चर्चित रेडियो प्रस्तोता हरिशरण लामिछाने र उपप्रधानमन्त्री रवि लामिछाने सहोदर दाजुभाइ हुन्। संयोगले यी दुवै दाजुभाइ शुक्रबार ‘सिंहदरबार’ बाट एकै दिन बाहिरिएका छन्। दाजु हरिशरण ३५ वर्षको सेवा अवधि पूरा गरी शुक्रबार सिंहदरबारस्थित रेडियो नेपालबाट बाहिरिए भने भाइ रवि लामिछाने सरकारले विश्वासको मत नपाउँदा आफ्नो कार्यकाल पूरा नहुँदै उपप्रधान तथा गृहमन्त्रीबाट बाहिरिए।
तीन दशक लामो अवधिमा मुलुकका थुप्रै उथलपुथल देखेका लामिछानेले आफ्ना भाइ उपप्रधानमन्त्री भएको समाचार समेत वाचन गर्न पाए। तर उनको एउटा रहर भने अधुरो नै रह्यो– ‘मुलुकको प्रधानमन्त्रीमा रवि लामिछाने नियुक्त हुनुभएको छ।’
‘बहुदलीय व्यवस्थाको घोषणादेखि लोकतन्त्र, गणतन्त्र सबै समाचार वाचन गरेँ,’ हरिशरण भन्छन्, ‘भाइ प्रधानमन्त्री भएको समाचार वाचन गर्ने रहर बाँकी नै रह्यो।’ धेरैले आफूलाई भाइको विरोधी भनेर आलोचना गर्ने गरेको बताउँदै गर्दा उनले भाइ त्यही फोहोरी खेलमा पर्ला भन्ने चिन्ता मात्र गरेको बताए।
‘भाइको प्रगति कुन दाजुले नचाहला,’ उनले भने, ‘मलाई मेरो भाइ परम्परागत फोहोरी खेलमा नपरोस् भन्ने चिन्ताले पोलेको मात्र हो।’
२०४६ सालबाट रेडियो सेवामा प्रवेश गरेका लामिछाने ५८ वर्ष उमेरका कारण अवकाश पाएका हुन्। बहुदलीय व्यवस्थाको घोषणादेखि लोकतन्त्र र गणतन्त्र प्राप्तिका समाचार वाचन गरेका लामिछानेले व्यवस्था परिवर्तन भए पनि नेताहरूको प्रवृत्ति भने उस्तै रहेको बताए। बहुदलीय व्यवस्था प्राप्तिको आन्दोलनमा सहभागिता जनाएका लामिछानेले नेताहरूले निराश बनाएको सुनाए।
‘देशमा परिवर्तन भएको समाचार उत्साहका साथ सुनाइन्थ्यो,’ उनले भने, ‘तर नेताहरूले त्यो उत्साहलाई निराशामा बदलिदिए।’
तीन दशकअघिदेखि रेडियोमा समाचार वाचन गर्दै आएका लामिछानेले त्यो बेला र अहिलेको क्षणमा निकै परिवर्तन आएको सुनाए। प्रविधिमा आमूल परिवर्तन आएको उल्लेख गर्दै उनले सँगसँगै विकृति पनि बढेको अनुभव गरेका छन्। ‘उति बेला वाचकमा शिष्टता, शालीनता र सभ्यता झल्कन्थ्यो,’ उनी भन्छन्, ‘अहिले चिच्याहट सुनिन थालेको छ।’
लामो समय समाचार वाचनका क्रममा थुप्रै अविस्मरणीय क्षण आएको उनले सुनाए। राजदरबार हत्याकाण्ड, मदन भण्डारीको दुर्घटना, महाभूकम्पजस्ता क्षणको समाचारको साक्षी भएको उनले सुनाए। माओवादी ‘जनयुद्ध’ देखि सत्तारोहणसम्मको समाचार वाचन गरेका लामिछानेले शुक्रबार माओवादी नेता पुष्पकमल दाहाल बाहिरिँदै गरेको समाचारसमेत भन्न भ्याए। ‘मैले राजनीतिका धेरै उतारचढाव सुन्ने सुनाउने अवसर पाएँ,’ उनी भन्छन्, ‘रेडियोले मलाई धेरै कुरा सिकायो।’
यिनैमध्ये पनि केही घटना भने निकै यादगार रहेको उनी बताउँछन्। ‘सबैभन्दा यादगार क्षण भूकम्पको बेलामा रह्यो,’ उनले भने, ‘सूचनाका अन्य माध्यमहरू ठप्प भएको बेला हामीले आशाको तरङ्ग जोगाएर राख्न सफल भयौं।’ दिनरात खटेर मुलुकभरका क्षति र उद्धारका घटना प्रसारण गर्न सकेकोमा जीवन सार्थक भएको महसुस उनलाई भयो।
‘सायद त्यही महाभूकम्पले रेडियोलाई पनि पुर्नजीवन दियो,’ उनले भने, ‘सबैले बिर्सिन लागको रेडियोले फेरि ताजगी पायो।’ रेडियोबाट बिदा भएको खबर उनले अन्तिम समाचार वाचनको भिडियोसहित सामाजिक सञ्जालबाट दिएका छन्।
‘यो रेडियो नेपाल हो, हरिशरण लामिछानेबाट समाचार पूरा भयो,’ समाचार वाचक लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बिहान ७ बजेको अन्तिम समाचार बुलेटिन। सबैमा धन्यवाद, आभार, नमस्कार !’
३५ वर्षको सेवावधि आजबाट पूरा गरी बिदा लिएको सविनय जानकारी गराउँदै उनले जान–अन्जानमा कुनै गल्ती भए श्रोतासँग माफी मागेका छन्। उनको आवाजका प्रशंसक सर्वसाधारणदेखि रेडियो टिभीमा समाचार वाचन गर्ने समेत रहेका छन्।
‘दाजुको आवाज सुनेर हुर्केको र प्रेरित भएको पुस्ता हौं। हजुरको आवाज सधैं कानमा गुन्जिरहन्छ,’ सञ्चारकर्मी पवन आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रेडियोबाट नभए पनि अन्य माध्यमबाट त्यो कर्णप्रिय आवाज सुन्न पाइरहूँ, शुभकामना छ दाजु आगामी दिनको !’
रेडियोमा कुनै बेला ओजिलो आवाज भएका समाचार वाचकवाचिकाको बाहुल्य हुन्थ्यो। तिनलाई वास्तविक जीवनमा नभेटे पनि स्वरकै आधारमा तिनका प्रशंसक बनेर रहन्थे। त्यस्तै एक अर्का पाठकले हरिशरणको आवाज मौलिक रहेको टिप्पणी गरेका छन्।
‘यो आवाज रेडियो नेपालको सिग्नेचर आवाज हो’, सामाजिक सञ्जालमा उत्तम भट्टराई लेख्छन्, ‘यो आवाज हाम्रो दैनिक जीवन झैं थियो। यो आवाजसँगै हामी हुर्कियौं। रिटायरलाइफ सुखद रहोस्, शुभकामना दाजु !’
उनलाई धेरैले फेरि सुन्न चाहेको पनि सुनाए। ‘हामी यो आवाजको निरन्तरता चाहन्छौं,’ सामाजिक सञ्जालमा नवराज रिजाल लेख्छन्, ‘आशा छ, फेरि यो प्यारो आवाज सुन्न पाइने छ।’
समाचार वाचक लामिछानेले रेडियो नेपालको जागिरबाट बिदा भए पनि सञ्चार माध्यममा कुनै न कुनै रूपमा रहने योजना रहेको बताए। ‘म कुनै न कुनै रूपमा देश र जनताका लागि आवाज उठाउने छु’, उनले भने, ‘त्यसका लागि मैले तयारी पनि गरिरहेको छु।’
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।
कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।
सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।
२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं। उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।
उदाहरण नम्बर दुई: नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।
नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्। उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।
यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार पिट्दै छन्।
उदाहरण नम्बर चार: झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।
२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।
सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। उदाहरण नम्बर पाँच: २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए। विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।
यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।
सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन। त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।
– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।