विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा
१४ मंसिर २०८१
•
३२ मिनेट पाठ
विश्वास, अविश्वास र परम्पराको कथा : आधुनिक काठमाडौं झारफुके र माताको शरणमा
- ‘ढ्याङ्ग्रो पिट्दैमा सबै झाँक्री हुँदैनन्’




- झारफुकका लागि अनुमतिपत्र दिन विज्ञको सुझाव

- भविष्यको अनिश्चितताले झारफुकमाथि विश्वास  

- जब देशमा सामाजिक, राजनीतिक र आर्थिक अस्थिरता बढ्छ तब मानिस जादू/टुनातिर बढी आकर्षित हुन्छन् : विज्ञ

पछिल्ला दशकमा ह्वात्तै बढेको बसाइँ सराइले राजधानी काठमाडौँ हरेक भाषा, संस्कृति र धर्मको संगम बनेको छ । कारण अनेक छन्, विश्वास र आस्था फरक छन् तर राजधानीमा परम्परादेखि  चल्दै आएको धामी, झाँक्री र माताहरूले गर्ने झारफुक र उपचारप्रति सर्वसाधारणको अगाथ आस्था कायमै छ । औषधि र चिकित्सा विज्ञानको क्षेत्रमा विश्वमा चामत्कारिक र नयाँ–नयाँ खोज-अनुसन्धान अघि बढिरहेका बेलासमेत परम्परागत र ग्रामीण परिवेशमा रहेको झारफुकप्रति कंक्रिटको जंगल मानिने सहरका मानिसको आकर्षण बढ्नु चाखलाग्दो विषय बनेको छ ।  

यो पुरातन विश्वासप्रति शिक्षित र युवा जमातसहित हरेक तह र तप्काका मानिसको झुकाव र विश्वासका कारण  राजधानी काठमाडौँ झारफुक (अर्बान समानिज्म) को केन्द्र बनेको छ । चाखलाग्दो के छ भने, सबै भन्दा बढी पढेलेखेका तथा राज्यको उच्च ओहोदामा रहेका व्यक्तिहरूसमेत झारफुकका लागि धामी÷झाँक्री केन्द्र धाउने गरेका पाइएको छ ।  

परीक्षामा राम्रो अंकका लागि विद्यार्थी, सत्ता र शक्तिका लागि राजनीतिकर्मी, कार्य सफलताका लागि सेना, प्रहरी, स्वास्थ्यकर्मी मात्र होइन, पत्रकार, पाइलट, नेता, इन्जिनियरलगायतका बौद्धिक व्यक्तित्वसमेत समस्याको गाँठो फुकाउन लुकीछिपी भए पनि धामी÷झाँक्री गुहार्ने गरेको स्थलगत रिपोर्टिङका क्रममा भेटिएका छन् ।  

जमिन खरिदका लागि माटो देखाउने वा हराएका चिजविज खोजीका लागि विश्वास गरिएका ठाउँमा पुग्नु सामान्य भैहाल्यो । यस्तै, किशोरावस्थामा पुगेका आफ्ना सन्तानमा भइरहेको मनोसामाजिक र शारीरिक परिवर्तनबाट उब्जिएको समस्याको समाधान खोज्नसमेत डाक्टर भन्दा माता र धामी-झाँक्रीकै भर पर्ने गरेका अभिभावकसमेत भेटिएका छन् ।

यसैगरी ग्रह, नक्षत्र र ज्योतिषिमा विश्वास गर्नेहरूले जीवनमा आउने उतारचढावका गुनासासमेत माताकहाँ पोख्ने गरेको अध्ययनका क्रममा भेटिए । यतिसम्म कि आफ्नो नागरिकता हराएको रिपोर्ट प्रहरीकोमा नदिएर धामीकहाँ फुकाउन आएको र फुकेपछि नागरिकतासमेत भेटिएको दाबीकर्ता पनि फेला परे ।

त्यसो त, विज्ञका अनुसार नेपाल तन्त्र विद्याद्वारा बाँधिएको राष्ट्र हो  । यहाँ हुने कतिपय पूजापाठ तान्त्रिक विधिबाटै हुने गरेको तर्क उनीहरूको छ ।  नेपाल  एकीकरणको जग पनि गुरु गोरखनाथसँग जोडिएको संस्कृतविद् बताउँछन् । पछिल्लो समय, गुरु र धामी÷झाँक्री मात्र होइन, विशेषगरी मातासँग झारफुक गराउनेतर्फ सर्वसाधारणको आकर्षण बढेको छ ।

आधुनिक चिकित्सा विज्ञानबाट उपचार गराउँदा निको नभएपछि पुगेको र झारफुकले निको भएपछि त्यसप्रति विश्वास र आस्था बढेको प्रतिक्रिया कतिपयको थियो । अर्काथरी चिकित्सा विज्ञानबाट उपचार पनि गर्ने र औषधि लिएर धामी, झाँक्री र माताकहाँ पुगेर औषधि र बिरामी दुवै फुकाउने पनि भेटिए । यस्तै कोही धामी-झाँक्री र माताकोमा मात्र विशवास गरी फुकाउन पुग्ने गरेका छन् त कोही भने यस्ता झारफुकप्रति विलकुलै विश्वास नगर्नेहरू पनि रहेका देखिएको छ । झारफुकप्रति आफ्नो दृढ विश्वास र आस्था रहेको बताउनेहरू काठमाडौँ महानगर सहरी क्षेत्रमै धेरै भेटिए ।

यो पनि पढ्नुहोस्

खेलकुदमा महिला : अन्तर्राष्ट्रिय साख बचाउँदै खेलाडी

कतिबेला उत्तम ?  

धामी, झाँक्री र माताका अनुसार झारफुक गर्ने उत्तम प्रहर बिहानी हो । त्यसपछि साँझलाई राम्रो मानिन्छ । झाँक्रीले  दिउँसो १२ बजेपछि भूतप्रेत भगाउने प्रहरका रूपमा मान्ने गर्दा रहेछन् भने माता र धामीले भगवानको विश्राम गर्ने समयका रूपमा व्याख्या गरेका छन् । झारफुकका लागि शनिबार, आइतबार, बिहीबार र मंगलबार मंगल दिनका रूपमा मानिएको पाइयो भने बुधबारलाई अमंगल मानिने काठमाडौँ डल्लुस्थित धामी उमेश राजभण्डारीको भनाइ रह्यो  । माताहरूको तथ्यांक नरहे पनि धामी झाँक्रीहरू संगठित हुन संघसमेत खोलेका छन् ।  

एकिन तथ्यांक अभाव

नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङ । तस्बिर : रुबी रौनियार/नागरिक
नेपाल झाँक्री संघका अध्यक्ष चेतबहादुर थिङका अनुसार हालसम्म नेपाल सरकारसँग आधिकारिक तथ्यांक नरहे पनि संघमा तीन सय धामी दर्ता छन् । तर राज्यको यसप्रति कुनै कानुन नभएकाले यसको नियमन र ब्यवस्थापनमा चुनौती थपिँदै गएको छ भने अर्कोतर्फ झारफुक सेवा दिने झाँक्री, धामी र माताहरूले लुकीछिपी सेवा दिइरहेको अवस्था छ । कतिपय राष्ट्रमा झारफुक गर्नेहरू समाजमा खुलेरै डाक्टरका रूपमा काम गर्छन् भने नेपालमा झारफुकसम्बन्धी नीति÷नियम र हालसम्म कुनै कानुन नबनेकाले  लुकीछिपी झारफुक सेवा जारी छ । यही कारण कुनै समस्या आइपरे कुन निकायमा जाने भन्ने एकिन पनि छैन ।

.........

डाक्टरी उपचारमा थाकेपछि झारफुक  

विशेषगरी अधिकांश स्वास्थ्य समस्याको समाधान खोज्न झारफुकमा जाने गरेका देखिएको छ । डाक्टरी औषधि उपचारले काम नगरेपछि ४२ वर्षीया सविना कार्की बिहानै स्वयम्भू धिमिलोमा रहेको माता गुरु बालिकाको आसनमा पुगिन् । आफूले रोगको उपचार चिकित्सा विज्ञानअनुसार डाक्टर कहाँ गराउँदा निको नभएपछि गुरुकहाँ झारफुक गराउन पुगेको उनले सुनाइन् ।  

उनी पुग्दा गुरु बालिका पूजामा व्यस्त थिइन् । केहीबेरको पर्खाइमा गुरु बालिका आफ्नो आसनमा बसिन् र  धूप बालेर काम्दै मन्त्र उच्चारणका साथ सविनालाई फुक्न थालिन् । शरीरमा रातो सारी र गलामा रुद्राक्षको माला पहिरिएकी गुरु बालिकाको निधारमा कलेजी रंगको विन्दी र शिरमा रातो फूल सजिएको थियो । अनुहारमा शृंगार र हातमा रातो चुरासहितको पहिरनमा सजिएर आसनमा विराजमान  गुरु बालिकाले केहीबेर कामेपछि  सविनालाई फुकिन् र जलमा खरानी मिसाएर औषधि बनाएर पिउन दिइन् । विश्वासको कुरा न हो, केहीबेरमै सविनाले आफूलाई स्वस्थ महसुस गरिन् र मुस्कुराइन् पनि । केहीबेर अघिसम्म मलिन अनुहारमा देखिएकी सविनाले त्यसपछि सहज महसुस गरिन् ।

खासमा सविनालाई जीवनमा कहिल्यै यस्ता झारफुकमाथि विश्वास लाग्दैनथ्यो । तर उनको जीवनमा घटित एक घटनाले सविनाको विश्वास झारफुकमाथि बढाइदिएको उनी मुस्कुराउँदै सम्झन्छिन् । ‘६ महिनाअघिसम्म मलाई यस्ता माता, गुरु वा धामी-झाँक्रीहरूमाथि कत्ति पनि विश्वास लाग्दैनथ्यो । तर एक दिन बिहान उठ्दा मेरो घाँटी बाँगियो’, सविनाले त्यो घटना सम्झिन् र थपिन्– म काठमाडौँको धेरै डाक्टर र क्लिनिकमा उपचारका लागि पुगेँ । डाक्टरले दिएको औषधिले झनै रोग च्याप्यो । घाँटी सिधा भएन । दुखाइ बढ्यो, त्यसपछि गुरु बालिकाकहाँ पुगेँ ।  

गुरु बालिकाकहाँ पुगेपछि सविना बडो आश्चर्यमा परिन् । ‘गुरुको शरीरमा मेरो सासूआमा चढेर बोल्न थाल्नुभयो कि पानी र दही खान मन लगेको छ । घरमा गएपछि मैले सासूको नाममा पानी र दही चढाएपछि मेरो घाँटी सिधा भयो । गुरुले खरानी फुकेर पानीमा मिसाएर खान दिनुभयो, मैले खाएँ । हेर्नूस्, मलाई आफँै विश्वास गर्न गाह्रो भयो कि केहीबेर अघिसम्म चलाउनै नसक्ने घाँटीको दुखाइले पीडित म त्यसपछि एकदमै ठीक भएँ । यो कसरी भयो ? म आफैँसँग प्रश्न गर्न थालेँ ।’ उनलाई त्यसपछि झारफुकमाथि विश्वास नलाग्ने कुरै भएन ।  

उनको  स्नातक पढ्ने छोरो, १२ पढ्ने छोरी र विदेशमा बस्ने श्रीमान्लाई समेत केही समस्या आउँदा सब भन्दा पहिले उनी गुरुकैमा पुग्छिन् । पुग्छिन् मात्र हैन, निकोसमेत हुने गरेको बताउँछिन् ।

सविना बिरामी वा स्वास्थ्य समस्या मात्र होइन, केही सामान हराएमा वा बालबच्चाको ग्रह नक्षत्रमा कुनै दोष छ कि भन्ने जोखना देखाउनसमेत माताकोमै उपाय खोज्न पुग्छिन् । यति मात्र होइन, सविनाको छोराको बिहे गरेको ५ वर्ष भइसक्दा पनि सन्तान भएनन् । डाक्टरी उपचारले समेत काम गरेको थिएन । तर गुरु बालिकाले खास मन्त्र र विधिसहित फुकेर दिएको जल खाएपछि उनकी बुहारीले सन्तान जन्माएको उनले गर्वसाथ सुनाइन् । ‘गुरुले सम्भावित रोग पनि पत्ता लगाइ दिनुहुन्छ । डाक्टरकहाँ जानुपरे सल्लाह दिनुहुन्छ’– उनी कति विश्वस्त छिन् भन्ने देखाउँछ उनको यो भनाइले पनि ।

सविना मात्र होइन, पंक्तिकारले काठमाडौँका धेरैजसो धामी, झाँक्री र माताकहाँ बिहान, दिउँसो र साँझ तीनै प्रहर पुगेर सेवाग्राही र झारफुक गर्नेसँग भेट्दा त्यहाँ आउने हरेकको यस परम्पराप्रति विश्वास र आस्था अगाध रहेको पाइयो । धामी, झाँक्री, माताहरूले गर्ने उपचारमा एक प्रकारको दैवी शक्ति रहेको आभाष हुने गरेको अनुभव उनीहरूले सुनाए ।  

उता, धामी, झाँक्री माताहरूले झारफुकको शक्तिको भिन्दाभिन्दै कारण रहेको बताए । गुरु बालिकाले आफू बिरामीले सिकिस्त भएको बेला उनलाई बचाएकै गुरुले आशीर्वाद दिएर आफू गुरु बालिका बनेको रोचक कथा सुनाइन् ।  

.................

२९ वर्षिया पविता श्रेष्ठ शरीरभरि आएको खटिराले आजित भएर काठमाडौँका छाला रोग विशेषहरूकहाँ धाइन् । दिसा, पिसाब, रगत परीक्षणका साथै शरीरको छालासमेत काटेर डाक्टरले ल्याब परीक्षण गरेको र त्यहीअनुसारको औषधि दिएको सुनाइन् । तर औषधिको कुनै असर उनको शरीरमा देखिएन रे । औषधिले शरीरको खटिरा निको हुनुको साटो झनै बल्झिँदै गयो । त्यसपछि आफन्तको सल्लाहमा उनी साँखुको एक धामीकहाँ गइन् । विगतमा स्वास्थ्य स्वयंसेविका रहिसकेकाले पनि उनलाई सुरुमा धामीमाथि खासै विश्वास थिएन तर जब धामीले फुकेर केही खरानीमा केही औषधि मिसाएर दिएको खाएपछि उनको खटिरा हराउँदै गयो । त्यसपछि पविताको विश्वास धामीप्रति बढ्दै गयो ।

यो पनि पढ्नुहोस्

लिलाम बढाबढमा पार्टी : प्रजापरिषद्को हालतमा सद्‍भावना

‘लाखौँ रुपैयाँ खर्च गरेँ । कति डाक्टर धाएँ, कति परीक्षण गरियो तर शरीरभरि फैलिएको खटिरा निको भएन’, दुई सन्तानकी आमा पविताले झारफुकप्रति बढेको विश्वासबारे बताइन्, 'तर जब धामीकहाँ गएँ, धामीले अण्डामाथि झारफुक गर्नुभएपछि त्यो अण्डा नै कालो भयो । मेरो शरीरमा कसैले बिगार गरिदिएको धामीले बताउनुभयो । मन्त्र पढेर झारफुक गरिदिएपछि मेरो शरीरको खटिरा हराए । अनि भन्नुहोस् त कसरी विश्वास नगर्ने ?’– उनको प्रतिप्रश्न थियो ।  

..........

४० वर्षिया अस्मिता प्रधानकी जेठी छोरी युवावस्थामा पुगेसँगै शारीरिक परिवर्तन बढेपछि केही हड्बढाउन थालिन् । त्यसपछि उनले छोरीलाई डाक्टरकहाँ लगिन् । तर केही सुधार भएन । त्यसपछि उनी परिवारको सल्लाहअनुसार पहिले माताकोमा गइन् । भाइको सल्लाहअनुसार धामीकहाँ पनि गइन् । यसरी छोरीलाई फुकाएपछि अहिले समस्या हटेको उनले सुनाइन् ।

माता सरस्वतीदेवी । तस्बिर : रुबी रौनियार/नागरिक
बल्खुमा माता सरस्वतीदेवीकहाँ कम्मरको दुखाइ भएर पुगेकी अस्मिताले छोरीलाई फुकाएर ठीक भएपछि आफू त्यसपछि केही समस्या आयो कि सबै भन्दा पहिले माताकहाँ आउने गरेको सुनाइन् । ‘जेठी छोरी ९ कक्षा पुगेपछि उसलाई अचनाक राति सपनामा तर्सिने, डराउने, हड्बढाउने हुन थाल्यो । के भयो भनेर हामी डाक्टरकहाँ जचाउन गयौँ । चार पाँच डाक्टर देखायौँ । पछि मनोवैज्ञानिककहाँ पनि लग्यौँ तर कुनै पनि डाक्टरको औषधिले काम गरेन । रुपैयाँ त धेरै खर्च भयो तर छोरी ठीक भइनन्’, अस्मिताले पीडा पोखिन्, ‘छोरीको अवस्था झनै बिग्रँदै गएपछि आमा र भाइको सल्लाहमा धामी देखाएँ  । झारफुकपछि अहिले छोरी पहिले जस्तै स्वस्थ छिन् । छोरी र हामी दुवै खुसी छौँ । कक्षा ११ मा पढ्दैछिन् ।’ माताकहाँ कम्भर दुखेर फुकाइरहेकी अस्मिताले नागरिकसँग भनिन्, 'अहिले त हाम्रो परिवारमा कोही अस्वस्थ भयो या केही हरायो वा कुनै शुभ काम गर्नुपरेमा हामी माताकहाँ नै आउने गरेका छौँ ।'

डाक्टर र झारफुक दुवैमा विश्वास

अध्ययनका क्रममा डाक्टर र माता दुवैकहाँ धाउने गरेका कैयन् सर्वसाधारण भेटिए । डल्लुमा धामी उमेश राजभण्डारीकहाँ साँझ सात बजे पुग्दा त्यहाँ प्रहरी, सेना, व्यापारी, पत्रकार, नेता, शिक्षक र कर्मचारीलगायतका सबैखाले व्यक्ति समस्या लिएर समाधानको खोजीमा आएका भेटिए ।  

त्यहाँ आउनेहरू स्वास्थ्य, पारिवारिक र सामाजिक समस्या लिएर समाधानको उपायको खोजीमा पुगेका थिए । कतिपय डाक्टरकहाँ जचाएर सिधै फुकाउन पनि आएका भेटिए । कोही नागरिकता हराएको रिपोर्ट प्रहरीमा गरेर धामी राजभण्डारीकहाँ पनि हराएको नागरिकता खोजी गर्न फुकाउन आएकासमेत भेटिए ।

डाक्टरलाई जाँच गराएर औषधिसहित छोरो लिएर धामी उमेशकहाँ पुगेका प्रकाश दर्जीले औषधिका साथै झारफुक पनि गराएर आफ्नो छोरो निको हुने विश्वासमा पुगेको सुनाए । ‘डाक्टरकहाँ जचाएर औषधि लिएर आएको छु’, प्रकाशले भने, 'डाक्टरको औषधिका साथै धामीकहाँ पनि फुकाउँदा बाबु छिटै निको हुने विश्वासका साथ गुरुकहाँ आएको छु । मलाई डाक्टर र धामी दुवैमाथि विश्वास लाग्छ ।'

धामी उमेशकैमा भेटिएका व्यापारी दम्पती नागरिकता हराएको भन्दै फुकाउन आएका थिए । धामी उमेश राजभण्डारीले मन्त्र उच्चारण गरी फुक्दै जाँदा घरमै काम गर्नेले लुकाएर राखेको भनिदिए । पछि ती दम्पती घर पुगेर सोधपुछ गरेपछि धामी राजभण्डार्रीले भने जस्तै काम गर्नेबाटै नागरिकता फेला परेको सुनाए ।  

............

स्वयम्भूमा बिहान भेटिएकी एरोविक प्रशिक्षक राज्यलक्ष्मी स्थापितले पनि स्वास्थ्यमा समस्या आइपर्दा माता र डाक्टर दुवैकहाँ जाने गरेको बताइन् । उनले आफूमाथि विगतमा स्वास्थ्य समस्या आउँदा माताकोमा गएर रोग पहिचान भएपछि डाक्टरकोमा गएको रोचक प्रशंग उल्लेख गरिँन् ।  

‘दुई वर्षअघि मलाई हातखुटा चिलाउने, फोका उठ्ने, हातको औला बाँगिएर गाह्रो हुने समस्या थियो । नियमित एरोविक गरिरहेकी म एक्कासि अस्वस्थ भएँ । हातखुटा चल्न छाड्यो । डाक्टरकहाँ गएँ । पूरै शारीरिक परीक्षण गराएँ । औषधि सेवन गरेँ’, प्रशिक्षक स्थापितले नागरिकसँग भनिन्– ‘तर स्वस्थ भएको महसुस भएन । साथीभाइले एकपटक माता देखाउन सुझाउनुभयो । मैले कुरा मानेर माताकहाँ गएँ । माताले फुकिदिनुभयो । केही ग्रहदशा पनि खराब रहेको भन्नुभयो । माताको सुझावअनुसार नागको पूजा गरेँ ।  त्यसपछि स्वस्थ हुँदै गएँ । त्यहीँ माताले मलाई बाथ रोग लागेको रहेछ भन्नुभयो,’ उनले आश्चर्य मान्दै थपिन्, 'माताको मुखबाट यस्तो कुरा सुनेर म आफैँ अचम्भ भएँ । माताले मलाई फुक्नुभयो र डा. विनित वैद्यकहाँ जान पनि भन्नुभयो । हेर्नूस् त राम्रो सेवा दिने माताले त सत्य कुरा भन्नुहुदोरहेछ नि । अनि म फेरि डा. विनित वैद्यकहाँ गएँ । अहिले स्वस्थ भएर एरोविक सिकाइरहेकी छु । यस कारण म माता र डाक्टर दुवैमा उत्तिकै विश्वास गर्छु ।'

..................

अशोक मगायाँ स्वयम्भूमा सधैँ भगवान् बुद्धको दर्शन गर्न आउने गर्छन् । उनले स्वयम्भू मठमन्दिर, गुम्बा र तन्त्रमन्त्रकै क्षेत्र रहेको बताए । स्वयम्भूकै स्थानीय बासिन्दा अशोकका अनुसार स्वयम्भू क्षेत्र वरिपरि धामी, झाँक्री र माताको साम्राज्य रहेको मानिन्छ । परिवारमा परम्परादेखि नै सबैजना डाक्टर र झारफुक दुवै ठाउँमा जाने भएकाले अशोक पनि झारफुक र डाक्टर दुबैमा विश्वास रहेको सुनाउँछन् । 

‘सानैदेखि हजुरबा-हजुरआमाले भन्नुभएअनुसार पहिले डाक्टर खासै थिएनन् । त्यतिखेर हाम्रो घरमा कोही गर्भवती हुँदा नेवार समुदायमा अजी भन्ने उहाँहरू घरमै आएर सुत्केरी गराउनुहुन्थ्यो । घरको कुनै सदस्यलाई कुनै रोग लागेमा वा केही भएमा झारफुक गरिन्थ्यो । अहिले हाम्रो पालामा चाहिँ कोही कसैलाई सानो बिरामी भए पनि हामी डाक्टरकहाँ जान्छौँ, त्यहाँ निको भएन भनेचाहिँ डाक्टरले नै हामीलाई धामी, झाँक्री, माता, गुर्जुलगायतकहाँ गएर झारफुक गराउनूस् भन्नुहुन्छ । हेर्नूस् त, डाक्टरसमेतले मलाई एकपटक यस्तै फुकाउन सल्लाह दिनुभयो’, उनले अनुभव सुनाए, 'आफू बिरामी हुँदा पहिले अस्पताल र डाक्टरकोमै जचाउनुपर्छ । तर उहिलेदेखि गरिरहेको परम्पराअनुसार चामल पन्छाउने, माता, गुर्जु वा झाँक्री आफूलाई कोमाथि विश्वास लाग्छ, फुकाउनु पनि पर्छ । झारफुक र ओषधि उपचार दुवै गर्नुपर्छ ।'

यो पनि पढ्नुहोस्

अख्तियारबाट जोगिन अदालतमा ‘लेनदेन’ मुद्दा

..........

झारफुकमाथि विश्वास छैन  

अर्कोथरी जमात भने धामी, झाँक्री र माताले गर्ने झारफुकमाथि विश्वास नै नगर्ने छन् । अर्थात् यस्ता झारफुक गर्नेहरूबाट ठगिएर यसप्रति विश्वास नगर्नेहरूले झारफुक भन्दा डाक्टरलाई नै विश्वास गर्न सुझाउँछन् ।  

काठमाडौँस्थित वनस्थलीका प्रमानन्दप्रसाद पण्डित घरछेउमै धामीले ढ्याङ्ग्रो ठोकेर उपचार गर्ने गरेको उनी दिनहुँ देख्छन् । धेरै ब्यक्ति झाँक्रीकहाँ आएर उपचार गराइरहेका र निको भएर फर्केका सधैँजसो देखे पनि उनी यस्ता झारफुकमाथि कहिल्यै विश्वास नभएको सुनाउँछन् । ‘मैले मेरो घरैछेउको झाँक्रीकहाँ विश्वास लिएर आएका र उपचार गराएर फर्केका मानिस दिनहुँ देख्छु तर म विश्वास गर्दिन’, अविरल वर्षाका बाबजुद पनि मर्निङवाकमा निस्केका पण्डित भन्छन्, 'मलाई स्वास्थ्यसम्बन्धी केही समस्या भएमा डाक्टरकहाँ जान्छु ।'

धामी उमेश राजभण्डारी । तस्बिर : रुबी रौनियार/नागरिक
..............

जुस व्यवसायी राधा ढुंगानालाई पनि झारफुकमाथि फिटिक्कै विश्वास छैन । किनभने उनी यस्तै धामी, झाँक्री र माताबाट विगतमा ठगिएकी रहिछिन् । काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी राधाले विगतमा पारिवारिक र स्वास्थ्य समस्याका लागि धामी, झाँक्री र माताकोमा पुगेर हजारौँ रुपैयाँ खर्च गरे पनि कुनै लाभ नभएपछि विश्वास उडेको बताइन् । ‘समस्या पर्दा धामीकहाँ गएर ७० हजार रुपैयाँ खर्च गरेँ । पारिवारिक र स्वास्थ्य समस्या निकै थियो तर केही लाभ भएन’, राधाले आफू ठगिएको पीडा सुनाइन्, 'धेरै धामीकहाँ धाएँ । कतिले यस्तो गर, उस्तो गर, नत्र तेरो घरका मान्छेको मृत्यु हुन्छ भन्दै मलाई तर्साए । यसरी म ठगिएँ । त्यसपछि कहिल्यै गइन । यो अन्धविश्वास हो । त्यसपछि मलाई सामान्य घाउ, चोटपटक लाग्दा पनि डाक्टरकहाँ जान्छु । केही हराएमा पुलिसकहाँ जान्छु ।'

...........

किमडोलमा भेटिएका हरिश कल्पितलाई पनि झारफुकमाथि विश्वास लाग्दैन । उनी केही वर्षअघि समस्या पर्दा परिवारको करकापमा एक दुईपटक झारफुकका लागि धामी र माताकहाँ गए पनि विश्वास भने कहिल्यै नलागेको बताए । ‘म सञ्चो नभएर एक दुईपटक धामी–झाँक्रीकहाँ गएँ । तर त्यहाँ गएपछि जहिले पनि केटीले बिगारेको छ मात्र भन्थ्यो । खासमा ट्रेकिङबाट फर्कँदा भिटामिन बीको कमीका कारण म बिरामी परेको रहेछु । हातखुट्टा चलेको थिएन । परिवारले माताकहाँ, धामी, झाँक्रीकहाँ लगे । एकदिन कीर्तिपुरमा एक गुभाजुकहाँ पनि लगे परिवारले’, हरिशले थपे, ‘त्यहाँ मलाई कुच्चैकुच्चाले बेस्सरी हान्यो । कस्तो दुखेको थियो भन्ने अझै याद छ । अनि केटीले बिगारेको छ भन्यो । जुन धामीकहाँ गए पनि केटीले बिगारेको मात्र भन्थे । यो सुन्दा मलाई हाँसो लाग्थ्यो ।’ लेखक एवं साहित्यकारसमेत रहेका हरिशले हाँस्दै भने, 'होइन, केटीको अरू काम हुँदैन जबकि मलाई बिगार्दै मात्र हिँडून् ? पछि डाक्टरकहाँ जचाउँदा पो भिटामिन बीको कमीले हातखुट्टा नचलेको थाहा पाएँ । त्यसपछि डाक्टरी औषधिले ठीक भएँ ।  

............

झारफुकमाथि मात्र विश्वास  

एकथरी जमात यस्तो छ जसलाई जस्तोसुकै समस्याको उपचार खोज्न पनि झारफुककै मात्र भर लाग्छ । बल्खुमा माता सावित्रीदेवीकहाँ पुग्दा त्यहाँ आएकी सीता बयलकोटी आफूलाई स्वास्थ्य र अन्य कुनै समस्या पर्दा अन्यत्र कतै नजाने बताइन् । ‘मलाई रिंगटा लागेर विसञ्चो भएर सावित्री माताकहाँ फुकाउन आएको हुँ’, सीताले भनिन्, 'मलाई माताकोमै विश्वास लागेर यहाँ वर्षौँदेखि आउने गरेकी छु । मलाई यहीँ फुकाएपछि सञ्चो हुन्छ । डाक्टरकहाँ त कहिल्यै पनि जान्न ।'

........

यस्तै बालाजु पुल शंकर मन्दिरमा रहेका झाँक्री चेतबहादुर थिङकहाँ दिउँसो झारफुकका लागि पुगेका सेतो सर्ट धारी पनि अस्वस्थ भएर उपचार गराउन आएका थिए । झाँक्रीमाथि मात्र विश्वास लाग्ने हुनाले समस्याको समाधान खोजीमा उनी झाँक्री गुरु थिङकोमा आएको बताए । झाँक्री चेतबहादुरले चामलले फुकेर उपचार गरिदिएपछि शरीर हल्का भएको महसुस हुँदै गएको उनले बताए । 

झाँक्री चेतबहादुरले चामलले फुक्दा सेतो सर्टधारीलाई जंगली र काँचो मसान लागेकाले उपचारको विधि बताएअनुसार सोहीअनुसार उपचारमा लागे । केहीबेरको झारफुकपछि सेतो सर्ट पहिरिएकाले भने, 'कतिपय रोगको उपचार डाक्टरले गर्न सक्दैन । त्यसका लागि धामी र झाँक्री आवश्यक पर्छ । मेरो रोग यस्तै हो । यस कारण म झाँक्रीकहाँ मात्र आउँछु  । निको पनि हुन्छ ।'

.............

कसरी बन्छन् धामी, झाँक्री र माता ? अनि कसरी हुन्छ झारफुक ?

अध्ययनका क्रममा धामी, झाँक्री र माता कसरी बन्छन् भन्ने विषयमा पनि बडो रोचक तथ्य पाइयो । विशेषगरी माताहरू आफैं बिरामी भएपछि वा भनौँ संघर्षबाट जुधेर पछि शक्ति प्राप्त गरेको भनाइ पाइयो । माताहरूले घरमै आसनमा बसेर झारफुक गर्ने गरेका पाइयो । आफू केही नभएको तर आसनमा बस्दा उनीहरूको शरीर प्रयोग गरी देवी देवताहरूले सबै गर्ने गरेको दाबी पाइयो । धामी, झाँक्रीहरू भने आसनमा बसेर र आवश्यकताअनुसार बाहिरफेर गएर पनि झारफुक गर्ने गरेका देखियो । माता, धामी र झाँक्री यी सबैको गुरु भने हुने रहेछन् । अधिकांशले गुरुबाट लिएको विद्याबाट झारफुक गर्ने गरेको बताए ।  

उपचारका क्रममा चामल र बाटेको धूपको विशेष प्रयोग हुने गरेको देखियो । यसैगरी अण्डा पनि झारफुकको एउटा दरिलै माध्यम रहेको पाइयो । झारफुक गर्ने तरिका भने एउटै अर्थात् आसनमै बसेर मन्त्र जप्दै गर्ने गरेको पाइयो । हुन पनि, यो एउटा विश्वास र आस्थामा टिकेको परम्परागत सेवा रहँदै आएको छ । तर यसप्रति सरकारी तर्फबाट कुनै नियम, कानुन र प्रष्ट दृष्टिकोण नभएकाले कतिपय अवस्थामा झारफुक सेवा लुकिछिपी भइरहेको छ । कोहीले पानीमा फुकेर ओषधि दिने रहेछन् त कोहीले भने चामलमै खरानी मिसाएर फुकेर दिने रहेछन् । कोही समस्या समाधान गर्न अरू उपाय गर्न लाउने रहेछन् । काठमाडौँ महानगरभित्र झारफुक सेवा दिनेहरू गल्ली र चोक–चोकमा छन् । माताहरू प्रायः महिला हुन्छन् भने धामी झाँक्रीमा चाहिँ महिला कम छन् ।  

.........

झारफुकबाट उपचार गर्ने गुरु बालिका । तस्बिर : रुबी रौनियार/नागरिक
समस्यामा परेपछि माता बनेँ

स्वयम्भूमा गुरु बालिकाकोमा बिहान सबेरै पुग्दा उनी आफ्नो नित्य पूजामा व्यस्त थिइन् । पूजा सकेर उनी आसनमा बसिन् । उनीकहाँ आएको बिरामीलाई धूप बालेर मन्त्र पढेर झारफुकबाट उपचार गरिन् । गुरु बालिकाले यसरी झारफुकबाट बिरामीहरूको विभिन्न रोगको उपचार गरी निको पार्ने गरेको र यसबाट निको नहुने देखिए डाक्टरकोमा पठाइदिने गरेको बताइन् ।  

उनले बिरामी मात्र नभएर अन्य सामाजिक समस्या लिएर आएकाहरूको समेत झारफुकबाटै समाधानको उपाय बताउने गरेकोसमेत सुनाइन् ।  गुरु बालिकाको वास्तविक नाम उर्मिला शाही हो । १० वर्षअघि उर्मिला सिकिस्त बिरामी परिन् । उनको परिवारले डाक्टरकोमा उपचार गराए पनि निको नभएको र गुरु शिव शर्माकोमा पुगेपछि झारफुक गरी उपचार गरेपछि बल्ल निको भएको बताइन् । यहीबीच गुरुको मृत्यु भयो । यसको चार वर्षपछि उर्मिला फेरि निकै सिकिस्त बिरामी भइन् । डाक्टरको उपचारले काम गरेन । पछि फेरि उर्मिलाले गुरु शिव शर्माको फोटोमा ढोगेर पूजा गरेपछि उनको शरीरमा गुरु चढेको र सोही दिनदेखि उनको नाम गुरु बालिका बनेको उनले आसनबाटै नागरिकलाई बताइन् ।

यो पनि पढ्नुहोस्

चिकित्सकको लापरबाही, महिलाको पिसाब थैलीमा प्वाल

त्यसपछि आफू झारफुकबाटै सामाजिक सेवामा १० वर्षदेखि निरन्तर लागिरहेको पनि उनले सुनाइन् । कुराकानीका क्रममा समेत उनको शरीरमा गुरु चढेको अनुभव भइरहेको थियो । गुरु बालिका घरि शरीर कमाउँथिन्, घरि आँखामा आँसु भरी भावुक बन्थिन् । ६० वर्षिया उनले आफू आसनमा बसेपछि मात्र झारफुकको शक्ति आउने गरेको ‘रहस्य’ समेत खुलाइन् । सुरुका दिनमा शरीरमा शिव भगवान चढ्दा शरीर काम्ने, रुने, कराउने गर्दा परिवारमा त्रास थियो । ‘सुरुमा मेरो छोराले म धेरै बिरामी भएकाले रिसाएर मेरो गुरुलाई नानाथरी भन्यो । गुरुलाई गालीगलौज गरेपछि मेरो छोरो पनि बिरामी भयो । तर पछि मैले र मेरो श्रीमान्ले  गुरुसँग क्षमा माग्यौँ । मेरो शरीरमा गुरु आउनुभयो । मैले पानीमा फुकेर दिएपछि मेरो छोरो पहिले जस्तै स्वस्थ भयो’, गुरु बालिकाले आफू झारफुकमा प्रवेश गरेको सुरुवाती दिनको प्रसंग सुनाइन्– यसपछि मेरो परिवारले मलाई विश्वास गर्न थाल्यो । नाति बिरामी पर्दा पनि फुकेर ठीक पारेँ । यसरी परिवारका सदस्यहरू मेरो झारफुकबाट निको हुँदै गएपछि यो कुरा घरबाहिर पनि फैलियो । अनि म गुरु बालिका बनेँ ।  

उनले आसनमा काम्दै भनिन्, ‘मेरो गुरुले सही काममा प्रयोग गर्न मात्र मन्त्र दिनुभएको हो । मैले गुरुको आज्ञाअनुसार झारफुक सेवा गरिरहेकी छु । मकहाँ डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक, कर्मचारी र विदेशबाट समेत भक्तजनहरू रुँदै समस्या लिएर आउनुहुन्छ । समाधान भएपछि हाँस्दै फर्कनुहुन्छ । यो सेवा विश्वास र आस्थामै टिकेको छ ।

............

पुस्तान्तणसँगै झाँक्री, ढ्याङ्ग्रो ठोक्दैमा क्राँक्री बन्दैन  

एक दिन दिउँसो बालाजुस्थित शिवमन्दिरमा रहेका झाँक्री गुरु चेतबहादुर थिङको आश्रममा पुग्दा त्यहाँ पनि झारफुक सेवाग्राहीको भिड थियो । थिङका अनुसार झाँक्री संस्कृति प्राचीन कालदेखि नै चलिआएको हो । यो बोन संस्कार हो । उनका अनुसार पुर्खामा कोही झाँक्री छन् भने मृत्युपछि पूर्वजहरू नाति, पनाति वा आफूले रुचाएको व्यक्तिको शरीरमा आएर सबै शक्ति दिन्छन् । र झारफुक गर्ने, भूतप्रेत भगाउनेलगायतका बिरामी निको पार्ने शक्ति सर्दोरहेछ ।

डाक्टर नभएको प्राचीन युगमा बोन संस्कार र सभ्यतादेखि चलिआएको झाँक्री संस्कृति हो । सोही दिन पनि उनी विश्वास गरी आउनेहरूलाई रोगअनुसारको चामलमा मन्त्र जप्दै झारफुक गरिरहेको भेटिए । ‘झाँक्रीले प्रकृतिको पूजा गर्छन् । र, प्राकृतिकरूपमै उपचार गर्छन् । हात भाँचिदा बासको काम्रो बनाएर भाँचिएकामा बाँधेर गर्ने  धामी, झाँक्रीको उपचार पद्धतिबाट आज वैज्ञानिक उपचार पद्धतिको विकास भएको हो’, आफ्ना जिजु बाजे झाँक्री रहेको र उनैबाट झाँक्री विद्या सिकेका थिङले नागरिकसँग भने, 'बोन संस्कृतिको झाँक्री सेवा म १३ वर्षको उमेरदेखि नै बाजेबाटै सिकेर गरिरहेको छु । अहिले म ३१ वर्ष पुगेँ। जिजु बाजे झाँक्री थिए । पुर्ख्यौली सेवा हो जुन ममा सर्‍यो । बाजे मेरो शरीरमा धारण गर्नुभयो र म झाँक्री बनेँ ।'

उनले थपे– ‘बिरामी अउनासाथ हामी बिरामीको जोखना हेरेर अस्पतालमा जाने हो कि धामी झाँक्री लगाउनेबारे छुट्याएर मात्र उपचार गर्छौँ । पुर्खाले सिकाएको जडीबुटी औषधि दिन्छौ‌ं । प्राचीनकालको डाक्टर, इन्जिनियर नै हामी धामी, झाँक्री हो । विगतमा अस्पतालको विकास नहुँदा र इन्जिनियर नभएको समयमा हाम्रा बाउबाजेले धामी, झाँक्री नै डाक्टर र इन्जिनियरको काम गर्नुहुन्थ्यो । यति मात्र होइन, पूर्वसमयमा घर बनाउँदा हामी धामी, झाँक्रीकहाँ माटो देखाउने, घर बनाउने शुभसाइत देखाउने, घरभित्र शौचालय, कोठा, भान्छा, मूल ढोका कुन दिशामा राख्ने जस्ता वास्तुकलाका सबै काम धामी झाँक्रीले गर्थे । पुर्वजले दिएका उपायअनुसार नै घर बनाइन्थ्यो ।'

पछिल्लो समय ढ्याङ्ग्रो मात्र ठोकेर फटाहा कुरा गरेर प्रचारका लागि मात्र धामी, झाँक्री बन्ने विकृति पनि उत्तिकै देखिएकोमा राज्यका निकायले यसमा ब्यवस्थापनका लागि पहल गर्नुपर्ने उनको सुझाव छ । ‘भक्तजनले बोलाउनुभयो भने हामी बाहिर गएर पनि उपचार गर्छौँ’, उनले थपे– सेवा गर्न चाहनेलाई गुरु मन्त्र दिएर झाँक्री पनि बनाउने गर्छौँ तर यसका लागि सिक्न चाहने व्यक्तिको शरीरमा देवता आउने र काम्न भने सक्नुपर्छ । उनको आश्रममा काम्दै गरेकी एक महिलालाई झाँक्री बनाउने क्रियाकलाप पनि कुराकानीकै क्रममा देख्न पाइयो ।

...........

वन झाँक्रीको आशीर्वादले धामी सेवा

साँझको करिब सात बजे काठमाडौँको डल्लुमा रहेको उमेश राजभण्डारीकहाँ पुग्दा झारफुक गर्ने आसन भएको कोठा सेना, प्रहरी, व्यापारी, बच्चासहित आएका अभिभावक, शिक्षकले भरिभराउ थियो । शनिबार झारफुकका लागि उत्तम दिन भएकाले पनि निकै भिड थियो । डाक्टर त कुनै एक रोगको विशेषज्ञ हुन्छन् तर विश्वास र आस्था राख्नेका लागि धामी, झाँक्री र माता त हरेक समस्याको समाधान खोजिदिने सबै थोकको विशेषज्ञ हो जस्तो भान हुन्थ्यो । उमेशकहाँ समस्या लिएर आएको एक जोडीलाई देखेर उनले मुस्कुराउँदै भने, ‘के हो आज शनिबार भएको बिदाको मौकाको फाइदा उठाउँदै फौजी दम्पती नै आएका रहेछन् त ।’, त्यसपछि कोठामा उपस्थित फौजी दम्पतीको एकै स्वरमा जवाफ आयो, ‘के गर्ने गुरु, बिदाको समय पारेर दुवैजना आयौँ । समस्या आयो । समाधानको उपाय खोजिदिनुपर्‍यो ।’ यसरी गुरु उमेश हरेकथरीका सेवाग्राहीलाई समस्याअनुसारको मन्त्र जप्दै उपचार गर्दै थिए ।

५४ वर्षीय उमेशलाई २०४४ सालमा वन झाँक्रीले उठाएर लगेको र बनमा उनलाई १४ महिना राखेर धामी ज्ञान दिएर फर्काएपछि आफू धामी सेवामा लागेको दावी गरे । उनका अनुसार धामी विद्या अर्थात् झारफुक सेवा विद्या र ज्ञान भएकाले यो विज्ञानसँग समेत जोडिएको छ । ‘परापूर्व कालमा कुनै डाक्टर नभएको समयमा धामी झँक्रीले नै सबै रोग र समस्याको समाधान गर्थे । यस कारण झारफुक तन्त्रमन्त्र विज्ञनसँग जोडिएको छ’, उमेश भन्छन्, 'म आफ्ना भक्तजनको विश्वास र आस्थामा काम गरिरहेको छु ।'

उनी थप्छन्, ‘मेरा लागि झारफुक व्यवसाय होइन । मेरो सेवाको कुनै दर तोकिएको छैन । भक्तजनले आफुखुसीले सक्दो दान-दक्षिणा दिनुहुन्छ । दिए पनि नदिए पनि ठीक छ । आजसम्म कसैलाई अन्तर्वार्ता दिएको छैन । नागरिकलाई पहिलोपटक अन्तर्वार्ता दिँदैछु । म कामले प्रचार हुनुमा विश्वास गर्छु तर केही गलत प्रवृत्तिका व्यक्तिका कारण यो सेवामा विकृति फैलिएकोेमा भने चिन्ता लागेको छ । सही र सत्यतथ्यमा आधारित तरिकाले गरिने झारफुक सेवा खुलारूपले चल्नुपर्छ । यसका लागि राज्यका सम्बन्धित निकायले धामी, झाँक्री, मातालगायतका झारफुक सेवा दिनेहरूको क्षमता पहिचान गर्न सक्ने संयन्त्र निर्माण गरी नियम र व्यवस्थापन गर्नुपर्छ ।'

‘भगवानको आशीर्वाद र तपस्याले माता’  

बल्खुको सतीदेवी सरस्वती माताकहाँ साँझ पुग्दा विभिन्न रोग देखाउन आएका बिरामीले कोठा भरिएको थियो । कोही रातभरि वान्त भएको बच्चालाई लिएर आएका थिए त कोही छोरीलाई ज्वरोले च्यापेर ल्याएको बताउँथे । कोही शारीरिक दुखाइ असह्य भएर आएका थिए त कोही भने अपच भयो र आँखा लागेको भन्दै आएका भेटिए । यतिसम्म कि उनको कोठा भरिएकाले धेरै बिरामी भर्‍याङमा समेत बसेर पालो कुरिरहेका थिए । उनको फुक्ने पद्धति भने सबैलाई उही थियो । बाटेको धूप बालेर काम्ने अनि मन्त्र पढ्दै पन्छाउने । पन्छाएपछि उनले सबैलाई सात दाना चामल फुकेर कचौरामा पिँधेर औषधि बनाएर पिउन दिन्थिन् । यति मात्र होइन, उनी अलि कडा रोग भएका बिरामीलाई फुकेपछि भने केहीबेर काम्थिन् पनि ।

४९ वर्षिया यी माताको शरीरमा सरस्वती माता आउने भएकाले उनको झारफुक गर्दाको नाम सतीदेवी सरस्वती भएको हो । खासमा उनको वास्तविक नाम सावित्रीदेवी रहेछ । तर सबैले माता भन्ने गर्छन् । हुन त सात वर्षको उमेर हुँदा उनको शरीरमा सरस्वती माता आउने गरेको र काम्ने गरेको पनि सुनाइन् । सपनामा माता आउने र आशीर्वाद दिएकै कारण बाल्यकालमै आफूले जडीबुटीसमेत पहिचान गर्न सक्ने भएको उनको दाबी छ ।

‘झारफुक विद्या आएपछि मैले परिवारमा मात्र फुक्ने गर्थेँ तर भुइँचालोपछि सेवाका रूपमा गर्न थालेँ । विश्वास लिएर आउनेहरूको मेरो झारफुकले निको हुँदा उनीहरूको खुसी नै मेरो खुसी बन्यो । मकहाँ धेरैजसो बच्चा फुक्ने, रुन्चे  र  भूतप्रेत लागेको पन्छाउनेहरू आउनुहुन्छ । सेवाले फाइदा हुन्छ । खुसी भएर जानुहुन्छ’, दुई छोराकी आमा सावित्री थप्छिन्, 'पारिवारिक समस्या समाधानका लागि, पतिपत्नीको सम्बन्ध राम्रो बनाइदिन र कतिपयचाहिँ मोहनी लाउन भन्दैसमेत आउनुहुन्छ । सक्ने काम झारफुकबाट समाधान गरिदिन्छु । नसक्ने अवस्थामा डाक्टरकहाँ पठाइदिन्छु ।'

के भन्छन् विज्ञ ?

संस्कृतविद् प्रा.डा. जगमान गुरुङ । तस्बिर : रुबी रौनियार/नागरिक
खुलारूपमै झारफुकका लागि अनुमति दिनुपर्छ  

संस्कृतविद् प्रा.डा. जगमान गुरुङका अनुसार झारफुक सेवा हो । तर अन्धविश्वास र जडसूत्रवादी चिन्तनले नेपालका माता, धामी र झाँक्रीहरूले यो सेवा लुकिछिपी गर्नुपर्ने अवस्था छ । यसकारण योग्यता र क्षमताको परीक्षण गरी अनुमति दिने र खुलारूपमा सेवा गर्ने ब्यवस्था राज्यले गरिदिनुपर्नेमा उनको जोड छ । झारफुक गर्न सक्नेलाई विदेशमा पनि ‘विच डाक्टर’ भन्दा रहेछन् । राज्यले दिने सबैखाले सुविधा तिनले पाउँछन् । यसकारण नेपाल सरकारले पनि यस्ता सेवा गर्नेलाई खुला गरिदिए विकृति हट्ने उनको ठहर छ ।  

कसरी मिल्छ झारफुक गर्ने शक्ति ?  

प्रा. डा. गुरुङले साधना र भगवानको आशीर्वाद गरी दुई किसिमबाटै झारफुकका लागि शक्ति प्राप्त हुने अनुभव सुनाए । तर यसमा पनि कुटज्ञान र सद्ज्ञान गरी दुई प्रकारको ज्ञान हुने गरेको उनले स्पष्ट पारे । नेपालका गुरुङहरूमा प्रचलित चिनियाँ तिब्बती ज्योतिषशास्त्रमा विद्यावारिधि गरेका गुरुङले कुुटज्ञानमा आधारित झारफुक जसमा मारणमोहनको शक्ति हुने र सद्ज्ञान प्राप्त गरी धामी, झाँक्री र माता बनेकाहरूले बिरामीलाई निको पार्ने र बचाउने सेवामा ज्ञान प्रयोग गर्ने उनले बताए ।  

तन्त्रमा बाँधिएको राष्ट्र नेपाल

प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति समेत भइसकेका गुरुङले चिना हेर्ने, झारफुक गर्ने र सकेका बिरामी निको पार्ने झारफुकको ज्ञान आफ्ना जेठो बाबाट पाएको सुनाए । नेपाली संस्कृति झारफुकमै अडिएको उनको दाबी छ । ‘धार्मिक र सांस्कृतिक मान्यताअनुसार देवी-देवताको धामसँग सम्बन्धित धामी हुन्छ । देवी देवता चढेर जुन झाँग आउँछ त्यो झाँक्री हुन्छ’, संस्कृतिविद् गुरुङले नागरिकसँग भने, 'यो हरेक जाति समुदायमा हुन्छ । नाम मात्र फरक हो । नेपाल तन्त्रद्वारा बाँधिएको राष्ट्र हो । नेपालको पुनः एकीकरणको जग नै गुरु गोरखनाथसँग जोडिएको छ । काठमाडौँकै कुरा गर्ने हो भने यो देवी देवताको शहर हो । यस कारण नेपालमा झारफुक परापुर्वकालदेखि स्थापित सेवा हो । म अहिले पनि चिना हेर्ने काम गर्छु ।'

झारफुक विज्ञानमा आधारित  

नेपाली इतिहास, संस्कृति र पुरातत्व विषयमा स्वर्ण पदक पाएका ७८ वर्षीय गुरुङले श्री १०८ स्वामी देवानन्द वेदान्त केसरीबाट देवीको दीक्षा, रुद्रागिरी गुरुबाट पञ्चाश्री मन्त्रसमेत हासिल गरेका छन् । ‘सत्य युगमा धामी, झाँक्रीको माध्यमबाट देवी देवता र मानिसबीच कुराकानी हुन्थ्यो । कली युगमा पाप बढ्यो, हुँदैन । पहाडमा धामी झाँक्री भन्छ । तराईमा थारू समुदायमा झाँक्री पनि हुन्छ र सोखा पनि हुन्छ । मुस्लिम समुदाय र क्रिस्चियनमा मात्र होइन, विश्वमै धामी, झाँक्री र बोक्सी पनि हुन्छ । यो विज्ञानमा आधारित सेवा हो,’उनको भनाइ छ ।

उनले उदाहरण दिँदै थपे, 'म १६ वर्षको थिएँ । कसैले मलाई भनिदियो कि दाँत दुखेको निको पार्न नाँगै भएर खुर्सानीको जरा खनेर बुटी बनाएर लगाएमा निको हुन्छ । म भन्दा पाँच वर्ष कान्छाको दाँत दुखेको थियो । परीक्षण गर्न म बारीमा गएँ । उसको सबै कपडा खोलेँ । कसैले पनि देखेन । खुर्सानीको जरो उखेलेर बुटी बनाएर लगाइदिएँ । निको भयो । यसकारण यसमा विज्ञान जोडिएको छ । यस कारण पनि यो सेवाको सबैले संरक्षण गर्नुपर्छ ।'

‘आदि अनादि कालदेखि डाक्टर नभएको समयमा धामी, झाँक्री र झारफुक गरेरै सबै रोगको उपचार गरिन्थ्यो । हात खुट्टा भाँचियो भने प्राकृतिक जडीबुटी दिने अनि बाँसको काम्रो बाँधेर धामी, झाँक्रीले फुकेर उपचार गर्थे र गर्छन् ।’ यस कारण यो विज्ञानसँग जोडिएको उनको दाबी छ ।  डाक्टरले निको पार्न नसकेको बिरामी फुकेर निको हुने भएकाले झारफुक सेवा विज्ञानसँग जोडिने उनको तर्क छ । केही रोग त उनी आफैंले पनि फुकेर निको पार्ने दाबीसमेत गरे । ‘मैले दाँते कीरा झार्ने मन्त्र आफ्नो सासूबाट सिकेँ । मन्त्र त आचावाचा होला भनेको त, फस्स न फुस्स पो रहेछ । र, यो मन्त्र ठीक छ कि छैन भनेर गाउँमा टेस्ट नै गरेँ । निको भयो । त्यसपछि गाउँभरि जगमानले झारफुक गर्छ भन्ने हल्ला चल्यो ।  

उनी आफैँले फुकेर दाँते कीरा निको पारेको ५६ वर्षअघिको वृतान्त यसरी सुनाए, 'मेरो गाउँमा नाता पर्ने प्रधानपञ्चको श्रीमतीलाई दाँते कीराले निकै थला पारेको थियो । मलाई बोलाउनुभयो । मैले स्लेटमा खरीले मन्त्र लेखेर फुक्नुपर्ने तर गाउँमा स्लेट र खरी दुवै पाइएन । त्यसपछि फलेकमा रातो माटोले मन्त्र लेखेर झारफुक गरिदिएर घर फर्केँ । त्यसपछि उनकी श्रीमती त निको भएर घरमा भात पकाइरहेको र खाएको पनि देखेँ । यो के हो ? विज्ञान त हो नि ।'

‘म आफैँ यसको उदाहरण हो’, उनले सुनाए, 'तर कली युगमा घरैपिच्छे धामी, झाँक्री र पछिल्लो समय माता भएका छन् । ढ्याङ्ग्रो पिट्दैमा सबै झाँक्री हुँदैनन् । अहिले सहरका गल्ली-गल्लीमा बग्रेल्ती देखिने धामी, झाँक्रीले सेवाका नाममा गलत काम गरेका पनि देखिएको छ । विदेशमा त ‘बोक्सी डाक्टर’ नै भनिन्छ । लाइसेन्स पाउँछन् । उनीहरूले ठूला मल र यातायातमा छूट पाउँछन् । नेपालमा पनि अब यस्ता आदिकालदेखि चलिआएको धामी, झाँक्री, तन्त्रमन्त्र र माताको सेवा संरक्षण गर्नुपर्छ । संस्कृति मन्त्रालयले दक्षता र क्षमता परीक्षण गर्ने संयन्त्र बनाएर लाइसेन्स दिनुपर्छ । अनि मात्र झारफुक सेवा व्यवस्थित र मर्यादित बन्छ ।'

मानव उत्पत्तिको विकासक्रमसँग जोडिएकाले संरक्षण आवश्यक  

मानवशास्त्री जनक राईका अनुसार किरात समुदायमा धामी महत्त्वपूर्ण संस्था हो । जन्मदेखि मृत्यु संस्कारसम्मको कार्य गर्न धामी अति आवश्यक पर्ने उनले बताए । मानव उत्पत्ति र यसको विकासक्रमसँग धामी, झाँक्री जोडिएकाले यो सेवालाई सबैले संरक्षण गर्नुपर्नेमा उनको जोड छ ।

धामी उमेश राजभण्डारी । तस्बिर : रुबी रौनियार/नागरिक
धामी, झाँक्री झारफुक विश्वास, परम्परा र प्रथा हो  

मानवशास्त्री राईका अनुसार १९७० को दशकदेखि नै स्वदेशी र विदेशी विज्ञहरूले धामी, झाँक्रीबारे अध्ययन गरिरहेका छन् । यो धामी, झाँक्री नेपालमा मात्र होइन, विश्वका हरेक ठाउँमा विश्वास र धर्म/संस्कृतिसँग जोडिएको परम्परा हो ।  

‘धर्म र मानिसको स्वास्थ्य बुझ्ने फरक किसिमको विश्वास प्रथा र परम्परा हो धामी झाँक्री’, उनले थपे, 'हिन्दु र गैरहिन्दु सबैमा यो विश्वास परम्परा कायम छ । आदिवासी÷जनजाति समुदायमा धामी महŒवपूर्ण हो । म किराँती संस्कृतिको भएकाले हाम्रा लागि जन्मदेखि मृत्यु संस्कारसम्म धामी महŒवपूर्ण हो । धामी परम्पराबाट चलिआएको एउटा संस्था हो । पछिल्लो समय धामी, झाँक्री र माता फरक फरक किसिमले आएका छन् । मातामा महिला मात्र हुन्छन् भने धामी, झाँक्रीमा चाहिँ पुरुष र महिला दुवै हुनु रमाइलो पक्ष पनि हो । जहाँ चिन्ता बढेको हुन्छ, भविष्य अनिश्चित हुन्छ, अर्थतन्त्र र कारोबारमा गिरावट हुन्छ, त्यहाँ त्यहाँ जादू, टुना र झारफुक जोडिएको हुन्छ ।'

झारफुक संसारका विभिन्न ज्ञानमध्ये एउटा  

राईका अनुसार सुदूरपश्चिम र कर्णालीमा धामी परम्परा एकदमै प्रचलनमा छ । संसारका विभिन्न किसिमका ज्ञानमध्ये एउटा विज्ञान हो । यस कारण केलाई अन्धविश्वास मान्ने भन्ने कुरा उठ्छ । जहाँ विश्वासको कुरा आउँछ त्यहाँ अन्धविश्वास र विज्ञानको मानक बनाउन मुस्किल पर्छ ।

यस कारण सबैलाई एउटै डालोमा हालेर हेर्नुहुँदैन । विश्व प्रसिद्ध किताब ‘ह्यारीपोर्टर’, ‘स्पाइडर म्यान’, ‘सुपर म्यान’, यी सबै महाशक्तिमा आधारित छन् । राज्यको निकायमा बस्नेले यो प्रथाले कुनै हिंसा, दण्डहीनता वा विभेद बढाएको छ भने कानुनी उपचार गर्नुपर्छ । तर धार्मिक परम्परासँग जोडिएको विषयलाई अपराधसँग जोडेर हेर्न मिल्दैन । उनको प्रश्न छ– यस कारण राज्यका सम्बन्धित निकायले यसलाई व्यवस्थित गर्नेतर्फ लाग्नुपर्छ । तर यसो गर्दा बुझेर मात्र अघि बढ्नुपर्छ । आफू सातवटा औँठी लगाएर सार्वजनिक कुर्सीमा बस्नेले यो झारफुक सेवालाई अन्धविश्वास भन्न मिल्छ ?  

‘मानव सांस्कृतिक प्राणी हो । उसमा विश्वास र आस्था पहिलेदेखि नै हुने विभिन्न अध्ययनले देखाएका छन् । मरेको मान्छे किन सपनामा आउँछ ? राम्रो र नराम्रो सपना किन देखिन्छ । यसका लागि पनि मान्छे विश्वास लिएर धामी, झाँक्रीकहाँ जान्छन् । हाम्रा पुर्खाले यसबारे पनि सोचे । यस्ता धेरै विषय छन् जो मानव संस्कृतिको विकासक्रमसँगै चलिरहेको छ,’ राईको आफ्नै तर्क छ ।

भविष्य अनिश्चितताले झारफुकमाथि विश्वास  

मानवशास्त्री राईका अनुसार मानिस सामाजिक प्राणी हो । मान्छेको छनोटको अधिकार हो धामी, झाँक्री, डाक्टर वा वैद्य कसकहाँ जाने भन्ने कुरा । देउतालाई विश्वास गर्ने हो भने अन्य शक्तिलाई किन विश्वास नगर्ने भन्ने पनि प्रश्न छ । अर्कोतिर जब देशमा सामाजिक, राजनीतिक र आर्थिक अस्थिरता बढ्छ तब तब मानिस जादू टुनातिर बढी आकर्षित हुने गरेका मानवशास्त्रका विभिन्न अध्ययनले देखाएका छन् ।  

‘सहरीकरण बढ्दै गएपछि गाउँबाट सहर, सहरबाट विदेश जाने क्रम बढ्दो छ । परिवारबाट विछोड हुने क्रममा पीडा र चिन्ता हुन्छ । भविष्य अनिश्चित बनेपछि यस्तो अवस्थामा जोखना देखाउने, देवताको पूजापाठ गर्ने, झारफुकप्रति विश्वास लाग्न थाल्छ मानवशास्त्रीय आँखाले धामी, झाँक्री र माताको झारफुकलाई ‘फेथ हिलर्स’ भन्छ । जोखना हेर्ने चलन पहिले पनि थियो र हालसम्म निरन्तरता पाएकै छ,’ राईको भनाइ छ ।

झारफुक सेवाप्रति मन्त्रालयको चासो  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले धामी, झाँक्री, मातालगायतका झारफुक सेवा मानिसको आस्था र विश्वाससँग जोडिए पनि यो व्यवस्थित हुन नसकेको स्वीकार गरे । पूर्वानुमान र अनुमान मिल्ने विषय संयोग हो कि विज्ञान ? यसतर्फ गहन अनुसन्धान हुनुपर्ने मन्त्री पाण्डेको भनाइ छ । ‘झारफुकप्रति मानिसको गहिरो आस्था छ । यही आस्थाका आधारमा मानिस झारफुक गराउन जान्छन् । केही कुरा मिलिरहेकै पनि हुन्छन्,’ उनले सुनाए ।  

मन्त्री पाण्डेले नागरिकसँग भने, 'यो मनोविज्ञान वा कुनै विज्ञानमा आधारित हो ? पूर्वानुमान र अनुमान मिल्ने संयोग हो कि विज्ञान हो ? खोज अनुसन्धान गर्नुपर्छ । मन्त्रालयमा संस्कृति महाशाखा छ । धामी, झाँक्री, माता आदिले गर्ने झारफुकको अवस्था के÷कस्तो छ भन्ने मन्त्रालयकै लागि पनि छलफलको विषय हो । अब यसलाई व्यवस्थित गर्न मन्त्रालयले पहल गर्नेछ ।'
अर्को समाचार
आइभिएफ र अभिभावकत्वको यात्रा : बाँझोपनविरुद्ध नेपाली महिलाको मौन संघर्ष
०९ फागुन २०८१
•
२४ मिनेट पाठ
आइभिएफ र अभिभावकत्वको यात्रा : बाँझोपनविरुद्ध नेपाली महिलाको मौन संघर्ष
महिलाको अस्तित्व र मूल्य उनको गर्भाशय वा बच्चा जन्माउने क्षमताले होइन, बरु उनले संसारलाई सिँचित गर्ने प्रेमले निर्धारण गर्छ तर समाजले कतिपय अवस्थामा यो सत्य स्वीकार्य गरेको छैन ।




अमेरिकाको टेक्सासमा बस्ने स्लेसा र निरञ्जनसँग जीवनका सबै सुख÷सुविधा थिए– सफल करियर, आरामदायी अपार्टमेन्ट र सप्ताहन्तका रमाइला यात्राहरू । तर घरका बन्द ढोकापछाडि उनीहरूसँग एउटा गहिरो अभाव थियो, एक निस्शब्द पीडा, जसले उनीहरूको मनलाई लगातार ठुँगिरहन्थ्यो ।

घरभित्रको शून्यता उनीहरूको सन्तानप्रतिको तीव्र चाहनाले चिर्न खोज्थ्यो । हरेक बिहान, स्लेसा आफ्नो छातीभित्रको यही भार बोकेर उठ्थिन् । त्यो पीडा कसैले देख्दैनथ्यो, कसैले महसुस गर्दैनथ्यो । निरञ्जनसँगको वैवाहिक सम्बन्धमा कुनै गुनासो थिएन तर उनीहरूबीच एक अव्यक्त तर गहिरोरूपमा अनुभूत हुने वेदना थियो ।

उनीहरू जोडी त थिए तर परिवार जस्तो महसुस हुन्नथ्यो । समाजले कोरेका आदर्श परिवारका चित्रहरूमा उनीहरू एकाकार हुँदैनथे । आफ्नो वरिपरिका पूर्णता सम्पन्न परिवारहरूलाई नियाल्दा उनीहरूको जीवन अधुरोझैँ लाग्थ्यो ।

सात वर्ष लामो वैवाहिक जीवनले सन्तान प्राप्तिको निरन्तर पर्खाइ र प्रयत्नलाई प्रतिध्वनित गरिरहेको थियो । यो अवधिमा उनीहरूले आफ्नो सपना पूरा गर्न प्रार्थना, उपचार, जडीबुटी सबैको सहारा लिएका थिए । तर बारम्बारका असफलताले उनीहरूको भावनात्मक पीडा झनै गहिरो बनाउँदै लगेको थियो ।

अमेरिकाको स्वास्थ्य सेवा प्रणालीसँग समाधान त थियो, अझै पनि छ तर ती अत्यन्तै महँगा थिए । हरेक वर्ष बित्दै जाँदा, स्लेसा र निरञ्जनको मनमा प्रश्नहरूको भार बढ्दै गयो, हामीले के भुल गरेका छौ ? हामीमा के समस्या छ ?

यही क्रममा, नेपाल भ्रमणका दौरान एक नातेदारले उनीहरूलाई अप्रत्याशित सल्लाह दिए– कृत्रिम गर्भाधान (आइभिएफ) को । नेपालमा कृत्रिम गर्भाधान ? स्लेसाले यसबारे कहिल्यै नसोचेको त होइन । यसले साँच्चै काम गर्छ ? के यो सुरक्षित छ ? अनेकन प्रश्न उनीहरूका मनमा उठे । तर सबै भन्दा ठूलो प्रश्न त यो थियो– राम्रा अवसरका लागि छाडेको देश नेपालले के उनीहरूलाई सबै भन्दा ठूलो आशा र खुसी दिन सक्ला त ? 

 महिनौँको अनुसन्धानपछि, उनीहरूले अन्ततः यो प्रविधि अपनाउने निर्णय गरे । सधैँ जस्तो बिदा मनाउन नेपाल आउने योजना यो पटक फेरियो  ।  यो अब अभिभावकत्वको अवसर खोज्ने यात्रा बन्यो ।

तर समग्र प्रक्रिया सहज थिएन । परामर्शदेखि इन्जेक्सनसम्मका दिनहरू सावधानी, आशा र शान्त प्रार्थनाले भरिएका थिए । प्रत्येक परीक्षण आफैँमा एउटा लडाइँ जस्तै थियो । तर पर्खाइ, बेचैनी र सुइका बीच उनीहरूले एक फरक शक्ति भेट्टाए । अब यो केवल बच्चा पाउने प्रयास मात्र थिएन । यो जीवनको एउटा लडाइँ बनिसकेको थियो । यो उनीहरूले वर्षौँदेखि सँगसँगै देखेको सपना साकार पार्ने संघर्ष थियो ।

अनि, २०२४ को जुन महिनाको एक दिन । आइभिएफ प्रविधिमार्फत जन्मिएकी छोरीको पहिलो रुवाइले उनीहरूको जीवन उज्यालो बनायो । त्यो रोदन उनीहरूका लागि पीडाको होइन, वर्षौँको सपना साकार भएको खुसीको आवाज थियो । ठूलो पर्खाइपछिको सफलताले उनीहरूको आँखा खुसीका आँसुले भरिए । आज, ती छोरी सात महिनाकी भइसकेकी छिन् ।

स्लेसासँग यो खुसी व्याख्या गर्ने शब्द नै थिएनन् । हरेकपटक छोरीलाई हेर्दा, राहत र आनन्दले उनी द्रविभूत हुन्थिन् । तर खुसीको त्यो क्षणमा पनि उनलाई लाग्थ्यो– समाजले मेरी छोरीलाई चमत्कारका रूपमा लिनेछ वा उसलाई सधैँ अरू भन्दा कम भएझैँ हेरिनेछ ?

यस्तै संघर्षबाट गुज्रन बाध्य जोडी स्लेसा र निरञ्जन मात्र होइनन् । नेपालमा झन्डै २५ प्रतिशत जोडी प्रजनन समस्याबाट पीडित छन् । विदेशमा बस्ने कैयौँ नेपाली परिवार बाँझोपनको समस्यासँग जुधिरहेका छन् । धेरैजसोले गलत जानकारी, सीमित उपचार पहुँच र सामाजिक डरका कारण यो पीडा चूपचाप सहन्छन् ।

बाँझोपन : नेपालमा बढ्दो सार्वजनिक स्वास्थ्य समस्या

बाँझोपन केवल एक व्यक्तिगत संघर्ष मात्र होइन, यो विश्वभरका जोडीहरूलाई असर गर्ने एक अव्यक्त सार्वजनिक स्वास्थ्य समस्या हो । विश्वभरमा, प्रजनन उमेरका प्रत्येक ६ जनामध्ये १ जनाले आफ्नो जीवनकालमा बाँझोपनको अनुभव गर्छन् (डब्लुएचओ, २०२४) । विश्व स्वास्थ्य संगठनले बाँझोपनलाई एक रोगका रूपमा वर्णन गरेको छ ।

यो पनि पढ्नुहोस्

पाथीभरामा केबलकार विवाद : किन अवरोध गर्दैछन् स्थानीय ?

संगठनका अनुसार, जब दम्पतीले कम्तीमा एक वर्षसम्म परिवार नियोजनका साधन प्रयोग नगरी नियमित यौन सम्पर्क गरे पनि गर्भ धारण गर्न सक्दैनन् भने उनीहरूमा बाँझोपन हुन सक्छ । विश्वमा १० देखि १५ प्रतिशत जोडीमा बाँझोपनको समस्या पाइन्छ । यद्यपि, नेपाल जस्ता विकासोन्मुख देशहरूमा यो संख्या २५ प्रतिशतसम्म रहेको अनुमान छ । डब्लुएचओले बाँझोपनलाई प्रजनन रोगमा वर्गीकृत गरेको छ र यसलाई शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई असर गर्ने रोगका रूपमा परिभाषित गरेको छ ।

विश्वभर लगभग ८ देखि १२ प्रतिशत अर्थात् ६ देखि ८ करोड जोडी बाँझोपनको समस्यासँग जुझिरहेका छन् । त्यसैले यसलाई विश्वको प्रमुख स्वास्थ्य चिन्ताको विषय मानिन्छ । नेपालमा बाँझोपनको समस्या अन्य देशको तुलनामा अझ बढी संवेदनशील छ किनकि बच्चाको अपेक्षा नेपाली समाज र संस्कृतिसँग गहिरो सम्बन्ध राख्छ । परम्परागत लैंगिक अवधारणाले महिलाहरूलाई विवाहपछि तुरुन्तै गर्भ धारण गर्न ठूलो दबाब पर्ने गर्छ ।

यसका अतिरिक्त, उमेरमा विवाह नगरे सामाजिक दबाब र मानसिक पीडा भोग्नुपर्ने स्थिति छ भने अझै पनि नेपाललगायत विश्वका केही राष्ट्रमा बालविवाह एक ठूलो चुनौती बनेको छ । नेपालमा ५० लाख किशोरीको बालविवाह भएको र त्यसमध्ये १५ लाख किशोर÷किशोरी १५ वर्ष भन्दा कम उमेरका रहेको अध्ययनले देखाएको छ (युनिसेफ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद)  ।

विश्वभर बालविवाहका कारण ७० करोड महिला प्रभावित भएका छन् । यद्यपि, बाँझोपनले केवल महिलालाई मात्र प्रभावित गर्दैन । ४० प्रतिशत जोडी पुरुषका कारण सिर्जित बाँझोपनबाट प्रभावित छन् तर समाजले पुरुष बाँझोपनलाई ठूलो कलंकका रूपमा लिँदैन ।

बाँझोपन : कारण र निदान

बाँझोपनको समस्या विभिन्न जैविक कारणले उत्पन्न हुन्छ र यो समस्याले जोडीमध्ये एकलाई असर पु¥याउन सक्छ । बाँझोपनलाई सामान्यतः दुई प्रमुख प्रकारमा वर्गीकृत गरिएको छ । प्राथमिक बाँझोपन– यो अवस्था त्यस समयमा हुन्छ जब कुनै जोडी गर्भ धारण गर्न असमर्थ हुन्छ र पहिले कहिल्यै गर्भवती भएको हुँदैन । माध्यमिक बाँझोपना– जहाँ जोडीले पहिले एक वा बढी बच्चा जन्माएका छन् तर अब गर्भ धारण गर्न असफल हुन्छन् ।

महिला बाँझोपनका विभिन्न कारण छन् जसमा डिम्बग्रन्थी विकारहरू, फेलोपियन ट्युबमा अवरोध र पाठेघरमा समस्या आदि  । यसका निदानका लागि महिला हार्मोन स्तर परीक्षण, डिम्ब उत्पादन भएको छ कि छैन भन्ने जाँच र फेलोपियन ट्युबको अवरोध जाँच गर्न हिस्टेरोसाल्पिनोग्राफी परीक्षण गरिन्छ । गर्भाशयमा समस्या भएमा, ल्याप्रोस्कोपी जस्तो शल्यक्रिया विधि प्रयोग गरिन्छ । केही अवस्थामा हार्मोन परीक्षण र डिम्बग्रन्थी रिजर्भ परीक्षण पनि गरिन्छ ।

पुरुष बाँझोपनका कारणहरूमा शुक्राणुको कमी, कमजोर शुक्राणु गतिशीलता र हार्मोनसम्बन्धी असन्तुलन हुने गर्छन्  । यसको निदानका लागि वीर्य विश्लेषण गरिन्छ जसले शुक्राणुको गणना र गुणस्तरको बारेमा जानकारी दिन्छ । हार्मोन परीक्षणले टेस्टोस्टेरोन स्तरको बारेमा जानकारी दिन्छ । शुक्राणु उत्पादनमा समस्या भएमा टेस्टिक्युलर बायोप्सी जस्ता विधि प्रयोग गरिन्छ र अल्ट्रासाउन्डबाट अंगहरूको संरचनात्मक समस्याको पहिचान गरिन्छ ।

बाँझोपनका अन्य प्रमुख कारणमा वातावरणीय प्रदूषण, मनोवैज्ञानिक तनाव र जीवनशैलीमा हुने परिवर्तनहरू पनि सामेल छन् । विशेषगरी, वायु प्रदूषण र वातावरणमा पाइने माइक्रोप्लास्टिकका बारेमा चिन्ता व्यक्त गरिएको छ । पछिल्ला अध्ययनले देखाएका छन् कि माइक्रोप्लास्टिकहरूले कोशिका मृत्यु, सुजन र आन्द्राको ब्याक्टेरियामा अवरोध पुर्‍याउँछ जसले बाँझोपन, कोलोन क्यान्सर र श्वास-प्रश्वास समस्याहरू निम्त्याउन सक्छ । यी शूक्ष्म कणहरू शरीरमा खाद्य, पानी र श्वास-प्रश्वास प्रक्रियाबाट प्रवेश गर्छन् ।

बाँझोपनका मनोवैज्ञानिक कारणहरू पनि महत्त्वपूर्ण छन् । चिन्ता र अवसाद जस्ता अवस्थाले प्रजनन क्षमता प्रभावित गर्न सक्छ । नेपाल जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित एक अध्ययनले प्रजनन समस्या भएका महिलामा चिन्ता र अवसादको उच्च स्तर देखाएको छ । यसले बाँझोपनको व्यवस्थापनमा मानसिक स्वास्थ्यको पक्षलाई सम्बोधन गर्नुपर्ने आवश्यकता औल्याएको छ ।

यसका अतिरिक्त, जागिरका कारण बसाइँ सराइ र यससँग सम्बन्धित जीवनशैली परिवर्तनले पनि बाँझोपनको अनुपात वृद्धि गरेको देखिएको छ । नेपाल मेडिकल एसोसिएसनको जर्नलमा प्रकाशित अध्ययनअनुसार प्रजनन उमेरका व्यक्तिहरूको विदेश बसाइँ सराइ, जीवनशैलीमा परिवर्तन र कृषि उत्पादनमा कीट नाशकको अत्यधिक प्रयोगले बाँझोपनको समस्या बढाएको छ ।

प्रवासी कामदारहरूमा बाँझोपन

नेपालमा बाँझोपन बढाउने अर्को महत्त्वपूर्ण कारक भनेको आप्रवासी कामदारहरूको बढ्दो संख्या हो  ।  विशेष गरी खाडी देशहरू र मलेसियाबाट फर्केकाहरूमा यो समस्या धेरै देखिएको छ । जुन भौगोलिक र जलवायु परिस्थितिमा व्यक्ति हुर्किन्छ, गर्मी सहनशीलता र शुक्रकीटले तद्नुसार कार्य गर्ने गर्छ । सामान्यतया, नेपालीहरू ३२ देखि ३७ डिग्री सेल्सियस तापक्रममा अनुकूल हुन्छन्  तर खाडी देशहरूमा तापक्रम ४५ डिग्री सेन्टिग्रेडसम्म पुग्छ  । यस्तो उच्च तापले माइटोकोन्ड्रियाको कार्यमा बाधा पुर्‍याउन सक्छ । सामान्यतया यी अंगले लगभग ३५ डिग्री सेन्टिग्रेडको उच्चतम तापक्रममा राम्रोसँग काम गर्छन् । धेरै अवधिसम्म गर्मी मौसममा बस्दा अण्डकोष अत्यधिक तातो हुने र  यसले अन्ततः शुक्राणु उत्पादन, गतिशीलता प्रभावित हुन सक्ने मानिएको छ  । समयक्रमसँगै यसले यसले शुक्राणु उत्पादनमा कमी आउने र कतिपय अवश्थमा शुक्राणु गणना शून्यमा झर्न सक्ने वैज्ञानिक ठान्छन्  । 

प्रजनन क्षमता विशेषज्ञ डा. ज्वाला थापा
गर्मी सँगसँगै, टाइट–फिटिंगका भित्री पोशाकहरु लगाउनु, काममा तनाव लिनु, अस्वस्थ जीवनशैली लगायतका कारणले पुरुषलाई बाँझोपनातर्फ धकेल्ने देखिएको छ  । परोपकार अस्पतालले उपलब्ध गराएको एक तथ्याङ्कअनुसार बाँझोपनका ४० प्रतिशत घटना प्रवासी कामदारमा पाइएको छ । यीमध्ये अधिकांशमा शुक्राणुबिहीनता अर्थात एजुस्पर्मिया देखिएको थियो  । अस्पतालका प्रजनन क्षमता विशेषज्ञ डा. ज्वाला थापा भन्छिन्– धेरै प्रवासी कामदारहरूमा अत्यधिक गर्मीको जोखिमले शुक्राणु उत्पादनलाई नराम्ररी प्रभावित गरेको पाइएको छ  । यस्तो अवस्थामा लामो समयसम्म रहँदा पुरुष बाँझोपनको सम्भावना बढ्छ  ।  

यसैगरी, प्रतिकूल कार्यस्थल, आनीबानी, अत्यधिक गर्मी, धूमपान, मदिरा सेवनलगायतका कारणले पनि शुक्रकीटको गुणस्तरमा प्रभाव पारेको देखिएको थियो । आप्रवासी कामदारहरूमा देखिएको यही व्यावहािरक चुनौतीलाई सम्बोधन गर्न अस्पतालले  जुन २०२३ देखि वीर्य भण्डारण सेवा सुरु गरेको छ  । यो सेवाअन्तर्गत उनीहरूले वैदेशिक रोजगारीमा जानुअघि आफ्नो शुक्रकीट भण्डारण गर्न सक्छन्  ।

देशका विभिन्न भागमा छरिएका तथा निजी स्तरमा स्थापना गरिएका निसन्तान केन्द्रहरूले पनि महँगोमा यो सेवा प्रदान गर्दै आएका छन्  । तर सरकारी स्तरमा परोपकार अस्पतालमा मात्र यो सेवा उपलब्ध छ  । अझै पनि उच्च लागत र सीमित उपलब्धताका कारण यो सेवामा सर्वसाधारणको पहुँच पुग्न सकेको छैन  ।  

आइभिएफप्रति बढ्दो रुचि

डा. थापाका अनुसार नेपालमा आइभिएफ उपचारमा धेरै सुधार आएको छ  । चिकित्सा विशेषज्ञता र प्रविधिको दृष्टिकोणले यो सुधार आएको हो । “नेपालमा उपलब्ध प्रशिक्षित मानव संसाधन, अनुभवी डाक्टरहरू र भ्रुणविज्ञका कारण आइभिएफ क्षेत्रको विकासमा योगदान पुगेको  छ  ।  यसबाहेक, विषयगत सम्मेलनहरू, राम्रो प्रयोगशाला प्रविधि तथा लेजर ह्याचिङ जस्ता प्रविधिको प्रयोगले उपचारको सफलता दर बढाउन मद्दत गरेको छ”– उनी भन्छिन्  ।  

किफायती मूल्यमा नेपालमा उपलब्ध सेवाका कारण प्रजनन उपचारका लागि नेपाल गन्तव्यका रूपमा विकसित हुँदैछ  । डा. थापा थप्छिन्– विदेशमा प्रजनन उपचार धेरै महँगो छ । विदेशमा बस्ने धेरै नेपाली आइभिएप सेवाका लागि घर फर्कन रुचाउँछन् किनभने नेपालले उच्च सफलता दर कायम राख्दै उचित मूल्यमा उपचार प्रदान गर्छ  ।

यो पनि पढ्नुहोस्

युवा इन्जिनियर सबिनका उडानमय सपनाहरू : आर्थिक अभावले खाडी भाँसिनु नपरोस्

तथ्यांकको कुरा गर्दा, परोपकार अस्पतालमा मात्र दैनिक ४०–५० बिरामी बाँझोपन उपचार सेवा लिन आउँछन्  । यीमध्ये प्रतिमहिना कम्तीमा ४–५ जनाले आइभिएफ सेवा खोज्छन । यो तथ्यांकले कृत्रिमरूपमा गरिने प्रजनन प्रविधिप्रति बढ्दो मागलाई संकेत गर्छ  ।  

बाँझोपन उपचारमा समस्या रहे पनि प्रविधिगत प्रजनन उपचारको उपलब्धताले धेरै जोडीलाई आशा प्रदान गरिरहेको छ  । सम्बद्ध चिकित्सकका अनुसार नेपालमा यसको सफलता दर ७० प्रतिशत भन्दा बढी छ  । त्यसो हुँदाहुँदै पनि उपचारको उच्च लागत एक प्रमुख बाधा बनेको छ । सिनामंगलमा रहेको हार्दिक आइभिएफ सेन्टरका अनुसार यो सेवाको एक चक्रको मूल्य २ देखि ३ लाख रुपियाँ पर्छ  ।  

किन आकर्षक छ नेपालमा आइभिएफ ?

विज्ञका अनुसार सफलताको उच्च दर नेपालमा आइभिएफको एक प्रमुख आकर्षण हो । सरदरमा ६०–७० प्रतिशत सफलताको दर हुनु र कतिपय क्लिनिकमा त्यो भन्दा पनि बढी हुनाले यो सेवाप्रतिको आकर्षण बढेको हो  । प्रतिचक्र उपचारमा नेपालमा दुई भ्रुण स्थानान्तरण गर्ने अभ्यास प्रचलित छ  र यसलाई  कानुनी हिसाबले पनि स्वीकृति दिइएको छ  । जबकि धेरैजसो देशमा एकल भ्रुण स्थानान्तरणको अभ्यास गरिन्छ । नेपालमा गरिने यो अभ्यासले गर्भ धारणको सम्भावना बढाउँछ । यही कारणले प्रभावकारी र कम लागतको उपचार खोज्ने स्थानीय र अन्तर्राष्ट्रिय बिरामीहरूका लागि नेपाल आकर्षक गन्तव्य बनेको छ  ।  तर यसो गर्दा एकैपटकमा धेरै गर्भ धारणको जोखिम पनि हुन्छ र यसलाई प्रजनन विशेषज्ञहरूले ख्याल गर्नुपर्ने हुन्छ  ।  

‘नेपालको सफलता दर तुलनात्मकरूपमा उच्च छ किनभने हामी ब्लास्टोसिस्ट चरणमा दुईवटा भ्रुण निषेचन  गर्छौँ । यसले गर्भ धारणको सम्भावना बढाउँछ  । जबकि अन्य देशमा एकल भ्रुण निषेचन गर्ने प्रचलन छ’–  डा. थापा भन्छिन्  । वात्सल्य आइभिएफ र प्रजनन केन्द्रका प्रजनन विशेषज्ञ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. उपमा बस्नेतका अनुसार कसरी भ्रुण स्थानान्तरण गर्ने भन्नेमा  कुनै निश्चित नियम छैन र यसो गर्दा बिरामीको उमेर, स्वास्थ्य अवस्था र चिकित्सा इतिहासलाई आधार मानिन्छ र सोहीअनुरूप एक अथवा दुई, कतिवटा भ्रुण स्थानान्तरण गर्ने भन्ने निक्र्योल हुन्छ । यो अभ्यास नेपालका प्रजनन केन्द्रहरूका लागि लाभदायक सावित भएको छ र धेरैजसोको सफलता दर राम्रो छ । डिसेम्बर २०२४ सम्मको तथ्यांकअनुसार उक्त केन्द्रको आइभिएफ सफलता दर ७४.७९ प्रतिशत रहेको बस्नेत दाबी गर्छिन्  । यही कारणले नेपाल प्रजनन उपचार प्राप्त गर्ने गन्तव्यहरूमध्ये एकका रूपमा देखा परेको उनको भनाइ छ ।  

आइभिएफबाहेक अन्य विधि

आइभिएफबाहेक प्रजनन उपचार सेवामा पुरुष बाँझोपनको उपचार पनि एक प्रमुख अंग हो । विशेषगरी हर्मोनजन्य असन्तुलन वा शारीरिक अवरोधको अवस्थामा हर्मोन थेरापी गर्ने प्रचलन छ । नेपालका प्रजनन क्लिनिकहरूमा बढ्दोरूपमा हार्मोन रिप्लेसमेन्ट थेरापी उपचार गरेको पाइन्छ । कम टेस्टोस्टेरोन र अन्य हर्मोनजन्य समस्याको सामना गरिरहेका पुरुषका लागि यो सही उपचार हुन सक्छ । यद्यपि नेपालमा हार्मोन थेरापीको प्रभावकारिताबारे अध्ययनहरू अझै पनि प्रारम्भिक चरणमा छन् । तर यो सेवा दिइरहेका धेरै क्लिनिक राम्रो नतिजा दिएको दाबी गर्छन् । विशेषगरी हार्मोनसम्बन्धी असन्तुलनका कारणले गर्दा कम शुक्राणु गणना भएकाहरूको अवस्थामा यो उपलचार सफल भएको फर्टिलिटी क्लिनिक नेपालको दाबी छ ।  

हर्मोन थेरापीबाहेक, शुक्राणु पुनः प्राप्ति प्रविधि पनि अर्को विकल्प हो । यसले शुक्राणु स्खलनमा हुने अवरोध हटाउन सहयोग गर्दछ । टेस्टिक्युलर स्पर्म एस्पिरेसन (टेसा) लगायतका यी उपचार विधि नेपालका धेरै प्रजनन केन्द्रमा उपलब्ध हुँदै गइरहेका छन् र धेरैले यो सफल रहेको दाबी गर्छन् । यो विधिअन्तर्गत अण्डकोषबाट शुक्राणुहरू पुनः प्राप्ति हुने र अन्तत यसलाई बाह्य सहयोगमा गरिने प्रजनन प्रविधिसँग जोड्न सकिने चिकित्सक बताउँछन्  ।  

यसबाहेक, मौखिक सेवनमार्फत शुक्राणु उत्पादन बढाउने औषधिहरू नेपालमा पनि उपलव्ध छन् । यी औषधिले शुक्राणु गणना र गतिशीलतामा सुधार गर्छन् जसले गर्दा कमजोर शुक्राणु उत्पादन भएका पुरुषहरूलाई नयाँ आशा दिएको छ । बाँझोपनको विशिष्ट कारणले यसको उपचारका परिणामहरू फरक फरक हुने भए पनि रोग निदान र उपचारको अन्य व्यवस्थाको संयोजनसहित यी औषधिको उचित सेवनले सकारात्मक नतिजा दिएको पाटनमा रहेको क्लिनिक वनको दाबी छ  ।  

नेपाल मेडिकल एसोसिएसनले सन् २०२३ मा प्रकाशन गरेको एक प्रतिवेदन भन्छ– नेपालमा प्रजनन उपचारहरू निरन्तर विकसित भइरहेका छन्, निसन्तान दम्पतीहरूका लागि अधिक र अधिक विकल्पहरूमा पहुँच बढ्दै गएको छ । यद्यपि, नेपाली पृष्ठभूमिमा यी विधिहरूको बारेमा बढ्दो जागरुकता र थप अनुसन्धानको लागि अझै पनि ठूलो आवश्यकता छ ।  

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जमुना किरण पौडेल
नेपालमा बाँझोपन : एक अभिशाप

स्लेसाको विचारमा धेरैजसो बाँझोपनाका लागि महिलालाई दोषी ठानिन्छ  जबकि मेडिकल रिपोर्टले अन्यथा देखाएको हुन्छ । “सबै दोष, कानेखुसी मतिर सोझिएका हुन्थे, नेपाली समाजमा गहिरोरूपमा रहेको यसप्रकारको धारणाले धेरै महिलालाई मौनता, चिन्ता र डिप्रेसनमा धकेलेको छ”– उनी भन्छिन् । विशेषगरी ग्रामीण क्षेत्रका दम्पतीहरूले उचित चिकित्सा उपचारको सट्टा समाधानका लागि परम्परागत उपचारकर्ताहरू खोज्छन् । बाँझोपनको मुद्दामा यही सामाजिक मौनताले परिवारहरूमा भावनात्मक बोझ झन् बढाउँछ ।

डा. थापाका अनुसार ग्रामीण नेपालमा बाँझोपन प्रायः बालविवाह र पुरुष बसाइँ सराइसँग जोडिएको छ जसले गर्दा गर्भ धारण प्रयास ढिलो हुन्छ । शहरी क्षेत्रहरूमा, करियरको प्राथमिकताका कारण ढिलो विवाह हुनु एक प्रमुख कारक हो । त्यस्तैगरी, विज्ञहरूको विचारमा सार्वजनिक शिक्षा कार्यक्रमहरू सञ्चालन गरिनुपर्छ जसले गर्दा बाँझोपनको बारेमा जागरुकता बढ्छ र यससँग सम्बन्धित कलंक कम हुन्छ ।

यस दिशामा, प्रजनन उपचारलाई अझ पहुँचयोग्य बनाउन सरकारी हस्तक्षेपको तत्काल आवश्यकता छ, विशेषगरी प्रवासी कामदारहरूका लागि, जो नेपालको अर्थतन्त्रका लागि महत्त्पूर्ण भए पनि, आवश्यक उपचार खर्च गर्न सक्दैनन् । मौनताको संस्कृति र असमर्थित वातावरणले मनोवैज्ञानिक तनावलाई दोब्बर बनाउँछ । यो मौनता तोड्दा बाँझोपनबाट पीडित व्यक्तिका लागि उचित हेरचाह सुनिश्चित गर्न काम गर्न सक्छ । डा. बस्नेतका अनुसार बाँझोपन उपचारले महिलाहरूलाई आफ्नो प्रजनन स्वास्थ्यको अधिकार दिने, परम्परागत मान्यताहरूलाई चुनौती दिने र परिवार नियोजनमा लैङ्गिक समानता प्रवद्र्धन गर्ने विकल्प प्रदान गर्ने गर्छ  ।  

‘मिडियामा आइभिएफ सफलताका कथाहरूको बढ्दो उपस्थितिले परिवारभित्र बाँझोपनबारे खुला कुराकानीलाई प्रोत्साहित गरेको छ  । बाँझोपन उपचारको बढ्दो स्वीकृतिले बाँझोपनप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्न पनि भूमिका खेलेको छ । नेपालमा बाँझोपनलाई लामो समयदेखि कलंकित गरिएको छ, प्रायः महिलाहरूलाई दोष लगाइन्छ । यद्यपि, आइभिएफले बाँझोपनलाई व्यक्तिगत असफलताको सट्टा चिकित्सा समस्याका रूपमा हेर्ने धारणा परिवर्तन गर्न मद्दत गरेको छ । आफ्नो आइभिएफ यात्रालाई खुलेआम साझा गर्ने जोडीहरूले अरूलाई मद्दत खोज्न प्रोत्साहित गरेका छन् जसले गर्दा सामाजिक लाज कम हुन्छ । ग्रामीण क्षेत्रमा परम्परागत विश्वासहरू अझै पनि हावी छन्, शहरी समाजहरूले वैकल्पिक परिवार–निर्माण विधिहरूलाई बढी स्वीकार गरिरहेका छन्’– डा. बस्नेत भन्छिन्  । गठ्ठाघरस्थित आयु सुपरस्पेसालिटी क्लिनिककी प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. जमुना किरण पौडेलका अनुुसार बाँझोपनसम्बन्धी आमधारणा परिवर्तन हुन जरुरी छ  ।

यो पनि पढ्नुहोस्

एकीकरण पदमार्ग: इतिहास हस्तान्तरणको यात्रा

‘हो, अभिभावकत्वको यात्रामा दम्पतीहरूले समस्या बेहोर्छन् तर आजको प्रविधि, चिकित्सा उपचार र औषधिहरूको प्रगतिसँगै, प्रजनन समस्याहरूबारे विलाप गर्नुपर्ने आवश्यकता छैन । सही दृष्टिकोण र प्रदान गरिएको सहयोगबाट बच्चा जन्माउन सम्भव छ  । अहिले आइभिएफ र आइयुआई जस्ता उन्नत प्रजनन उपचार उपलब्ध छन् र  निसन्तान जोडी निराश हुनुपर्ने अवस्था छैन’– डा. पौडेल भन्छिन् । 

डा. पौडेलले भनेअनुसार नेपालमा प्रजनन उपचारहरूमा सुधार हुँदै जाँदा, बाँझोपनसँग लडिरहेका अनगिन्ती जोडीहरूका लागि आशा सञ्चार गराएको छ । तर यो विषयमा थप जागरुकता, उपचार सेवामा थप उपलब्धता, र सामाजिक कलंक तोड्ने अभियान अगाडि बढाउन सकेको खण्डमा नेपाल वास्तवमा प्रजनन हेरचाहमा अग्रणी गन्तव्य हुन सक्छ  ।  

अन्तर्वार्ता

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. उपमा बस्नेत
आइभिएफप्रति सार्वजनिक विश्वास बढेको छ : प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. उपमा बस्नेत

विगत केही वर्षमा नेपालमा आइभिएफ उपचार कसरी विकसित भएको छ र यसले बाँझोपनबारे सामाजिक दृष्टिकोण परिवर्तन गर्न के–कस्तो भूमिका खेलेको छ ?

नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) विगत केही वर्षमा उल्लेखनीयरूपमा बढेको छ  । यही कारणले बाँझोपानलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ । यो विषयमा आमसञ्चारमा आउने कुराहरूले सार्वजनिक बुझाइलाई सुधार गर्न मद्दत गरेको छ र यसअघि आइभिएफप्रति रहेका गलत धारणाहरूलाई कम गरेको छ  । काठमाडौँ जस्ता शहरमा सुसज्जित प्रजनन केन्द्रहरूको उपलब्धता र स्तरीय सेवाले आइभिएफलाई अझ पहुँचयोग्य बनाएको छ । सँगसँगै प्राविधिक प्रगति र दक्ष पेसेवरहरूको उपस्थितिले यो समग्र प्रक्रियामा आममानिसको विश्वास बढेको छ ।  

आइभिएफ केही महँगो भए पनि प्रतिस्पर्धी मूल्य निर्धारण र भुक्तानी विकल्पको उपलब्धताले मध्यम आय भएका परिवारबीच यो पहुँचयोग्य बनेको छ । युवा पुस्ता, विशेषगरी शहरी जोडीहरू, हर्बल उपचार वा आध्यात्मिक अभ्यासहरूको परम्परागत निर्भरता भन्दा बाँझोपनको निदानका लागि चिकित्सकीय सहायता खोज्न बढी लालायित छन् । यसबाहेक, यो उपचार सेवामा नेपाल सरकारबाट प्राप्त कानुनी र नैतिक समर्थनले बिरामीको सुरक्षा र नैतिक अभ्यासहरू सुनिश्चित गरेको छ र आइभिएफप्रति सार्वजनिक विश्वास बढेको छ । बाँझोपनको समाधान प्रदान गरेर, आइभिएफले प्रत्येक परिवारलाई बलियो बनाएको छ र निसन्तान दम्पतीहरूको बारेमा रहेको पुरानो सामाजिक धारणालाई चुनौती दिएको छ । यी प्रगतिहरू हुँदाहुँदै पनि अझै चुनौतीहरू बाँकी छन्  । विशेषगरी जागरूकता र प्रजनन उपचार उपलब्धताका हिसाबले ग्रामीण क्षेत्रमा पहुँच कम छ  । 

विश्वव्यापी मापदण्डहरूको तुलनामा नेपालमा आइभिएफको सफलता दर र समयमा कसरी सुधार भएका छन् ?  

नेपालमा, इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) को सफलता वर्षौँदेखि सुधारोन्मुख छ । नेपालमा उपलब्ध सेवा विस्तारै विश्वव्यापी मापदण्डहरूसँग मिल्दोजुल्दो बनेका छन् । यद्यपि, सफलता दर बाँझोपनाको कारकहरूमा निर्भर हुन्छ । महिलाको उमेर, व्यक्तिगत स्वास्थ्य अवस्था र प्रजनन क्लिनिकको गुणस्तर आदिले यसलाई प्रभावित गर्छ  । विश्वव्यापीरूपमा, आइभिएफको सफलता दर लगभग ३५ देखि ४० प्रतिशत छ र यसमा एकल भ्रुण स्थानान्तरण गरिन्छ । नेपालको हकमा सफलता दर लगभग ६० देखि ७० प्रतिशत छ  । नेपालमा सामान्यतया दुई भ्रुण स्थानान्तरण गरिन्छ र यसले गर्भाधानको संभावना बढाउँछ  ।  

हो, धेरै कारकले आइभिएफ सफलता दरलाई प्रभाव पार्छन् । यसमा उमेर पनि एक हो । युवा महिलामा सामान्यतया उत्तम अण्डाको गुणस्तरको कारणले गर्भाधानको उच्च सम्भावना हुन्छ  । भ्रुणको गुणस्तरले पनि महŒवपूर्ण भूमिका खेल्छ । उच्च–गुणस्तरको भ्रुणले सफल प्रत्यारोपणको सम्भावना बढाउँछ । जीवनशैली कारकहरू, जस्तै– स्वस्थ आहार कायम राख्ने र धूमपानबाट बच्न सकेमा नतिजामा प्रभाव पर्न सक्छ । यसबाहेक, चिकित्साकर्मीको अनुभव र उन्नत प्रविधिको उपलब्धतासहित सम्बद्ध प्रजनन क्लिनिकहरूको विशेषज्ञताले उपचार सफलतामा योगदान पुर्‍याउँछ । यसरी  नेपालको आइभिएफले सफलता दर उल्लेखनीय छ तर व्यक्तिगत परिणामहरू अझै पनि यी फरक–फरक कारकको आधारमा निर्धारित हुन्छन् ।

नेपालमा आइभिएफ उपचार खोज्ने जोडीहरूले आर्थिक र भावनात्मक दुवैरूपमा सामना गर्ने मुख्य चुनौती के के हुन ?

हो, नेपालमा आइभिएफ गर्न चाहने जोडीहरूले आर्थिक र भावनात्मक दुवैखाले चुनौती सामना गर्छन् । आर्थिकरूपमा, यो केही महँगो छ र धेरै जोडीलाई उपचारका लागि धेरै चक्र आवश्यक पर्छ । यसले समग्र लागत बढाउँछ । बाँझोपन उपचारका लागि बीमाको उपलब्धता नहँुदा जोडीहरूले आफ्नो खल्तीबाट शुल्क तिर्न बाध्य छन्  । काठमाडौँ जस्ता शहरी केन्द्रहरूमा आएर उपचार खोज्दा ग्रामीण क्षेत्रका मानिसले यात्रा, आवास र खानाका लागि अतिरिक्त लागतको सामना गर्छन् ।

यसैगरी भावनात्मकरूपमा, बाँझोपनलाई समाजमा अझै पनि कलंकको हिसाबले हेरिन्छ र महिलाहरूलाई गर्भ धारणको असमर्थताका लागि दोषी मानिन्छ । आइभिएफ गराइरहेका जोडीहरूले उपचार छिटो सफल हुनका लागि ठूलो दबाब महसुस गरेका हुन्छन् । बारम्बार गरिने उपचार चक्रका कारण उनीहरूमा भावनात्मक असर परेको हुन्छ । यसैगरी, मुड स्विङ निम्त्याउने हार्मोनल उपचारहरू र असफलताको डरले झन मानसिक तनाव थपिने गर्छ । जोडीहरू आफ्नो संघर्षबारे मौन रहन चाहन्छन् र परिणामस्वरूप उनीहरुमा एक्लोपन र समर्थनको अभाव सिर्जना हुन्छ  । प्रजनन क्लिनिकहरू प्रायः प्रमुख शहरहरूमा केन्द्रित भएकाले पनि समस्या छ । सँगसँगै, सांस्कृतिक र धार्मिक कारकहरूले पनि उपचार खोज्न ढिलाइ भएको पाइन्छ  ।  

के आइभिएफ उपचारमा कुनै नवीनतम् प्रविधि अथवा आविष्कारहरू छन् जसले उपचारको परिणामहरू सुधार गर्दैछ ?

आइभिएफ उपचारमा धेरै नवीनतम् र उदीयमान प्रविधिका कारण नेपालसहित विश्वव्यापीरूपमा उपचारको  नतिजामा सुधार आइरहेको छ । यी आविष्कारले उपचारको सफलता दर बढाउने, लागत घटाउने र आइभिएफको शारीरिक र भावनात्मक असरलाई कम गर्ने लक्ष्य राख्छन् । हालसालै भएको एउटा प्रमुख विकास भनेको प्रि–इम्प्लान्टेसन जेनेटिक टेस्टिङ (पिजिटी) हो । यसले भ्रुणको क्रोमोजोममा रहेको कुनै असमान्य अवस्था पहिचान गर्छ र गर्भ तुहिने संभावनलाई न्यून गर्दछ । यसैगरी मेडिकल अवस्थाका आधारमा निश्चित बिरामीका लागि तय गरिने उपचार प्रक्रिया पनि महŒवपूर्ण हुन्छ । क्रायोप्रिजर्भेसनमा भएको पछिल्लो प्रगतिले भ्रुण, अण्डा र शुक्रकीटको फ्रिजिङ र संरक्षणमा सुधार भएको छ । यसले गर्दा पछिल्ला चक्रहरूमा राम्रो सफलता दर हासिल भएको छ  । अण्डा फ्रिजिङ गर्न सक्ने व्यवस्थाले अभिभावकत्वलाई केही वर्ष ढिलाइ गर्न चाहने महिलाका लागि विकल्प थपिएको छ  । यसैगरी, माइक्रोफ्लुइडिक्स जस्ता अन्य आविष्कारले निषेचन दरहरू बढाएर शुक्राणु चयनमा सुधार भएको छ । इन्ट्रासाइटोप्लाज्मिक हिसाबले चयन गरिएका शुक्राणुले सफलता दरहरू अझ सुधार गर्ने देखिएको छ ।

क्यान्सर बिरामीका लागि प्रजनन संरक्षणको महत्त्व झन् बढी हुन्छ  । यस्ता बिरामीको केमोथेरापी वा विकिरण गर्नुअघि अण्डा, शुक्राणु अथवा भ्रुणहरू फ्रिज गर्न सकिन्छ । यसैगरी, मानसिक स्वास्थ्यलाई दिइने प्राथमिकतामा पनि बढोत्तरी भएको छ । यसले उपलब्ध परामर्श सेवाहरू र अन्य कार्यक्रमले बिरामीलाई भावनात्मक चुनौतीलाई सामना गर्न मद्दत हुन्छ  । कम लागत लाग्ने मिनी–आइभिएप जस्ता किफायती विकल्पले बिरामीको आर्थिक र शारीरिक तनाव कम गर्न मद्दत गरिरहेका छन् । आइभिएफका लागि टेलिमेडिसिन, भर्चुअल परामर्श र नियमित निगरानी लाभदायक हुन्छ । यसैगरी प्लेटेलेट–रिच प्लाज्मा (पिआरपी) थेरापी र स्टेम सेल थेरापी जस्ता उदीयमान उपचार विधिले प्रजनन परिणामलाई सुधार हुने अपेक्षा गरिएको छ । यी सबै व्यवस्थाले नेपालमा आइभिएफ थप प्रभावकारी र पहुँचयोग्य हुन सक्ने देखिएको छ ।  

बाँझोपन र आइभिएफको विषयमा रहेका परम्परागत धारणा कसरी परिवर्तन हुँदैछन्, विशेषगरी नेपालका ग्रामीण क्षेत्रमा ?

जागरुकता, शिक्षा र आधुनिक स्वास्थ्य सेवामा पहुँच बढेका कारणल नेपालमा बाँझोपन र आइभिएफप्रतिका धारणा बिस्तारै परिवर्तन हुँदैछन । यद्यपि, सांस्कृतिक अवरोधहरू बाँकी छन, विशेषगरी ग्रामीण क्षेत्रहरूमा । पछिल्ला वर्षमा मिडियाले बाँझोपन व्यक्तिगत असफलता होइन भनेर बुझाउन सहयोग गरेको छ । धेरै जोडीले आफ्नो आइभिएफ सफलताका कथाहरू साझा गरिरहेका छन्, यसले खुला हिसाबले गरिने छलफलाई प्रोत्साहन गरेको छ  ।  

प्रजनन क्लिनिक र स्वास्थ्य संस्थाहरूले पनि प्रजनन स्वास्थ्यका बारेमा ग्रामीण समुदायहरूलाई शिक्षित गर्न विभिन्नखाले कार्यक्रम सञ्चालन गरिरहेका छन्  । युवा पुस्ताहरू, विशेषगरी राम्रो शिक्षा र शहरी सम्पर्क भएका युवाहरूले, परम्परागत निषेधहरू तोड्न र आइभिएफलाई अंगाल्न मद्दत गरिरहेका छन् । समग्रमा यो क्षेत्रमा धेरै सकारात्मक परिवर्तन भएका छन्  । तैपनि, ग्रामीण क्षेत्रहरूमा, बाँझोपनका लागि प्रायः महिलालाई दोष दिइन्छ र यसले गर्दा भेदभाव र घरेलु हिंसा हुन्छ  । यसैगरी आइभिएफलाई कहिलेकाहीँ शंकाको नजरले हेरिन्छ र यसका बारेमा गलत धारणाहरू अझै विद्यमान छन्  ।  

यसैगरी आर्थिक अभावले उपचारको पहुँचलाई पनि सीमित गर्दछ  । महिला सशक्तीकरणमा गरिएका पहलहरूले व्यक्तिहरूलाई कुनै किसिमको डरबिना चिकित्सा हेरचाह खोज्न मद्दत गरेका छन् र स्थानीय नेताहरूले परम्परागत धारणालाई परिवर्तन गर्न योगदान पुर्‍याइरहेका छन् । यसमा सुसूचित युवाहरूको भूमिका पनि महŒवपूर्ण हुन्छ । समग्रतामा, प्रजननसम्बन्धी विद्यमान परम्परागत मान्यतालाई थप तोड्न र प्रजनन उपचारहरू सबैका लागि पहुँचयोग्य बनाउन अझै थप प्रयासहरू आवश्यक छ  

नेपालमा प्रजनन उपचारको भविष्य कस्तो देख्नुहुन्छ र कसरी यसको पहुँचमा सुधार गर्न सकिएला ?

प्रविधिमा भएको प्रगति र बाँझोपनप्रति सामाजिक दृष्टिकोणमा आएको परिवर्तनसँगै नेपालमा प्रजनन उपचारको भविष्य आशाजनक देखिन्छ । इन्ट्रासाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन (आइसिएसआइ), आनुवांशिक स्क्रिनिङ, अण्डा र भ्रुण फ्रिजिङ गर्ने क्रायोप्रिजर्भेसन विधिको अबलम्वनले सफलता दरमा सुधार आइरहेको छ । पोखरा, विराटनगर र चितवन जस्ता शहरमा प्रजनन क्लिनिकहरू विस्तार हुँदै जाँदा, उपचार सेवा अझ पहुँचयोग्य बन्ने क्रममा छ । अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यले विशेषज्ञता बढाउन र अत्याधुनिक प्रविधिहरू भित्र्याउन सहयोग पुग्छ । नेपालका विशिष्ट बाँझोपन कारणहरूका बारेमा गरिने अनुसन्धानले यो सेवालाई थप अनुकूलित र प्रभावकारी पार्न सकिन्छ । यद्यपि, आइभिएफको उच्च लागत अझै पनि अवरोध बनेको छ । त्यसैले यो उपचार सेवामा पहुँच सुधार गर्न, अनुदान, बीमा कभरेजलगायत सरकार–समर्थित कार्यक्रमहरूको आवश्यकता देखिन्छ  ।  

सार्वजनिक प्रजनन क्लिनिक स्थापनामा गरिने सहयोग, उपचार लागत नियमन र प्रजनन स्वास्थ्यबारे मानिसलाई शिक्षित गर्न जागरूकता अभियान सञ्चालन गर्न आवश्यक छ । विशेषगरी ग्रामीण र अर्ध–शहरी क्षेत्रहरूमा पूर्वाधार विकास हुन सकेमा उपचारका लागि यात्राको भार कम हुन जान्छ  । यसैगरी, यो विषयमा निरन्तर शिक्षा र जागरुकता अभियान तथा तालिमको व्यवस्थाले सामाजिक सोच बदल्न सकिन्छ । गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय संस्थाहरूसँग गरिने सहकार्य र साझेदारीले कम आय भएका परिवारलाई आर्थिक सहायता र सहयोग प्रदान गर्न सकिन्छ । यसले समग्ररूपमा प्रजनन हेरचाहलाई अझ समावेशी र प्रभावकारी बनाउन सकिन्छ ।

बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस