स्मृति सापकोटा
कक्षा – ५,
श्री ताराकुञ्ज सेकेण्डरी स्कुल, पोखरा –१३,कास्की।
अहिले विश्व नै कोरोना प्रकोपसँग जुधिरहेको छ । सन् २०१९ को नोभेम्वर महिनामा चीनको वुहान शहरबाट उत्पति भएको नोबेल कोरोना भाइरस अहिले विश्वभरि नै फैलिएको छ । २०७६ साल माघ ९ गते चीनबाट आएको एक जना विद्यार्थीमा नेपालमा पहिलोपटक कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि फाल्गुन २० गते अर्को व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि नेपालमा कोरोनाको त्रास फैलियो । यसलगतै नेपाल सरकारले पनि विद्यालय तहका सबै परीक्षाहरू चैत्र ५ गतेभित्र सक्नुपर्ने भनेर निर्देशन जारी गरेको थियो । सरकारको निर्देशनअनुसार हाम्रो विद्यालयले पनि २०७६ सालको अन्तिम परीक्षा फाल्गुन २८ बाट सुरु गरेर चैत्र ५ गते समापन गरयो ।त्यतिबेला सबै मानिसहरू डराइरहेका थिए । बजारमा मानिसहरूको आवतजावत निकै कम भएको थियो । शहरमा गुड्ने गाडीहरू निकै कम भइसकेको थियो । हाम्रो अन्तिम परीक्षा सकिएलगतै एसइई परीक्षा रोकिएको खबर सुनियो । चैत्र ११ गतेबाट त सरकारले लकडाउनको घोषणा नै गरयो ।
लकडाउनलाई नेपालीमा बन्दाबन्दी भनिँदो रहेछ । लकडाउन हामी जहाँ छौं त्यहीँ सुरक्षितसाथ बस्ने अनि आवश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने, घरबाहिर निस्कनै परे माक्स र सेनिटाइजरको अनिवार्य प्रयोग गर्ने, भीडभाडमा नजाने, सामाजिक र व्यक्तिगत दूरी कायम गर्ने आदि भन्ने रहेछ ।
पहिलोपटक घरभित्र थुनिएर बस्नुपर्दाको अनुभव मैले कथामा सुनेका र पढेका जेलका कैदीहरूकाजस्तै अनुभव गरें । बुझ्दै जाँदा सरकारले हाम्रै सुरक्षाका लागि लकडाउन गरेको रहेछ । खुला रूपमा बाहिर हिँड्दा कोरोना छिटो सर्ने रहेछ । हाम्रो स्वास्थ्यका लागि हामी आफै सर्तक हुनुपर्दो रहेछ । यही कारण मैले लकडाउनको पूर्ण पालना गर्न थालें ।
लकडाउनको समयमा घरमै बस्दा मैले धेरै कुराहरूको अनुभव गरेँ । यसका अनेकौं फाइदा र बेफाइदा पनि रहेछन् । पहिलाका वर्षहरूमा परीक्षा सकिएपछि नयाँ नयाँ ठाउँहरू घुम्न जान्थ्यौं । इष्टमित्र, साथीभाइसँग भेटघाट गथ्र्यौं तर अहिले लकडाउनका कारण कहीँ पनि जान पाइएन । प्रत्येक वर्ष वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुन्थ्यो । तर लकडाउनले गर्दा विद्यालय खुल्न पाएन । हामीहरू पनि झोलामा नयाँ पुस्तकहरू राखी विद्यालय जान्थ्यौं । तर यो वर्ष अहिलेसम्म घरमै बस्नुपरेको छ ।
लकडाउनले हाम्रो दैनिक जीवनलाई केही असहज बनाएको छ । सबै पेशा, व्यवसाय क्रियाकलापहरू प्रायः ठप्प छ । तर पनि मैले यो समयमा केही नयाँ कुराहरू सिक्ने र गर्ने अवसर पाएँ । यतिबेला मैले घरमा खाना बनाउने, चिया बनाउने, घर सफा गर्ने, कपडा धुनेजस्ता कामहरू सिकेकी छु । त्यसै गरी आमालाई घरको काममा सघाउने गरेकी छु । लकडाउनले गर्दा हामी परिवारका सदस्यहरू सँगै बस्न पाएका छौं । त्यसै गरी मैले कविता लेख्न, मोबाइल, ल्यापटप चलाउन पनि सिकें । यही समयमा मैले फेसबुक एकाउन्ट खोलें । फेसबुकमार्फत साथीहरू र इष्टमित्रहरूसँग कुराकानी गर्छु । यसकारण मलाई केही सजिलो भएको छ । लकडाउनकै कारणले मैले प्रविधिसँग नजिक हुन पाएँ ।लकडाउनले गर्दा विद्यालय खुल्ने अनुकूल वातावरण नभएकाले गर्दा विद्यालयहरूले वैकल्पिक विधिको प्रयोग गरी कक्षा लिन सुरु गरेका छन् । हाम्रो विद्यालयले पनि अनलाइन कक्षा सुरु गरेको छ । आजकल हामीहरू घरमै बसेर अनलाइनमार्फत पढ्छौं । गुरुगुरुआमाहरूले अनलाइनबाट पढाउनुहुन्छ । गृहकार्य दिनुहुन्छ । हामीहरू पनि अनलाइनबाटै गृहकार्य बुझाउछौं । अनलाइन कक्षा सुरु भएदेखि मलाई पनि केही खुसी लागेको छ । विद्यालय जान नपाए पनि घरमै बसेर पढ्न पाएकी छु । मोबाइल र ल्यापटपको प्रयोग गर्न पाएकी छु । शिक्षक र साथीहरूसँग दैनिक रूपमा अनलाइनबाट भेट हुन्छ । हामीहरू सधैं आनन्द लिँदै पढ्छौं ।
आजकल लकडाउन केही खुकुलो भएको छ । मोटरसाइकल र निजी सवारी साधनहरू खुलेका छन् । हामीहरू पनि आवश्यक कामका लागि मात्र भए पनि बजार जान पाएका छौं । आशा गर्दछु – कोरोनाको प्रकोप छिट्टै सकिने छ । लकडाउन पूरै खुल्ने छ र हामी छिट्टै हाम्रो विद्यालयमा गएर पढ्न पाउने छौं।