‘म त लालीगुराँस भएछु’
०१ वैशाख २०८१
•
५ मिनेट पाठ
‘म त लालीगुराँस भएछु’
यकिन मिति ठ्याक्कै बिर्सिएँ, एक दिन क्षेत्रप्रताप अधिकारीको नामबाट मलाई एउटा बन्द खाम प्राप्त भयो। खोलेर हेरें, उनीद्वारा लिखित कुनै किताब थियो त्यसभित्र।




म सम्झन्छु, त्यो कवितासङ्ग्रह थियो तर के नामको थियो कुन्नि! अहिले हेक्का रहेन। खामभित्रै एउटा अर्को कागज पनि पट्याएर राखिएको रहेछ। खोलेर हेरें, मेरो नाममा सम्बोधित एउटा छोटो चिठी थियो त्यो। त्यसमा यस्तो बेहोराको सानो छोटो वाक्य लेखिएको थियो– ‘तपाईंले किताब खोलिदिनुभएपछि अब यसको विमोचन भयो।’

मलाईजस्तै उनले धेरैलाई यसरी नै खामबन्दी किताबका साथ अनुरोधपत्र पठाएका रहेछन्। यसको अर्थ जसको हातमा त्यो किताब पुग्थ्यो, त्यसको विमोचन, लोकार्पण वा सार्वजनिकीकरण भएको ठहरिन्थ्यो। कुनै तडकभडकबिना बिल्कुलै नौलो तरिकाको यो विमोचन–काइदा मलाई बडो रमाइलो लाग्यो।

०००

नयाँ बानेश्वरस्थित उनको कलेजमा उनलाई भेट्न यदाकदा गइरहन्थें म। भेटघाटको क्रममा त्यतिबेला उनी आफूले लेखेका नयाँ गीत वाचन गर्ने गर्थे, बडो डुबेर। मलाई अत्यन्त आकर्षक लाग्थ्यो उनको प्रस्तुति। विशेषतः प्रकृतिसँग उनी अत्यन्त मोहित थिए। यसैकारण होला, उनी प्रत्येक सिर्जनामा प्रायः फूलका कुरा लेख्थे। सुन्दर तरिकाले फूलको वर्णन गर्थे।

एउटा गीतले त नेपाली सङ्गीतको क्षेत्रमा यति ख्याति कमायो कि एक जमानामा प्रत्येक नेपालीका मुखमा त्यो गीत झुन्डिएको पाइन्थ्यो। स्मरणीय छ-‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फलिदिन्छु...’ बोलको गीत स्वरसम्राट नारायण गोपालको आवाजमा सजिएको छ।

उनी प्रखर राष्ट्रप्रेमी थिए, राष्ट्रका पूजारी थिए। यो उनको दोस्रो व्यक्तित्व हो। जतिसुकै बेला पनि उनी राष्ट्रकै गीत गुनगुनाइरहन्थे। प्रत्येक कवितामा देशभित्रको बेथिति, विकृति-विसङ्गतिप्रति औंला ठड्याउँथे। सुदूर क्षेत्रको गरिबीप्रति उनी सदैव चिन्तित रहेका देखिन्थे।

‘कर्णालीको कर्णबहादुर

कन्दमूल खाएर छाक टारिरहेछ

महाकालीको मानबहादुर

सिस्नु टिपेर भोक टारिरहेछ

यस्तो अनिकालको चपेटामा पनि

तिमीले त चुनाव जित्यौ

तर देश हारिरहेछ...’

पहाडी भेगबाट राजधानी पसेर साझाबसमा खलासीको जागिर सुरु गर्ने सामान्य एउटा केटो पछि गएर शिक्षामन्त्रीसम्म हुन पुग्नु चानचुने कुरो होइन। उनको व्यक्तित्व हेर्दा उपन्यासको कुनै आदर्श पात्र झैं लाग्छ।

दुई-तीन पटकका उनीसँगको मेरो भेट अविस्मरणीय छन्।

‘शारदा’का लागि उनको एउटा सिर्जना लिन उनीकहाँ पुगें म। उनको स्वभाव अनुसार उनले मलाई बडो हावभावपूर्ण तवरले एउटा नयाँ गीत सुनाए। शारदाको पहिलो अङ्कमा उनको सिर्जना छापेर, पारिश्रमिक समेत लिएर म उनकोमा पुग्दा उनले त्यो लिनु त कहाँ हो कहाँ, एउटा सानो टिपोट गरिएको कागजको टुक्रा दिँदै भने-‘हाम्रो कलेजका बारेमा सानो परिचय छ, शारदाको कुनै कुनामा यसो अटाइदिनु होला!’ र उल्टै मलाई एउटा निश्चित रकम दिई पठाएका थिए।

२०६२/६३ सालको जनआन्दोलनताका मैले एक साथीको सहयोगमा तत्कालीन आन्दोलन समर्थित एउटा साहित्यिक कार्यक्रम गर्ने सोच बनाएँ। जसमुताबिक धरहराको बरन्डालाई हामीले उपयुक्त स्थान चयन गर्‍यौं र मे १ तारिख मजदुर दिवसका दिन धरहराका सिँढी उक्लेका थियौं।

बरन्डामै डा. डिपी भण्डारी, डा. तारानाथ शर्मा, रत्नशम्शेर थापा, द्वारिका श्रेष्ठ, हेम हमाल, तुलसी दिवस, डा. ओमवीर बस्नेत, चित्रकार डा. रामकुमार भौकाजी, पत्रकार युवराज गौतम, जलेश्वरी श्रेष्ठ लगायतका स्रष्टाहरू सहभागी ‘ऐतिहासिक-काव्योद्घोष, शान्ति, अहिंसा र सहिष्णुता : हाम्रो प्रतिबद्धता’ को नारा दिएर छोटो कार्यक्रम सम्पन्न गरियो।

उपस्थित अधिकांशबीच त्यहाँ करिब १० मिनेटजति साहित्यिक सिर्जनाका कुरा भयो। दुर्भाग्यको कुरो, क्षेत्रप्रताप अधिकारी भने उकालो चढ्दा दम बढ्ने कारणले धरोहरा नचढी तलै प्राङ्गणमै बसे। मलाई अहिले पनि सम्झना छ, कति प्रेम गर्थे उनी मसँग! हामी त्यति अग्लो धरोहरा चढेर, कार्यक्रम सकेर तल ओर्लंदासम्म पनि तलै बसिरहेका रहेछन्। त्यहीं नै उनले आफ्नो कविता वाचन गरेका थिए। अन्तमा, जलपानको सानो कार्यक्रम सकेर हामी छुट्टिएका थियौं।

अरूभन्दा ठुलो हुँ भन्ने आडम्बर उनको चरित्रले कहिल्यै देखाएन। आफ्नो त्यो चरित्र उनले धरोहरा कार्यक्रमको त्यो दिन पनि प्रस्तुत गरेर मलाई भावविह्वल बनाएका थिए।

अर्को स्मृति : उनी साझा प्रकाशनमा अध्यक्ष थिए। एक दिन मलाई फोन गरेर उनले आफ्नो चिरपरिचित विनम्र आवाजमा भने-‘ठुलो किताब त होइन, तपाईंका बालकथाहरू पाऊँ न ! म यहाँ भएको बेला तपाईंको एउटा किताब निकालूँ कि!’

मैले नाइँनास्ति गर्नु नै किन थियो र ! उनको अनुरोध स्विकारेर बडो कृतज्ञ हुँदै एउटा बाल कथासङ्ग्रहका लागि आवश्यक कथाहरू लिई म उनको कलेज गएँ। मैले त्यसपछि कुनै किसिमको ताकेता गर्नै परेन। संयोगवश साझा प्रकाशनको त्यो बोर्डमा कवि विनय रावल पनि थिए।

केही दिनपछि रावलजीले मलाई फोनबाट सूचना दिए, ‘तपाईंको बाल कथासङ्ग्रह छापिने भएको छ है। म केही दिनका लागि दार्जिलिङ जाँदै छु। तपाईंलाई यत्ति जानकारी मात्रै दिऊँ भनेर...।’

दुर्भाग्यको कुरा, सम्भवतः पहिलोपटक मसँग बोलेका रावलजी फेरि काठमाडौं फर्केनन्। साहित्यिक कार्यक्रमअन्तर्गत दार्जिलिङ-खर्साङ पुगेका उनी गाडी दुर्घटनामा परेर दिवङ्गत भए।

केही समयपछि मेरो बालकथासङ्ग्रह ‘असिनाभूत’ प्रकाशित भयो। आज सम्झँदा कताकता आत्मग्लानि हुन्छ, मैले क्षेत्रप्रताप र रावलजी दुवैलाई ‘धन्यवाद’सम्म पनि भन्न पाइनँ। रावलजीलाई त भन्ने अवसर सधैंका लागि गुम्यो-गुम्यो, क्षेत्रप्रतापलाई त धन्यवाद भन्ने समय मसँग प्रशस्तै थियो तर पनि खोइ किन हो, भनेनछु। आज समय भड्किसकेपछि पश्चात्ताप गर्नुको के अर्थ ? मनमनै पिरोलिन्छु र उनीद्वारा रचित गीत सम्झन पुग्छु-

‘जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ

सबैभन्दा ठुलो कुरा, मर्न बाँकी छ।’
अर्को समाचार
गुराँस हेर्न पर्यटक घोडेपानीमा
१४ चैत्र २०८२
•
४ मिनेट पाठ
गुराँस हेर्न पर्यटक घोडेपानीमा
‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर सम्राट नारायणगोपालको यो गीतको शब्दझैँ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको पाखा गुराँस फुलेर रङ्गिएको छ।




वसन्त ऋतुको आगमनसँगै पाखाभरि ढकमक्क लालीगुराँस फुलेर मनमोहक र आकर्षक बनेको घोडेपानी प्रकृतिप्रेमी पर्यटकहरुको रोजाइमा परेको छ। घोडेपानीका होटल व्यवसायी हेमन्त वुद्धुजा पुनले गुराँसको सौन्दर्यमा रमाउन आएका पाहुनाहरुले दुई दिनयता होटलहरु भरिभराउ भएका बताए।

“चैतेदसैँ, रामनवमी र शनिबार गरी लगातार तीन दिनको बिदा मनाउन पोखरा, म्याग्दी र काठमाडौँलगायतका ठाउँबाट आएका पाहुनाहरुले होटलहरु भरिएका छन्,” उनले भने, “गुराँस फुलेर रंगिएको घोडेपानीको वनपाखा, सूर्योदय, हिमशृङ्खला अवलोकन गर्ने पाहुनाको रोजाइमा घोडेपानी परेको छ।”

घोडेपानीका २७ होटलमा एक दिनमा एक हजार जनाभन्दा बढी बास बस्न सक्छन्। समुन्द्री सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा रहेको घोडेपानीको जङ्गलमा ढकमक्क लालीगुराँस फुलेपछि मनमोहक बनेको छ।

घोडेपानीको शिरमा रहेको पुनहिलमा चियापसल र प्रवेशशूल्क सङ्कलनको जिम्मा पाएका व्यवसायी सुदीप पुर्जाका अनुसार शुक्रबार  मात्रै चार सय जना नेपाली र ५० जना विदेशी भ्रमणमा त्यहाँ पुगेका छन्। हप्तादिनअघि दैनिक दुई सय जनाको हाराहारीमा पाहुनाहरु आइरहेको उनले बताए।

चैत–वैशाख गुराँस फुल्ने याम हो। विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय गन्तव्यमा समेटिएको घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि वसन्त ऋतुको प्रमुख आकर्षण गुराँस हो। पुनहिलमा सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गर्न जाने बाटोमा गुराँसको जङ्गल छ। यहाँ रातो, सेतो, चिमाली, सिमालीलगायत जातका गुराँस पाइन्छ।

पाखोमा फुलेका गुराँसको जङ्गलको पृष्ठभूमिमा धौलागिरी, गुर्जा, अन्नपूर्ण, माछापुच्छे«लगायत १६ भन्दा बढी हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न सकिन्छ। विश्वमा ४२ प्रजातिको गुराँस पाइन्छ। त्यसमध्ये नेपालमा ३२ प्रजातिका छन्। लालीगुराँस नेपालको राष्ट्रिय फूल पनि हो।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले गरेको अध्ययन अनुसार घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइने अन्नपूर्ण गाउँपालिकाका पुर्व अध्यक्ष समेत रहेका घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताए।

एकै स्थानमा धेरै प्रजातिका गुराँस पाइने यस क्षेत्रको जङ्गल गण्डकी प्रदेशकै ठूलो भएको उनको दाबी छ। घोडेपानी बस्तीको सिरानबाट पश्चिमोत्तर आधा घण्टा गुराँसे जङ्गलभित्र पैदल हिँडेपछि कालीसारस्थित गुराँस पार्क पुगिन्छ। गुराँसले ढाकेको वनमा चराको आवाज सुनेर डुल्दा रमाइलो महसुस र तनावमुक्त बनेको बेनीका अमृत कार्कीले अनुभव बताए।

स्वच्छ हावापानी र शान्त वातावरणले तनमन चङ्गा बनाएको पोखराबाट घोडेपानी घुम्न गएका दिया थापाले बताउनुभयो। गुराँस, चराको चिरबिर आवाज र हिमालको दृश्यले लट्ठै बनाएको उनले अनुभव सुनाए। पाहुनाहरुले गुराँसको जंगललाई पृष्ठभूमिमा पारेर भिडियो/तस्बिर खिचाएर आनन्द लिन्छन्।

घोडेपानीबाट ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय र हिमालको दृश्यावलोकनका लागि प्रसिद्ध गन्तव्य हो। गुराँस पार्कबाट थप १५ मिनेट अगाडि बढेपछि गुराँसकै जङ्गलभित्र रहेको सुन्दर प्यारीबराह ताल पुगिन्छ।

त्यहाँबाट फर्कंदा प्यारीबराहबाट भलखराचौरहुँदै ४० मिनेटमा घोडेपानी बस्तीको पुछारमा आइपुगिन्छ । घोडेपानीको सिरानबाट कालीसार गुराँस पार्क हुँदै प्यारीबराह ताल पुगेर भल्खराकोबाट तल्लो बाटो हुँदै घोडेपानी साइक्लिङ गर्न सकिन्छ। प्यारीबराहबाट घोडेपानीसम्मको घोडचढी (पोन्नी ट्रेल) मा जान सकिन्छ।

घोडेपानीमा एक रात बास बसेको, बेलुकाको खाना, बिहानको खाजासहित रु नौ सय ५० देखि एक हजार ६०० को प्याकेज बनाइएको छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार, शिख, चित्रे हुदै २१ किलोमिटर दुरीका पुगिने घोडेपानीमा पोखरादेखि बस सञ्चालन हुन थालेको छ।

कास्कीको नयाँपुलदेखि बिरेठाँटी–उल्लेरी हुदै घोडेपानी जोड्ने कच्चि सडक पनि गत कात्तिकदेखि सञ्चालनमा आएको छ। घान्द्रुक, उल्लेरी, शिख, मोहरेडाडा तर्फबाट घोडेपानी पुग्न सकिने पदमार्गहरु रहेका छन्। अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले पदमार्गको संरक्षण, पुननिर्माण, सडक स्तरोन्नति र सहायक गन्तब्यको पहिचान गरि पूर्वाधार निर्माणमा जोड दिइएको बताए।  

“सडकमार्ग भएर मुस्ताङ जाने–आउने पर्यटकहरुलाई घोडेपानी भित्र्याउन पोखरेबगरदेखि कास्कीको नयाँपुल जोड्ने वैकल्पिक सडक सञ्चालनमा आएका कारण स्वदेशी पर्यटकको आगमन बढेको छ,” उनले भने “घोडेपानीमा पर्यटकको बसाई लम्बाउन ‘गुराँस पार्क’, घोडामार्ग, साइकल मार्ग र सहायक गन्तव्यको पहिचान गरी पूर्वाधार निर्माणमा जोड दिएका छौ।”  
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस