सकुशल रहेको बताएको थियो। तीन दिनको उपचार खर्चबापत पोलिक्लिनिकलाई लालबाबुले १३ हजार बुझाएका थिए।

मंसिर ६ गते साँझ पुनः समस्या बल्झेपछि रामवतीलाई पतिले एम्बुलेन्समा पोलिक्लिनिक लिएर गए। तर, केहीबेरमै चिकित्सकले बच्चा गर्भमै मरिसकेको जानकारी दिँदै अप्रेसन गर्नुपर्ने बताए।

सुरुमा अपरेसन खर्च ४० हजार रुपैयाँ बताइएको थियो। भोलिपल्ट ५० हजारको बिल थमायो।

लालबाबुले ऋणधन गरी पैसा मगाएर श्रीमतीलाई डिस्चार्ज गरे।

यो गाउँका धेरै महिलाले यस्तै प्रकृतिको उपचार विराटनगर र धरानमा गराउँदा अधिकतम २२ हजार रुपैयाँ खर्चेको स्थानीय वैद्यनाथ यादवले सुनाए। ‘अनपढलाई ठग्ने यो पोलिक्लिनिकमा सरकारले कडा कारबाही गर्नुपर्छ,’ उनले भने।

लीलामदन पोलिक्लिनिकले आफूसँग चर्को रकम असुली गरेको भन्दै लालबाबु यादव उजुरी दिन इलाका प्रहरी कार्यालय लहान गए, मंसिर ६ गते। तर, लहान प्रहरीले उजुरी लिन मानेन।

ठगी मुद्दामा जाहेरी लिएर आएका उनले अस्पतालले दिएको प्यान बिल समेत संलग्न गरेका थिए।

लालबाबु भन्छन्, ‘पहिला पनि मलाई अस्पताल पक्षबाट फौजदारी झन्झटमा नअल्भि्कन सचेत गराइएको थियो। आखिर त्यही भयो।'

सहयोगीमार्फत जाहेरी दिन लहान आएका लालबाबुका सहयोगीलाई डिएसपी राजकुमार केसीले ठगी भएको पूर्ण प्रमाण ल्याए मात्र केही गर्न सकिने बताए।

 'मसँग पोलिक्लिनिकले दिएको उपचारको बिल मात्र छ,' पीडित लालबाबुले नागरिकसँग भने,' मेरो लेखपढ छैन। अरु कागजबारे बुझेको भए ठगिने नै थिइनँ नि।'

 

०००

लहान–८ का सन्तोष राई गर्भवती पत्नीलाई स्वास्थ्य जाँच गराउन साउनको दोस्रो साता लीलामदन पोलिक्लिनिक पुगे। यहाँ भिडियो एक्स–रे गरेपछि चिकित्सकले भर्ना गर्नुपर्छ भने। उनले चिकित्सकको सल्लाहमा पत्नीलाई भर्ना गराए। सोही राति उनलाई व्यथा सुरु भयो। भोलिपल्ट चिकित्सकले सन्तोषलाई भने, 'बच्चाको मुटुको चाल कम हुँदै छ, छिटो बाहिर लग्नुस्।'

उनी आत्तिए। उनी भन्छन्, ‘विराटनगरस्थित निजी अस्पताल पुर्‍याउँदा चिकित्सकले ढिला गर्नुभो, बच्चा मरिसक्यो भने।’

पत्नीको उपचार गराएर फर्केपछि सन्तोष लीलामदन पोलिक्लिनिक पुगे।

'पोलिक्लिनिक पक्षले यहाँ खर्चेको रकम क्षतिपूर्तिस्वरुप फिर्ता गर्ने वचन दिएको थियो,' सन्तोष भन्छन्, 'आजभोलि भन्दै घटना सेलाउँदै गयो। पछि रकम फिर्ता गर्न मानेनन्। त्यसपछि साउन २७ मा प्रशासनमा उजुरी दर्ता गराएँ।'

उनले जिल्ला प्रशासनमा उजुरी दिएको पनि चार महिना भयो।

सन्तोष भन्छन्, 'अहिलेसम्म प्रशासनबाट मेरो उजुरीउपर के कारबाही भयो भन्ने जानकारी पाएको छैन।'

प्रकाशित: १७ मंसिर २०७३ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App