५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

रहेनन् ‘माइतीघर’ का अभिनेता सिपी लोहनी

पहिलो व्यवसायिक नेपाली फिल्म ‘माइतीघर’का अभिनेता सिपी (चिदाम्बरप्रसाद) लोहनीको ८६ वर्षको उमेरमा निधन भएको छ। निमोनिया भएपछि उनको सोमबार उपचारको क्रममा राजधानीको अन्नपूर्ण न्युरो अस्पतालमा निधन भएको जानकारी भतिज विकास लोहनीले दिए।

‘निमोनिया भएपछि गत साता उपचारार्थ आइसियु भर्ना हुनुभएको उहाँ ८६ वर्षको उमेरमा सोमबार निधन भएको छ,’ उनले भने, ‘स्वासप्रस्वासमा समस्या भयो भनेर उपचारका लागि अस्पताल पुग्नुभएको उहाँले स्वास्थ्य स्थिति जटिल हुँदै गएको थियो।’

अभिनेता लोहनी सात वर्षदेखि अल्जाइमर्स र पार्किन्सन्सको समस्याबाट ग्रसित थिए। सन् १९६६ (विसं. २०२३)मा रिलिज भएको पहिलो नेपाली फिल्म ‘माइतीघर’मा गीत गाउन पुगेका उनी अन्ततः सो फिल्ममा अभिनेताको रूप देखिएका थिए।

‘माइतीघर’ फिल्ममा फिल्मका लगानीकर्तामध्ये एक नर शमसेरका भान्जा पार्ने भानुकुमारले मुहूर्तका दिन अभिनय गर्न नसकेपछि नायकको प्रस्ताव गायक प्रेमध्वज प्रधानलाई राखिएको थियो। उनले नायक बन्न अस्वीकारेपछि अभिनेता लोहनी र सिन्हाको जोडीले अभिनय गरेका थिए। त्यसबेला भन्सारका जागिरे लोहनी गीत गाउन मुम्बई पुगेका थिए।

नेपालमा बनेको दोस्रो फिल्म ‘माइतीघर’ निजी क्षेत्रबाट बनेको पहिलो नेपाली फिल्मसमेत हो। निर्देशक बिएस थापा र नरशमशेर जबरा तथा जोगेन्द्र झाले अभिनेत्री माला सिन्हाको जोडीको रूपमा उनलाई फिल्ममा प्रस्तुत गरेका थिए। ‘माइतीघर’ फिल्ममा सहकार्य गरिसकेपछि लोहनी र अभिनेत्री सिन्हाले विवाह गरेका थिए।

माइतीघरको सुटिङ सकिएपछि आफू गम्भीर प्रेममा परेको भन्दै मालाले मुम्बईबाट चिठी लेखेकी थिइन्। लोहनी र सिन्हाको परिवारले यी दुईको विवाहको साक्षी तीन पटक हुनुपर्‍यो। नेपाली हिन्दू शैली, मालाको तर्फबाट क्रिश्चियन शैली र अर्को अदालती विवाह गरी यो जोडीले तीन पटक विवाह गरेका थिए।

लोहनीले ‘माइतीघर’मा झ्याउरे गीतका लागि ‘काला कुर्तैले’ गीत गाएका थिए। रेडियो नेपालमा गीतसमेत रेकर्ड गराएका उनले पछिल्लो पटक ‘पुनरागमन’ एल्बम सार्वजनिक गरेका थिए।

गीतसंगीतमा रुचि राख्ने भए पनि उनले सरकारी सेवाअन्तर्गत अर्थ र उद्योग मन्त्रालयमा समेत काम गरेका थिए। उद्योग मन्त्रालयमा रहँदा विराटनगर जुटमिल र रघुपति जुटमिलमा निर्देशकका रूपमा काम गरेका थिए।

यसबाहेक लोहनी टेबल टेनिसका अन्तर्राष्ट्रिय खेलाडीसमेत थिए। सन् १९६० मा मुम्बईमा आयोजना भएको एसियाली टेबल टेनिस प्रतियोगितामा उनी ६ सदस्यीय राष्ट्रिय टोलीको प्रमुख थिए। उनले सन् १९६१ मा चीनको राजधानी बेइजिङमा आयोजित विश्व टेबल टेनिस प्रतियोगितामा समेत सहभागिता जनाएका थिए।

पछिल्लो समय माला र उनकी एक मात्र छोरी प्रतिभाको वैवाहिक जीवनपछि हाल संयुक्त राज्य अमेरिकामा बसोबास गर्दै आएकी छिन्।

प्रकाशित: १८ वैशाख २०८१ ०९:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App