
मुम्बई, चैत ११ (एजेन्सी)-म्याच फिक्सिङमा नाम जोडिएपछि चर्चित बन्न पुगेकी बलिउड अभिनेत्री नुपुर मेहतासँग क्रिकेट सम्बन्धि ज्ञान भने पर्याप्त छ। र अवसर पाए उनी आफ्नो यो ज्ञान बारे बताउन पछि हट्दैनिन्।
हालै एक अन्तर्वार्तामा उनले क्रिकेट बारेको आफनो ज्ञान बाँट्दै भविश्यवाणी समेत गरिन्-अब चाडै नै विराट कोहली भारतीय टिमका कप्तान हुनेछन्।
उनको भविश्यवाणीको आधार भने कोहलीले गत बिहिबार बंगलादेशमा सम्पन्न एसिया कप क्रिकेटका क्रममा पाकिस्तान विरुद्ध बनाएको १ सय ८३ रनको इनिङ!
'कोहलीले १ सय ८३ रनको इनिङ खेले अब उनी पनि भारतीय टिमको कप्तान बन्नेछन्।' भारतीय पिता र कम्बोडियाली माताकी सन्तानले भनिन्,'सौरभ गांगुलीले १ सय ८३ रन बनाए र कप्तान बने, त्यसपछि महेन्द्रसिंह धोनीले १ सय ८३ रन बनाए उनी पनि कप्तान बने, अब कोहलीले १ सय ८३ रन बनाए त्यसै अब उनी पनि कप्तान बन्ने छन्।
लण्डनको एक पत्रिकाले गत वर्ष भारतमा सम्पन्न विश्व कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तान विचको सेमिफाइनल खेल फिक्स भएको र त्यसमा बलिउड अभिनेत्री नुपुर मेहताको संलग्नता रहेको बताएको थियो।
मेहताले त्यस समाचारको खण्डन गर्दै आएकी थिइन्। त्यही क्रममा नुपुर मेहताले लण्डनमा श्रीलंकाली खेलाडी तिलकरत्ने दिलसानसँग भेटेको अर्को समाचार अएको थियो। उनले लण्डनमा गएको बेला आफ्नो भेट दिलसानसँग भएको बताउदै तर म्याच फिक्सिङसँग त्यसको कुनै सरोकार नभएको बताइन्।
'मलाई क्रिकेट र क्रिकेट खेलाडी मनपर्छ। तर म कुनै किसिमको म्याच फिक्सिङमा संलग्न छैन।' १ सय ८३ नको इनिङपछि विराट कोहलीलाई हवाइ चुम्बन दिदै 'आइ लभ यु' भनेकी नुपुरले भनिन्।