१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मलेठ घटना पीडित भन्छन् ‘पैसा हैन न्याय चाहियो’

सप्तरीको मलेठ स्थित मृतक सञ्जन मेहताको घरमा तमलोपा अध्यक्ष महन्थ ठाकुर सहितका नेतागण ।  तस्बिर : जितेन्द्रकुमार झा

सप्तरी – एमालेको मेचि महाकाली अभियानका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकाहरूको परिवारजनसँग भेट्न तराई–मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर सोमबार सप्तरीको मलेठ पुगेका छन् । 
    केन्द्रीय तथा जिल्ला नेताहरूको जम्बो टोली सहित पुगेका ठाकुरले उक्त घटनामा ज्यान गुमाएका मलेठ–२ का सञ्जन मेहता, विरेन्द्र महतो तथा मलेठ–४ का पिताम्बर मण्डलको परिवारजनसँग भेटघाट गरेका छन् । उक्त अवसरमा ठाकुरले पीडित परिवारजनलाई प्रति परिवार २५ हजारका दरले व्यक्तिगत सहयोग समेत गरेको पार्टीका नेता विजयकुमार यादवले जानकारी गराए । 
    ठाकुरले रकम हस्तान्तरण गरिरहँदा मृतक सञ्जना मेहताकी आमाले रकम भन्दा पनि आफुहरूका लागि न्याय ठूलो कुरा रहेको गुनासो गरिन् । ‘मेरो छोरा कुनै आन्दोलनकारी थिएन, के कारणले मेरो छोराको हत्या गरियो त्यसको छानबिन सहित दोषीलाई कारवाही गरिनुपर्छ’, नेताहरूसँग रुदै उनले भनिन्, ‘दोषीले सजायँ नपाएसम्म मेरो परिवारलाई सान्त्वना मिल्दैन ।’ 
    ठाकुरसँग मृतक पिताम्बर मण्डल र बिरेन्द्र महतोको परिजनले समेत घटनाको न्यायिक छानबिन सहित दोषीउपर कारवाहीका लागि मोर्चाले दवाव दिनुपर्ने माग राखेका थिए । आफ्ना परिवारका जिम्मेवारी बोक्ने सदस्यको बिना कारण हत्या गरिएको भन्दै पीडित परिवारका सदस्यहरूले आफूहरूका लागि क्षतिपुर्ति भन्दा पनि न्याय ठूलो रहेको दोहोर्याए । 
    प्रति उत्तरमा ठाकुर लगायतका नेताहरूले मलेठ घटनाका दोषीहरूलाई जसरी भएपनि सजायँका लागि न्यायको कठघरामा उभ्याउने प्रतिबद्धता समेत जनाएका थिए । आफूहरूको सरकारसँग वार्ता जारी रहेको बताउँदै ठाकुरले घटनाका दोषीहरूलाई कारवाही गर्ने प्रतिबद्धता सरकारको तर्फवाट समेत आइरहेको सुनाए । 
    यसका साथै ठाकुरले मलेठ घटनामा ज्यान गुमाएका प्रसवन्नीका आनन्द साह र जमुनी मधेपुरका इनर भनिने इन्द्रदेव यादवको परिवारसँग समेत भेटघाट गर्ने कार्यक्रम रहेको छ । 
    सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै ठाकुरले मलेठ घटना राज्यको नश्लिय चिन्तनको नमूना भएको भन्दै यसले अन्तर्राष्ट्रिय जगतमा नेपाली राज्य सत्ताको चरित्र उजागर गरेको बताए । मधेसीसँग भएका पछिल्ला सम्झौताहरू लत्याउँदै सरकारले निर्वाचन गर्न लागेको भन्दै यस्तो निर्वाचन आफूहरूलाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । 
    सिमांकनलाई थाँति राखेर अन्य बुँदाहरू संशोधनका लागि मोर्चा स्वीकार भएको भनि आएका खवरहरूमा अलिकति पनि सत्यता नरहेको भन्दै ठाकुरले त्यसको खण्डन गरेका छन् । 

 

प्रकाशित: ७ चैत्र २०७३ ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App