१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

भिसा सकिएपछि

कथा

माया ठेकादारसँग भागेको हल्ला आगोसरी छिमेक हुँदै नातागोतासम्म हुरहुरी फैलियो। मायाको भाउजूले पनि मायाको चाल त्यति निको नभएको भन्दै अझ घिउ थपिदिई। कसैले त बैँसले मातिएकी पातकी पनि भन्न भ्याए। मायाको दाइले पनि मायाको लुगाहरू काटेर बहुमतको कदर गरे। छोरीको जात बिहे गरेर एक दिन त पराई घर जाने जात नै हो भनेर कसैले पनि भनेन। भविष्य होस्, राम्रो होस् भनेर कसैले पनि शुभकामना व्यक्त गरेन। सातौँ दिन भइसक्यो कुरा काट्ने र उडाउनेहरूको कमी भएको छैन। मायाको चिया दोकान पनि सात दिन भइसक्यो बन्द नै छ। त्यसैले माया ठेकेदारसँग भागैकी नै थिई।

आठौँ दिनमा मायाको चिया पसल खुल्यो। माया फर्किएको हल्ला फेरि छिमेक हुँदै नातागोतासम्म मैदान बन्यो। ठालु इच्जतदारहरू, प्रतिष्ठाका पारखीहरूको पञ्च भेला भई मायालाई कडा सोधबुझ गरे, साँचो सत्य बोल्न लगाए। ठेकेदारका अग्रीम दुई स्वास्नी थिए। माया भित्रिनु त परै जाओस् तिनीहरूले आधा घण्टासम्म नाङ्गो भइन्जेल मायालाई पिटे। माया बल्लतल्ल बाँचेर आई। मायाले यसरी साँचो र सत्य बोले। यसपछि पञ्च भेला दोस्रो र निर्णयक छलफलमा उत्रिए। जसअनुसार मायाले डाँडाखोला काटेर जानुपर्ने भयो। यदि माया यहीँ बसी भने टोलछिमेकको नाक काटिन्छ। यहाँका छोरीहरू बिग्रन सक्छन्। हुर्केका छोरीहरूको बिहे दान नहुन सक्छ। त्यसैले भोलि बिहानै मायाले डाँडा काट्दैछे।

हरेक दिन बिहानी आउँछ। तर, कसैबाट दया नपाएकी मायाको यस बिहानी सधैंको जस्तो बिहानी बनेर आएको छैन। यस बिहानीले मायालाई डाँडाखोला कटाउँदैछ। माया हरेक बिहानी पानीले मुख धुन्थी त्यसैले उसको परेली, उसको गाला पानीले भिजेको हुन्थो तर आज उसको परेली आँसुले भिजेको छ। उसको गाला आँसुले भिजेको छ। ऊ भारतको सिकिम मामाको घरतिर जाने भनेर हिँडी। अब उसले एउटा डाँडा मात्र होइन हजारौं डाँडा काट्दैछे, हजारौँ खोला काट्दैछे। देशकै सीमाना कटेर माया टाढा जाँदैछे। मायाको भित्र मन धमिलो भइरहेको छ। बाहिर प्रकृति पनि हुस्सुकुहिरो लागेर धमिलिरहेको छ।

मायाको भित्र आत्मा रोइरहेको छ। बाहिर आकाश पनि सिमसिम पानीसँगै रोइरहेको छ। एक्लिएकी, हेपिएकी मायालाई यिनै हुस्सु र कुहिरोले बिदाइ गर्‍यो, यिनै झरीले बिदाइ गर्‍यो। मायाले मेची काटेर सिकिम जाने बस समाती। बसमा बढी पुरूषहरू थिए। मायालाई डर लाग्यो। डर लागेर के गर्नु मायाले डाँडाखोला काट्नै पर्छ। गाडी गन्तव्यतिर दौडिरहेको छ। रोएको आत्मा, डरले भरिएको मन र थाकेको ज्यान भए पनि माया कहिले ठेकेदार र पञ्च मनाउँदोहरूबाट सुरक्षित भएको झिनो अनुभूति गर्छे त कहिले मायाघरको सम्झनामा खुसी हुन्छे। गाडी रोकिन्छ। पुरूषहरू उसको छेऊबाट निस्कन्छन् । माया डरले भुतुक्क हुन्छे। गाडी दौडिन्छ। घुम्तीमा गाडी मोडिँदा नजिकैको यात्रुसँग ठेलमेल हुन्छ। मायालाई त्यही ठेकेदारले थिचेको झैं लाग्छ र मायाको सास रोकिन्छ। गाडी सिधा मोडिन्छ मायालाई सहज महसुस हुन्छ। माया फेरि एकोहोरो बन्छे। ठेकेदारका हातले आफ्नो छाती सुमसुमाइरहेको झँै लाग्छ, भित्री वस्त्रहरू खुस्काइरहेको, च्यातिरहेको जस्तो लाग्छ। हातहरू समाएर माथिबाट थिचिरहेको जस्तो लाग्छ, कमरमा निकै भार परिरहेको जस्तो लाग्छ। माया सिटबाट जुरूक्क उठ्छे। गाडी गतिमा दौडिरहेको छ, यात्रुहरू सिटमा चुपचाप बसिरहेको छ । माया होशमा आउँछे अनि बस्छे।

माया साझतिर मामाघर पुगी। मामा घरमा भेटघाटका मान र मर्यदाहरू आदानप्रदान भयो। माया मामाघरमा बस्दै रही। समय बित्दै गयो। माया एकोहोरेकी, आत्तिएकी जस्ती हुन्थी। मामामाइजुलाई नयाँ ठाउँँ भएकाले होला भन्ने लाग्थ्यो। आधा रातमा माया आतिँदै तर्सिदै उठ्थी। एकदिन माइजूले थाहा पाइछे र मामालाई पनि भनिछे। मामामाइजुले केही रोग पो होकि भनेर मायालाई राम्ररी सोधे। मायाले ठेकेदारले फसाएको र पञ्चले डाँडाखोला कटाएको सबै कुरा सुनाई। यसपछि मामाले सिकिमबाट भोटिङ कार्ड बनाइदिने र कामका लागि हङकङ पठाउने भयो।

एक वर्ष बित्दा नबित्दै मायाको हङकङका लागि भिसा लाग्यो। पुनरजीवन पाए जतिकै माया खुसीले रमाए। मामाले मायालाई दिल्ली विमास्थलसम्म पुर्‍याउन लग्यो। माया चढेको जहाज उडेर बादलमाथि लुक्यो। मायालाई राक्षस ठेकेदारसँग अति सुरक्षित भएको महसुस भयो। पञ्चहरूले सोचेको भन्दा हजारौँ गुणा डाँडाखोलाहरू काटेको महसुस भयो। माया खुसीले हर्षले मुसुक्क हाँसी। आत्मैदेखि मामालाई भगवान् मानी।

हङकङमा रहँदा बस्दा मायाका साथीहरू पनि बन्दै गए। सँगै काम गर्ने आत्मीय साथीहरू पनि भए। मायाले धेरै पैसा कमाउन नसके पनि खान बस्न, बेलाबेलामा घुमफिर गर्नलाई राम्रै पुगेको छ। दुई वर्ष पुगेपछि भिसा थपेर माया बसिरहेकी छ। यो साल माया बिमारी परेकीले पैसा कमाउन र बचाउन सकिन। भिसा पनि सकिन लागेको छ। हङकङ प्रशासनले माया जस्तै डोमेस्टिकमा जानेहरू कतिको त भिसा थपेन। तिनीहरू आफ्ना देश फर्किसकेको छ। भिसा नलागेमा माया पनि फर्कनुपर्ने भएकीले माया पिरमा छे। यसैमाथि बिमारी परेकाले पैसा छैन। अरू साथीहरूको त देश थियो, समाज, घर परिवार थियो तर मायाको त मामा घरबाहेक कोही छैन। मायाको फर्केर जाने ठाउँँ छैन। फर्कनु पनि मन छैन। माया फर्कने दिन गन्दै विवश भएर बसिराखेकी छ। यसै समयमा विश्वव्यापी महामारी कोरोना भाइरस पनि फैलिरहेको छ। महामारीले विश्वभरि मानिसहरू मरिरहेका छन्। विश्व चिहिलबिहिल बनिरहेको छ। विभिन्न देशमा बन्दाबन्दी गरिएको छ। हङकङ प्रशासनले पनि उच्च सतकर्ता अपनाइरहेको छ।

एकदिन मायाका कोठामा एकजना साथी आई। मायाका बारेमा ती साथीलाई धेरै थाहा छ। मायाले निराश भएर अब छिटै फर्कने कुरा गरी। अरू साथीहरूको जस्तो फर्केर जाने ठाउँ पनि नभएको दुःख पनि पोखी। मायालाई एक जना आइडीवालाले मन पराउँथ्यो तर ऊ मायाभन्दा पचास वर्ष जेठो थियो। उसको बुढी इन्डियनले उडाइदिएको थियो। उसको छोरा मायाभन्दा एक वर्षले जेठो थियो। ती बुढाले मायालाई बिहे गरौँ भनेर निकै फकाएको पनि थियो। आफूभन्दा एक वर्ष जेठो छोराको बाबुसँग मायाले कसरी मान्ने र! ती बुढाले भने मायालाई फोन सम्पर्क गरिरहन्छ। घुम्न जाने प्रस्ताव पनि गरिरहन्छ तर माया मान्दिन, वास्ता पनि गर्दिन। ती बुढो मायाको साथीको आफन्त पर्छ। मायाको साथी मौकामा चौका थाप्न अहिले मायाको कोठामा आएकी छ। पटकपटक विवशतामा मर्दै बाँचेकी माया साथीको चौका दाउमा विवश भई। पचास नाघेको आइडीवाला बुढालाई मायाले आप्mनो बैँस चढाउने भई।

वैवाहिक बन्धनमा बाँधिएको सात वर्षपछि हङकङ प्रशासनले आइडी दिन्छ। यसपछि माया ढुक्कले  बस्न पाउँछे। मायाको जाने ठाउँँ पनि साँच्चै छैन। माया लाचार भएर उसकी गाउँँठाउँमा गई भने माया ठेकेदारहरूको शिकार बन्नुपर्छ अनि फेरि पनि पञ्चलाई दुःख हुन्छ। यस मानेमा मायालाई बुढो मान्छेसँग घरजम गरेर हङकङमा बस्न ठिकै पनि छ। माया र ती बुढोको लगन गाँठो कसियो। कोरोनाले गर्दा धेरै मान्छे भेला भएन। मायालाई साथीहरूले बेहुलीका पहिरणमा चिटिक्क सिँगारे। साँच्चै माया राम्री देखिई। गहनापात पनि धेरै नै लगाइदियो। बेहुलो बुढो भए पनि मायालाई इच्जतले बिहे गर्‍यो। ठेकेदारले जस्तो बुढाले जहाँ भेटो त्यँही सुहागरात मनाउन बाध्य बनाएन। राम्रा हाइफाइ होटलमा सुहागरात मनाउन लग्यो। बुढाले जसरी नै एउटा बच्चाको आमा बनाउँछु भनेर बाचा गर्‍यो। समयमै आइडी दिलाउने प्रतिवद्धता गर्‍यो।

“नेपालमा भएको घरघडेरीहरू, हङकङ कमाएको पैसा तिम्रो र छोराको नाममा आधाआधा गरिदिन्छु। तिम्रो खुसीले बाहेक कतै कुनै काममा तिमीलाई पठाउँदिनँ। तिम्रो मन दुखाउँदिनँ, तिम्रो इच्छा र रहरहरूको बाधा बन्दिनँ। हरपल साथ दिन्छु, हर क्षण खुसी दिन्छु।”

बुढाले यस्तैयस्तै बाचाहरू गर्‍यो। साथै, सुखद् सपनाहरू, भविष्यका योजनाहरू सुनाए। सुहागरातले मायालाई साँच्चै बुढाबुढीको अनुभूति गरायो। नयाँ जोडी सुहागरात सकाएर कोठा फर्किए। विवाह दर्ताका लागि कागजपत्र तयार हुँदै थियो। मायाको बुढो अचानक बिमारी भयो। चेकजाँच गर्दा कोरोना देखियो। कोरोना होस्पिटल भर्ना गरियो। बुढो दीर्घ रोगी पनि रहेछ। कोरोनाले झन्झन् पेल्दै लग्यो। भेन्टिलेटरमा सारेको तीन दिनको राती बुढाको मृत्य भयो। बिहे गरेको एक हप्ता नबित्दै माया विधुवी भई। आफ्ना देशमा खसेको मायाको आँसु भारतको सिकिममा पुछिएको थियो अनि हङकङ आएपछि सुकेको थियो। फेरि हङकङबाटै ती सुकेको आँसु बल्झियो । रून बानी परेको मायाका आँखाहरू भकानिँदै रोइरह्यो।

माया आफ्नो बुढोको दुःख बारिरहेकै बेला हङकङ प्रशासनले तिम्रो भिसा सकियो भनेर मोबाइल फोनमा खबर पठाइसकेको छ । बुढोको काजक्रिया सकियो तर ठिक दुई दिनअगाडि मायाको पनि भिसा सकिएको छ। प्रहरी प्रशासनले मायाको पहिलेको कोठामा गएर खोजतलास गरेको खबर साथीहरूले मायालाई दिइसकेको छ। मायाको कलिलो बैँसको भिसा ठेकेदारले सकिदिएको थियो। यसपछि आफ्नाे  घरपरिवार, समाज र देशमा बस्ने भिसा पञ्चले थपेन। पराई देश बस्ने भिसा हङकङ प्रशासनले थपेन। दाम्पत्य जीवनको भिसा कोरोनाले थपेन। मायाको सबै खालका भिसाहरू सकिएछ।

हङकङको सामुद्रिक किनारका अग्लो चटाने पहाडमा समुद्रका छालहरू बेस्सरी ठोकिन्छ अनि उछिटिन्छ र गहिरो र कालो भुमरी बनाउँदै भित्र पस्छ। पहाड डरलाग्दो छ, समुद्रको बेग डरलाग्दो छ, समुद्रको भुँमरी कालो, गहिरो झनै डरमर्दो छ। मायालाई पहिले यो ठाउँँ देख्दा अति नै डर लाग्थो तर आज मायालाई यही ठाउँँ प्यारो लागेको छ। मायाका पाइलाहरू कतै नरोकी त्यतै लम्कँदैछ। थाहा छैन ती किनारमा मायाले आँखाभरिको आँसु समुद्रको पानीले पखाल्छे कि समुद्रसँगै बगाउँँछे! जीवनभरिको दुःख समुद्रलाई सुनाउँछे कि समुद्रमै लुकाउँछे!

(कथाकार राईकाे अस्तु कथासंग्रहबाट।)  

प्रकाशित: १५ चैत्र २०८० १३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App