
मुम्बई, असार २६ (एजेन्सी)- तस्बिरमा मुख छोपेर उभिएकी महिला बलिउडका एक चिरपरिचित अनुहार हुन्। परिवारसँग ताजमहल घुम्न गएकी उनलाई भीडको झमेलाबाट बच्न यही तरिका उपयुक्त लाग्यो। त्यही भएर उनले यसरी अनुहार छोपिन्। सुटुक्क गइन् सुटुक्क फर्किन्।
घुम्ने बेला सुविधै भए पनि पछि उनलाई आफ्नो यो हरकतप्रति पछुतो लाग्यो। टि्वटरमा पोस्ट गरेर उनले पछुतो प्रकट गरिन्। उनी हुन् अभिनेत्री माधुरी दीक्षित।
'ताजमहलमा हुलिया बदलेर परिवारसँग,' ४५ वर्षीया माधुरीले टि्वट गरेकी छिन्। पति श्रीराम माधव नेने र दुई छोरासँग माधुरी ताजमहल गएकी थिइन्। सन् १९९९ मा नेनेसँग बिहे गरी अमेरिकामा बसाइ सरेकी माधुरी अहिले मुम्बईमै बस्छिन्।
बिहेपछि उनले 'आजा नाचले' फिल्ममा काम गरिन् तर, त्यति चलेन। 'झलक दिखला जा' नामक डान्स प्रतियोगितामा निर्णायक बन्दै आएकी उनी यसको पाँचौं सिजन र दुई फिल्म 'गुलाब ग्याङ' र 'इश्किया २'को तयारीमा छिन्।