नेपाली आख्यानको माध्यमबाट नारी संवेदनाका विविध रूपको चर्चा गर्ने सिद्धहस्त कथाकार पद्मावती सिंहको ७६ औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले पद्मावतीको छाउनीस्थित निजी निवासमा कथाकारको कथनी श्रवण गरी मनाए।
उक्त अवसरमा कथाकार सिंहले आफ्नो सदाबहार कथा "सपनाको सहर काठमाडौं" रोचक पाराले वाचन गरेकी थिइन्। कथाकारको कथनीमा सिद्धहस्त कथाकार पद्मावती सिंहले आफ्ना बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको सुरुवाती संघर्ष, कथा प्रकाशनको खुसी, कथा लेखनमा सम्पादकहरूको सद्भभाव र पाठकहरूको मायाको फेहरिस्त सुनाएकी थिइन्।
कथाकार पद्मावती सिंहले प्रेमा शाह, उत्तम कुँवर र केशवराज पिंडालीले आफ्नो कथा यात्राको सुरुवाती समयमा गरेको सहयोगको चर्चा गर्दै गुञ्जनले नेपाली साहित्यमा पुर्याएको योगदानको पनि कथाकारको कथनीमा व्यक्त गरेकी थिइन्।
विसं २०२२ सालमा 'पत्थरको हृदय' कथा प्रकाशन गरेर कथा लेखन यात्रा आरम्भ गरेकी पद्मावती सिंहको २०३८ सालमा कथादि कथासंग्रह प्रकाशनमा आएको थियो। निरन्तर कथा लेखिरहने सिंहका आख्यानात्मक आठ कृति प्रकाशित छन्।
रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण पद्मावतीका दुई गीति एल्वम समेत नेपाली संगीतिक बजारमा भित्रिसकेका छन्। कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी गरेको छ।
कथाकार पद्मावती सिंहको वैशाख २६ गते मातातीर्थ औंसीको दिनमा परेको जन्मदिनबाट आरम्भ गरिएको यो पहिलो कदमका कथा यात्रीहरूमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुईंकेल र हरिश कल्पित रहेका छन्। यस कार्यले नेपाली कथालाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित: २८ वैशाख २०८१ १०:५९ शुक्रबार