
मुम्बई, जेठ १३ (एजेन्सी)-बलिउडका बादसाह एवं आइपिएल टोली कोलकता नाइटराइडर्सका मालिक शाहरुख खानले आफूले प्रतियोगिता अन्तर्गत सवाइमान सिंह स्टेडियममा राजस्थान रोयल्स र कोलकता नाइटराइडर्स विचको म्याचका क्रममा धुम्रपान गरेकोमा क्षमा माग्दै त्यसका लागि जरिवाना तिर्न तयार रहेको बताएका छन्।
राजस्थान राज्यको प्रहरीले उनी विरुद्ध आरोप दर्ता गराएको थियो। उनलाई जयपुर अदालतमा शनिबारसम्म उपस्थित हुने सम्मन जारी गरिएको थियो।
केही दिन अघि मात्र भारतमा धुम्रपाान विरुद्धको वाचडग मानिने संस्था नेशनल अर्गनाइजेसन फर टोबाको इरेडिकेसन (नोट)ले शाहरुखले सार्वजनिक स्थलमा धुम्रपान गर्न नपाइने कानुनको पटक पटक उल्लंघन गरेकोमा आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो।
नोटका महा सचिव शेखर सलकारले हालै आइपिएलका अवसरमा राजस्थानमा शाहरुखे गरेको धुम्रपानले उनी आफू एउटा प्रभावशाली व्यक्तित्व भएका नाताले निर्वाह गर्न पर्ने जिम्मेवारी प्रति सजग नभएको संकेत गरेको बताए।