देवकाेटाका जातीय संस्कृतिसम्बद्ध खण्डकाव्य
२५ कार्तिक २०८०
•
१८ मिनेट पाठ
देवकाेटाका जातीय संस्कृतिसम्बद्ध खण्डकाव्य
लक्ष्मीप्रसाद देवकोटाले साहित्यका कविताकाव्य, आख्यान, निबन्ध र नाटक गरी चारवटै विधामा कलम चलाए पनि उनको लेखनको महत्वपूर्ण क्षेत्र खण्डकाव्य हो।




देवकोटाले रचना गरेका र उनको जीवनकाल एवम् जीवनकालपश्चात् प्रकाशित भएका खण्डकाव्यकृतिहरूको सङ्ख्या ३६ रहेको छ। जातीय संस्कृतिलाई अभिव्यक्त गर्ने प्रवृत्तिका दृष्टिकोणले देवकोटाका धेरै खण्डकाव्य महत्त्वपूर्ण छन्। 

देवकोटाका खण्डकाव्यहरूमा छेत्री, शेर्पा, तामाङ, भोटे, ब्राह्मण, नेवार, मगर, गुरुङ, राई, दमाई आदि विभिन्न जातीय समुदायका मानवपात्रहरूको उपस्थिति रहेको पाइन्छ।

देवकोटाद्वारा सिर्जित जातीय संस्कृतिको अभिव्यक्ति भएका खण्डकाव्यहरू मुनामदन, राजकुमार प्रभाकर, लूनी, तिप्लिङ्गी, म्हेन्दु, कटक, मैना, वसन्ती एक, वसन्ती दुई र घोडचढी हुन्। यी खण्डकाव्यमा पनि मुनामदन, लूनी, तिप्लिङ्गी, कुञ्जिनी र म्हेन्दु गरी पाँचवटा खण्डकाव्यमा जातीय सांस्कृतिक अभिव्यक्ति उल्लेख्य रूपमा भएको पाइन्छ।

खण्डकाव्यकार देवकोटाको जीवनका प्रमुख सन्दर्भ

लक्ष्मीप्रसाद देवकोटा तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोरामध्ये साहिँला छोरा थिए। 

उनको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबारका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। उनको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो तर तिहारको लक्ष्मीपूजाका दिन जन्मेका हुनाले उनलाई लक्ष्मीप्रसाद भनियो।

देवकोटाले आफ्नो प्रारम्भिक शिक्षा घरमै प्राप्त गरेका थिए। १९७१ सालमा पाँच वर्षको उमेरमा उनको अक्षरारम्भ संस्कार औपचारिक रूपमा सम्पन्न भएको हो, तर यसअघि नै उनले ‘क’ देखि ‘त्र’ सम्मका अक्षर चिनिसकेका थिए (महादेव अवस्थी, लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता, पृ. २०)। 

बाल्यकालमा पारिवारिक पृष्ठभूमिका कारण देवकोटाले अमरकोश, स्तोत्रमालाजस्ता संस्कृतका कृतिहरू पढ्न पाएका थिए। उनी सानैदेखि आफ्ना बुबाका कविता साफी गर्थे।

आफ्ना बुबाका कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो। उनका पिता दरबारमा नेपाली र संस्कृत पढाएर जति आर्जन गर्थे, त्योभन्दा धेरै उनका दाजु लेखनाथ म्याट्रिक पास गरेर ट्युसनबाट कमाउँथे। उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो।

देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे। उनका प्रायः साथीले ती कविता देवकोटाले लेखेको कुरा नै स्विकार्दैनथे। यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए। यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए।

देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौड्यालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए। लक्ष्मीप्रसाद छिप्पिँदै गएपछि वड्र्सवर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका कविता पनि पढ्न थाले। उनले करिब दश वर्षको उमेरतिर आफ्नी जेठी भाउजूबाट कविता लेख्ने प्रेरणा पाई उनले आफ्नो पहिलो नेपाली कविता लेखेका थिए र त्यसको प्रथम पङ्क्ति थियो-‘म त अभागिनी पो भएँ।’(अवस्थी, पूर्ववत् कृति)

देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौं कक्षाबाट एक्कैचोटि दशौं कक्षा पढे। आफू १७ वर्षको हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए।

देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे। यसै बिच १९८५ सालको वैशाखमा ‘गोरखापत्र’मा उनको ‘वसन्त षोडशी’ शीर्षकको कविता छापियो तर त्यसमा उनको मध्यनाम र थर पनि नदिइएको र ‘लक्ष्मी’ भन्ने नाम मात्र दिइएको थियो (अवस्थी, पूर्ववत् कृति)।

त्यसैताका उनले आफ्नो घरमा ट्युसन पनि पढाउन थालेका थिए। उनले प्राइभेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बिए पढे र त्यहींबाटै बिएल पनि पास गरे। यति बेला उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले।

देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत् जनमाझ पनि आए। उनका बाँचुन्जेलका साथी कविता र चुरोट भए। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैनथे।

सोर वर्षको उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो। देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए। दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै उनले ‘मुनामदन’ लेखे। अङ्ग्रेजी साहित्यको स्वच्छन्दतावादी धाराबाटै मुख्य उत्प्रेरणा पाई नेपाली कविताका क्षेत्रमा उदाएका देवकोटाले सर्वप्रथम गाथा (ब्यालेड) कै ढाँचामा रचिएको ‘मुनामदन’ लाई नेपाली खण्डकाव्यपरम्परामा प्रस्तुत गरे। (अवस्थी, पूर्ववत् कृति)

देवकोटाले गरिबीका कारण दैनिक अठार घण्टा पनि ट्युसन पढाए। देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफूचाहिँ अति अव्यावहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय भएको थियो। १९९२ सालमा देवकोटाका बाबु तिलमाधवको मृत्यु भयो। मातृवियोगको एक वर्ष नपुग्दै भएको पितृवियोगको यस पीडाले लक्ष्मीप्रसादको हृदय निकै तनाव थप्यो। १९९६ सालमा अंशबन्डा गरिएपछि आफ्ना जहान एवम् बालबच्चाको लालनपालनको पारिवारिक दायित्व लक्ष्मीप्रसाद देवकोटामा थपिएको थियो तर यस अवधिमा उनको न कुनै निश्चित जागिर थियो न त नियमित आय भइरहने अर्को कुनै पेसा नै अँगालेका थिए। (अवस्थी, पूर्ववत् कृति)

साहित्य सिर्जनाका दृष्टिकोणले देवकोटाको जीवनको ३५ वर्षदेखि ४० वर्षसम्मको समयावधि उल्लेख्य रह्यो। २००० सालमा देवकोटा ‘नेपाली भाषानुवाद परिषद्’ मा नेपाली पुस्तक लेखकका रूपमा जागिर सुरु गरे।

यसैबिच २००१ सालमा देवकोटाले ‘लूनी’ खण्डकाव्यको रचना गरे। यसमा नेपाली लोकलयको प्रयोग गरिनाका साथै नेपालका उत्तरतर्फको हिमाली वा उच्च पहाडी प्रकृति र जनजातीय संस्कृतिको चित्रण गरिएको छ।

२००२ सालमा देवकोटाले नेपाली साहित्यमा उल्लेख्य योगदान दिने महाकाव्यहरू ‘शाकुन्तला’ र ‘सुलोचना’को रचना गरे। २००२ मा देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्यको रचना गरे। यस खण्डकाव्यमा दोस्रो विश्वयुद्धकालीन परिवेशको छाया परेको र कथानकचाहिँ प्रथम विश्वयुद्धकालीन रहेको नेपालका मध्यपहाडी भेगका जनजीवनको प्रतिनिधित्व गर्ने खालको विषयवस्तुको उपयोग गरेका छन् (अवस्थी, पूर्ववत् कृति)। 

२००३ मा रचेको अर्को उल्लेख्य खण्डकाव्य ‘म्हेन्दु’ हो। यसमा हिमाली भेगकी केटी र सहरिया केटाबिचको अन्तर्जातीय आत्मिक प्रेमलाई नै विषयवस्तु बनाइएको छ।

२००४ सालमा त्रिचन्द कलेजको प्राध्यापन पेसा छोडेर भारत प्रस्थान गर्नु देवकोटाको जीवनको उल्लेख्य परिघटना थियो। नेपालको प्रजातान्त्रिक आन्दोलनकै संलग्नता र सक्रियताका लागि देवकोटा भारत प्रवासमा गएका थिए। भारत प्रवासकै बेला देवकोटाले ‘युगवाणी’ पत्रिकाको सम्पादन गरे। यसै बेला देवकोटाले नवरस, कटक, मैना, वसन्ती-एक, सृजामाता, नेपाली मेघदूत, वैराग्य लहरी, आनन्दशतक, झञ्जावर्णन, पहाडी पुकार, नालालगायतका खण्डकाव्यहरूको रचना गरे। 

उनी बनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए। त्यसपछि देवकोटा आफूलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए।

देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो। त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे। उनले बगरेसँग पनि उधारो नै मासु लिन्थे। देवकोटा जुवातास र पासाका पनि पारङ्गत थिए साथै उनी गीत पनि गाउँथे, हार्माेनियम र तबला पनि बजाउँथे। उनको सोखको अर्को साधन साइकल थियो।

देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो। उपचारका क्रममा डा. वर्क हिलले देवकोटा नेपालमा जन्मनु भूगोलको गल्ती भएको टिप्पणी गरेको पाइन्छ।

लहडी भएकाले देवकोटा बिए, बिएल पूरा गरेको दश वर्षम्म जागिरमा छिर्न सकेनन्। अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए। उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो। त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए। बिए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए।

देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए तर त्यहाँ उनी चार महिना मात्र टिके। त्यसपछि उनले कमर्स कलेजमा पढाउन थाले। त्यहाँ पनि उनी तीन महिना मात्र टिके। उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निकै पहिले पुग्थे, कहिले समयभन्दा धेरै ढिलो पुग्थे।

देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरेका थिए। राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए। देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा समेत मनोनित भए। त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो।

२०१४ मा देवकोटा नेपाल एकेडेमीका साहित्य विभागतर्फका सदस्यमा मनोनित भए। आफूलाई राजनीतिबाट परपर राख्दै साहित्यिक संसारमा नै अग्रसर तुल्याइरहेका बखत २०१४ साल साउन ११ गते उनी डा. केआई सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिमण्डलमा त्यस युगको सर्वाधिक विद्वान व्यक्तित्व मानिई शिक्षा तथा स्वायत्त शासन मन्त्रीका रूपमा नियुक्त भए (अवस्थी, पूर्ववत् कृति, पृ. ५६–५७)।

नेपाल एकेडेमीका सदस्य र मन्त्री पदमा बहाल हुनुभन्दा पहिला उनलाई सधैं आर्थिक अभाव भई नै रह्यो। एकेडेमीको सदस्य भएपछि पनि स्वास्थ्योपचारको आवश्यकताका कारण उनलाई आर्थिक सङ्कट भइरह्यो। देवकोटा अफ्रोएसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत संघको तासकन्द गए।

अझ तत्कालीन सोभियत संघको भ्रमण (२०१५) बाट फर्केपछि उनको एकेडेमीको तलब रोक्का हुँदा र स्वास्थ्य झन् प्रतिकूल भई उपचारका निम्ति धनको झन् आवश्यकता पर्‍यो। (अवस्थी, पूर्ववत् कृति, पृ. ५५)

देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए। त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो। पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए।

देवकोटा दूरदर्शी थिए। कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्दा धेरैले उनलाई तरङ्गी भने तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घण्टाअघि रुसको रकेट चन्द्रलोक पुगेको थियो। देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए।

देवकोटाका खण्डकाव्यको विवरण र वर्गीकरण

खण्डकाव्यकार लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यका कविता, कथा, उपन्यास, निबन्ध आदि प्रायः सबै विधामा कलम चलाएका छन्। 

लक्ष्मीप्रसाद देवकोटाले आफ्नो १९६६ सालदेखि २०१६ सालसम्मको ५० वर्षे जीवनकालमा १९७६ सालदेखि २०१६ सालसम्मको ४० वर्षे कवितायात्रा गरेका र यस समयावधिमा दुई हरफे मुक्तकदेखि महाकाव्यसम्म कलम चलाएका छन् अर्थात् कविताको लघुतम रूपदेखि बृहत् रूपसम्मका सबै उपविधामा उनले कृतिहरू रचना गरेको पाइन्छ।

देवकोटाले नेपाली कविताको स्वच्छन्दतावादी धाराको संस्थापन र विकास गरी त्यसलाई उत्कर्षमा पुर्‍याउने काममा उल्लेख्य योगदान दिएका छन्। फुटकर कविताभन्दा लामो र महाकाव्यभन्दा छोटो मझौला आयामको तर पुस्तकाकार स्वरूपको आख्यानात्मक वा प्रबन्धात्मक संरचना भएको कवितात्मक रचना खण्डकाव्य हो। 

देवकोटाले साहित्यका प्रायः सबै विधामा कलम चलाए पनि उनको लेखनको महत्त्वपूर्ण विधा खण्डकाव्य हो। यहाँ उनका खण्डकाव्यहरूको कालक्रमिक विवरण एवम् एवम् तिनीहरूको वर्गीकरण गरिएको छ।

देवकोटाका खण्डकाव्यको विवरण

खण्डकाव्यकार लक्ष्मीप्रसाद देवकोटाका ३६ वटा खण्डकाव्यकृतिहरूको विवरण यसप्रकार छ: मुनामदन, राजकुमार प्रभाकर, तिप्लिङ्गी, लूनी, कुञ्जिनी, दुष्यन्त–शकुन्तलाभेट, म्हेन्दु, सीताहरण, रावणजटायुयुद्ध, तुषारवर्णन, रामायण (शोकगाथा), वसन्ती–दुई, मायाविनी सर्सी, शृङ्गााररस, शान्तरस, बीभत्सरस, भयानकरस, वीररस, हास्यरस, अद्भुतरस, करुणरस, कटक, मैना, वसन्ती–एक, सृजामाता, नेपाली मेघदूत, वैराग्य–लहरी, आनन्दशतक, झञ्झावर्णन, पहाडी पुकार, नाला, आँसु, भ्याकुर नारान, नासमझको गाँठो, घोडचढी र नयाँ सत्यकलिसंवाद।

देवकोटाले रचना गरेका ३६ वटा खण्डकाव्यस्तरका यी कृतिहरू कुनै संरचनागतरूपमा पूर्ण खण्डकाव्य हुन् भने कुनै खण्डकाव्यस्वरूपमा लामा कविताहरू हुन्।

देवकोटाका खण्डकाव्यका अध्येता महादेव अवस्थीले २००४ सालमा रचना गरी २०२५ सालमा प्रकाशित भएको नवरसभित्रका लामा कविताहरू शृङ्गार रस, शान्त रस, बीभत्स रस, भयानकरस, वीररस, हास्यरस, अदुभुतरस, करुणरसलाई, लामो कविता नालालाई, मनोरञ्जन (२०२४) कवितासङ्ग्रहमा सङ्गृहीत भ्याकुर नारान, नासमझको गाँठो र घोडचढीलाई, बनारस प्रवासकालमा २००५ सालमा लेखेका लामा कविता पहाडी पुकार र आँसुलाई खण्डकाव्य ठहर्‍याएर विश्लेषण गरेका छन् (अवस्थी, पूर्ववत् कृति पृ. ८६–८७)।

यहाँ पनि अवस्थीकै निक्र्योलअनुरूप खण्डकाव्यहरूको विवरण प्रस्तुत गरिएको छ। देवकोटाका मरुभूमि, स्वाँचा र तथागत गरी तीन खण्डकाव्यहरूको पाण्डुलिपि सुरक्षित रहे पनि हालसम्म प्रकाशित नभएको कुरा अनुसन्धाता अवस्थीले बताएका छन् (अवस्थी, पूर्ववत् कृति)। देवकोटाले रचना गरेका र उनको जीवनकाल एवम् जीवनकालपश्चात् प्रकाशित भएका खण्डकाव्यकृतिहरूको सङ्ख्या ३६ रहेको छ।

देवकोटाका खण्डकाव्यकृतिहरूको वर्गीकरण

गुणात्मक र परिमाणात्मक दृष्टिकोणले देवकोटाका खण्डकाव्यहरू विभिन्न प्रकारका रहेका हुनाले उनका खण्डकाव्यहरूलाई विविध आधारमा वर्गीकरण गर्न सकिन्छ। उनका खण्डकाव्यहरूलाई मुख्यतय विषयवस्तु र संस्कृतिका आधारमा वर्गीकरण गर्न सकिन्छ। यद्यपि उनका खण्डकाव्यहरूलाई आयाम, शीर्षक विधान, लयविधान, साहित्यिक रस, प्रकृति र विविध आदि आधारमा पनि वर्गीकरण गर्न सकिन्छ।

आयाम वा खण्डकाव्यगत लम्बाइका आधारमा एक सयभन्दा कम श्लोक भएका छोटा खण्डकाव्यहरू पहाडी पुकार, नयाँ सत्यकलिसंवाद, भ्याकुर नारान र घोडचडी हुन् भने एक सयभन्दा बढी श्लोक भएका खण्डकाव्यहरू आनन्दशतक, नाला, राजकुमार प्रभाकर, झञ्झावर्णन, नेपाली मेघदूत, वसन्ती–एक, रावणजटायुयुद्ध, मैना, नासमझको गाँठो, तिप्लिङ्गी, म्हेन्दु, लूनी, सीताहरण, कटक, तुषारवर्णन, वसन्ती–दुई, कुञ्जिनी, दुष्यन्तशकुन्तलाभेट, मायाविनी सर्सी, नवरस, सृजामाता, मुनामदन र वैराग्यलहरी हुन्।

लक्ष्मीप्रसाद देवकोटाले आफूले रचना गरेका खण्डकाव्यहरूका शीर्षकको नाम मुख्यतयः विषयवस्तु, पात्र, प्रकृति आदिका आधारमा राखेका छन्।

कटक, नाला, आँसु र नासमझको गाँठो खण्डकाव्यका शीर्षक विषयवस्तुका आधारमा राखिएका हुन् भने पात्रका नामबाट राखिएका खण्डकाव्यका शीर्षकहरूमा मुनामदन, राजकुमार प्रभाकर, लूनी, तिप्लिङ्गी, कुञ्जिनी, म्हेन्दु, मैना, वसन्ती एक, वसन्ती दुई, सृजामाता, मायाविनी सर्सी, भ्यागुर नारान र घोडचढी रहेका छन्।

पौराणिक पात्र र सन्दर्भका आधारमा राखिएका खण्डकाव्यका शीर्षकहरूमा दुष्यन्तशकुन्तलाभेट, रावणजटायु युद्ध, सीताहरण र नयाँ सत्यकलिसंवाद रहेका छन् भने प्रकृति र अन्य आधारमा राखिएका शीर्षकहरूमा तुषारवर्णन, झञ्झावर्णन, नेपाली मेघदूत, वैराग्यलहरी, आनन्दशतक, पहाडी पुकार आदि रहेका छन्।

विषयवस्तुका आधारमा देवकोटाका खण्डकाव्यहरू मुख्यतः सामाजिक तथा लोकआख्यानात्मक, पौराणिक, ऐतिहासिक र प्राकृतिक एवम् भावनात्मक गरी चार कोटिमा वर्गीकरण गर्नु उपयुक्त हुन्छ।

उनका सामाजिक तथा लोकआख्यानात्मक खण्डकाव्यहरूमा मुनामदन, राजकुमार प्रभाकर, लूनी, कुञ्जिनी, म्हेन्दु, वसन्ती एक र वसन्ती दुई रहेका छन् भने पौराणिक विषयवस्तुमा लेखिएका खण्डकाव्यहरूमा दुष्यन्तशकुन्तलाभेट, रावणजटायुयुद्ध, सीताहरण, सृजामाता र मायाविनी सर्सी रहेका छन्।

ऐतिहासिक विषयवस्तुमा आधारित देवकोटाका खण्डकाव्य कटक हो भने प्रकृति एवम् अन्य भावनात्मक विषयवस्तुमा लेखिएका खण्डकाव्यहरूमा नेपाली मेघदूत, नयाँ सत्यकलिसंवाद, मैना, वैराग्यलहरी, आनन्दशतक, आँसु, तुषारवर्णन, तिप्लिङ्गी, झञ्झावर्णन, नाला, नासमझको गाँठो, घोडचढी र भ्यागुर नारान रहेका छन्।

जातीय सांस्कृतिक आधारमा देवकोटाका खण्डकाव्य

खण्डकाव्यकार देवकोटाले आफ्नो ४० वर्षे कविताकाव्य लेखनको अनवरत यात्रामा विषयवस्तु, लय, आयाम, भावना आदि आधारमा विविध प्रवृत्तिका खण्डकाव्यहरूको रचना गरेका छन्। जातीय संस्कृतिलाई उजागर गर्ने प्रवृत्तिका दृष्टिकोणले उनका धेरै खण्डकाव्यहरू महत्वपूर्ण छन्। उनले आफ्ना खण्डकाव्यहरूमा जातीय प्रतिनिधित्व गर्ने पात्रहरूको चयन उल्लेख्य रूपमा गरेको पाइन्छ।

जातीय सन्दर्भको अभिव्यक्तिका दृष्टिले हेर्दा खण्डकाव्यकार देवकोटाका मानव पात्रहरू प्रायः ठकुरी/छेत्री जातका (राजकुमार प्रभाकर: प्रभाकर, मुनामदन: मदन-मुना, कुञ्जिनी: ठालूसिंह र गोरे, वसन्ती-एक: वनवीर, वसन्ती, असर्फी, वसन्ती-दुई: वनवीर, वसन्ती, राजकुमार, घोडचढी: जयपाल बाबुसाहेब र उनकी कप्तान्नी आदि) र तामाङ/शेर्पा/भोटे जातका (मुनामदन: च्याङ्वा/भोटे/लामा, लूनी: शेर्पा साम्बा सोङ्गो र अन्य लामाहरू, म्हेन्दु: गम्बोजी, म्हेन्दु आदि) देखिन्छन्। (अवस्थी, पूर्ववत् कृति, पृ. ३९२)

१९९२ सालमा पहिलोपटक प्रकाशित र २०१५ सालमा संशोधित मुनामदन सामाजिक तथा नेवारी लोकआख्यानमा आधारित खण्डकाव्य हो। मुनामदन खण्डकाव्यको कथावस्तु एवम् चरित्रचित्रणका निम्ति देवकोटाले केही प्रेरणा र प्रभाव प्रसिद्ध नेवारी लोकगाथा ‘जि वया ला लछि मदुनि’ (म आएको महिना दिन पनि भएको छैन) बाट लिएको देखिन्छ।

मुनामदनमा नेपाली जातीय सांस्कृतिक परिवेशको चित्रण पाइन्छ। यस खण्डकाव्यमा छेत्रीय जातको मदनले आफ्नो परम्परागत संस्कारगत सोच कै कारण आमा र श्रीमतीलाई सुनका गहना लगाइदिनका लागि पैसाको जोहो गर्न भोट जानु, मदन जङ्गलमा राति बिरामी हुँदा बौद्ध परम्पराको भोटे जातको च्याङ्वाले उपचार गरेर बचाउनु, घरमा मदनकी आमा र श्रीमतीलाई कागले अशुभ खबर सुनाउनु, मदन घर जाँदा मदनकी आमा र श्रीमती दुबैको मृत्यु हुनु र अन्तिममा मदनको समेत मृत्यु हुनुजस्ता घटनाक्रमलाई प्रस्तुत गर्दा विविध जातीय सांस्कृतिक परिवेशलाई चित्रण गरिएको पाइन्छ।

राजकुमार प्रभाकर खण्डकाव्यमा मथुरावती नगरीका छेत्रीय कुलका राजारानी सुदर्शन र किशोरीको कथा रहेको छ। अत्यधिक कल्पनाशीलता तथा सौन्दर्य र प्रेमप्रतिको आकर्षण दर्शाउने प्रस्तुत खण्डकाव्यमा हाम्रो समाजमा रहेका जादु, टुनामुनाजस्ता अलौकिक शक्तिप्रतिको विश्वास, छेत्रीय राजा तथा राजकुमारहरूको भोगविलासको संस्कारलाई देखाइएको छ। दन्त्यकथात्मक पृष्ठभूमिमा लेखिएको यस खण्डकाव्यमा नेपाली जातीय सांस्कृतिक प्रस्तुति त्यति भएको पाइँदैन।

तामाङ र शेर्पा संस्कृतिको प्रस्तुति गरिएको देवकोटाको २००१ सालमा रचना गरिएको लूनी जातीय संस्कृतिलाई प्रस्तुत गर्ने महत्त्वपूर्ण खण्डकाव्य हो। यस खण्डकाव्यमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा रहेको शेर्पा समुदायको प्राचीन रहनसहनलाई चित्रित गरिएको छ। यस खण्डकाव्यमा देवकोटाले मुख्य पात्र लूनीलाई केन्द्रित गर्दै हेलम्बुको प्राकृतिक छटा, त्यहाँको तत्कालीन शेर्पा परिवार र तिब्बतको ल्हासाको शाही परिवारको ठाँटबाँट, सामाजिक परिवेश तथा रीतिरिवाजको सजीव चित्रण गरेका छन्।

नेपालको राजधानी काठमाडौं नजिकैका मध्यपहाडी इलाकामा बसोबास गर्ने तामाङ जनजातिका समाजमा केही मात्रामा देखा परेको शैक्षिक उन्मुखत र समाजसुधारको चेतना तिप्लिङ्गी खण्डकाव्यमार्फत व्यक्त भएको छ (अवस्थी, पूर्ववत् कृति, पृ. १८९)। नेपाली लोकलय, पहाडी प्रकृति र ग्रामीण जीवनका मोहक, सुन्दर र स्वच्छ छविबाटै विशेष रूपमा प्रभावित भई देवकोटाले तिप्लिङ्गी खण्डकाव्यको रचना गरेको बुझिन्छ।

झिल्टुङतिर लोकाख्यानका रूपमा प्रसिद्ध रहेका कथावस्तुलाई रचनाको प्रेरणा मानेर सिर्जित कुञ्जिनी खण्डकाव्यमा झिल्टिुङ, कोल्पुकिनारा, गजुरीजस्ता ठाउँहरूको सामाजिक प्रस्तुतिका साथै गोरे र कुञ्जिनीको पवित्र प्रेमलाई देखाइएको छ। 

यस खण्डकाव्यमा राहुत थरको गोरे, सिंह थरकी कुञ्जिनी, कुञ्जिनीको बुबा ठालु सिंह, छेत्री जातको बहादुर खड्का, मानवीर गुरुङ, झिल्के दमाई आदि विविध जातीय परिवेशका पात्रहरू आएका छन्। यिनीहरूको व्यवहार, यिनीहरूको बसोबास भूगोल, खानपान, भाषा तथा भेषभूषाको प्रस्तुतिमा जातीय परिचय झल्किन्छ।

म्हेन्दु खण्डकाव्य नेपालको गोसाइस्थानतिरका तामाङ शेर्पा समाजको संस्कृति, बोलीचाली तथा रीतिरिवाजका पृष्ठभूमिमा रचना गरिएको खण्डकाव्य हो। प्रथमपटक २०१५ सालमा नेपाली भाषा प्रकाशिनी समितिबाट प्रकाशित भएको लक्ष्मीप्रसाद देवकोटासिर्जित प्रस्तुत खण्डकाव्यको विषयवस्तुको स्रोत गोसाइस्थानतिरको तामाङ शेर्पा समाज नै हो।

तामाङ लयको प्रयोग गरी तामाङ सेर्पा संस्कृतिको प्रयाप्त प्रभाव ग्रहण एवम् यस प्रभावको प्रस्तुति गरेर रचना गरिएको यस खण्डकाव्यमा स्थानीय परिवेश तथा जातीय पहिचानका प्रशस्त सङ्केतहरू प्रस्तुत गरिएका छन्।

२००४ सालमा बनारस प्रवासका समयमा रचना गरिएको कटक खण्डकाव्य गोर्खाली वीरहरूको वीरताको बखान गरिएको खण्डकाव्य हो। यसले नेपालको अङ्ग्रेज र नेपाली सेनाका बिचमा १९७१ सालमा भएको ऐतिहासिक युद्धलाई विषयवस्तु र भावभूमि बनाएको छ।

जुनसुकै जात, धर्म तथा संस्कारको नेपाली भए पनि उनीहरूको साझा संस्कार नेपाली हो। समग्र नेपालीको संस्कार तथा ऐतिहासिक भावभूमिको सार नेपाल हो। हामी नेपालीको साझा पहिचान नेपाली नै हो। कटक खण्डकाव्यमा नेपाल तथा नेपालीको यही साझा राष्ट्रिय तथा वीरतापूण परिचयलाई देखाइएको छ।

२००४ सालतिर लेखिएको र २०३९ सालमा प्रकाशित भएको मैना खण्डकाव्य नेपाली समाजका विश्वास अन्धविश्वास, रीतिरिवाजलाई प्रस्तुत गर्ने कृति हो। यस खण्डकाव्यमा बोक्सी, तन्त्रमन्त्र, छौडो, प्रेतात्मा आदिप्रति गरिने विश्वास, बिरालोप्रतिको धारणा, कुकुर रुँदाको मनोभाव, सर्प, बादललाई हेर्ने सामाजिक दृष्टिकोण आदि सन्दर्भको प्रस्तुति छ। यसप्रकार नेपाली समाजका सांस्कृतिक चेतना, विश्वास–अन्धविश्वासहरूलाई देखाउने महत्त्वपूर्ण खण्डकाव्यका रूपमा मैनालाई लिन सकिन्छ।

निष्कर्षमा देवकोटाले सामाजिक तथा लोकआख्यानात्मक, पौराणिक, ऐतिहासिक र प्राकृतिक सन्दर्भका खण्डकाव्यहरूको रचना गरेका छन्। माथि उल्लेख गरिएका जातीय सांस्कृतिक विषय र चेतनाको प्रस्तुति भएका देवकोटाका मुख्य खण्डकाव्यहरूको विवरण र विश्लेषणका आधारमा देवकोटाद्वारा सिर्जित मुनामदन, लूनी, तिप्लिङ्गी, कुञ्जिनी र म्हेन्दु गरी पाँचवटा खण्डकाव्यमा जातीय सांस्कृतिक सङ्केतनको अभिव्यक्ति उल्लेख्य रूपमा भएको पाइन्छ।

देवकोटाका अरू खण्डकाव्यहरूमा पनि छिटफुट रूपमा विभिन्न जातिका पात्रहरूको उपस्थिति एवम् केही सांस्कृतिक झलकहरूको सङ्केत नपाइने होइन। यद्यपि तिनीहरूको आख्यानसन्दर्भको उद्देश्य जातीय संस्कृतिइतर रहेकाले यहाँ माथि उल्लेख गरिएका पाँचवटा खण्डकाव्यबाहेक अरू खण्डकाव्यको अध्ययन तथा विश्लेषण गरिएको छैन।
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
४४ मिनेट अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३६ सेकेन्ड अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
यो पनि पढौँ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस