कतै सुनेको एउटा कथा यस्तो छः तराईबाट पाँचवटा भ्यागुता हिमाल चढ्ने भनेर निस्के रे। बाटोमा आउँदै गर्दा उनीहरूको यात्राबारे धेरैले चासो राखेछन्। कान फुक्नेहरूले त्यति टाढा, त्यति अग्लो भन्दै नसकिने सुनाएछन्। यात्रा अगाडि बढ्दै जाँदा हिमालमा चाहिँ एउटा भ्यागुतो मात्र पुगेछ। सबैलाई अचम्म लागेछ, अरूले बिचमै यात्रा छाडे पनि यो भ्यागुतो चाहिँ कसरी पुग्यो? व्यापक परीक्षण भएछ भ्यागुताको। अन्त्यमा डाक्टरले निष्कर्ष निकालेछन्– ‘यो भ्यागुताले दुवै कान सुन्दैन।’
कथाको सार अरूको कुरा नसुनी आफ्नो गन्तव्यमा निरन्तर हिँडे पुगिन्छ भन्ने हो। हो ‘हिँडे पुगिन्छ’ भन्ने पुस्तकका लेखक एवं पर्यटन अभियन्ता राजन सिम्खडाले हालै कथाको भ्यागुताको जस्तै तराईदेखि हिमालसम्मको यात्रा तय गरेका छन्।
लामो समयदेखि नेपालको पर्यटन प्रवर्धनमा लागेको अर्थवाउन्ड एक्सपिडिसनका अध्यक्षसमेत रहेका सिम्खडाले कपिलवस्तुको खुनुवा नाकाबाट रसुवाको रसुवागढी नाकासम्म जोडेर नयाँ पदमार्ग निर्माण गरेको जानकारी दिए।
सिम्खडाले नेपालको तराईको भूभागबाट पहाडी भूभाग हुँदै हिमाली भूभागलाई देश विदेशसम्म चिनाउने उद्देश्यले नयाँ पदमार्गको अध्ययन गरिएको जानकारी दिए। ‘हामीले पदमार्ग भन्नेबित्तिकै हिमाली क्षेत्र मात्र भन्ने बुझ्छौं,’ उनी भन्छन्, ‘तराईबाट हिमालसम्मको धर्म, संस्कृति, रीतिरिवाज, पर्यटकीय गन्तव्यको वस्तुस्थिति बुझ्नका लागि नयाँ पदमार्गको अध्ययन गरेका हौं।’
पर्यटन क्षेत्रमा नयाँ नयाँ प्रयोग गर्दै आएका सिम्खडाले योगमार्फत पर्यटक आकर्षित गर्ने प्रयाससमेत गरेका थिए। ‘हिमाल, पहाड, तराई, कोही छैन पराइ’ भन्ने भावना बोकेका सिम्खडाले तराईदेखि हिमालसम्मको पदयात्राले मनहरू पनि जोड्ने विश्वास व्यक्त गरे।
‘नेपालमा हिमालको उचाइ मात्र होइन, तराईको समथर सौन्दर्य र पहाडका रमाइला घुम्ती पनि छन्,’ राजन सिम्खडाले भने, ‘नेपाल घुम्न आउने पर्यटकलाई सिङ्गो नेपाल घुमाउने उद्देश्यले नयाँ बाटोको खोजीमा निस्केको हुँ।’
उनले कपिलवस्तुको खुनुवानाकाबाट उक्त पदमार्गमा तौलिहवा, कपिलवस्तु, कुदन, जगदीशपुर ताल, बुटवल, मसायम हटिया, तानसेन, आर्यभन्ज्याङ, केलादीघाट, घिरिङ, रिसिङ, दमौली बन्दीपुर, गोरखा, बोर्लाङ, टारीबेँसी, कटुन्जे, मेगाङ, साल्मे, गोंगा, सिङ्लापास, पाङ्सिङ पास, सोम्दाङ, चिलिमे, रसुवागढीस्थित केरुङ रहेको छ।
टोलीले भगवान् बुद्ध हिँडेको बाटो, रामापिथेकस पार्क, पाल्पा तानसेन, आर्यभन्ज्याङ, केलादीघाट, घिरिङ, सिसिङ हुँदै तनहुँ बन्दीपुर, त्यसपछि गोरखा, धादिङ, नुवाकोट र रसुवा हुँदै चीनको केरुङ नाकासम्म जोड्ने कुल ४४० किलोमिटर लामो ट्रेकिङ रुट १७ दिन लगाएर पूरा गरेको हो।
‘यो मार्गमा शान्तिका लागि बुद्ध भगवान्ले हिँडेको बाटोदेखि नेपाल एकीकरणका लागि पृथ्वीनारायण शाह निस्केको बाटोसमेत पर्छ,’ सिम्खडा भन्छन्, ‘धार्मिक, ऐतिहासिक र प्राकृतिक संयोजनले यो मार्गको यात्रा झनै सुन्दर हुने छ।’ अहिले बाटोमा ‘टी’ सपहरूको अभाव रहे पनि बिस्तारै त्यो पूरा हुने उनको विश्वास छ।
समुद्र सतहबाट ६० मिटरमा रहेको खुनुवानाकाबाट सुरु हुने उक्त पदमार्ग चार हजार ८० मिटर उचाइको सिङ्लापास गरेर रसुवागढी नाका पुग्न सकिन्छ।
नयाँ गन्तव्यको खोजीमा नेपाली टोलीसँगै अमेरिकी हाइकर माइक ओबेस्टरसमेत थिए। हाइकर माइकले नेपालमा धेरै घुम्नलायक ठाउँ भएको र उक्त ठाउँले आफूलाई मोहित बनाएको बताए। ‘म धेरैपटक नेपाल आएँ तर हिमाल मात्र मेरो रुचि रहेन,’ उनले भने, ‘भौगोलिक विविधताका कारण नेपालको जुनसुकै भागको पदयात्रा पनि उत्तिकै रोमाञ्चक पाएँ।’ तराईदेखि हिमाल जोड्ने यो पदमार्ग ४४० किलोमिटर भएको र आफूलाई पदमार्ग पार गर्न १७ दिन लागेको सिम्खडाले बताए। नयाँ पदमार्गलाई २० देखि २५ दिनको बनाएर अगाडि बढाउन सकिए नेपालको ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्ने सिम्खडाको भनाइ छ।
तराई–हिमाल जोड्ने अन्य पदमार्ग पनि सरकार र स्थानीय निकायले अन्य ठाउँमा समेत बनाउन सक्ने उनको विश्वास छ। पूर्वी नेपाल होस् या मध्य नेपाल, जताबाट पनि यो काम गर्न सकिने उनले सुनाए।
‘यसरी अगाडि बढे समग्र नेपालले पर्यटनको लाभ लिन सक्छ भन्ने विश्वास हो,’ उनी भन्छन्, ‘सबैले आफ्नो तर्फबाट सहयोग पुर्याउने हो भने यो पर्यटनका लागि नयाँ आयाम बन्न सक्छ।’
धादिङमा जन्मेर काठमाडौं आइ विगत तीन दशकभन्दा बढी समय नेपालको पर्यटन क्षेत्रमा क्रियाशील सिम्खडाले पर्यटन क्षेत्रमा नौला काम गर्न आफू सधैं लाग्ने बताए। ‘पर्यटनले हामीलाई केही राम्रो गर्यो,’ उनी भन्छन्, ‘पर्यटनको आम्दानीबाट सिंगो मुलुकले लाभ लेओस् भन्न चाहन्छु।’
नेपाल बोर्डर टु बोर्डर थु्र हाइक’ नामकरण गरिएको यस नयाँ ट्रेकिङ रुटमा नेपालको होचो भाग तराईदेखि पहाडका विभिन्न ऐतिहासिक भूभाग हुँदै उच्च हिमाली क्षेत्र रसुवाको चीन जोड्ने केरुङ नाकासम्मको भूभाग समेटिएको छ।
आफ्नो ट्रेकिङ कम्पनी अर्थबाउन्ड एक्सपिडिसन प्रालि स्थापना भएको २५औं वर्षका अवसरमा पर्यटन व्यवसायी सिम्खडाको समूहले यो ट्रेकिङ रुट खोजी गरेको हो। यो टोलीमा ६ देखि ८ पटकसम्म नेपाल भ्रमण गरेका अमेरिकी हाइकर माइक ओवेस्टर, स्वदेशी बाइकर्स चेतन राई र काजी शेर्पा सहभागी थिए।
यो नयाँ ट्रेकिङ रुट ‘अफसिजन’ मा १२ महिना नै सञ्चालन गर्न सकिने सिम्खडाले जानकारी दिए। आफू अनुकूल विभिन्न खण्डमा पदयात्रा गर्न सकिने यो ट्रेकिङ रुटलाई व्यावसायिक रूपमा सञ्चालन गर्दा करिब २० दिनमा पूरा हुने उनी बताउँछन्।
दुई वर्षको तयारीपछि यो ट्रेकिङ रुट खोजी गरिएको हो। ट्रेकिङ दौरान १७ दिनमा होमस्टे र साना होटल मात्र उपयोग गरिएको उनले बताए। भारत र चीनबाट नेपाल भएर आवतजावत गर्ने विदेशी पर्यटकलाई नेपालको संस्कृति र पर्यटनबारे जानकारी गराउन यो ट्रेकिङ रुट एकदमै उपयुक्त हुने सिम्खडा बताउँछन्।
उनका अनुसार २० दिनका लागि तीन हजार पाँच सय अमेरिकी डलरमा यो ट्रेकिङ रुटको व्यावसायिक सञ्चालन सम्भव रहेकोसमेत सिम्खडाले सुनाए। ‘यसलाई पार्ट पार्ट गरेर पनि पूरा गर्न सकिन्छ,’ उनले भने, ‘यसलाई सुधार गरेर अगाडि बढ्ने धेरै ठाउँ रहेका छन्।’
नेपाल विद्युत प्राधिकरण विद्युतकर्मी साहित्यिक समाजले वसन्त काव्य गोष्ठी, पुस्तक लोकार्पण तथा अमरज्योति सम्मान-२०८१ समर्पणको कार्यक्रम आयोजना गरेको छ।
विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल शब्दसेनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
संस्कृतिविद्, पत्रकार एवं गजलकार धीरेन्द्र प्रेमर्षिको प्रमुख आतिथ्यमा सञ्चालन भएको सो कार्यक्रममा विद्युतकर्मी साहित्य समाजका पूर्व उपाध्यक्ष राजु शर्माको यात्रा संस्मरणात्म गन्तव्यतिरको लोकार्पण गरिएको थियो।
उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणको सेवामा आबद्ध रहँदै साहित्य, कला र गीत-सङ्गीत क्षेत्रको स्तरोन्नतिमा समेत योगदान पुर्याएबापत तीन विधाका चार स्रष्टालाई सम्मान गरिएको थियाे।
उक्त कार्यक्रममा अमरज्योति साहित्य सम्मान-२०८१ बाट कवि शान्ता सुवेदी र कथाकार नियात्राकार राजु शर्मालाई सम्मान गरिएको थियो। त्यस्तै अमरज्योति कला सम्मान-२०८१ बाट उपेन्द्र शिवाकोटी र अमरज्योति सङ्गगीत सम्मान-२०८१ बाट गायक रुद्रबहादुर पालुङ्वालाई सम्मान गरिएको थियो। प्रमुख अतिथि संस्कृतिविद् धीरेन्द्र प्रेमर्षिले माला, दोसल्ला, सम्मानपत्र र नगद पाँच हजार पाँच रूपैयाँसहित सर्जकहरूलाई सम्मान गरिएकाे थियाे।
उक्त कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकद्वय तुलाराम गिरी र मदन तिम्सिना, निर्देशक बेलप्रसाद शर्मा लगायत नेविप्राका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा विद्युतकर्मी साहित्यिक समाजका पूर्वअध्यक्षहरू- कुलप्रसाद पराजुली, विष्णुबहादुर सिंह, वीरेन्द्र पाठक, पुण्य घिमिरे र रामेश्वर राउत मातृदास तथा भाषा आयोगका माननीय सदस्य मातृका पोखरेल समेतको उपस्थिति रहेको थियो।
उक्त समारोहमा आयोजित वसन्त काव्य गोष्ठीमा नेपाल विद्युत प्राधिकरण बाहिरका आमन्त्रित अतिथि कविहरू- प्रज्ज्वल अधिकारी, दुर्गाकिरण तिवारी, नारायण निरासी, अन्जना पौडेल, सोझो गाउँले, ज्ञानराज सुवेदी, पद्म दाहाल लगायतले कविता वाचेका थिए।
त्यस्तै नेपाल विद्युत प्राधिकरणको सेवामा कार्यरत लक्ष्मण मण्डल, रीता खत्री र अनिल पौडेल तथा विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्षहरू कुलप्रसाद पराजुली, पुण्य घिमिरे र रामेश्वर राउत मातृदासको पनि काव्यिक प्रस्तुति रहेको थियो। सो अवसरमा सम्मानित स्रष्ट्राहरूको तर्फबाट राजु शर्मा र रुद्रबहादुर पालुङ्वाले सङक्षिप्त मन्तव्यसहित रचना वाचन गरेका थिए।
त्यस्तै कार्यक्रममा सङ्क्षिप्त मन्तव्य राख्दै प्रमुख अतिथि वरिष्ठ साहित्यकार धीरेन्द्र प्रेमर्षिले राजनीति लडखडाउँदा साहित्यले सम्हाल्ने गरेको दृष्टान्त प्रस्तुत गरेका थिए। उनले साहित्यिक सुकर्महरूले विविध भाषाभाषीलाई भावात्मक रूपले जोड्न सक्ने धारणा समेत राखेका थिए।
त्यस्तै नेविप्राका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतकर्मी साहित्यिक समाजले निरन्तर नौलो साहित्यिक कार्यक्रम आयोजना गरेर कर्मचारी वृत्तमा उदाहरणीय काम गरेकोमा खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमहरूमा आफूले सक्दो साथ र समर्थन दिंदै आएको बताए।
अर्का वक्ता विद्युतकर्मी साहित्यिक समाजका पूर्व अध्यक्ष केशवप्रसाद रुपाखेतीले राजु शर्माकृत विमोचित काव्यकृति गन्तव्यतिरकाे सङ्क्षिप्त समीक्षा गरेका थिए।
उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल शब्दसेनाले भौतिक र भावात्मक बिजुलीको एकसाथ प्रवर्द्धन: हाम्रो अभियान भन्ने मूल नारालाई साकार रूप दिन विद्युतकर्मी साहित्यिक समाज निरन्तर प्रतिबद्ध रहेको विचार व्यक्त गर्दै कार्यक्रममा उपस्थित अतिथिहरूलाई न्यानो स्वागत गरेका थिए।
यसअघि तीन तियाँगजल मुशायरा, पुस्तकसँग पाठक, बहुभाषिक काव्यगोष्ठी, लेखन प्रशिक्षण कार्यशाला,पर्यटन साहित्य, त्वदियं वस्तु गोविन्द तुभ्ययमेव समर्पणम् लगायत विविध स्वाद र शैलीका साहित्यिक कार्यक्रमहरू सञ्चालन गरिसकेकाले यसपटक कर्मचारीहरूमा सिर्जनशील उत्प्रेरणा अभिवृद्धि गर्न सम्मान र रचना वाचनको कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव विष्णु आचार्य अतृप्तले जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि धीरेन्द्र प्रेमर्षि र नेविप्राका स्रष्टा लक्ष्मण मण्डलले मैथिली भाषाका साहित्यिक सामग्री पस्किएर कार्यक्रममा बहुभाषिकता र समावेशिताको स्वाद थपेका थिए। झन्डै ३ घन्टा चलेको कार्यक्रमको सहजीकरण विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य अतृप्तले गरेका थिए।
कार्यक्रमको अन्त्यमा भाषाआयोगका माननीय सदस्य मातृका पोखरेलले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए। सो अवसरमा रचना वाचनका लागि आमन्त्रण गरिएका नेपाल विद्युत प्राधिकरण बाहिरका अतिथि स्रष्टाहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...