मुम्बई, फागुन १० (एजेन्सी)- बलिउड अभिनेता सैफ अली खान पुनः विवादमा घेरिएका छन्। खानविरुद्ध एक व्यक्तिमाथि हातपात गरेको आरोपमा स्थानीय पुलिस स्टेसनमा मुद्दा दर्ता भएको छ। मङ्गलबार मुम्बईको वसाबी होटलमा एक व्यक्तिसँग भएको कुटपिटमा सैफमाथि ती व्यक्तिले आफ्नो नाक भाँचेको आरोप लगाएका छन। यसअघि पनि सैफ राजस्थानमा बहुचर्चित कृष्णसारको शिकार मामिलामा विवादमा परिसकेका छन्।
समाचारअनुसार मङ्गलबार उक्त होटलमा इकबाल नामका व्यक्तिसँग सैफको भनाभन भएको थियो। भनाभनपछि सैफले इकबाललाई पिट्न सुरु गरेका थिए। हुन त प्रत्यक्षदर्शीहरूले उक्त मामिलालाई शान्त पारेका थिए। तर पछि इकबालले सैफविरुद्ध मुद्दा दर्ता गराए।