
मुम्बई, वैशाख ३० (एजेन्सी)- आमिर खानले सुरु गरेको टेलिभिजन कार्यक्रम सत्यमेव जयतेको पहिलो एपिसोडले निकै चर्चा र प्रशंसा कमाएको थियो। तर त्यसैबीच यसमाथि धून चोरी गरेको आरोप लागेको थियो।
पहिलो एपिसोड प्रसारण भएको साता दिन बित्न नपाउदै त्यस कार्यक्रमलाई लिएर अर्को आरोप लागेको छ। र, यो आरोप कार्यक्रम प्रस्तोता आमिर खानमाथि लागेको हो। यस पटक आरोप बलिउडकी आइटम गर्ल राखी सावन्तले लगाएकी हुन्।
बोल्यो कि विवाद निम्त्याउने सावन्तले आमिरमाथि आफ्नो कार्यक्रमको कन्सेप्ट चोरी गरेको आरोप लगाएकी छिन्।
उनले सन्यमेव जयते वास्तवमा आफूले चलाएको कार्यक्रम इन्साफको नक्कल भएको बताएकी छिन्।
'आमिर प्रोडक्सन हाउसले मेरो कन्सेप्ट चोरी गरेको छ। मेरो सो पनि यस्तै थियो। त्यतिबेला मानिसको दु:ख देखेर म यति दु:खी भएँ कि मलाई डिप्रेसन भयो र अस्पतालमा भर्ना नै हुनुपर्यो।'
'तर दर्शकले निकै साथ दिएकामा मलाई निकै खुसी छ। त्यही भएर नै कार्यक्रमलाई राति अबेर सारिएपछि पनि निकै लोकप्रिय भएको थियो।'
तर राखीले आमिरसँग आफ्नो कुनै गुनासो नभएको बताइन्। 'म निकै खराब समयबाट गुज्रिरहेका बेला आमिरले मलाई सहयोग गरेका थिए।'
आफूले सो लिएर आउँदा मानिसहरूले एउटा आइटम गर्लले के न्याय गर्लिन भन्ने गरेको उनले बताइन्। 'अर्थात् आमिरले गरे समाज सेवा हुने अनि मैले गरे नौटङ्की !'
'किनभने आमिरले आज यो सो लिएर आउँदा यसलाई समाज सेवासँग जोडिएको छ।'
उनले यो कार्यक्रमको आइडिया पनि ओरिजनल नभएको बताइन्। 'किनभने यसमा त्यही सबै देखाइँदैछ, जुन मेरो कार्यक्रममा देखाइएको थियो'- उनले भनिन्।