ताप्लेजुङ। विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
कैद तथा जरिवाना तोकिएका र हालसम्म फरार भएका दुई महिलासहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयको फैसलाबमोजित दोषी ठहर भई फरार रहेकाहरु पक्राउ परेका हुन्।
डाका मुद्दाका दोषी सांकेतिक नाम (ङ) पक्राउ परेका प्रहरी निरीक्षक यादवले जानकारी दिए। उनका अनुसार सांकेतिक नाम (ङ) लाई ६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।
यस्तै अभद्र व्यवहार मुद्दाका दोषी मेरिङ्देन गाउँपालिका–६ नाल्बुका मिलन/धनबहादुर भनिने फुर्वा शेर्पा पक्राउ परेका छन्। शेर्पालाई २२ दिन कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भई फरार रहेकी सिरिजंघा गाउँपालिका–७ की सुनिता लिम्बूलाई पनि प्रहरीले पक्राउ गरेको छ। लिम्बूलाई एक वर्ष कैद र ६६ हजार ६ सय ६७ रुपैयाँ जरिवाना तोकिएको थियो।
त्यसैगरी बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद र ७९ हजार ३ सय ४७ रुपैयाँ जरिवाना हुने फैसलापछि फरार रहेकी सिरिजंघा गाउँपालिका–७ कै सुनिता लिम्बू पक्राउ परेकी छन्। फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका ज्वाइँ भनिने पूर्णकुमार हेल्लोक लिम्बू पनि पक्राउ परेका छन्।
जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाइएका हेल्लोक लिम्बू पक्राउ परेका हुन्।
फरार व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा ताप्लेजुङ र झापाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार फक्राउ परेका व्यक्तिहरू विभिन्न मुद्दामा दोषी ठहर भई आठ वर्ष, सात वर्ष, पाँच वर्ष र कोही एक वर्षदेखि फरार रहेका थिए।
२ घण्टा अघि
•
१ मिनेट पाठ