देउमाको कथा
२७ वैशाख २०८२
•
५ मिनेट पाठ
देउमाको कथा
शीर्षकमै कथा शब्द जोडिएको भए पनि यो कथा होइन। भन्दा–सुन्दा कथाजस्तो हुने भएकाले मात्रै यसलाई कथा नामकरण गरिएको हो।




साढे चार दशकअघिको स्मृति अचानक मेरो मस्तिष्कलाई घचघच्याउन आइपुगेको छ। काठमाडौंको तत्कालीन रत्नपार्कबाट भोटाहिटीतर्फ जाँदा साझा भण्डार बायाँ पारेर पसिने पहिलो गल्ली। साँच्चिकै गल्ली नै भन्न लायकको थियो त्यो। ठाडो पारेर पुराना इँटा ओछ्याइएको त्यो गल्ली त्यति साँघुरो नभए पनि त्यसका दुवै किनारामा फुटपाथे व्यापारीले पसल फिँजाइएका हुन्थे। त्यही गल्लीबाट साझाको भवन पार गर्नेबित्तिकैको पहिलो घर हाम्रो डेराघर थियो।

उतिखेरै घरघनत्व निकै घना भएको भए पनि हाम्रो कोठाबाट आकाश देख्न सजिलै सकिन्थ्यो। किनकि, सामुन्नेको साझाको भवन होचो एकतले थियो। यसैकारण घाम पनि १२–१ बजेदेखि मजैले लाग्थ्यो।

वास्तवमा पुस–माघमा त्यो घाम यति प्रिय हुन्थ्यो कि बिहान सिरकमा गुटमुटिएको अल्छीलाग्दो शरीरमा घामको अनुहार देख्नासाथ स्फूर्ति भरिन्थ्यो। र, जब घामको स्पर्श पाइन्थ्यो, त्यसको आनन्दानुभूति कतिसम्म हुन्थ्यो भने लागिसकेको भोक पनि हराएर जान्थ्यो। आज त्यो जाडो कहाँ ? त्यो प्रिय घाम कहाँ?

तर, त्यो घाम सम्झँदा त्यो समयसँगै जोडिएको एउटा स्मृतिले आज पनि म आफैंसँग जवाफ खोजिरहन्छ।

त्यो समयमा आजको जस्तो बग्रेल्ती प्राइभेट अस्पतालहरू थिएनन्। वीर अस्पताल नजिकै थियो। सानोतिनो मात्रै होइन, कुनै ठुलै किसिमको पीडादायक बिमारी परियो भने पनि वीर अस्पताल नै नजिक भएका कारणले परीक्षण गर्न, उपचार गर्नका लागि जाने अस्पताल त्यही नै हुन्थ्यो। यसै क्रममा आफ्नो रोगको औषधोपचार गर्नका लागि पाल्पा निवासी एक जना दिदीको परिवारसँग हाम्रो सम्बन्ध हुन पुग्यो।

विडम्बना ! दिदीको रोगको परीक्षणबाट त्यसको जरो पत्तो लाग्न सकेन। जसका कारण कुनै पनि औषधीले उहाँको रोगको निराकरण हुन सकेन। अन्ततः बाध्य भएर चिकित्सकहरूले उहाँलाई घर फर्काउने सल्लाह परिवारलाई दिए। निराश भएर अस्पतालबाट दिदीलाई ‘डिस्टार्ज’ गरियो। मलाई याद भएन, उहाँहरूको डेरा सम्भवतः केही टाढा थियो। त्यसैले, सजिलोका लागि डिस्टार्ज गरिएपछि लगत्तै भोटाहिटीस्थित हाम्रो डेरामा उहाँलाई ल्याइयो।

म सम्झन्छु उहाँको अनुहार। आकर्षणविहीन गम्भीर मुद्रा, शरीर अत्यन्त पातलो, आवाज सानो–मिहिन।

त्यसपछिका दिनमा पनि उहाँ हाम्रोमा आउने–जाने क्रमले निरन्तरता पाउन लाग्यो। गजब के थियो भने त्यसबिच उहाँको मुहारका कुनै किसिमको भिन्नता देखिनँ मैले, एकरूपता थियो। मूलभूत एउटा फरक भने प्रस्ट देखिन्थ्यो, कोठामा बसिरहेको अवस्थामा बिस्तारै उहाँ आँखा बन्द गर्दै मट्ठी बाँध्नुहुन्थ्यो, दाँत बाँध्नुहुन्थ्यो र छटपटिनुहुन्थ्यो। त्यसकारण वरिपरि बसिरहेकाहरूले उहाँलाई बिस्तारै ओछ्यानमा सुताइदिने कोसिस गर्थे। लम्पसार परिरहेको अवस्थामा उहाँ आफ्नो शरीरमाथि यति बल लगाउनुहुन्थ्यो कि उहाँलाई समाल्नै गाह्रो हुन्थ्यो। तीन–चार जनाले भएभरको बल प्रयोग गरेर उहाँका हातखुट्टामा दबाब दिएपछि उहाँ बिस्तारै आफ्नो शरीरलाई छोड्दै शिथिल बन्नुहुन्थ्यो। अन्ततः दुई–तीन घन्टा बेहोसप्रायः बन्नुहुन्थ्यो। जब होसमा आएर आँखा खोल्नुहुन्थ्यो, फेरि ‘नर्मल’ ! यही घटनाबारे उहाँलाई हामी सोध्थ्यौं– ‘के भयो तपाईंलाई?’ उहाँ सहजतापूर्वक भन्नुहुन्थ्यो– ‘मलाई केही थाहै छैन त !’

यस्तो लाग्थ्यो, मानौं केही छिनअघिकी दिदी र अहिलेकी दिदी फरक व्यक्ति हुन्।

प्रायः यो क्रम चलिरहेको देख्थेँ म। उहाँको त्यो क्रिया हामीलाई साधारण लाग्न थालिसकेको थियो। एक दिन हामीबीच एउटा कार्यक्रम बन्यो– पिकनिक जाने। पिकनिक–स्पट रोजियो– दक्षिणकाली। मलाई याद रहेसम्म हामी १०–१२ जना त्यसमा सहभागी थियौं। पिकनिक मनाउन खानाको व्यवस्था घरबाटै गरिएको थियो– तयारी रूपमा। त्यतिबेला सायद हामी दक्षिणकाली मन्दिरमा दर्शनार्थ गएपछि अलिक माथि उकालो चढ्यौं। त्यहाँ, माथि अर्को एउटा मन्दिर थियो। त्यसलाई ‘दक्षिणकालीकी आमा’ भनिएको थियो।

केहीबेरको विश्राम र घुमफिरपश्चात् हामीले साथै लगेको खानापिना खाने तरखर गर्न लाग्यौं। तर, यही क्रममा दिदीको शरीरले अचानक त्यही पुरानै लक्षणको सङ्केत गर्‍यो। सिलसिला दोहोरियो, उहाँको छटपटिएको शरीर केही क्षणमै शिथिल भयो र उसरी नै बेहोसप्रायः बन्नुभयो। हामी बडो असमञ्जस स्थितिमा पुग्यौं। अब खाना के गर्ने? आपसी सल्लाहअनुसार दिदीलाई होस आएपछि सबैले एकैचोटि खाना खाने निधो भयो। तर, दिदीको होस आउने कतिखेर? हामी विश्वस्त त थिँदै थियौं– दिदीको होस पक्कै फर्किन्छ तर कतिखेर?

निकैबेरको प्रतीक्षापछि मात्रै दिदीको होस आयो। सबैलाई भोक लागिसकेको हुनाले अब खाना खाने तरखर गर्न लागियो। मलाई लाग्छ, खाना राख्नका लागि हामीले थालका रूपमा अखबार लगेका थियौं। त्यो बेला कागजको प्लेट नेपाली बजारमा आइसकेको थिएन, अखबारलाई उपयोग गरिने प्रचलन थियो।

जब दिदीलाई– ‘खाना खानुस्’ भनियो, उहाँले जवाफ दिनुभयो– ‘खाना 

खान्न म।’

भर्खरै बेहोसीबाट उठ्नुभएकी दिदीको कुरा सुनेर उहाँ अझै बेहोसीमै हुनुहुन्छ कि भन्ने लाग्यो। तैपनि बारम्बार आग्रह गरिरह्यौं। अन्ततः उहाँले जुन वाक्य बोल्नुभो, सुनेर हामी आश्चर्यचकित भयौं, भन्नुभयो– ‘मैले खाइसकेँ।’

‘कहिले?’ हामी सबैको मुखबाट एक्कासि निस्कियो।

‘आमाकोमै खाइसकेँ मैले।’

उहाँले भन्नुभएकी आमा, हामी जुन मन्दिरको परिसरमा त्यतिखेर थियौं, माथि भनिसकियो– त्यो दक्षिणकालीकी आमाको मन्दिर थियो।

मेरो मनले सुल्झाउन नसकेको त्यो घटना सम्झँदा आज पनि स्वयंमा त्यही प्रश्नले घेरिन्छु– रित्तो पेट, घण्टौंसम्म बेहोस दिदीलाई होसमा आउँदा पेट भरिदिइसक्ने त्यो कुन शक्ति थियो?

०००

आजको यो भौतिक–कम्प्युटरको दुनियामा त्यस्तो अस्तित्वविहीन शक्तिको चर्चा गर्दा काल्पनिक कथाझैं बुझ्नुपर्ने अवस्था छ। तर, भोगिएका/देखिएका घटना अनगिन्ती छन्। सम्भवतः यिनको रहस्यलाई सुल्झाउन सक्ने कोही विज्ञ छैनन्। अन्यथा, दिदीको कुन त्यस्तो रोग थियो कि आजको चिकित्सा–प्रणाली त्यसलाई खुट्याउन सय प्रतिशत असफल हुन पुग्यो?

सुन्नेहरूलाई आश्चर्य लाग्छ, उहाँभित्रको त्यो रोग वास्तवमा एउटा महान् शक्ति थियो भन्ने लाग्छ मलाई। यदि त्यो शक्ति नहुँदो हो त डाक्टरले उतिबेला– ‘यो रोगको उपचार छैन, घर लैजानुस्’ भन्ने वाक्यभित्र लुकेको दोस्रो अर्थ– ‘अब उनी केही दिन मात्रै बाँच्छिन्’ पूर्णतयाः कसरी गलत साबित हुन्थ्यो?

देख्दादेख्दै, शास्त्रहरूमा लेखिएका अदृश्य शक्ति निहित उहाँ ईश्वरीय शक्ति बोकेको ‘देउमा’ बन्नुभयो। अचम्म लाग्छ, त्यो मितिबाट गनेरै उहाँ ४५ वर्षभन्दा बढी समय अरू बिरामीहरूको सेवा गरेर बाँच्नुभयो। मनोविज्ञानकै आधारमा सही अथवा अन्धविश्वास नै सही, धेरैै सकसपूर्ण रोगले जीवन व्यतीत गरिरहेकाहरूलाई उहाँले आफ्नो तरिकाले उन्मुक्ति दिनुभयो। होला, देउमाबाट हुने झारफुकजस्ता विधिलाई आजको जमानामा पाखण्ड, जादुलगायतको नामकरण गर्न सकिएला। तर, उहाँभित्र रोग छ, जसको उपचार छैन भनेर मानेका चिकित्सकहरूको मान्यतालाई उहाँले त्यत्रो आयु बाँचेर सहज जीवनयापन कसरी गर्न सक्नुभयो ? आजको विज्ञानसँग यो प्रश्नको सिधा जवाफ होला ?
अर्को समाचार
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
२९ मिनेट अघि
•
१ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
काठमाडाैं, नेपाली लोकसंस्कृतिका अनुसन्धाता तथा प्रजातन्त्रका सेनानी स्व. कालीभक्त पन्तले नेपाली संस्कृति, गीतसंगीतलगायत तत्कालीन नेपाली समाजका विविध विषय तथा क्षेत्रको खोज, अनुसन्धान मात्र गर्नुभएन, नयाँ पुस्तालाई त्यसको अभिलेखसमेत तयार गरिदिनुभयो। त्यसकै आधारमा अहिलेको पुस्ताले त्यो बेलाको नेपालको इतिहास थाहा पाएको छ। उहाँको अर्को परिचय भनेको गीतकार, लोकगीत संकलक तथा गायकको पनि हो। उहाँले लेखेको लोकगीत रेडियो नेपालबाट प्रसारण भइरहेका छन्। ‘क्या यस्तो चाल पर्‍यो, मायासित बोल्दैमा गाल पर्‍यो’ तीमध्ये एक हो। प्राध्यापक पार्थिवेश्वरप्रसाद तिमिल्सिनाका अनुसार पन्तको गायनको क्षेत्रमा प्रवेश गर्नुको उद्देश्य गायक बनी नाम कमाउने थिएन। उहाँले नेपाली समाज अशिक्षित भएकाले समाजमा लोकगीतमार्फत जागरण ल्याउन पुस्तक–पुस्तिका, पम्प्लेट आदिको माध्यमबाट मात्र सम्भव नहुने हुँदा गाउँलेहरूलाई बुझाउने लोकगीतहरू रचेर अनेकौं सांस्कृतिक कार्यक्रमहरू गर्नुहुन्थ्यो। उहाँलाई जनतामा कसरी राजनीतिक, सामाजिक चेतना बढाउने भन्ने तरिकाको ज्ञान थियो।




यसरी गाउँलेहरूमा राजनीतिक चेतनाको अभिवृद्धि गर्न उहाँले सांस्कृतिक टोलीहरूको गठन पनि गर्नुभएको थियो। सो समयमा पन्तले ब्यान्जोको आकारको ‘कालीबाजा’को निर्माण पनि गर्नुभएको थियो। यो पनि अब एउटा इतिहास बनिसकेको छ। पर्वत तथा बागलुङमा हुने चैते–दसैंजस्ता मेलामा पन्तले महिला जागरणको मात्र नभई कन्या बेच्ने बाबुआमाविरोधी गीत पनि गाउनुभएको थियो। उदाहरणका लागि ‘छोरी बेचा हे बाहुन बाजे/अझै तँलाई लाग्दैन सरम’, ‘बिहा मलाई गर्ने हो भने/ल्याउनु होला कत्तुवा, चर्खा, तान’ उहाँले समाजका छुवाछुतलगायतका रूढिवादी परम्पराको अन्त्य तथा महिला र जनजातिको उत्थान गर्ने उद्देश्य राखेर विविध चेतनामूलक कार्य गर्नुभएको थियो।

२००७ सालको राजनीतिक परिवर्तनको आन्दोलनका बेला पश्चिम ४ नम्बरको कमान्डरको जिम्मेवारी पाउनुभएका पन्तले क्रान्तिका नेताका रूपमा पर्वत कुस्मा र बागलुङको मुक्तिसेना सञ्चालन गर्नुभएको थियो। त्यस्तै, पन्तले सो क्षेत्र कब्जा गरी सर्वश्री ओमप्रसाद गौचनको नेतृत्वको प्रान्तीय सरकारमा उपप्रधानमन्त्री भई काम गर्नुभएको थियो। यस समयमा पन्तले सूचना विभाग हेर्नुपथ्र्यो। २०१७ सालको पञ्चायती व्यवस्थाविरुद्धसमेत लड्नुभएको थियो। सो क्रममा उहाँले भूमिगत तथा जेलजीवनसमेत बिताउनुपरेको थियो। २०१९ सालदेखि राजनीतिबाट टाढिनुभएका पन्त त्यसपछि पूर्ण रूपमा लेखनमा लाग्नुभएको थियो।

इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। सो क्रममा पन्त भारत (सिक्किम, दार्जिलिङ, कुमाउँ–गढवाल, आसाम, हिमाञ्चल प्रदेश), चीन, भुटान, पाकिस्तान, श्रीलंका तथा बेलायतमा पुग्नुभएको थियो। म्याट्रिक पास गर्नुभएका पन्तलाई नेपालीबाहेक संस्कृत, हिन्दी, उर्दू, अंग्रेजी भाषाको समेत ज्ञान थियो।

उहाँको जन्म १९६४ साल भदौ ६ गते पर्वत जिल्लाको लिमिठानामा भएको थियो। पिता नरेन्द्र पन्त, माता निलकुमारी पन्तका कान्छा छोरा कालीभक्त २००९ सालदेखि भने पर्वतको फलेवासमा बस्दै आउनुभएको थियो। १७ वर्षको उमेरमा कालीभक्तको कृष्णा पन्तसँग विवाह भएको थियो। उहाँहरूका तीन छोरी र ६ छोरा भए। साहित्यकार देवीप्रसाद वनवासीका अनुसार पन्तको जन्मथलो तत्कालीन धौलागिरी अञ्चल, पर्वत जिल्लामा परे पनि उनी प. ४ नं. स्याङ्जा हो। ‘साइलादाइ कहाँ गयो’ भनेर दोहोरी गाउने मसानेका समकालीन पाथे भाइ हुन्। 
कालीभक्त पन्तका ‘पश्चिम ४ नम्बर (नेपाल) को इतिहास’ (२००९), ‘किसान गीता’ (२०१२), ‘हाम्रो राष्ट्रिय कर्तव्य दर्शन’ (२०२७), ‘हाम्रो सांस्कृतिक इतिहास’ (२०२८), ‘गीत सुधारको राष्ट्रिय बाटो’ (२०३३), ‘छुतभेद र कर्तव्य’ (२०३८), ‘शुम्भबध’ (नाटक, निधनपश्चात् २०५० मा प्रकाशित) लगायतका कृति प्रकाशित छन्। यसबाहेक पन्तका विभिन्न विषयका लेखहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका देखिन्छन्।

विशेषगरी ‘हाम्रो सांस्कृतिक इतिहास’मा पन्तले राष्ट्रिय संस्कृति र यसको आवश्यकताको विषयबाट सुरु गरी राष्ट्रियता, हाम्रा गीत, भाषा आदिको प्रारम्भिक स्थिति, नेपालमा झ्याउरे गीतको बीजरोपण, हाम्रा देशका गीतहरूको बनावटको सिलसिला, गीतको आइनो गर्दा भाषा र लिपि, हाम्रा राष्ट्रिय ध्वनिको दिग्दर्शन र विश्वका गीतका ध्वनिहरू, हाम्रा गीतका बीजरोपक र परिवर्तनकर्ता, हाम्रा गीतका छन्दहरू, लोकगीत र तीबाहेकका गीत–बाजा, हाम्रा गीत–बाजाका भेद, गीतको संक्षिप्त महिमा, दार्जिलिङ–सिक्किम–भुटानका गोर्खालीका र हाम्रा गीतमा एकरूपता, हाम्रा देशमा शास्त्रीय संगीतलगायतका विषयमा केन्द्रित रहेर नेपालको समग्र सांस्कृतिक इतिहासलाई खोजी अभिलेख गर्ने काम गर्नुभएको छ।

दिवंगत संस्कृतिविद् वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पन्तको यसै कृति अध्ययन गरेर आफूलाई उहाँप्रति निकै श्रद्धा लागेको बताउनुभएको थियो। उहाँले पन्तलाई लोकसंस्कृतिको अगुवा बताउँदै सो समयमा लोकगीत, परम्परा र संस्कृतिका सम्बन्धमा कलम चलाई योगदान पुर्‍याउनु अतुलनीय रहेको बताउनुभएको थियो। भाषा तथा लोकसंस्कृतिविद् प्रा.डा. चूडामणि बन्धुका अनुसार पन्तले ‘हाम्रो सांस्कृतिक इतिहास’मा लोकगीत र लोकनृत्यलाई राष्ट्रिय संस्कृतिका महत्त्वपूर्ण अंगका रूपमा विवेचना गर्नुभएको छ। उहाँका अनुसार यस कृतिमा धेरै कुरा पहिलोपटक प्रस्तुत गरिएका छन् र नेपाली भाषा र लोकगीतमा अनुसन्धान गर्नेहरूका लागि यी तथ्य र विश्लेषण स्रोतका रूपमा रहेका छन्।

बालबालिका, किशोरकिशोरी र युवायुवतीलाई सहगान, सहनृत्य र सहकार्यमा अनिवार्य रूपले सहभागी बनाएर उपयोगी शिक्षा दिन सकिन्छ भन्ने उहाँको महत्त्वपूर्ण मान्यता पनि यस कृतिमा चर्चित छ। ‘गीत सुधारको राष्ट्रिय बाटो’ पुस्तक पन्तले नेपालीले आफ्नै सांस्कृतिक पद्धतिअनुसार गीत सुधार गरी अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सकून् भन्ने उद्देश्यले तयार गर्नुभएको थियो। जसमा उहाँले गायन र नृत्यकलाको प्रारम्भ, नाच्ने–गाउने भावना र गला–कला, छन्दसाहित्य (तीजे, लहरी, झ्याउरे, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी आदि), हाम्रा पुर्खाकालीन सांगीतिक शाब्दिक सरजाम, गीतको संक्षिप्त महिमा, बहादुर सिंह बराल र नेपाली गीतका बनावटको इतिहास, आफ्नोपना र त्यसको पूर्ति, गीतका संज्ञा, परिभाषा र शब्दकोश, संगीत शब्द र भ्रम, हाम्रा गीत साहित्यले बदल्दै आएको ऐतिहासिक मोड, गीत रेकर्ड गर्नुभन्दा पहिले, केही फुटकर कुरा र गुनासाहरूलगायतका शीर्षकमा रहेर नेपाली गीतसंगीतका विविध विषय तथा पक्षको चर्चा गर्नुभएको छ।

संस्कृतिविद् तुलसी दिवस पन्तका ‘हाम्रो सांस्कृतिक इतिहास’ र ‘गीत सुधारको राष्ट्रिय बाटो’ पढेपछि उहाँबाट निकै प्रभावित हुनुभएको थियो। उहाँका अनुसार ‘नेपालको मेची–महाकालीलगायत पूर्वदार्जिलिङ, सिक्किमदेखि पश्चिम कुमाउँ–गढवालसम्म आफैं घुमेर लोकगीत, साहित्य र संस्कृतिको तथ्य संकलन र अन्वेषण गर्नु त्यो समयमा चानचुने कुरा थिएन, त्यो पनि आफ्नै खर्चले।’

यस्तै पन्तले लेखेका तथा संकलन गरेका थुप्रै रचना तथा कृतिहरू अझै अप्रकाशित देखिन्छन्। तिनलाई संकलन तथा सम्पादन गरी प्रकाशन गर्नु आवश्यक देखिन्छ।

उहाँको निधन भने २०४८ फागुन ६ गते भएको थियो। कालीभक्तको निधन हुनुभन्दा २२ वर्षअघि अर्थात् २०२६ माघ ११ गते नै धर्मपत्नी कृष्णा पन्तको ६० वर्षको उमेरमा निधन भइसकेको थियो। उहाँहरूको स्मृतिमा २०७४ वैशाख १ गतेदेखि कालीभक्त कृष्णा पन्त प्रतिष्ठान स्थापना गरिएको थियो। प्रतिष्ठानले ‘स्रष्टा कालीभक्त पन्त अन्तर्राष्ट्रिय लोक–साहित्य पुरस्कार’सँगै विभिन्न सामाजिक, शैक्षिक, खेलकुद, मानवीय सहयोग तथा सांस्कृतिक गतिविधि पनि गर्दै आएको छ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस