आज माघ ३ गते। घरको कामधन्दा छाडेर दिनभर डेउडा खेल्दै वनभोज खाँदै रमाउने दिन। अर्थात् सुदूरका चेलीबेटीले मनाउने उत्तरायणी पर्व। सूर्य उत्तरायण हुने भएकाले हरेक वर्ष माघ ३ का दिन सुदूरका महिला ‘स्वतन्त्रताको पर्व’ का रूपमा उत्तरायणी मनाउने गर्छन्। आज सुदूरपश्चिमका चेली उत्तरायणी भन्दै वन डेउडा खेल्दै ‘कुनकेउलो’ (वनभोज) खान व्यस्त छन्।
माघे संक्रान्ति मनाउन माइती आएका दिदीबहिनी र अविवाहिता चेलीबेटी मिलेर उत्तरायणीका दिन केही काम नगरी वनभोज जाने र डेउडा खेल्ने गर्छन्। उत्तरायणका दिन कुनै पनि काम गर्न नहुने भन्दै यहाँका महिला घरधन्दाको काम अघिल्लो दिन सक्ने गर्छन्।
‘उत्तरायणीका दिन गोठको गोबरसमेत सोहरिँदैन अर्थात् केही काम नगरेर नाचगान गर्दै रमाइलो गरिन्छ’, डोटीको बडिकेदार घर भई हाल सुखडमा बसोबास गर्दै आएकी दुर्गा बिष्टले भनिन्, ‘उत्तरायणीका दिन रमाइलो गर्न घरधन्दा अघिल्लो दिनै सक्छन्।’
उत्तरायणीका दिन दिनभर देउडा खेल्दै वनभोजमा रमाउने गरेको उनले बताइन्। ‘यो दिनलाई सुदूरका महिलाले ‘महिला स्वतन्त्रताको दिवस’ का रूपमा मनाउने गरेको उनले बताइन्। उत्तरायणका दिन महिलाले घरायसी काम काज नगर्ने र दिनभर नजिकैको खोला, वनमा गएर वनभोज खाई रमाइलो गर्ने गरिएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा सुदूरपश्चिम संस्कृतिमा विद्यावारिधि गरेका डा. टीएन जोशी बताउँछन्।
डोटीको बडिकेदारका चेलीबेटी उत्तरायणीका अवसरमा कुनकेउलो (वनभोज) पकाउँदै।सुदूर संस्कृतिमा उत्तरायणका दिन महिलाले कुनै काम नगर्ने भएकाले पनि त्यस दिनलाई महिला स्वतन्त्रता दिवसका रूपमा समेत हेरिएको बताउँदै उनले भने, ‘महिला स्वतन्त्रताको प्रयास सुदूर संस्कृतिमा युगौंदेखि थालिएको यसबाट पनि प्रस्ट हुन्छ।’ यो दिन महिलाले आफूखुसी रमाइलो गर्दै देउडा खेल्ने गरिएको उनले बताए।
आजका दिन सूर्य दक्षिण दिशाबाट उत्तर दिशामा जाने भएकाले उत्तरायण भन्दै डोटेली संस्कृतिमा स्थानीय पर्वका रूपमा मनाउने गरिएको सुदूरपश्चिमका चर्चित डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन्। उत्तरायणी पर्वलाई लोक परम्पराको पर्वका रूपमा लिइएको बताउँदै उनले भने, ‘यो उत्तरायणी परम्परागत रूपमा चलिआएको पर्व हो।
यसमा चेलीबेटीहरू स्वतन्त्र भई वन जंगलमा गएर वनभोज खाने र दिनभर डेउडा खेल्ने गर्छन्।’ यस दिन महिलाहरू रनपुतला खेल्ने गर्छन्। महिलाका मार्मिक पीरव्यथा झल्काउने र माइतीको प्रगतिका लागि कामना गर्ने नाच हो, रनपुतला। छिट्को फरिया, रातो चौबन्दी चोलो र सेतो पटुकाको फेरो हातमा समाएर सामूहिक रूपमा पङ्क्तिबद्ध भएर विवाहित महिलाले वीरहरूका गाथा गाउँदै आजका दिनमा पनि रनपुतला खेल खेल्ने गर्दछन्।
पुतली झैँ सिँगारिएका महिलाले दिउँसो बेहुलाबेहुलीको एउटा नक्कली जोडी बनाएर नजिकैको पँधेरोमा लैजाने चलन छ। स्थानीय लोकलयमा गीत गाउँदै नाच्दै पँधेराबाट बेहुलाबेहुलीलाई उत्तरायणी मनाउने ठाउँमा ल्याई वन डेउडा तथा भारी डेउडा खेल खेल्दै रमाउने गर्दछन्। यस दिन चेलीबेटी दालभात र डुब्का (मासको दालबाट बनेको तिहुन) खाने गर्छन्।
चितवनको पर्यटकीय नगरी सौराहामा जारी १७औं चितवन हात्ती तथा पर्यटन महोत्सवमा शुक्रबार यहाँका हात्तीलाई वनभोज खुवाइएको छ। चित्रसारी मैदानमा सरकारी र निजी ६५ वटा हात्तीलाई वनभोज खुवाइएको हो। वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो।
हात्तीलाई उखु, गाजर, बन्दा, सुन्तला, ड्रागन, स्याउ, फर्सीलगायत विभिन्न खानेकुरा खुवाइएको क्षेत्रीय होटल संघ सौराहाका उपाध्यक्ष तथा महोत्सव संयोजक ओम पाण्डले जानकारी दिए। उनले हात्तीलाई झन्डै पन्ध्र प्रकारका खानेकुरा खुवाइएको बताए।
एक दिन भए पनि सबै प्रकारका खानेकुरा एकै समयमा सबै हात्तीलाई खुवाउँदा मनोरञ्जन हुनुका साथै हात्तीले पनि सबै खानाको स्वाद लिन पाउने भएकाले वनभोज कार्यक्रम राखिएको युनाइटेड हात्ती सञ्चालक सहकारी संस्थाका व्यवस्थापक विनोद तिमिल्सिनाले बताए।
‘जसरी हामी वनभोज खान जाँदा रमाउँछौं, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्‘, उनले भने, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो।’ उनले हात्तीलाई काम मात्र लगाउने होइन पालनपोषण पनि गर्ने गरिन्छ भन्ने सन्देश वनभोजले दिने बताए।
धेरै हात्तीले एकै ठाउँमा खाना खाँदा महोत्सवको रौनकता वढेको र पर्यटकले रमाउँदै दृश्यावलोकन गरेको उनले बताए। मानिस र जनावरबीचको सम्बन्ध राम्रो बनाउन वनभोज महत्वपूर्ण रहेको तिमिल्सिनाको भनाइ छ।
पर्यटकको आकर्षणका लागि सन् २०१४ देखि हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ। वनभोजमा हात्तीलाई खुवाउन दर्शकको भीड लागेको थियो। महोत्सव हेर्न आएका पर्यटकले वनभोज निकै आकर्षक मानेर हेरेका थिए। सौराहामा यस वर्ष हात्ती दौड र हात्तीका छावाबीच फुटबल आयोजना गरिएको छैन। हात्ती सुन्दरी र डुंगा दौड प्रतियोगिता सम्पन्न भइसकेको छ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सव आगामी शनिबारसम्म सञ्चालन हुनेछ। चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र यससँगै बग्ने नदीमा रहेका वन्यजन्तु, चराचुरुंगी, जलचरलगायतको अवलोकन गर्न बर्सेनि सौराहामा स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन्। –रासस
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...