आशाको आभा उज्यालो जिन्दगी
१९ माघ २०८१
•
६ मिनेट पाठ
आशाको आभा उज्यालो जिन्दगी
मान्छेहरू भन्छन् मलाई, ‘तँ सोझो छस्।’ अझ मलाई मनदेखि माया गर्नेहरू भन्छन्, ‘तेरो सरल स्वभावका कारण तँलाई माया गर्ने भनिएकाहरूले नै उपयोग गरेका छन्। तैंले चालै पाइनस्।’




ती सबै कुरा सुनेर म फिस्स हाँसिदिन्छु। फेरि यसो गम खान्छु, हो कि जस्तो पनि लाग्छ। र मनमनै भन्छु -ठिकै छ त। कम्तीमा केही साथीभाइलाई मलाई प्रयोग गरेर फाइदा नै भएछ के भो त ! फेरि मलाई यति त थाहा छ, मान्छेहरू स्वभावैले स्वार्थी हुन्छन्। उनीहरू मनदेखि लुकेर, छिपेर अरूबाट फाइदा उठाउन चाहन्छन्। सन्मार्गमा कहाँ डोरिन्छ त कलियुगको मानव ? कहाँ परमार्थलाभमा लामबद्ध हुन्छ त आधुनिक मान्छे ? के गर्न हुन्छ अनि के हुँदैन, कुनै मतलब छैन आजको मान्छेलाई। केवल आफ्नो स्वार्थ सिद्ध गर्न पाए भयो।

यस्तै हो, आफू बाँचेको समाजसँग मेरो गहिरो नाता जोडिएको छ। त्यहाँदेखि पर जान पनि सक्दिनँ म। मेरो भूमिका पनि त समाजपरक हुने भयो। यति हुँदा पनि बुबाहरूको आदर्शभन्दा पर भाग्न सक्दिनँ। समाज भाँडमा जाओस्। ममा बुबाहरूको आदर्शको प्रबल थिचाइ अहिले पनि ज्यूँका त्यूँ छ। सायद यही मेरो कमजोरी छ र त फाइदा उठाउँछन्। म समाजोपयोगी भइदिन्छु के भो त ! यही समाजका कुनाकोप्चेरामा बसेर रमाउने यत्न गर्दिन्छु के भो त?

यस्तैमा रम्न सिकेको म। यसैले त जीवन सुन्दर लाग्छ आफैंलाई। अनि जिन्दगीको असली आस्वादान यसैमा छ। सुखदुःख, प्रेमघृणा, आँसुहाँसो, उकाली–ओराली छ र त जिन्दगीको मजा छ। कोही त होलान् नि मेरो जिन्दगीको आरिस गर्ने पनि। म दुई पाखुरा बजार्छु, मिठै खान्छु, राम्रै लगाउँछु। निर्वाह भएकै छ मेरो। मेरो जिन्दगीको किताब उस्तै खुला छ, लपनछपन केही छैन। लुकाउनुपर्ने कुरा भएन। जो कोहीले सहजै पढ्न सक्छ। म सजिलो पनि छु उत्तिकै।

मलाई थाहा छ, मलाई उपयोग गर्नेहरूले पनि एक दिन पछुताउनुपर्नेछ। कुप्रवृत्तिको जहिल्यै हार र सद्वृत्तिको जित त शाश्वत सत्य हो। हुन त ममा पनि कहिलेकाहीं उत्ताल तरंग आउँछन्। मनलाई अशान्त, हैरान र बेचैनी गराउँछन् तिनले। तर म लामो समय सोच्दिन्। सुखदुःख जीवनका दुई किनारा हुन्। यति थाहा छ। योभन्दा बढी जीवनका जटिलतालाई सूक्ष्मतापूर्वक घोत्लिएर सोच्दिन म। किनकि भावना र यथार्थ सर्वथा पृथक् छन्। जीवन भावनाले चल्दैन। यथार्थमा जिउनुपर्छ। काल्पनिकतामा जोड दिएर पो हुन्छ के ? क्षणिक आत्मसन्तुष्टि ! तर यसले लामो समय जीवन दुखाउँछ। जिन्दगीलाई गहिरो सोचाइमा गुम्साउनुको अर्थ जिन्दगीलाई सजाय दिनु हो भन्ने मेरो मनको ठहर छ। समकालीन समय र परिस्थिति बुझ्ने र चल्ने हो। तर पनि इमानमा खोट आउन र नैतिकता च्युत हुन भने दिन्नँ।

आखिर के छ र जिन्दगी ! उही आशाको आभा छरेपछि उज्यालो देखिन्छ। खुसीको चम्काइ पनि कम्ती चित्ताकर्षक हुँदैन, मात्र खुसी हुन जान्नुपर्‍यो। यसो भए अभावमा जिउँदा पनि सकस हुन्न। अभावमा जिन्दगी दुम्सीको काँडाजस्तो उमार्न किमार्थ हुन्न है। यति बुझे हुन्छ, जिन्दगी सिक्दासिक्दै सकिन्छ।

लुसुन त भन्थे-‘मर्नेहरूबाट बाँचेकाहरूले सिकेनन् भने उनीहरू पनि वास्तवमै मरेका नै हुन्।’

साँच्चै हो क्यारे! पछिल्ला दिनतिर फर्कें। हजुरबुबाले धेरै कुरा सिकाउनुभयो। मेरो भविष्यको चिन्ता गरेर जिन्दगीलाई नौला रङ दिन सिकाउनुभयो। आफूले भोगेका दुःखका भँगालाहरूमा छोरानाति नफसून्, सायद यही थियो उहाँको चाह। फेरि मलाईचाहिँ ससानो खुुसीले पनि बाँच्ने जिजीविषा पलाउँछ। खै किन हो कुन्नि ! रहर जागृत हुन्छ। नत्र जिन्दगीको यात्रा त सक्किगो नि। मलाई थाहा छैन, हुरीले पहाड कहाँ छेकेको छ ! कहिलेकाहीं अवरोध आउलान् तर दीर्घकालीन हुन्न नि।

त्यसैले म त भन्छु, जीवनको यो घेरालाई सत्चरित्रले सजाऔं, यथार्थवादी जीवनदृष्टि बनाऔं। गलत प्रवृत्तिका हाँकसँग सामना गरौं। अस्तव्यस्तताबाट अलिक माथि उठौं। आत्मसम्मान बढ्ने गरी बाँचौं। सबै परिवेशको सूक्ष्म निरीक्षण गरौं। अनुभूतिहरू दमित हुन नदिऔं। स्वयंलाई हीन, कमजोर र अयोग्य ठानेर जिउँदा जिन्दगीको अर्थ रहन्न।

मनोवैज्ञानिक केरेन हार्नीले भनेजस्तो मानवीय मनोदशाका विविध रूपको स्थितिमा विश्लेषण गरी जिन्दगी सुखद हुने तरिका खोजौं। यो त तपाईंहामीभित्र नै छ। यसमा मानसिक दुविधा पाल्नु जरुरी छैन। माया जोगाएर जिन्दगी जिउँदाको मजै बेग्लै नि।

जीवन मायावी हुन्छ, निस्सार होइन। निस्सार देखियो भने त जीवन हामीबाट पलायन हुन्छ। त्यसैले निरिह नबनौं। हाम्रा संस्कार, संस्कृति, नैतिक मूल्यमान्यतासहित अगाडि बढौं। अरू कुरातिर ध्यान र रुचि नराखौं। यसैमा जिन्दगी जिउनुको सार्थकता बाँचेको हुन्छ। तर जिजीविषा पाल्नुपर्छ, उत्साह र उमंगको बत्ती बाल्नुपर्छ। उज्यालो छाउँछ जीवनमा। भावनामा मात्र बगेर के काम ? यथार्थमा जिउनपर्छ जिन्दगी।

सुखका बत्तीहरू बाल्ने यत्न गर्नुपर्छ। प्रयास जारी राख्नुपर्छ, जतिन्जेल सार्थकता मिल्दैन। हजारौं दुःखका फसलहरू निचोरेर सन्तुष्टिको अमृतरस बटुल्न सके जिन्दगीको मजा आउँछ। अभावको घेरा तोडेर निस्कने प्रयासले जिन्दगी सुखद हुन्छ।

मानिसले जीवनसँग हार्नु हुँदैन जस्तो लाग्छ। हारेपछि त जीवनको इहलिला सक्किगो नि। बरु जतिन्जेल सकिन्छ जुधूँ, जिन्दगीका अप्ठ्यारा खोचहरूसँग। अनि जुधूँ, साँघुरा तर जब्बरे असामाजिक भावहरूसँग। सहज र सुखप्राप्तिका अनेक भावहरू मनमा तरंगित हुन्छन्। जीवनलाई फन्को मार्छन् तिनले। अनि सपाट भाव छर्छन्।

भन्छन्, तँ आँट म पुर्‍याउँला, के भो त। आखिर जीवन अँगाल्नु नै छ जसरी तसरी पनि। फेरि मन भन्छ दुःख र सुख स्वाभाविक छ। यी दुवै समपूरक र परिपूरक पनि हुन जिन्दगीका। म सहमत हुन सकिरहेको छैन किनकि मलाई यावत सुख चाहिएको छ। दुःखको भारी बोक्ने कहाँ फुर्सद छ र मलाई। सुखका धापहरूमा गाडिनुको मजा छोडेर को फसोस् दुःखमा? तर भनेर मात्र नहुने, भावना मात्रले पनि केही नहुने।

सुखका गुराँस र बुकी अनि हाँसिरहेको गुलाफ फुलाउने रहर कहिलेकाहीं विवशताको जब्बरे कन्टेनरमा घेराबन्दीमा पर्छ र ओइलाउँछ। असरल्ल पर्छ जिन्दगी र दुःखका पहाड चढ्न विवश बन्छ, पसिनाको बुँदको सुगन्ध बगाउँदै पिठ्युँमा आशावादिताको गहु्रंगो भारी बोकेर।

कृतज्ञता जाहेर गर्छ जिन्दगी आफ्नाहरूको खोइरोप्रति। हामीमा आरिस भाव कति साह्रो धेरै हो? फलानो त यस्तो भएछ। अब हामीलाई के गन्थ्यो? के टेथ्र्यो ? हामी सबैको छातीमा अङ्कित नेपाली स्वभाव हो यो। यस्तै के के सम्झन्छु अनि फेरि बोझिलो लाग्छ जिन्दगी। सुखद जिन्दगीको कल्पना फगत कल्पना मात्र होला जस्तो। असफलताले आफूलाई घेरिएको पाउँछु। प्रश्न गर्छ मन आफैंसँग।

अभाव, रोग, बिछोड, गरिबी, मृत्यु र अर्थी, यस्ता शब्द किन लेखिए होलान्? किन शब्दकोशमा संकलित भए होलान्? मृत्यु नभएको भए आहा ! फेरि कुरा खेल्छ मृत्यु अनिवार्य सर्त हो र त जिन्दगीको महत्त्व छ। नत्र त के अर्थ जिन्दगीको ! मन मुसुक्क मुस्कुराउँछ। यही हो शाश्वत सत्य मृत्यु। तब त भाव पनि नियन्त्रित हुन्छ मेरो मनको। बाँकी जिन्दगीलाई तापिलो र रापिलो बनाउन अझै बढी सुखमय हुन आशावादिताको एक झोक्का आउँदा शरीरले खिचोस्। अनि सन्तुष्टिको धुनी तापेर बसूँ।

मनको आँगनमा उत्साहको भाव जगाऊँ। गोहीको आँसु बित्थामा होस्, उ पर क्षितिजमा आशावादिताको घाम उदाएको छ। मनको आँखा पनि खोलिएको छ। हृदयमा ढकमक्क गुराँस र बुकी फुलेको छ। आनन्दै आनन्दका प्रतिध्वनिहरूले मनको कुनामा संगीत गुन्जिएको छ। अन्त्यमा, अनुभूतिका उत्ताल तरंगमा रंगिएका मनका भावहरू आशावादी भएर झोलुङ्गोमा झुन्डिँदै झुन्डिँदै सकिन्छ जीवन, पत्तै नपाई।  
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
२ घण्टा अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४१ सेकेन्ड अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
यो पनि पढौँ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस