२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

संवेदनाको समायोगः विचारको कञ्चन नदी

पुस्तक

‘संवेदनाको समायोग’ भित्र असम्यक स्पर्श, कीर्तिपुर डायरी, भावका अनुगुञ्जन, हृदयको क्यानभासबाट, छोडेर आएका पाइला, सीमाभन्दा पर फैलँदै र शब्द र अक्षरहरूमा गरी सात खण्डमा कुल ३७ निबन्ध छन्। संस्मरणात्मक शैलीमा विरचित अधिकांश निबन्ध आत्मपरक निबन्धको कोटिमा पर्छन्। त्यसो त, विदुषी प्राध्यापक तथा समालोचक ज्ञानु अधिकारी आफैँले यसो भनेकी छन्- डायरी लेख्नु मेरो रहर हो। सोख हो र बाध्यता पनि हो। डायरी लेख्छु अर्थात् डायरीमा म आफूलाई पोखिदिन्छु। यसरी निबन्धको कृति नै निकाल्छु भन्ने योजना भने थिएन।

उनी अघि भन्छिन्- निबन्ध यस्तो विधा हो, न त विषयलाई आदर्शीकरण  गर्न मिल्छ न त बनावटी कुराले यसभित्र प्रवेश गर्न नै पाउँछ। यो मन र मस्तिष्कबाट निसृत भाव र विचारको कन्चन नदी हो।

आज हामी उनको त्यही विचारको कञ्चन नदीसँगको यात्रामा छौँ।  उनका अनुभूतिहरू पढ्दा हरेक पाठकलाई लाग्छ कि आफैँलाई पढिरहेछु, आफ्नै अनुभूति पढिरहेछु। अझ खास गरी आफ्नो पहिचान र निजत्व खोज्ने जो कोही महिलालाई लाग्छ कि म मेरै डायरी पढिरहेछु। ‘संवेदनाको समायोग’ यस्तै यस्तै अनुभूतिहरूको कञ्चन नदी हो।

ज्ञानुले आफ्नै जीवनको अनन्त यात्रामा आफूले देखेका, भोगेका, चाहेका र आफ्ना मनमा उठेका विचार र भावनाहरूको सुन्दर माला उनेकी छन्। त्यस अर्थमा यो कृति उनका विचार, दृष्टिकोण, भावना र संवेदनाहरूको सङ्ग्रह हो। सम्यक् दृष्टिमा उनी अक्षरसित सचेतनाको आलाप गाउँछिन्। म को हुँ भन्ने यस युगकै विराट् अस्तित्वको खोज छ उनका अक्षरहरूमा। स्वाभिमान, स्वावलम्बी र स्वपहिचानको भोक जागाउने शब्दहरूको समभाव छ। ‘असतो मा सद्गमय’ छ। ‘तमसोमा ज्योतिर्गमय’ छ। ‘मृत्योत्मा अमृतं गमय’ पनि छ।

विस्तार

‘असम्यक् स्पर्श’ शीर्षकअन्तर्गतको के म सफल आमा बन्न सकेँ निबन्धमा समाज र परम्पराले दिएका परिचयबाट भिन्न ‘म’ को परिचय खोजमा निस्केकी छन् ज्ञानु, जहाँ आमा हुनुको अर्थ र समाजसित जुधेर आफू हुनुको खोजी छ। आफू उभिने धरातल निर्माण गर्न एउटी आमाले गर्नुपरेको सङ्घर्ष र सन्तानप्रतिको अनन्त प्यार छ। सन्तानप्रतिको सम्मोहनमा आमाको मातृत्व यसरी पोखिएको छ-म चाहन्थें, म संसारकै सबैभन्दा महान् आमा बनूँ। तिमीलाई आफ्नो काखको विशाल छहारीमा नै राखेर हुर्काऊँ। तिम्रा हरेक क्रियाकलापलाई नजिकै बसेर नियालूँ। तिम्रा कलिला हात समातेर घर,आँगन, बगैँचा डुलूँ। प्रत्येक साँझबिहान कुनै खुला चउरमा तिमी उन्मुक्ती भएर दौड्न सिकेको हेरूँ र परको क्षितिजलाई देखाएर तिम्रो गन्तव्य त्यहीँ हो भनेर सिकाऊँ (पृ. ११)।

दुधे बालकलाई घरमा छाडेर दिनभरि घरबाहिर आफ्नो सपनाको पछिपछि दौडेर तिनै सन्तानको भविष्य र आफ्नो पहिचानका लागि हाड घोट्न विवश कामकाजी आमाहरूको साझा कथा छ यसमा। यो निबन्ध पढिरहँदा हाम्रा उमेरवयी सबै महिला आफ्नै विगत सम्झेर ठाउँठाउँमा द्रविभूत हुन्छन्। जसरी मैले आफ्नो विगत सम्झेँ, ...

कलेज भर्ना भएको साल स्नातक पढ्दै गरेको केटासित विवाह भयो। बिहेको पछिल्लो साल पहिलो चोटि आमा बनेँ अनि दुखजिलो गरेर लोग्नेलाई पढ्न सघाउनुबाहेक अर्को उपयुक्त उपाय रहेन मसित। म पनि पढ्छु भन्नु आफ्नै भविष्यमाथि सङ्कट निम्त्याउनु हो भन्ने लाग्यो। पढाइलाई विशेष महत्त्व दिने परिवारमै परेकाले हुन सक्छ छोराछोरी हुर्केपछि उनीहरूलाई स्कुल पठाएर पढ्न छाडेको दुई दशकपछि परिवारकै प्रेरणामा कलेज फर्केकी हुँ म।

स्कुल पढाउन नछिरी अन्य केही गरेको भए सायद फेरि पढ्ने कुरा हुन्थेन होला। बिहेअघि पढेको तर पास नगरेको सिएडकै भरमा निमावि तहसम्म नेपाली अध्यापन गर्ने भइसकेकी थिएँ। आफ्नै स्कुलमा आफूभन्दा तल्लो तहमा स्नातकोत्तर पूरा गरेका भाइबहिनीहरू थिए।

 अब आइए पढ्न नि कसरी कलेज जानु त्यो उमेरमा, अझै आफ्नै लोग्नेले पढाउने कलेजमा? प्राइभेट जाँच दिन कलेज जाँदा त चिनेका कसैले देख्छ कि भन्ने मनोवैज्ञानिक त्रासले ग्रस्त म खुलेर कोचिङ पढ्न जान पनि सक्दिनथेँ। हामी महिलाहरू आफ्नै सोच र हीनता ग्रन्थिले कमजोर हुँदारहेछौँ।

स्कुल, कलेज र कोचिङ/ट्युसनमा बिहान उज्यालो हुनेबित्तिकै निस्केर साँझ पूरै छिप्पेपछि घर फर्कने लोग्नेको टहलसहित घर चलाएर छोराछोरीको स्कुल र आफैँ पनि निजी स्कुलमा फूलटाइम पढाएर प्राइभेट आइए गरेकी म त्यसपछि भने बेलुकी पार्टटाइम जसो कलेज गएर कतिखेर पढेर राम्रै अङ्कसहित स्नातकोत्तर गरेँ हुँला, अहिले सम्झँदा ज्ञानु म्यामको भन्दा जटिल विगत रहेछ मेरो भन्ने लाग्छ। अझै पढाइ र अन्य अतिरिक्तट क्रियाकलापहरूमा समेत अत्यन्त मेधावी छोरी जब नौ कक्षा पुग्नासाथ ओछ्यान पर्छे, मुलुकका प्रायः न्यूरो अस्पतालहरूमा नाम चलेका डाक्टरहरूसित देखाउने र उपचार गर्ने क्रममा आमाछोरी रुँदैरुँदै चाहर्दा एउटी आमाले आँसु कसरी लुकाई होला!

सम्झिंदा लाग्छ, छोरीहरू स्वभावैले जन्मजात आमाभन्दा समझदार हुन्छन्। लुकीलुकी रुनु जस्तो गाह्रो केही नहुने रहेछ, छोरी आमासित लुकेर र आमा छोरीसित लुकेर रोएको विगत सम्झेर अहिले हामी बेलाबेला हाँसिरहन्छौँ।

सायद मेरोभन्दा झन् जटिल विगत भएका कैयन् महिला साथीहरू पनि हुनु होला। विदुषी मित्र ज्ञानु अधिकारीलाई साक्षी राखेर यतिखेर यहाँहरूलाई सम्भवतः पहिलोचोटि यी गन्थन यसकारण पनि सुनाइरहेकी छु कि लेख्न जान्ने हो भने सबैसित लेख्न मिल्ने विगत हुने रहेछ।

कथा हुने रहेछ सुनाउन मिल्ने। कथा सुनाउन वा निबन्ध लेख्न त्यस्तो खतरा कच्चा पदार्थ जम्मा गर्नुपर्छ भन्ने रहेनछ। यसका लागि म मेरा सम्पूर्ण आफन्त मित्रहरूलाई ‘संवेदनाको समायोग’ कम्तीमा पनि एकपटक पढ्न अनुरोध गर्छु। अझ खास गरी केही गर्छु, केही बन्छु, आफ्नो पहिचान र अस्तित्वको धरातलमा उभिएर आफ्नो आकार र आकाश आफैँ निर्माण गर्छु भन्ने कामकाजी महिलाहरूले त झन् पढ्नैपर्ने किताब हो–संवेदनाको समायोग।

आउनुस् फेरि किताबमै फर्कौं।

आफ्ना कतिपय निबन्ध खास गरी क्षमता भएर पनि मात्र गृहिणी भएर खुम्चिन विवश महिलाहरू जो आफूलाई कमजोर ठानेर निर्दिष्ट परिधिभित्रको सुखसयलका नाममा आफ्ना पखेटा आफैँले काटेर सोसाइटीमा कम र सोसल मिडियामा बढ्ता रमाएर जीवन बर्बाद गरिरहेछन्, तिनीहरूलाई उत्प्रेरणा जगाउने खालका पनि छन्।

जस्तो कि शृङ्गार, सौन्दर्य र नारीमा उनी भन्छिन्-हामी कसैको बोझ बन्नु हुँदैन र कसैको खेलौना पनि बन्नु हुँदैन। हाम्रो आफ्नै जिन्दगी छ। रहरहरू छन् र त्यत्तिकै आफ्नो देश र समाजप्रति हाम्रा दायित्व र कर्तव्यहरू पनि छन्। यो अमूल्य जीवनलाई एउटा परिवारको सेविकामा मात्र सीमित नबनाई आफ्नो पहिचान बनाउनु छ र सबैले सम्मान गर्नलायक बन्नु छ भनेर जागृत हुने दिन यी दिदीबहिनीमा कहिले आउला? म त्यस दिनको प्रतीक्षामा छु। ( पृष्ठ २१ )

आशा  गरौं, यस्तो खाले प्रतीक्षा कहिल्यै कसैले गर्न नपरोस्।

मानव सभ्यताको विकासमा नारीहरूको अवस्था र उनीहरूले स्वतन्त्रता र समानताका लागि गरेको सङ्घर्षको विश्लेषण गरिएको निबन्ध हो-मानव सभ्यताको यात्रामा नारी। विषय गम्भीर उठाउन खोजिए पनि अलिक विशृङ्खलित, विरोधाभासपूर्ण र काँचो निबन्ध हो यो यस कृतिको। र पनि,नारीलाई आदर्शमा देवी बनाउने र यथार्थमा दासी बनाउने परम्परा र सामाजिक सोचप्रतिको कटाक्ष रोचक छ यो निबन्धमा।

आफैंसँग केही प्रश्न र तिनका उत्तरसहित मनोवाद शैलीमा लेखिएका छन् कतिपय निबन्ध। हामी बाँचिरहेको वर्तमान युगमा चाहिनेभन्दा पनि धेरै कुरा छन्, नभएको त अपनत्व मात्रै हो त्यसैले मान्छे एक्लोपनको अनुभूति बोकेर बाँच्न विवश छ र त यस्ता भाव बोकेर बग्छन् निबन्धहरू अनुभूतिको नदीमा।

जीवनको खास अर्थ नै दुःख रहेछ भन्ने यथार्थलाई पुष्टि गर्न लेखिएको संवेदनात्मक निबन्ध हो-मन दुखेको कुरा। यसमा कुनै प्रकारका दुखेका शब्दहरू कोरिने छैनन् भन्ने कुरा लेखेर विशेष मान्छेबाट दिइएको डायरीमा उनी लेख्छिन् -जसको हृदयमा थोरै पनि दुःख र संवेदना हुँदैन, उसलाई केही कुराले पनि छुँदै छुँदैन। जो दुख्न जान्दैन, उसले अरूलाई दुखाउन मात्र जान्दछ। अरूको दुःखमा, पीडामा संवेदित नहुने मान्छेहरू बञ्जरभूमि मात्रै लाग्छन् मलाई। (पृष्ठ ९७)

दुःख र संवेदना अन्योन्याश्रित छन्। दुःख छ र त सुखको पनि अर्थ छ। दुःख छ र जीवनको सौन्दर्य छ। र पनि अरूका दुःखप्रति कुनै संवेदना नहुने मान्छेप्रति उनी खास दुःखी छिन्।

मुकाम कीर्तिपुरको हिलसाइड रिसोर्ट राखेर मनोवाद शैलीमा लेखिएको अर्को एउटा सुन्दर निबन्ध हो-तिम्रो अनुपस्थिमा, जहाँ उनको उपस्थिति यस्तो छ-

तिमी कुरा गर्न रमाइलो छौ। हँसाउन सिपालु छौ। सहयोग गर्न सधैँ तयार पनि छौ तर खै किन हो मभित्रको प्रतिभा र सम्भावित सफलतासँग भने तिमीलाई भयङ्कर डर लाग्छ। मेरो पछाडि उभिन तयार छैनौ र तिम्रो अगाडि कसैले मेरो प्रशंसा गरोस् यो सुन्न तयार छैनौ तिमी। यहीँनेर म सर्वाधिक खिन्न हुन्छु। (पृष्ठ-२५)

म अलिक आश्चर्यचकित छु। उनले ठाउँठाउँमा फरक परिवेश र पृष्ठभूमिमा भनेको यो तिमी उनको प्रेमी हो, सहयात्री हो वा जीवनसाथी? जो भए पनि उनका कुरा पढेर ठाउँ ठाउँमा म पनि खिन्न छु तर कस्तो संयोग, त्यसरी त्यही विषयमा धन्य मलाई भने मेरो तिमीप्रति कहिल्यै पनि खिन्न बन्नुपरेको अनुभव छैन मसित। यस अर्थमा आफूलाई भाग्यमानी सम्झन्छु।

भावका अनुगुञ्जन खण्डका निबन्धहरूमा उनी आफ्ना अनभूतिलाई स्वतन्त्र रूपमा चित्रण गर्न सफल छिन्। उनलाई आफ्नो अस्तित्वमाथि प्रेम छ। सौन्दर्यलाई जीवनको पहिलो सौन्दर्यबोधका रूपमा अर्थ्याउँदै आफूले बाँचेको समय र सङ्घर्षमय अतीतप्रति खुसी देखिन्छिन्। यस  खण्डको पहिलो अर्थात्  तिम्रो प्रेमको नाममा निबन्धमा उनले आफूलाई प्रेम, त्याग र समर्पणका पक्षमा उभ्याएकी छन् र आत्मिक प्रेमको पक्षधरता देखाएकी छन्।

कताकति कुनै अमूक व्यक्तितको निस्वार्थ कर्मको प्रशंसामा लेखिएको जस्तो लाग्ने  निबन्ध,वाह! डाक्टर साहेब र आडम्बररहित ढङ्गले स्वतन्त्र जीवन बाँच्न अभिप्रेरित गर्ने एउटा फरक सत्यसँग साक्षात्कारचाहिँ झट्ट हेर्दा नीतिपरक निबन्ध जस्ता लाग्छन् तर पनि ओहो साथी के छ? ल सुनाउनुस् पोखरातिरको हालखबर भनेर निबन्धमा बलजफ्ती पोखरा जोडिएको छ। न कुनै खबर सुनिन्छ पोखराको, उल्टै कुनै गफी कविले कविता सुनाइरहेको प्रसङ्ग जोड्न भ्याउँछिन् उनी। हृदयको क्यानभासबाट खण्डका यी र यस्ता निबन्धहरूमा अरू थुप्रै पात्र, परिवेश र घटना भेटिन्छन्।

छोडेर आएका पाइलाहरू खण्डका निबन्धहरू संस्मरणात्मक शैलीमा लेखिएका छन्। त्यहाँ उनले जीवनसङ्घर्ष र आफैंले भोगेको समयको चित्र उतारेकी छन् र त्यो अधिकांश महिलाको जीवन भोगाइ बनेर आएको छ। आफ्ना आत्मानुभूति लेखिरहँदा पनि धेरैको प्रतिनिधित्व गर्न सक्नु लेखकीय सफलता हो।

कृतिको अन्तिम खण्ड शब्द र अक्षरहरूमाभित्रका निबन्धहरूले उनको प्राध्यापक तथा समालोचक व्यक्त्त्वि झल्काउँछन्। महिला भएकै कारण भोग्नुपरेको विभेदको डरलाग्दो यथार्थलाई पनि उनले कलात्मक जामा पहिराएकी छन्। त्यसो त कीर्तिपुर डायरी खण्डमा आफू संलग्न विश्वविद्यालयलाई सरोगेट मदरसँग तुलना गरेकी पनि छन्। यो निबन्ध पनि यथार्थपरक नै देखिन्छ। र पनि, त्रिभुवन विश्वविद्यालयभित्रको बेथिति उनले लेखेभन्दा अझ भयानक छ।

समापन

पूर्वीय जगतमा निबन्ध शब्दको प्रयोग ‘महाभारत’को ‘श्रीमद् भागवत् गीता’ खण्डमा कृष्ण र अर्जुनको संवादका क्रममा प्रयोग भएको देखिन्छ भने हाम्रोमा झण्डै साढे दुई सय वर्षअघि पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’बाट प्रारम्भ भएको मानिन्छ।

अझ खास गरी आत्मपरक नेपाली निबन्ध परम्पराले महाकवि देवकोटा हुँदै अहिलेसम्म आइपुग्दा फरक स्वरूप, शैली र विशेषता हासिल गरेको छ। वस्तुपरक निबन्धमा विषयवस्तुको प्रधानता रहन्छ, जहाँ भावनाको भन्दा विचारको र मुटुको भन्दा मस्तिष्कको भूमिका ठुलो हुन्छ। त्यहाँ निबन्धकार काल्पनिक संसारमा खेल्न पाउँदैन।

भावनामा बग्ने र हार्दिकतामा पौडिने स्वतन्त्रता कम हुन्छ तर आत्मपरक निबन्ध भने यी तमाम बन्धनबाट मुक्तै हुन्छ। त्यस्तो मुक्तेताको भरपूर उपयोग गरेकी छन् ज्ञानुले आफ्नो लेखनमा। त्यति हुँदा हुँदै पनि, संस्मरणात्मक शैली अपनाउँदा यात्रामा अनुभूत गरेका विषय के, कति, किन, कसरी र कुन स्वरूपमा अभिव्यक्त गर्ने र त्यसले पाठकमार्फत समय र समाजलाई के दिन सक्छ भन्ने विषय महत्त्वपूर्ण हुन्छ भन्ने लाग्छ। यसतर्फ भने लेखक थप सजग र सचेत हुनुपर्ने देखिन्छ।

आत्मपरक निबन्ध लेख्नु आफैंलाई पढ्नु हो। “मेरो निबन्धको विषय म नै हुँ किनभने मैले सबभन्दा बढ्ता मलाई नै चिनेको छु।”

प्रसिद्ध फ्रान्सेली निबन्धकार मोन्टेगको उक्तन भनाइले आत्मपरक निबन्धको विषय र भाव स्रष्टा नै हो भन्ने जनाउँछ, जसमा स्रष्टाले आफ्ना अनुभूति र भोगाइहरू पस्कन्छन्। त्यहाँ स्वाभावैले आफूले बाँचेको जीवन र समाजप्रतिको दृष्टिकोण हुन्छ। राजनीतिक, सामाजिक परिदृश्यको विश्लेषण, निजात्मकता, संस्मरण र वैयक्ति कता त हुने नै भयो।

यस अर्थमा, आफूलाई नढाँटी आफ्ना विचार, चिन्तन र दृष्टिकोण निर्धक्क र निर्बन्धरूपमा प्रस्तुत गर्ने माध्यम हो-आत्मपरक निबन्ध। मुस्किलले एउटा कार्यक्रमको सिलसिलामा केही महिनाअघि भेटिएकी र मात्र यही कृतिमा आफूले पहिलोचोटि पढेकीले पनि उनी आफ्ना कुरामा कति इमानदार छिन्, त्यो अन्दाज गर्न म असमर्थ छु तर पनि कृति पढ्दा ठाउँठाउँमा आंशिक कुण्ठा, सपना, लक्ष्य र सङ्घर्षका कथा भेटिन्छन्।

खण्डखण्डमा विभक्तक निबन्धहरूले फरक इन्द्रधनुष निर्माण गरेका छन्। कृतिका अधिकांश निबन्धहरू विशिष्ट कोटिका छन्। खँदिला छन्। कलात्मक पनि छन्। त्यति हुँदा हुँदै पनि तिम्रो प्रेमका नाममा, आफैँलाई भेटेपछि, मानव सभ्यताको यात्रामा नारी, नयाँ पुस्ताबाट बेखबर एउटा नाम, यात्रामा कथा मिसिएपछिलगायतका केही निबन्धहरू अलिक खजमजिएका जस्ता लाग्न सक्छन्।

नारीलेखनका चुनौती नामक निबन्धमा उनले साहित्यमा लागिपरेका, लाग्न चाहेका तथा विभिन्न विधामा स्थापित नारीहरूका अवसर र चुनौतीहरूको राम्रो मनोवैज्ञानिक चिरफार गर्न भ्याएकी छन्।

गत वर्षसम्म कुल ११९ साहित्यकारले साहित्यतर्फको नोबेल पुरस्कार पाएकोमा जम्मा १७ महिलाले मात्र यस पुरस्कार पाएकोमा चिन्ता व्यक्तल गरेकी छन्। नेपाली साहित्यमा विशेष महत्त्वका साथ लिइने मदन पुरस्कार पनि अहिलेसम्म ७०/७५ को हाराहारीमा लेखकहरूले पाइसके होलान्, मुस्किलले ४ महिलाले हात पारेको तथ्याङ्क निराशाजनक नै छ।

नोबेल पुरस्कार छोडौं, मदन पुरस्कारलाई लिएर कैयन् टीकाटिप्पणी हुने गरेका छन्, त्यता पनि नजाऔं। उक्ति पुरस्कार पाएका सबै कृति तथा साहित्यकारहरू उच्चकोटिका र अरू सामान्य भन्न खोजिएको हो भनेमा चाहिं सहमत हुन सकिन्न।

हामी सबैलाई थाहा छ, लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला, सिद्धिचरण श्रेष्ठ, लैनसिंह वाङ्देल, माधव घिमिरे, भूपि शेरचन, इन्द्रबहादुर राई आदिले मदन पुरस्कार पाएनन् तर उनले निबन्धको बिट मार्दै घुमाउरो पाराले भनेकी छन्,-नोबेल पुरस्कारविजेता महिला साहित्यकारहरू अधिकांश कि त डिभोर्सी छन् कि त अविवाहित छन्।

नेपालको सबैभन्दा ठुलो र चर्चित मानिएको मदन पुरस्कार पाउने महिला साहित्यकारहरू पनि निलम कार्की ‘निहारिका’ बाहेकका पारिजात, झमक घिमिरे र राधा पौडेल पनि अविवाहित नै छन्।

निहारिका पनि अमेरिकामा बसोबास गरेकी कारण आफू मुक्ता भएर लेख्न सकेकी हुन् भन्नेतर्फ सङ्केत गर्दै के विवाहित र गृहस्थ नारी स्रष्टाहरू साहित्यिक क्षेत्रमा सफल हुन सक्दैनन् त भन्ने प्रश्न पाठकतिर तेर्स्याएर आफूचाहिँ उम्किने प्रयास गरेकी छन्।

म यतिखेर समस्त पाठकहरूका तर्फबाट त्यही प्रश्न विदुषी निबन्धकारलाई गर्न चाहन्छु र अपवादहरू टिपेर धारणा र घटनाहरू टिपेर सिद्धान्त नबनाउन पनि निवेदन गर्दछु।

जाँदा जाँदै, जीवनको शाश्वत् सत्य र समाजको वर्तमान यथार्थलाई भावुकता, सरलता, सरसता, कोमलता र संवेदनाको जामामा सजाइएका निबन्धहरूमा जीवन दर्शन, युगीन चेत, सार्वजनिक पीडा, असन्तुष्टि, आक्रोश र सामाजिक यथार्थ प्रचुर मात्रामा  भेटिन्छन्।

कतैकतै विद्रोहका झिल्का पनि छन् तर कोमल। सबैभन्दा बढी संवेदनाको समायोग छ। विचार, दर्शन र अनुभूतिको त्रिकोणात्मक संवेदना अँगालेर वैचारिक चिन्तन, निजात्मक शैली, काव्यात्मक भाषा र आत्मपरक तथा संस्मरणात्मक शैलीमा लेखिएका निबन्धहरू पढ्दा ठाउँठाउँमा आख्यान पढिरहेझैँ लाग्छ। आत्मपरक निबन्धको क्षेत्रमा यो निबन्धकृति एउटा विशिष्ट कृतिका रूपमा स्थापित हुनेछ भन्नेमा मचाहिँ ढुक्क छु।  कृतिकार र कृतिलाई अनन्त शुभकामना।  

प्रकाशित: २७ चैत्र २०८० १२:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App