भक्तपुरको मध्यपुर थिमि नगरपालिका-९ स्थित प्रसिद्ध नीलबाराही मन्दिर जाने पहिरोले अवरुद्ध पूजा मार्ग १० वर्षपछि स्थानीय बासिन्दाको श्रमदानबाट खुलेको छ।
महिनौंको निरन्तर प्रयासपछि ‘श्री नीलबाराही क्षेत्र बचाऔं अभियान’ मार्फत स्थानीयहरूले बाटो खुलाउन सफल भएका हुन्।
विगत एक दशकदेखि पहिरोका कारण बन्द रहेको उक्त मार्ग खुलाउन स्थानीयहरूले भीरमा बोरामा माटो भरेर जग बसाउँदै बाटो निर्माण गरेका थिए।
सरोकारवाला निकाय मध्यपुर थिमि नगरपालिकाले १० वर्षदेखि आश्वासन मात्र दिएको तर काम नगरेको भन्दै स्थानीयहरू महिनौंदेखि स्वस्फूर्त रूपमा जनश्रमदानमा जुटेका थिए।
अभियानका अभियन्ता तथा श्री नीलबाराही क्षेत्र सरोकार समितिका सचिव अनिश वैद्यले हजारौँ स्वयंसेवीको महिनौं लामो जनश्रमदानपछि दसैँलगत्तै बाटो पूर्ण रूपमा खुलाउन सफल भएको बताए।
उनका अनुसार हाल बाटो चार लेन बराबर फराकिलो बनेको छ, तर माटो मात्रै भरिएकाले हिलो हुँदा वर्षायाममा सवारीसाधन सञ्चालन गर्न भने कठिन हुनेछ। यसअघि मन्दिर पुग्न वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो।
यद्यपि, बाटो खुले पनि पहिरो नियन्त्रण र मिचिएको जग्गा फिर्ता गराउने जस्ता महत्वपूर्ण कामहरू अझै बाँकी रहेको समितिका सहसचिव निशुल प्रजापतिले जानकारी दिए।
काठमाडौँ उपत्यकाका चार प्रमुख बाराहीमध्ये एक मानिने नीलबाराही क्षेत्र करिब ५०० रोपनी क्षेत्रफलमा फैलिएको छ। लामो समयदेखि पहिरोको उच्च जोखिममा रहेको यो ऐतिहासिक मन्दिर र बाटोलाई यसअघि प्लास्टिकले छोपेर जोगाउने प्रयास मात्र हुँदै आएको थियो।
केही महिनाअघि मध्यपुर थिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले पहिरो नियन्त्रणका लागि करिब ९ करोड ४३ लाख रुपैयाँको बजेटमा तत्काल काम थाल्ने घोषणा गरेका थिए।
नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन नै गरी दुई वर्षभित्र २० करोड लगानीमा नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने र त्यसको थ्रीडी नक्सा समेत सार्वजनिक गरेका थिए।
तर, स्थानीयका अनुसार उक्त घोषणाअनुसार हालसम्म फिल्डमा कुनै काम सुरु भएको छैन।
चितवन। गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पितृमुक्ति महायज्ञ हुने भएको छ।
मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को सत्सङ्कल्पमा यही मङ्सिर १ गतेदेखि यहाँ सञ्चालन भइरहेको अष्टाचल धनधान्यञ्चल विराट महायज्ञ अन्तर्गत दिवङ्गत पितृहरूको मुक्तिको कामना गर्दै यही मङ्सिर २० गतेदेखि तीन दिनसम्म सो महायज्ञको आयोजना गरिएको हो।
वैदिक शास्त्रको पाठपारायण, जप, ध्यान, हवन, पाँच करोड २५ लाख दीप प्रज्वलन, १०८ कन्याको पूजनसहित विशेष धान्याञ्चल अनुष्ठान गरिने सो महायज्ञमा दिवङ्गत आत्माहरूको उद्धार, मुक्ति र शान्तिको कामना गर्दै पितृमुक्ति महायज्ञ गर्न लागिएको मुक्तिनाथ बाबाले जानकारी दिए। यस अन्तर्गत पितृहरूको सामूहिक प्रार्थना, भागवत पाठपारायण, तिलाञ्जली, एकाहा पाठ, वर्षदिन पुगेका पितृहरूको तर्पण र नारायणबलि लगायतका कार्य हुने छन्।
स्वामी कमलनयनाचार्यले भने, 'भोटेकोशी बाढीले सबै नेपालीलाई जस्तै मलाई पनि ठूलो पीडा दिएको छ। त्यसैगरी अन्य बिपत्ति, महामारी आदिमा कैयौँ नेपालीको अकालमै ज्यान गएको छ। त्यसैले सबै दिवङ्गत आत्माहरूको मुक्ति, शान्ति र सद्गतिको कामनास्वरुप यही विराट महायज्ञमै विशेष पितृमुक्ति अनुष्ठानको सङ्कल्प गरेका हौँ।'
सामूहिक रूपमा गरिने यस विशेष अनुष्ठानमा दिवङ्गत पितृहरूका आफन्त कर्ताका रूपमा आफैँ सहभागी भएर कर्म गर्ने तथा उक्त कार्यका लागि पितृहरूको नाम, गोत्र, तस्बिर आदि उपलब्ध गराउन सकिने व्यवस्था गरिएको सो विराट महायज्ञका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिए।
यही मङ्सिर १ गतेदेखि नवलपुरको गजेन्द्रमोक्ष दिव्यधाम (त्रिवेणीधाम) मा विराट महायज्ञ सुरु हुनुअघि पवित्र धार्मिकस्थल मुक्तिनाथबाट कात्तिक ८ गते सुरु भएको राष्ट्रव्यापी श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा देशका प्रमुख धार्मिकस्थलहरूको परिक्रमा गर्दै त्यहाँ आइपुगेको थियो।
सो विराट महायज्ञ एउटा धार्मिक उत्सव मात्र नभएर नेपालमा वैदिक विश्वविद्यालय स्थापनाका साथै हाम्रो सभ्यताको पहिचान र नयाँ पुस्तामा हस्तान्तरण गर्न, नेपालका तीर्थस्थलको प्रचार गरी नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्न आयोजना गरिएको मुक्तिनाथ बाबाले जानकारी दिए।
उनले यी महत्वपूर्ण धार्मिक अनुष्ठानहरूमा प्रत्यक्ष सहभागी भएर पुण्य आर्जन गर्न पनि समस्त वैदिक सनातन धर्मावलम्बीहरूलाई आग्रह गरेका छन्। रासस