३० वैशाख २०८१ आइतबार
image/svg+xml
कला

शान्ता-उडान

नागरिक नायक

धरानमा हुर्कंदै गर्दा शान्ता नेपालीले कहिल्यै छोरीजस्तो हुनुपरेन। बुवा भारतीय सैनिकमा हुनुभएकाले घरमा ज्यादै अनुशासन थियो तर स्वतन्त्रता पनि उत्तिकै थियो। उनी पढाइमा पनि राम्रै थिइन्।

एसएलसीपछि उनले मोडलिङ अपनाइन्। त्यो बेला धरान मोडलिङका लागि तेस्रो ठूलो शहर थियो। त्यसपछि उनी पत्रकारितातर्फ आकर्षित भइन्। पत्रकारिता नै गर्ने भए किन सानो ठाउँमा बस्ने भन्ने लागेपछि उनी काठमाडौँ आइन् र एफएम रेडियोमा सक्रिय हुन थालिन्। पछि तराई टेलिभिजन (टिटिभी) मा उनले यात्रासम्बन्धी कार्यक्रमहरू बनाउन थालिन्।

यात्रासम्बन्धी कार्यक्रम उत्पादन गर्दा उनले क्यामेराका ट्राइपडहरू बोक्नुपर्थ्याे। त्यो देख्दा दूरदराजका मानिसहरू छोरी मान्छे भएर पनि यत्रो भारी बोकेको भनेर छक्क पर्थे। घाँस र दाउराका भारी बोक्न सक्ने महिलाले ट्राइपड बोक्नु कुन ठूलो कुरा होला र? तर पनि मान्छे आश्चर्यले हेर्थे।

सानैदेखि केटाहरूले पनि नआँट्ने काम उनलाई प्रयास गर्न मन लाग्थ्यो। एक त बुवाको हक्की स्वभाव, त्यसमाथि कठिन काममै उनको रुचि, यसले उनलाई अन्यको तुलनामा पृथक् सञ्चारकर्मी बनाइदियो।

आफ्नो पत्रकारिताको यात्रामा पर्यटनसम्बन्धी काम गर्न पाउनु उनी जीवनकै सबैभन्दा सुन्दर क्षण मान्छिन्। किनभने उनले त्यसै अवधिमा देश बुझ्ने अवसर पाइन्। नयाँ काम सिक्न पाइन्। नयाँ नयाँ अवसर उनलाई यही घुमाइले दियो।

१५ वर्षको यो घुमाइ र यसबाट आर्जित अनुभवले उनलाई देशकै चर्चित र विश्वासिलो फिल्म प्रोडक्सन हाउसमा परिणत गरेको छ। उनको कम्पनी शान्ता नेपाली प्रोडक्सनले संसारभरका कम्पनीसँग मिलेर फिचर फिल्म, डकुमेन्ट्री लगायतका प्रोडक्सनमा काम गर्ने गरेको छ।

उनले नेसनल जियोग्राफिक, डिस्कभरी लगायत संसारका कयौँ विदेशी टेलिभिजन च्यानलका लागि पर्यावरण, संस्कृति आदि विषयमा ‘लाइन प्रोड्युसर’का रुपमा काम गरेकी छन्।

नेपालकै कतिपय निर्देशकका लागि निर्माण गरिदिने वा सहनिर्माणमा भूमिका खेल्ने काम उनले गरिरहेकी छन्। यत्तिका वर्षको अनुभवले संसारका राम्रा फिल्म प्रोडक्सन कम्पनीहरूले उनलाई नै सम्झने गरेको छ।

नेपालमा गुपचुप काम गरिरहेकी भए पनि उनको चर्चा कति छ भने केही वर्षअघि हलिउडका प्रख्यात अभिनेता मोर्गन फ्रिम्यानसँग समेत काम गरिन्। एकताका फ्रिम्यानले नेपाली ढाका टोपी लगाएको तस्बिर निकै भाइरल भएको थियो। फ्रिम्यानले नेपालमै खिचेको डकुमेन्ट्रीको केही अंशका लागि लगाएको ढाकाटोपी भाइरल बनेको थियो।

यसबाहेक खुसखबर सुनाउन उनीसँग एउटा कथा छ। त्यो कथा के भने, हालै एउटा फिल्म ‘द सेमलेस’ले विदेशका विभिन्न चलचित्र महोत्सवमा चर्चा बटुल्न थालेको छ। यो फिल्मको कथा भारतीय कुनै क्षेत्रको भए पनि विषयको संवेदनशीलताका कारण फिल्म छायाँकनका लागि नेपाल छानिएको थियो। यसबाहेक पनि अन्य दुई डकुमेन्ट्रीहरू त विभिन्न महोत्सवमा पुरस्कृत समेत भएका छन्।

प्रतिभाशाली फिल्मकर्मीहरूको सानो समूह, अन्य देशको तुलनामा महँगो ठाउँ, बढ्दो प्रोडक्सन मूल्यका बाबजुद विदेशीहरू यहाँको कथा, यहाँका दृश्यहरू खिच्न आइरहेका हुन्छन्। उनको कम्पनीले ती कम्पनीलाई सहजीकरण गर्नेदेखि निर्माण सहयोगीको भूमिकासमेत खेलिरहेको हुन्छ। कतिसम्म भने उनले हलिउडका कयौँ कम्पनीसँग सहकार्यमा सानातिना कयौँ प्रोडक्सनहरू सम्हालेकी छन्।

मूलधारभन्दा अलग रहेर आफूलाई रुचि लागेका फिल्म, डकुमेन्ट्री उत्पादन तथा सहजीकरण गरेरै उनले नेपालमा पनि यत्तिको सक्षम जनशक्ति रहेछ भन्ने प्रभाव पार्न उनी सफल भएकी छन्। उनको जस्तो काम गर्ने कम्पनी नेपालमा निकै सीमित छन्, तीमध्ये उनी आफ्नो कम्पनी अब्बल बन्न पुगेकामा सन्तोष मान्छिन्।

त्यसो त उनले हातमा परेका सबै काम लिन्नन्। आफूलाई जँचेका विषय र फिल्महरू मात्र उनले निर्माणमा सघाउँछिन्। यसो गर्दा उनको प्राथमिकता पैसाभन्दा पनि सन्तुष्टि हुने गरेको छ। ‘म यत्रो वर्ष यस क्षेत्रमा टिक्नुका पछाडि सन्तुष्टि नै हो,’ शान्ता भन्छिन्, ‘नभए त म अर्कै पेसा छानिसक्थेँ होला!’

दलित परिवारबाट उठेर यो मुकाम फेला पार्नु शान्ताका लागि सजिलो पक्कै थिएन तर बुवाले दिनुभएको अनुशासनको आकारले उनलाई अप्ठेरो परिस्थितिसँग जुझ्न सजिलो बनाइदियो।

काम गरिसकेपछि इमान्दारीपूर्वक र प्रभावशाली तरिकाले गर्नुपर्छ भन्ने मान्यता राख्ने शान्ताले बनाएको ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रमले एउटा बहस छेडेको थियो। त्यति संवेदनशील विषयमा, त्यत्तिको प्रभावशाली टेलिभिजन कार्यक्रम अझै बन्न सकेका छैनन्। उनले निर्माण गरेका ती दुई सिजनको चर्चा अझै हुने गर्छन्।

यो यति प्रभावशाली शृंखला किन पनि भयो भने उनी स्वयं दलित परिवारबाट उठेकी थिइन् र कहाँ कहाँ समस्या छ भन्ने उनलाई थाहा छ। थाहा पाएको विषयमा पीडितवर्गबाटै कुरा उठ्दा यसको प्रभाव यति फराकिलो भएको उनको बुझाइ छ।

उनी भन्छिन्, ‘हेर्दा दलित र गैरदलितबीच उति धेरै समस्या छैन भन्ने लाग्छ तर भित्रभित्र यो ठूलो समस्या छ। अहिलेको २१ औँ शताब्दीमा पनि पुरातन सोचबाटै कसैमाथि विभेद हुनु लज्जास्पद कुरा हो। कम्तीमा अहिले यो छलफल हुन थालेको छ। पहिले त यति पनि हुन्थेन।’

शान्ता दलित तथा पिँधका जातिहरूका लागि फड्को मार्न ढिला भइरहेको बताउँछिन्। बिस्तारै विकास हुन्छ भन्ने उनी मान्दिनन् किनभने अहिलेको पुस्ता तुरुन्तै परिणाम चाहिएको छ। हिजोको दलन आज पनि भोग्न किन तयार हुनु? भन्ने उनको प्रश्न छ।

देशमा काम गर्ने वातावरण छैन भन्नेहरूका लागि उनले गरेका कामहरू ईष्र्यालाग्दा उदाहरणहरू बन्न पुगेका छन्। अझ त्यसमाथि एउटी महिला कार्यकारी प्रमुख भएको कम्पनीले छनोट गरेका प्रोजेक्ट, त्यसको सफल कार्यान्वयन र प्राप्त अन्तर्राष्ट्रिय ख्यातिले धेरै पुरुषहरूका लागि पनि उनी प्रेरक व्यक्तित्व बन्न पुगेकी छन्।

‘नेपालमा काम गर्न गाह्रो छ तर नेपालजस्तो अप्ठेरो देशमा काम गर्न सक्नेको भविष्य भने उज्यालो छ,’ उनी मुस्कुराउँदै भन्छिन्, ‘साना साना कुरामा पनि नेपालीले धेरै मिहिनेत गर्नुपर्छ। यसले समय भने धेरै लगाइदिन्छ। छोटो समयमै सकिने काम पनि लम्बिएको लम्बियै गर्छ।’

उनले एउटा अप्ठेरो उदाहरण सुनाइन्। सगरमाथा आधार शिविरमा एउटा दृश्य खिच्नुपर्ने थियो। नियमअनुसार, खिच्ने बेलामा एक जना लियाजो अफिसर पनि सुटिङ स्थलमा हुनुपर्छ।

आधार शिविरमा एक जना थप सदस्य हुँदा त्यसको खर्च यति बढ्यो कि शान्ताले दिएको बजेटभन्दा बढी हुन पुग्यो। यो खर्च उनको नजरमा अनावश्यक हो। यस्ता साना साना अप्ठेराहरूले बढाउने बजेटले देश सुटिङ हब बन्न नसक्ने उनको धारणा छ।

देशमा सरकार अलि बढी संवेदनशील हुने हो, यहाँ सुटिङ गर्न आउनेहरूलाई राम्रो वातावरण दिने हो भने नेपाल सुटिङ हबको रुपमा विकसित हुने सम्भावना भने उनी भरपूर देख्छिन्। यसका लागि नेपालको चलचित्र विकास बोर्डले सहजीकरण गर्नुपर्ने उनको बुझाइ छ।

कुनै फिल्म नेपालमा सुटिङ गर्न आउनु भनेको पैसा कमाउने बाटो मात्र होइन, विश्वस्तरको सीप सिक्ने अवसर पनि हो। त्यस्तो सीप नेपालको कुनै विद्यालयमा सिक्न पाइँदैन। केही वर्ष केही लाख वा करोड आम्दानीमा ध्यान दिनुभन्दा त्यसबाट सिक्न सकिने सीपमा जोड दिने हो भने करभन्दा बढी त्यो सीपबाट कमाइ हुनसक्छ भन्ने उनको बुझाइ छ।

सन् २०२३ को बेलायती संसद्ले देशमा फिल्म स्टुडियो विस्तारका लागि करोडौँ डलरको राहत प्याकेज, कर मिनाहाजस्ता विषयले महत्व पायो। नेपालमा भने कहिल्यै पनि यस्ता कुराले महत्व नपाएको उनले देखिरहेकी छन्। यसका बाबजुद एउटा स्वतन्त्र कम्पनीले विदेशी प्रोजेक्टहरू ल्याएर, समयमै काम सक्दा सन्तोष मान्नुपर्ने अवस्थामा भने उनी खुसी छैनन्।

उनी भन्छिन्, ‘मेरो निजी सफलताको कुनै अर्थ छैन, जबसम्म अर्को कुनै दलित या महिलाले काम गरने सहज अवसर पाउँदैनन्, एक जनाले पाएको सफलताको कुनै अर्थ छैन।’

त्यसैले पनि उनको कम्पनीले प्रायः दूरदराजका प्रतिभाशाली महिलाहरूलाई अवसर दिने काम गरिरहेको छ।

प्रकाशित: १६ वैशाख २०८१ १०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App