‘रोयल चारघरे’ को कथामा मेरो आँखा
१५ जेष्ठ २०८२
•
११ मिनेट पाठ
‘रोयल चारघरे’ को कथामा मेरो आँखा
‘चारघरे’यो नाम उच्चारण गर्दा नै मनका कुनाकाप्चामा गएकादेखि आएका चित्रहरू बिस्तारै एकपछि अर्को गर्दै खुल्दै जान्छन्। गाउँको धुलो, आमाको चुल्हो, बाबुको रुखो अनुहार अनि ससाना रहरहरू, जसलाई जीवनले बटार्दै सहरको झिलिमिलीमा हराउने कोसिस गरेको छ। राजकुमार श्रेष्ठको ‘रोयल चारघरे’ पढ्दै जाँदा लाग्छ - यो मेरो पनि कथा हो। म पनि यिनै साँघुरा गल्ली, यिनै समाजका लाचारी र सपना बोकेर हिँडेको छु। यो उपन्यासले मलाई मेरो विगतसँग भेट गरायो, ती बिर्सिएर गएको पीडा, संघर्ष र प्रेमको कथा फेरि सम्झायो। यो कुनै काल्पनिक कथा होइन- यो त मनको गहिराइमा कुँदिएको एउटा जीवनचित्र हो, जसमा हाम्रै अनुहार झल्किन्छ, हाम्रै आवाज गुञ्जिन्छ। यथार्थका तिक्तता र संवेदनाका मिठास समेट्दै आएको यस कृतिले पाठकको आत्मामा हलचल पैदा गरिदिन्छ। ‘रोयल चारघरे’ केवल एउटा उपन्यास होइन, यो त हामी सबैको साझा डायरी हो- कहिल्यै लेखिएको नजस्तो लाग्ने, तर सधैं भोगिएको।




जीवनका प्रारम्भिक स्पन्दनहरू जहाँदेखि गुन्जिन थाल्छन्, त्यहीँबाट सुरु हुन्छ ‘रोयल चारघरे’ को कथा। म पनि बाल्यकालका ती ससाना पाइला सम्झन्छु- पत्थरिलो भिर, आमाको काख, बाबुको काँध, र कहिले नमेटिने सिङ्गारिएको पहाडको अनुहार। लेखक राजकुमार श्रेष्ठले आफ्नै जीवनका ती अधुरो बाँसुरी जस्ता स्वरहरू समेटेका छन्, जसमा गाउँको हरेक बाटो, गरो, कान्लो र हरेक आवाजले कथा भन्न खोज्छ।

चारघरेको बाटो म मात्र होइन, हजारौंले टेकेका छन्। तर ती प्रत्येक पाइला फरक छन्, भोगाइ फरक छन्। लेखकले "म" पात्रको आँखाबाट गाउँको सुगन्ध, अभाव, संघर्ष, रमाइलो र कठोर यथार्थ जसरी उतारेका छन्, त्यसले मलाई आफ्नै सम्झनाको गल्लीमा हिँडाउन थाल्छ।"घुमाउरा र भिरालो हुँदै सम्मिएका तिनका छाती..."कति गहिरो चित्रण! त्यो बालकको आँखा, जसले भर्खरै बामे सर्न थालेको छ, जिन्दगीको गति त्यहीँबाट सुरू भएको देख्छ। यही सरलता र आत्मीयले कथालाई कथा बनाउँदैन, एउटा जिउँदो अनुभव बनाउँछ, जसलाई महसुस गर्नुपर्छ; पढेर मात्र होइन, बाँचेर।

जीवनको बाटो सधैं सरल हुँदैन।कहिले बिझाउँछन् काँडा, कहिले ठोकिन्छन् ढुंगा। ‘रोयल चारघरे’ मा देखिएको बालकको जीवनपथ पनि त्यस्तै असहज मोडहरूले भरिएको छ। पिताको गैरजिम्मेवारी र आमाको असीम ममता: यी दुई ध्रुवबीच झुन्डिएको बालकको जीवनले मलाई आफ्नै छायामा भेट गरायो। एकातिर घरेलु हिंसा, अर्कोतिर आमाको थकित आँखामा पलाएको साहस; कति गहिरो द्वन्द्व! म ती शब्दहरू पढ्दिनँ, म त तिनमा बाँच्न थाल्छु।

गाउँकी लाटी, जसको मौनता समाजले बुझेको छैन, रामलालको पागलपन, जसको त्रासमा गाउँका सपना चकनाचुर छन्; यी सबै पात्र मेरो वरिपरि घुम्छन्, मकैको बोटझैं झुकेको असल मानवता र काँडाझैँ चुँडिने अत्याचारका कथाहरू लिएर। अनि सहर? त्यो झिलिमिली देखिए पनि, लुकाइरहेकोहुन्छ आँसु भित्रभित्रै। बालश्रम, गरिबी, पढाइको तिर्खा अनि मानवीय शोषणको पीडाले शहरलाई सजीव बनाइदिन्छ - यथार्थको कालो रङले।

तर संघर्षमा नै जीवनको सुगन्ध हुन्छ। "म" पात्रको एसएलसी पास गर्नु, पाटनको क्याम्पसमा नयाँ विचार र आन्दोलनसँग टाँसिनु, अनि दैलेखमा विकट समाजसँग साक्षात्कार गर्नु; यी सबै मोडहरू हामी सबैको जीवनका सम्भावित अध्याय हुन्।

शब्दहरू पढ्दै जाँदा लाग्छ, जीवन केवल श्वास तान्नु र छाड्नु होइन, यो त प्रत्येक दिन भोगिने प्रश्न हो, 'अब के?' र यस प्रश्नको उत्तर खोज्दै "म" पात्रले जुन यात्रा तय गर्छ, त्यो यात्रा पढ्दा म पनि मेरो उत्तर खोज्न थाल्छु- धेरै बुझिनसकेको, तर अझै पत्ता लगाउनुपर्ने उत्तर।

कहिलेकाहीँ कुनै पात्र केवल कथा होइन, एउटा जिउँदो स्मृति भएर आँखा अगाडि उभिन्छ। ‘रोयल चारघरे’ मा आमाको चरित्र पढ्दा मलाई पनि मेरी आमाको अनुहार झल्कन्छ;सधैं गम्भीर, सधैं संयमी, तर भित्र कतै पीडाले चिर्न नसेको एक शान्त शक्ति। यो उपन्यासमा आमाले खेपेको पीडा, उनले झेलेका अपमान र सन्तानप्रतिको उनको निःस्वार्थ ममता; यी सबैले मलाई एकाएक मौन बनाउँछन्।

"श्रीमती र ५ सन्तानको भारी बिसाएर बुबा चारघरे छाडेर हिँडे..."- यो पंक्तिमा केवल कथा होइन, हरेक नेपाली आमाको अदृश्य आँसु र लुकेको दुःख बोल्छ। त्यही पीडामा पनि आमाको धैर्य, त्याग र कठोर आत्मबललाई लेखकले जसरी चित्रण गरेका छन्, त्यो केवल साहित्यिक सौन्दर्य होइन, जीवनको आराधना हो।

जब डा. रामकृष्ण आचार्यको शब्दमा आमालाई "आकाश बोक्न सक्ने धरती" भनिन्छ, तब म शब्दभन्दा बाहिरको अनुभूतिमा पुग्छु। त्यही धर्ती मेरी आमा पनि थिइन्, जसले कहिल्यै हार मानिनन्। ‘रोयल चारघरे’ मा आमाको स्वरूप कुनै एक परिवारको मात्र होइन, यो त सम्पूर्ण नारीत्वको महिमा हो; न झुकेको, न रोएको, तर अविचल रहन सक्ने त्यो शक्ति, जसले विपत्तिका आँधीहुरीका बीच पनि आशाको दियो बालिरहन्छ।

कहिलेकाहीँ कुनै पुस्तक पढ्दा केवल कथा पढिएको हुँदैन, बरु एउटा समाजको ऐना हेर्दैछु जस्तो लाग्छ; त्यस्तो ऐना, जसमा अनुहारभन्दा बढी मनका घाउहरू प्रष्ट देखिन्छन्। ‘रोयल चारघरे’ पढ्दा म पनि त्यो ऐनामा अलमलिन पुग्छु, जहाँ लाटीको मौन पीडा, निर्मलीको अस्वीकृत प्रेम, अनि छाउपडीको अँध्यारो गोठ मेरा दृष्टिभरि फैलिन्छन्।

लाटी, एक अनाम आत्मा, जसको शरीरमाथि समाजले पटकपटक अधिकार जमायो तर उसको नाम कहिल्यै सोधिएन। उसको मौनता चिच्याहट बनेर मेरा कानमा बज्छ- “उसले होइन, समाजले पागलपन देखाएको हो।”

अनि निर्मली? उसले प्रेम गर्‍यो जुन अपराध भयो। ऊ दलित थिइन्, त्यसैले उसको प्रेम अपवित्र मानियो। एकचोटि लाग्यो - किन प्रेममा पनि जात हुन्छ? अनि दैलेख पुगेपछि लेखकले खोजेको छाउगोठ; त्यो केवल काठको गोठ होइन, समाजको सोचको कैदखाना हो, जहाँ महिलाहरूलाई मासिक धर्म होइन, अभिशाप लाग्छ।

यी प्रसङ्गहरू केवल घटनाहरू होइनन्, ती मेरो चेतनाको झ्याल ढकढक्याउने प्रश्नहरू हुन्; कति परिवर्तन सम्भव भयो होला अहिले? अनि म आफूभित्र पनि उत्तर खोज्न थाल्छु। ‘रोयल चारघरे’ मा लेखकले देखाएका यथार्थहरू आत्मामा काँढाझैँ गड्ने खालका छन्, छन्, तर ती नै त सच्चा साहित्यका सूत्र हुन्, जहाँ शब्दहरू साक्षी हुन्छन्, आँसुहरू साक्षात्कार।

म यी विकृतिहरू पढेर क्रुद्ध भएँ, लाचार भएँतर अन्ततः एक पाठक होइन, एक नागरिक भएर उठ्न चाहेँ; एक साक्षी भएर, जसले देखेको छ लाटी, निर्मली र छाउपडीको छायामा लुकेको हाम्रो समाजको अनुहार।

जीवन कहिलेकाहीँ त्यस्तो लामो साँघुरो गल्ली जस्तो लाग्छ, जहाँ उज्यालो देखिँदैन तर हरेक पाइला अघि बढ्नु नै प्रकाशको सम्भावना हो। ‘रोयल चारघरे’ को "म" पात्रको यात्रा त्यही सम्भावनाको खोज हो; अन्धकारबाट उज्यालोतर्फको पवित्र यात्राको प्रतीक।

म पनि कहिले काँडाहरूबीच हिँडेको थिएँ, कहिले मनभित्रको हुंकार थामेर चुप बसेको थिएँ। यही अनुभूतिका धुनमा "म" पात्रको बालश्रम र पढाइको कथा पढ्दा लाग्यो ऊ केवल उपन्यासको पात्र होइन, ऊ त म स्वयं हुँ, हाम्रै भीडभित्रको एक साधारण संघर्षशील आत्मा। जब ऊ भन्छ, “लगाम लगाएको घोडाको जस्तो जीवन बिताएर पढाइ अघि बढाएँ”, त्यो वाक्यले मेरो मन भारी बनाउँछ। किनभने मलाई थाहा छ, त्यो लगाम केवल बाहिर होइन, भित्रको भोक, डर र निराशाको पनि हो।

समीक्षक चन्द्रबहादुर लामा
तर त्यही लगाम चुँडाउन सिक्नुपर्छ। यही सिकाइ हो ‘रोयल चारघरे’ को आत्मा। "म" पात्रले आफ्नो श्रम र लगनको बलमा बालकदेखि युवासम्मको यात्रा पार गर्छ र त्यो यात्रामा उसले केवल शिक्षा होइन, आत्मसम्मान पनि पाउँछ। संघर्षको सिँढी उक्लिंदै गर्दा ऊ केवल व्यक्तित्व होइन, प्रेरणा बन्छ।

जिन्दगी समुद्र हो भने, संघर्ष उसका छाल हुन्र ती छालहरूमाथि तैरिने रहस्य हो- आशा। ‘रोयल चारघरे’ को पाना पल्टिँदा मलाई लाग्योम कुनै पुस्तक होइन, एक जिन्दगी पढिरहेको छु- साहस, आँसु र मुस्कानले लेखिएको जिन्दगी।

"म" पात्र जब निराशाको गर्तमा चिप्लिन्छ, जब उसले भविष्य अन्धकारमय देख्छ, त्यही क्षण ऊभित्र कतै न कतै एक उज्यालो टल्कन्छ। त्यो टल्काइ हो;आशा। त्यो आशा कुनै प्रवचन होइन, त्यो त टिनको छानामुनि बलेको टुकी जस्तै हो, जसको झिल्को थोरै भए पनि बाटो देखाउँछ।

जमुना कुँवरको शब्दहरू, “कर्णाली र अरुणको प्रवाहझैँ मानिसको कर्तव्य पनि कहिल्यै नथाक्ने हुन्छ।” मेरा लागि केवल तर्क होइनन्, ती त जीवनका सूत्र हुन्। म पनि कहिले आफ्नो कर्तव्यबाट भट्किएको छुतर यही उपन्यासले सम्झाउँछ जुन बाटो कष्टकर देखिन्छ, त्यसैको अन्त्यमा सपनाको फुलबारी हुन्छ।

राजकुमार श्रेष्ठको आत्मकथात्मक यात्राले मलाई पुनः एकचोटि यो सत्य भुल्न दिएन कि जीवनको बगिरहेको धार रोक्न नसकिने भए पनि, त्यसमा डुब्नुपर्ने छैन। “म” पात्र बाँच्छ अर्थपूर्ण रूपमा, जिजीविषाले। र म पनि, पाठकको हैसियतमा, उसैसँग सास फेर्छु, बग्छु र अडिन्छु किनभने जहाँ संघर्ष हुन्छ, त्यहाँ आशा मर्दैन।

शब्द जब आत्माको ढोकाबाट निस्कन्छन्, तब ती केवल भाषा हुँदैनन्। ती अनुभूतिको संगीत बन्छन्। यस्तै लाग्यो मलाई ‘रोयल चारघरे’ पढ्दा। शब्दहरू बोलिरहेका थिए, हाँसिरहेका थिएर कतैकतै रोइरहेका पनि थिए। राजकुमार श्रेष्ठको कलमबाट निस्केका ती हरफहरू केवल अक्षर थिएनन्। ती त थिए  मनको तार छुने हृदयको स्पन्दन।

उनको भाषा नदी जस्तो छ। ती न त कुनै कृत्रिम बाँधले थुनिएको, न कुनै अतिशयोक्तिको पहाडले अड्किएको। जसरी कुनै आमा आफ्ना बालबालिकालाई स्वाभाविक रूपमा बोलाउँछिन्। त्यसरी नै यो उपन्यासले पाठकलाई बोलाउँछ, नजिक ल्याउँछ र आफ्नो बनाउँछ।

म खासगरी तिन क्षणहरूमा रोकिएँ जहाँ लेखकले आमाको पीडा लेखेका छन्, जहाँ लाटीको मौन चिच्याहट सुन्न सकिन्छ, र जहाँ “म” पात्रले काठमाडौँको कोठाभित्र आफैंसँग संघर्ष गरिरहेको छ। ती ठाउँहरूमा भाषा मात्र बोल्दैन, त्यो चिच्याउँछ, बिसाउँछ र फेरि सान्त्वना दिन्छ।

हो, कतिपय परिच्छेदहरू लामा छन्, केही छोटा। तर जिन्दगी पनि त यस्तै हुन्छ,कतै छोटो सम्झना, कतै लामो पीडा। यसैले उपन्यासको संरचनामा जुन अलिकति असन्तुलन लाग्न सक्छ, त्यो पनि मलाई जीवनको नैसर्गिकता लाग्छ।

पात्रहरू सजीव छन् भने मात्र कथा साँच्चिकै बाँच्दछ। ‘रोयल चारघरे’ पढ्दा मलाई लाग्यो यी पात्रहरू मसँग कताकता भेट भइसकेका छन्, मसँग कतै बाँचिरहेका छन्। अनि मभित्र कतै गहिराइमा निदाइरहेका छन्। “म” पात्र ऊ केवल एक व्यक्ति होइन, ऊ त एउटा युगको संवेदना हो, जसमा जीवनको प्रत्येक चोट सुस्पष्ट देखिन्छ।

तर जसरी कुनै जीवनले अर्कोलाई अर्थ दिन्छ, त्यसैगरी उपन्यासमा “म” पात्रलाई गहिरो अर्थ दिने, जिउँदो बनाउने पात्र हुन्; आमा। आमा, जसको आँसु दुर्बलता होइन, प्रेरणा हो। उनको सहनशीलताले मलाई मेरो आफ्नै आमाको सम्झना गराउँछ। जीवनका हरेक चोटलाई मौनतामा बिसाउँदै उनले जसरी प्रेम र कर्तव्यको उज्यालो दीप बालिन्, त्यही उज्यालोमा म पनि मेरो आमा देख्न पुग्छु।

लेखकले आमालाई जसरी चित्रण गरेका छन्, त्यो श्रद्धा हो, त्यो ऋण हो, त्यो प्रेमको यस्तो चित्र हो, जसलाई हेर्दा शब्दहरू पनि मौन हुन्छन्। जब उपन्यासको समर्पण पृष्ठमा उहाँलाई "यस युगकी क्रान्तिकारी नारी" भनेर सम्बोधन गरिएको छ, मलाई लाग्यो यो त केवल एक उपमा होइन, यो त यथार्थको पूजा हो।

बुबा... यो शब्द उच्चारण गर्दा कहिलेकाहीँ मन गर्वले फुल्छ, कहिले आँखाबाट नमिठो विगत बग्छ। ‘रोयल चारघरे’ को पृष्ठ पल्टाउँदा बुबा नामक पात्र मेरो हृदयमा एक गहिरो पीडाको स्वरूपमा अवतरित हन्छ। ती बुबा, जो संरक्षणका देवता बन्नुपर्ने थिए तर आफ्नै सन्तानको भविष्यमा घाउ बने। ती बुबा, जसले पाँच सन्तान र एक साहसी पत्नीलाई जीवनको सुनसान गोरेटोमा अलपत्र छाडे।

उनी केवल एक व्यक्ति होइनन्, उनी त हाम्रो समाजमा गढिएको त्यो कठोर पितृसत्ता हुन्, जसले आफ्नो इच्छालाई धर्म ठान्छ र जिम्मेवारीलाई बोझ। उनी हिंसात्मक छन्, गैरजिम्मेवार छन् आत्मकेन्द्रित छन् तर त्योभन्दा ठूलो कुराउनी असंवेदनशील छन्। उनले घर त्यागेका मात्र होइनन्, सपनाहरूको मेरुदण्ड पनि भाँचिदिएका छन्।

उनी पाठकका लागि कुनै सहानुभूतिको पात्र होइनन्। बरु विडम्बनाको जीवित प्रतीक हुन्। मलाई लाग्छ, लेखकले बुबाको पात्रमार्फत एक असहज सत्यसँग आँखा जुधाएका छन्; एक यस्तो सत्य, जुन स्मृतिमा झन् चर्को पीडाको रूपमा बल्झिन्छ।

कथा केवल एकजनाको यात्राले पूर्ण हुँदैन, त्यो यात्रा सार्थक तब बन्छ जब त्यसमा अन्य आत्माहरूको सङ्गत हुन्छ - कहिलेकाहीँ उज्यालो बनेर, कहिले छायाँ बनेर। ‘रोयल चारघरे’ को पाना पल्टाउँदै जाँदा मलाई लाग्यो, ती कथाका सहायक पात्रहरू कुनै सादा रेखाचित्र मात्र होइनन्, ती लेखकको जीवनका रंगीन रङहरू हुन्, जसले उपन्यासलाई समग्र चित्रमा बदलिदिन्छन्।

हजुरआमाको उबेला जस्तो संवाद, निर्मलीको प्रेममा डुबेको सामाजिक निषेध, लाटीको पीडादायी मौनता, मितज्यूको अनुशासन, पाटन क्याम्पसका जीवन्त मित्रता, अनि दैलेखका सहकर्मीहरूका संघर्षले “म” पात्रको जीवनलाई केवल कथा मात्र होइन, हाम्रो आफ्नै समाजको ऐना जस्तो बनाइदिएको छ।

संसारको रङभूमिमा जहाँ जीवनका अनेकौँ रंग नाचिरहेका हुन्छन्, त्यही नाचमा आफ्नो थालभरि माटो बोकेर उभिएको देखिन्छ -राजकुमार श्रेष्ठको परिवेश। न ऊ केवल भूगोल हो, न केवल समाज; ऊ समयको छाप हो, पीडाको संगीत हो, अनि अस्तित्वको संघर्षपूर्ण गाथा हो।

चारघरे गाउँको हरियालीले मात्र होइन, त्यहाँको अभाव, श्रम, र मौनताले पनि हामीलाई बोलाउँछ। काठमाडौंको कोलाहल केवल ध्वनि होइन, त्यो आप्रवासी सपनाहरूको गुञ्जन हो। अनि दैलेख? त्यो त जीवनको एक यथार्थपरक अध्याय हो, जहाँ प्रत्येक पाइलाले संघर्षको एउटा नयाँ व्याख्या लेखेको छ।

राजकुमारले परिवेश चित्रण गर्दै गर्दा केवल दृश्य देखाएका छैनन्, उनले अनुभव गराएका छन्। खेतको राँको बाली मात्रै होइन, आमाको पसिनासँगको संगति, डेरामा कोठाभित्रको चिसोपना मात्रै होइन, सपनाहरूको ओछ्यान पनि कोरेका छन्। यही हो साहित्यको सार, जहाँ लेखकको भूगोल पाठकको मानस बनिदिन्छ।

जीवन एक किताब हो; अलिखित, अपूर्ण र कहिल्यै नथाक्ने एउटा कथा। त्यसै किताबको एउटा पाना हो ‘रोयल चारघरे’। हरेक अनुभूति कागजमा पोखिएको छ, हरेक वाक्यले पीडाको नासो बोकेको छ। लेखक राजकुमार श्रेष्ठले आफ्ना यथार्थहरूलाई केवल बाँचेका होइनन्, ती यथार्थलाई सिंगारेर साहित्य बनाएका छन्। यो उपन्यास एक आत्माको प्रतिध्वनि हो, जसले पाठकलाई केवल कथाको यात्रामा होइन, आफ्नो अन्तर्यात्रामा समेत डुबाउँछ।

‘रोयल चारघरे’कुनै दरबारको गाथा होइन-यो त एउटा नेपालीको अर्धनग्न पीडाको गीत हो, जुन गीतमा भोक, सपना र समर्पण एउटै तालमा बगेका छन्। पाठक यस गीतसँगै हाँस्न सक्छ, रुन सक्छ, सोध्न सक्छ र झस्किन सक्छ।

त्यसैले यो पुस्तक केवल ‘पढ्ने’ होइन, ‘भोग्ने’ र ‘बुझ्ने’ हो। नेपाली आत्मकथात्मक साहित्यमा ‘रोयल चारघरे’ले एउटा विशिष्ट स्थान ओगट्नेछ भन्ने कुरामा विश्वस्त हुन सकिन्छ। यो कृति पाठकका लागि पठनीय, मननीय र प्रेरणादायी छ। लेखक राजकुमार श्रेष्ठलाई यस साहसपूर्ण र मार्मिक कृतिका लागि धन्यवाद तथा आगामी साहित्यिक यात्राका लागि शुभकामना। 
अर्को समाचार
एकल व्यक्ति चमत्कारवाद!
७ मिनेट अघि
•
१ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
काठमाडाैं, हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं। कोही सरकारी जागिरबाट बिदा लिएका, कोही अड्डा–अदालतमा सेवा गरिरहेका त कोही मालपोतका हाकिम, साथै मालपोतमा लेखापढी गर्ने, सबै जना साथीहरू विभिन्न पार्टीका समर्थक छौं।




कहिलेकाहीं छलफलकै क्रममा चर्काचर्की पनि पर्छ। यसै क्रममा एकजना दाइको मुखबाट यो राज्यमा एकल व्यक्ति चमत्कारवादले काम गरेको छ भन्ने कुरा निस्कियो। अनि के हो त एकल व्यक्ति चमत्कारवाद ? भन्ने विषयमा केन्द्रित भएर मैले केही लेख्ने जमर्को गरेको छु।

सर्वप्रथम त एकल व्यक्ति चमत्कारवाद भनेको के हो, बुझ्न जरुरी हुन्छ। एकल व्यक्ति चमत्कारवाद भनेको यस्तो सोच वा प्रवृत्ति हो, जहाँ समाज, राजनीति वा राष्ट्रका सबै समस्या एकजना विशेष व्यक्तिले मात्र समाधान गर्न सक्छ भन्ने विश्वास गरिन्छ। अझ यसलाई सरल शब्दमा भन्दा यो देश, पार्टी, समाज बिग्रिएको छ, अब फलानो व्यक्ति आएपछि सबै ठिक हुन्छ भन्ने सोच नै एकल व्यक्ति चमत्कारवाद हो।

२०४६ सालमा बहुदलीय व्यवस्था आएपछिको एकल व्यक्ति चमत्कारवादका केही कुरा गरौं।
उदाहरण नम्बर एक: स्वर्गीय नेता मदन भण्डारी स्पष्ट वैचारिक प्रतिवाद गर्न सक्ने नेतामा गनिए। उनले टुँडिखेलमा गरेको भाषणमा राजालाई श्रीपेच फुकालेर आफूसँग चुनाव लड्न चुनौती दिए। यो भाषणबाट नेपाली जनता प्रभावित भएका थिए। पछिल्लो उनको दस्ताबेज नेपालमा (जबज) जनताको बहुदलीय जनवाद ल्याएर एउटा चमत्कार गरे। त्यस दस्ताबेजलाई अहिले पनि नेकपा एमालेले अनुसरण गरिरहेको छ। त्यतिबेला स्व. मदन भण्डारीलाई महान् मानव मानेर पुज्ने जनता थिए र छन्। भलै यो व्यक्ति बाँचेको भए देख्न पाइन्थ्यो, त्यो नेपालीहरूको दुर्भाग्य भयो।

उदाहरण नम्बर दुई:  नेता शेरबहादुर देउवा अहिलेसम्म पाँच पटक यो देशको प्रधानमन्त्री भएका व्यक्ति हुन्। उनले अहिलेसम्म डडेल्धुरा जिल्लाबाट निर्वाचनमा हारेका छैनन्। अझै छैटौं पटक प्रधानमन्त्री हुने होडमा थिए। उनी कम उमेरमै गृहमन्त्री हुँदै २०५१ सालमा प्रधानमन्त्री भएका थिए। २०८२ भदौ २३ र २४ को जेनजी आन्दोलनबाट उनको राजनीतिमा ब्रेक लाग्यो।

नेकपा एमाले र नेपाली कांग्रेसको सरकार थियो। शेरबहादुरकी पत्नी आरजु राणा परराष्ट्रमन्त्री थिइन्। उनीहरू दुवै जनालाई जेनजी आन्दोलनमा मरणासन्न हुने गरी घाइते बनाइयो। देउवा निवासमा तोडफोड र आगजनी गरियो। कम बोल्ने र जनताका लागि खासै काम केही नगर्ने देउवाले अझै चेतेको अवस्था देखिँदैन। जनताले लखेटेको नेतालाई नेपाली कांग्रेसका कतिपय कार्यकर्ताले अझै उनको चमत्कारवाद हेर्न रुचाउँछन् र उनको सपोर्टमा लागिपरेको देखिन्छन्।
उदाहरण नम्बर तीन: नेता पुष्पकमल दाहाल, उनले २०५२ बाट सुरु गरेको माओवादी जनयुद्धले नेपाली समाजलाई आक्रान्त बनायो। उनका सहयोगी बाबुराम भट्टराईले देउवा प्रधानमन्त्री भएको बखत ४२ बुँदे ज्ञापनपत्र दिएर जंगल पसेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल २०६२–६३ सम्म आइपुग्दा नेपाली समाजको रूपान्तरणका लागि आशाको केन्द्रमा थिए।

यिनलाई पनि नेपाली समाजले केही गर्ने नेताको रूपमा हेरेर पहिलो संविधानसभामा लगभग बहुमत दिएर संसद्मा पुर्‍याएका थिए। तर नेपाली सेनाका प्रधानसेनापति रुक्मांगत कटुवाललाई फाल्ने जुन प्रपञ्च यिनले गरे, आफैं उत्तानो परे। विभिन्न समयमा गरी तीन पटक यो देशको प्रधानमन्त्री त भए तर पनि यिनीबाट देशका लागि केही हुन सकेको अवस्था छैन। अझै म बाँचुन्जेल यो देशमा उथलपुथल गर्छु भन्दै नेपाली जनतालाई धम्की दिन्छन्। अब पनि म नेपाली जनता र देशका लागि केही गर्छु भनी हुँकार 
पिट्दै छन्।

उदाहरण नम्बर चार:  झापा काण्डबाट चौध–पन्ध्र वर्ष जेल जीवन बिताएका नेकपा एमालेका नेता खड्गप्रसाद ओलीलाई २०७४ सालको निर्वाचनमा झन्डै दुईतिहाइ बहुमत पाएर पनि सरकार टिकाउन सकेनन्। उनले दुई–दुई पटक संसद् विघटन गरे। उनी तीन पटक प्रधानमन्त्री भए। उखान–टुक्का जान्ने र भाषण गर्न सक्ने खुबी उनमा छ। पछिल्लो पटक २०८० मा उनी सबैभन्दा ठुलो दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकारका प्रधानमन्त्री थिए।

२०८२ भदौ २३ र २४ गते जेनजीहरूले आन्दोलन गरे। त्यसमा २३ गतेको आन्दोलनमा परी १९ जनाको हत्या भयो। यो अवस्थामा गृहमन्त्री रमेश लेखकले राजीनामा दिए। ओलीले भोलिपल्ट २४ गते स्थिति सम्हाल्न नसकेपछि आफ्नै ज्यान जोगाउन धौ–धौ भयो। सेनाको सुरक्षामा हेलिकोप्टर चढेर भागे। उनले २४ गते २ बजेपछि मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिए। यो धेरै ढिला भइसकेको थियो। सारा जनता घरघरबाट सडकमा निस्किएका थिए। झन् ठुलो आन्दोलन भयो।

सिंहदरबार, सर्वोच्च अदालत, प्रहरी विभागहरू, काठमाडौं जिल्ला अदालतदेखि महत्त्वपूर्ण कार्यालयहरू जलेर खरानी भए। त्यस दिनमा पनि ५०–५५ जनाको ज्यान गयो। सरकारमा बस्ने प्रधानमन्त्रीले यसको जिम्मेवारी लिएनन्। 
उदाहरण नम्बर पाँच:  २०७९ सालमा यही वैकल्पिक धारको नेतृत्व गर्दै मिडियामा नाम कमाएका व्यक्ति रवि लामिछानेले रास्वपा पार्टी खोलेर ६ महिनामै चमत्कार गरिदिए। एकै चुनावमा राष्ट्रिय पार्टी बनेर २० सिट जितेर गृहमन्त्री तथा उपप्रधानमन्त्री पड्काए। त्यसपछि काठमाडौंको मेयर पद जितेर कहलाएका पूर्वमेयर केशव स्थापितलाई उत्तानो पारेर बालेन्द्र शाहले मेयरको पद पड्काए। हाल यिनै शाह देशका प्रधानमन्त्री छन्। यिनीहरू पनि चमत्कारी व्यक्ति गणना भए।
विभिन्न कालखण्डमा यसरी एउटै व्यक्तिलाई हिरो बनाउने र त्यसको पछाडि लागेर भजन गाउने संस्कारले नेपाली समाज आक्रान्त छ। अझै पनि नेपाली समाजमा चेत पलाएको छैन। एकल व्यक्ति चमत्कारवादका जति उदाहरण हेरे पनि आजसम्म यो देशले सही दिशा लिन सकेको देखिँदैन। यो किन भने एकल व्यक्ति चमत्कारवादले यहाँ केही हुनेवाला छैन।

यस्तै कुसंस्कार र एकल व्यक्तिवादी सोच र चरित्रले गर्दा नै देश यो अवस्थामा पुगेको हो भन्न सकिन्छ। यहाँ हरेक क्षेत्रमा कुसंस्कार छ, भ्रष्टाचार छ, मनमौजी सोच छ, जसले जे गरे पनि छुट छ, न्यायालयमा न्याय छैन, सबैलाई समान अवसर छैन, ठुलालाई चैन र सानालाई ऐन छ, गरिब जनता झन्–झन् गरिब भएका छन्। नेपालका प्रायः सबै पार्टी आआफ्नो विचारबाट स्खलित भएका छन्, मूल्य र मान्यताबाट च्युत भएका छन्।

सत्तामा पुग्ने र मिलेर खाने प्रवृत्ति देखेर जनता आजित छन्। एउटै व्यक्ति पटक–पटक सत्तामा पुग्ने र जनताका लागि कुनै राम्रो काम नगर्ने भएर नै पार्टीप्रति विश्वास घट्दै गएको छ। अहिलेको अवस्थामा जनतालाई यो चाहिँ पार्टी ठिक छ भन्ने विश्वास नै छैन।
त्यसैले आजको आवश्यकता कुनै नयाँ चमत्कारी व्यक्ति खोज्नु होइन, विधिको शासनमा आधारित बलियो प्रणाली निर्माण गर्नु हो। व्यक्ति आउँछन्, जान्छन् तर राष्ट्र संस्थाले चल्नुपर्छ। एकल व्यक्ति चमत्कारवादले क्षणिक आशा त दिन सक्छ तर दीर्घकालीन रूपमा यसले समाजलाई अझै निराश र दिशाहीन बनाउने खतरा रहन्छ। सचेत नागरिक, उत्तरदायी संस्था र पारदर्शी शासनबिना समृद्ध नेपाल सम्भव छैन।

– सापकोटा नेपाली सेनाबाट अवकाशप्राप्त मानार्थ उपसेनानी हुन्।
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस