पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उँभौली साकेला
१७ जेष्ठ २०८२
•
७ मिनेट पाठ
पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उँभौली साकेला
सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौं।




दिनैमा भरि रमरसै गर्‍याे, छ महिनामा भेटौं।।

गैरी गाउँको ढोडे ना उखु, भाँचौं ना भाँचौं लाग्छ।

ढोलझ्याम्टाको सुरैमा सुन्दा, नाचौं ना नाचौं लाग्छ।।

साकेला थानमा परम्परागत किराती साकेला गीतहरू गुञ्जिरहेका छन्। किराती वेषभूषामा सजिएका युवायुवती गीत गाउँदै र तालमा ताल मिलाउँदै समूहमा नाचिरहेका दृश्यहरू भने लस्करै देखिन्छ।

“साकेला मेरा लागि नाच मात्रै होइन, यो हाम्रो माटोसँग गहिरो संवाद जस्तै लाग्छ”, धरान उपमहानगरपालिका–१९ का पार्वती राई भन्छिन्, “जब यो साकेला नाच नाच्न पाउँछु साह्रै खुसी महसुस हुन्छ, पहिला हामीले साकेलाबारे किताब र समाचारमा मात्र पढेको थियौं तर अहिले प्रत्यक्ष सहभागी भएपछि बल्ल थाहा भयो साकेला चाड मात्र नभएर यो हाम्रो पहिचान जोगाउने शक्ति हो।”

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमामा किरात राई समुदायले श्रद्धा, उल्लास र सांस्कृतिक गौरवका यो पर्व मनाउँछन्। अन्नबाली रोपाइँको सुरुआतअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी मेस्थानमा पूजा गर्ने परम्परा किरात राई समुदायमा छ। बुढापाकाहरूको भनाइमा पर्वले पृथ्वी, प्रकृति र कृषि चक्रसँग मानव सम्बन्धको गहिरो सम्मान प्रकट गर्छ।

उँधौली पर्व सामान्यतया एक दिनमै सीमित हुने भए पनि उभौली भने एक महिनासम्म मनाइन्छ। हरेक साकेला थानमा साकेला सिली नाच्नेहरूको लस्कर देखिन्छ। धरान आधुनिक शहरका रूपमा परिचित छ जहाँ हिपहप, पप, रक जस्ता पाश्चात्य सङ्गीतको उत्तिकै प्रभाव छ  तर यहाँका नयाँ पुस्ताका युवा उँभौली जस्ता मौलिक चाडपर्वमा उत्साहजनक सहभागिता जनाउँदै छन्।

आधुनिकताको छायामा पनि परम्पराको उज्यालो मर्न नदिने र संस्कृति जोगाउँदै लैजाने प्रयासमा किरात राई समुदायको यो उत्सव एउटा सशक्त उदाहरण बन्दै गएको छ।

हरेक साकेला थानमा हरेकको सिरमा टोपी र शिरबन्दीले ढाकिएको छ। दौरासुरुवालमा सजिएका युवा र गुन्यूचोली, लाछा, सिरबन्दी, नौगेडी र सुनचाँदीका गहनाले सिंगारिएकी युवतीहरू हातमा ढोल, झ्याम्टा समाउँदै गोलो घेरामा नाचिरहेका हुन्छन्। ढोलको तालमा प्रकृति र पुर्खाहरूको सम्झिंदै नाचिने यो दृश्य हो, उँभौली साकेलाको, जुन किरात राई समुदायको मौलिक सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ।

किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईका अनुसार, साकेला प्रकृति, संस्कृति र अस्तित्वसँग गाँसिएको चिनारी हो।

उनी भन्छन्, “साकेला एउटा ढुङ्गा जस्तै अद्भूत शक्ति हो जुन कहिले ठूलो, कहिले सानो हुन्छ हामी प्राकृतिक पूजक भएकाले ढोल झ्याम्टा बजाउँदै प्रकृतिकाे पूजा गरेर नाच सुरु गर्छौं।

राईका अनुसार, साकेला नृत्यको तीन प्रमुख स्वरूप छन् जुन आराधनात्मक, अनुकरणात्मक र प्रतिक्रियात्मक सिली मानिन्छ। आराधनात्मक सिलीमा घाम, पानी, हावा, आकाश, जमिन लगायत प्रकृतिका तत्त्वको पूजा गरिने गरिन्छ। अनुकरणात्मक सिलीमा किराफट्याङ्ग्रा, चराचुरुङ्गी, झिंगा लगायतका जीवको चालढालको अनुकरण गर्दै नाचिने गरिन्छ भने प्रतिक्रियात्मक सिली भने दैनिक जीवनका क्रियाकलाप जस्तै डोको बोक्ने, हलो जोत्ने वा नमस्कार गर्नेजस्ता हाउभाउ नृत्यमा उतार्ने शैली हो, यिनै तीन आधारभित्र हजारौं सिली समेटिएको राईले बताए।

साकेला परम्परागत रूपमा विशेषगरी उँधौली र उँभौलीका अवसरमा नाचिने किरात समुदायको महत्त्वपूर्ण सांस्कृतिक नृत्य हो। यो नाच विवाह, व्रतबन्ध, जात्राजात्रा र विभिन्न सामाजिक तथा सांस्कृतिक समारोहमा पनि प्रस्तुत हुन थालेको छ। साकेला ढोल, झ्याम्टा र मौलिक लोकधुनको तालमा गोलबद्ध भएर नाचिन्छ।

“साकेला नाच्दा म प्रकृतिसँग संवाद गरिरहे जस्तै लाग्छ”, मोरङको कानेपोखरीका सन्तोष राई भन्छन्, “साकेलालाई आधुनिक जीवनशैलीबीच हराउँदै गएका प्राकृतिक सम्बन्ध पुनः जोड्ने अवसरका रूपमा लिएको छु। साकेला नाच्दा म जमिन, हावा र पुर्खासँग एकैचोटि संवाद गरिरहेको छु जस्तो लाग्छ।”

इटहरीकी पवित्रा राई साकेला आफ्ना लागि पहिचानभन्दा पनि प्रतिबद्धता भएको बताउँछिन्। “साकेला पर्व पहिचान प्रकट गर्ने माध्यम मात्र होइन, आफ्नो समुदाय र प्रकृतिप्रति जिम्मेवारी जनाउने एउटा अवसर पनि हो। म साकेला नाच्न जाँदा पुर्खाहरूको बलिदान सम्झिन्छु। उहाँहरूले जङ्गल, जमिन र प्रकृतिलाई जसरी सम्मान गर्नुभयो त्यो सम्झनु र पछ्याउनु आजको पुस्ताको कर्तव्य हो”, उनले भनिन्।

धरान–१५ का ८१ वर्षीय विष्णु राईका अनुसार पहिले उँभौली आउँदा खेतबारी लगाउने समय हुन्थ्यो। “त्यसैले हामी साकेलाका माध्यमबाट धर्ती सम्झिन्थ्यौं, बर्खेबाली राम्ररी फलोस् भनेर प्रकृतिलाई नाचेर धन्यवाद दिने चलन थियो”, उनले भने।

राई पहिलेको साकेलाको तुलनामा अहिले फेरिएको बताउँछन्। “पहिलाको साकेलामा कडा नियम थियो सिनेसुरी हाँसो होइन, भावनासँगै नाच्नुपर्थ्याे। अहिलेको साकेला पनि राम्रो त लाग्छ तर आधुनिकता र प्रदर्शनका कारण यसको गहिरो आध्यात्मिकता अलि ओझेलमा परे जस्तो लाग्ने गरेको”, उनले भने, “हामी सानो छँदा गाउँका जेठाहरू पहाडको डिलमा माङ खड्काएर साकेला सुरु गरिदिनुहुन्थ्यो हामी नाङ्गो खुट्टा धानबारीबाट सिधै नाच्न आइपुग्थ्यौं त्यो भावना अहिलेको साकेलामा खासै देखिंदैन।”

साकेलामा थुप्रै सिली हुन्छन् तर सबैभन्दा महत्त्वपूर्ण सिली भनेको (हाक्पारे सिली) लाई लिने गरिन्छ यसमा पुर्खाको सम्मान, प्रकृतिप्रति कृतज्ञता र समुदायको एकता समेटिएको उनले बताए। जहाँ यो सिलीले साकेलाको मूल भावना बोकेको हुन्छ।

बुढापाकाहरूको भनाइअनुसार, पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुअघि विशेष रूपमा पितृको पूजा गर्ने चलन छ। यो परम्परा पुराना धार्मिक विश्वास र सांस्कृतिक मान्यतासँग गहिरो रूपमा गाँसिएको छ।

खासगरी किरात समुदायमा उँभौली नाच सुरु गर्नुअघि पितृ सम्झेर पूजा गर्ने चलन छ, जसले गर्दा पितृहरू प्रसन्न भएर सन्तति र समुदायलाई आशीर्वाद दिने विश्वास गरिंदै आएको छ।

धरान बान्तावा सिली लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तमणि राईका अनुसार, पितृ पूजाको कार्य नगरी कोसी नदी पार गरेर जानु उचित मानिंदैन भन्ने जनविश्वास अझै रहेको बताउँछन्।

उनी भन्छन् , “पहिले पितृलाई सम्मानपूर्वक सम्झिनु र तिनको आशीर्वाद प्राप्त गर्नु जरुरी हुन्छ, त्यसपछि मात्र अरू धार्मिक र सांस्कृतिक कार्य अगाडि बढाउने चलन छ।”

पूर्वी नेपालका धरान, इटहरी, बेलबारी, विराटचोक, दमक, उर्लाबारी, पथरी, विर्तामोड, काँकडभिट्टा जस्ता क्षेत्रमा साकेलालाई उत्सवका रूपमा मनाउने चलन प्रत्येक वर्ष बढ्दै गएको छ।

राई समुदायको बाक्लो उपस्थिति रहेका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलाम जस्ता पूर्वी पहाडी जिल्लामा पनि साकेला सिलीमा सहभागी हुनेहरू उल्लेख्य छ। राजधानी काठमाडौँमा पूर्वी पहाडबाट बसाइँ सरेका राई समुदायको बाक्लो बस्ती रहेका ठाउँमा साकेला उल्लासपूर्वक मनाइन्छ।

चार किरात (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा वैशाख शुक्ल पूर्णिमालाई बाली रोप्ने समय मानेर उँभौली र मङ्सिर शुक्ल पूर्णिमालाई बाली भित्र्याउने समय मानेर उँधौली पर्व विशेष रूपमा मनाउने परम्परा छ।

लिम्बू, सुनुवार र याख्खा समुदायले उँधौलीलाई भव्य रूपमा मनाउने गरे पनि राई समुदाय भने उँभौलीलाई महत्त्व दिन्छ। उनीहरूले वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म विभिन्न टोलटोलमा झोल, झ्याम्टा बजाउँदै साकेला पर्व मनाउने चलन अहिले पनि बढ्दो छ। मङ्सिर पूर्णिमा अर्थात् उँधौलीका दिन भने राईहरूले साकेला थानमा सिली नाचेपछि पर्व समापन गर्ने चलन छ।

किराँत समुदायको विश्वास अनुसार वैशाख शुक्ल पूर्णिमापछि चराचुरुङ्गी तथा अन्य जङ्गली जनावर उँभो लाग्छन्। यसैगरी नदीका माछा पनि गर्मी छल्न तराईबाट पहाडतिर जान थाल्ने जनविश्वास छ।

मार्गशीर्ष शुक्ल पूर्णिमाको दिन बाली भित्र्याइसकेपछि चिसो छल्न तराई झरेका मानिस पनि फेरि पहाडतिर फर्कन थाल्छन्। यस ‘उँभो लाग्ने’ कार्यलाई राम्रो बाली, समृद्धि र उन्नतिको प्रतीकका रूपमा लिने चलन रहिआएको छ।

किरात समुदायको सांस्कृतिक महत्त्वलाई मान्यता दिंदै सरकारले २०६४ सालमा उँभौली (वैशाख शुक्ल पूर्णिमा) लाई र २०५८ सालमा उँधौली (मङ्सिर शुक्ल पूर्णिमालाई ‘किरात चाड’ घोषणा गरेको थियो। त्यसयता यी पर्वमा सरकारले सार्वजनिक बिदा दिने गरेको छ। सरकारी मान्यतासँगै उँभौली र उँधौली पर्वलाई झनै उत्साहपूर्वक र भव्य रूपमा मनाउने परम्परा बस्दै गएको छ।

- सङ्गीता राई/रासस
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
•
३ मिनेट पाठ
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।




प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५ सेकेन्ड अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस