भिक्षुणीहरुलाई निःशुल्क शिक्षा दिन गायिका आनीछोइङ डोल्माले फर्पिङमा 'आर्यतारा स्कुल' खोलेकी छिन् । फर्पिङ त्यस्तो ठाउँ हो जहाँ आठौँ शताब्दीतिर गुरु पद्मसम्भवले एउटा सिद्धि प्राप्त गरेका थिए । 'अहिले जन्मिएका भए बुद्धले पनि अन्यायविरुद्ध हतियार उठाउँथे होला' भन्ने तर्क गर्ने माओवादी नेता पुष्पकमल दाहालले चुनाव जितेको ठाउँ पनि यही हो।पुष्पकमलले चुनाव जितेपछि फर्पिङमा के परिवर्तन आएको छ आनीले मूल्यांकन गरेकी छैनन् । तर वचन पूरा गर्न नसकेको भन्दै पुष्पकमलले मतदातासामु माफी मागेको चाहिँ उनलाई मन पर् यो । 'फूलको आँखामा फूलै संसार'की गायिकाले मनको दैलो खोलिन् 'आफ्नो गल्ती स्वीकार्नु महानता हो।'
उनलाई पनि लाग्छ देश एक महिना वा एक वर्षमै सुध्रिँदैन । देशको कायापलट भएन भनेर मान्छेहरु हतारिएको देख्दा उनलाई अचम्म लागेको छ । किनभने उनले कतिपय प्रसंगमा नेपालीलाई अति धैर्य पाएकी छिन् । उनी गम्छिन् 'त्यो धैर्यता कता हरायो'

हामीमध्ये धेरैले 'विकास'लाई गलत बुझेको हो कि जस्तो पनि उनी महसुस गर्छिन्। 'भौतिक पूर्वाधार बन्नुमात्र विकास होइन' उनको आफ्नै बुझाइ छ 'मानिसको चेतनस्तर बढ्नु पनि विकास हो । चेतनशील मान्छेले अर्थपूर्ण काम गर्नसक्छ । हामीलाई चाहिएको नै अर्थपूर्ण काम हो।'
भौतिक पूर्वाधारभन्दा मान्छेको चिन्तनशीलतामा उनी जोड गर्छिन् । हाम्रो देशमा अहिले चिन्तनशील मानिसको अभाव छ रे । अहिले २८ जिल्लामा जंगली डढेलो सल्किएको छ । दर्जनौंले ज्यान गुमाइसकेका छन् । आनी भन्छिन् 'अरुको घर जल्यो भने मेरोमा आइपुग्नसक्छ भन्ने सोच मानिसमा विकास हुनुपर्छ।'
संसारका अनगिन्ती देश घुमिसकेकी आनीका नजरमा सबभन्दा असल मान्छे नेपाली नै हुन्। 'विदेशीहरु 'आफ्नोबारे सोच' भन्ने संस्कृतिमा हुर्किएका हुन्छन् भने हामीलाई चाहिँ सानैदेखि अरुलाई दुःख दिनुहुँदैन भनेर सिकाइएको हुन्छ' उनी तुलना गर्छिन् 'बाटो भुलिरहेको मान्छे देख्यौँ भने हामी अरु काम बिर्सेर सहयोग गर्न तयार हुन्छौँ तर विदेशमा चाहिँ मानिसहरु समय छैन भन्दै तर्किन्छन्।'
नेपालमा बुद्ध जन्मिनु र अरु ठूल्ठूला सन्तहरुले पाइला टेक्नुलाई सामान्य ठान्न नहुने उनको आग्रह छ । बुद्ध र सन्तहरुका उर्जा नेपालमा अझै रहेको र त्यसलाई हामीले ठम्याउन नसकेको उनी दावी गर्छिन् । 'धेरै विदेशीहरु यतै बस्न आउनुको कारण यही हो' आनीले भनिन्।
विदेशिने नेपालीलाई स्वदेश फर्किनू भनेर उनी कर गर्ने पक्षमा छैनन् । तर उनको एउटा इच्छा सम्म हो नेपालीहरु देशमै रहे राम्रो । उनी कारण खुलाउँछिन् 'मान्छे नभएको घरमा धूलोमैलो जम्छ फोहोर हुन्छ । मान्छे भयो भने घरको चमक बढ्छ ।'
नेपालीहरुमा देखिएको एउटा नयाँ रोग हो निराशा । देशको गोलमटोल हालतले पनि यस्तो स्थिति सिर्जना भएको हुनसक्छ । तर आनी भने अर्कै कारण औल्याउँछिन् 'जब मानिसको दिमागमा 'छैन' भन्ने सोच आउँछ तब निराशा पलाउँछ। 'त्यसैले हामी सन्तोषी हुनुपर्ने' आनीको सुझाव छ।
निराशासँगै जोडिने प्रसंग दुःख हो । आनीसँग दुःखको समेत भिन्न परिभाषा छ । 'मानिसले नचाहेको काम गर्नुपर् यो भने त्यो दुःख हुन्छु आनीले उदाहरण दिइन् 'मानिसहरु हेल्थक्लबमा खुसी साथ कति गह्रौ भारी बोक्छन् तर उसलाई त्यति नै भारी उसको इच्छाविपरीत बोक्न लगाइयो भने त्यो दुःख हुन्छ।'
सहरमा मन्दिर धाउनेको संख्या बढेको छ। एकप्रकारका मानिसहरु भने धर्म गर्न मन्दिर नै जानुपर्दैन भन्छन् । तर आनी चाहिँ ध्यान र आराधनाका लागि मठमन्दिरको वातावरण नै रुचाउँछिन् । बरु उनलाई मानिसहरुले भगवानसँग क्षणिक वर मागेको चित्त बुझको छैन । भन्छिन् 'मानिसहरु भगवानसँग सानातिना वस्तुका लागि भाकल गर्छन् तर दीर्घजीवी ज्ञान र सद्गुण माग्दैनन्।'
इराकका शासक सद्दाम हुसैन खाल्डोमा लुकिरहेको दृश्य उनी कहिल्यै बिस्रदिनन् । मान्छेलाई आफ्नो ज्यानको माया कुन हदसम्म हुन्छ भन्ने त्यो घटनाले प्रष्ट पारेको उनको निष्कर्ष छ । त्यसैले अरुको बाँच्ने अधिकार हनन गर्नुलाई उनी सबभन्दा ठूलो पापको संज्ञा दिन्छिन् । उनी सजग गराउँछिन् 'आज कसैलाई मार् यो भनेर खुसियाली मनाउनु हुँदैन भोलि उसकै शाखासन्तान आएर मार्नसक्छ।'
आध्यात्मका उनी हितैषी हुन् तर भौतिकवादलाई गाली पनि गर्दिनन् । तैपनि भौतिक वस्तुलाई नै संसार ठान्ने मानसिकताको चाहिँ विरोध गर्छिन् उनी । आध्यात्म र भौतिकतालाई सन्तुलित बनाउनु उचित हो भन्दै उनले खुलस्त पारिन् 'कमलको फूल हिलोमा फुल्छ तर हिलोले त्यसलाई छुँदैन।'
राजनीतिक घेरो मात्र होइन पूरै समाज एकअर्काको आलोचना गर्ने प्रवृत्तिले सिकिस्त छ । गाली गर्नेहरुले 'आफू कति सक्षम छु' कहिल्यै सोच्दैनन् । अरुको राम्रो काममा रमाउन सिक्नुपर्छ भन्दै आनी अनुरोध गर्छिन् 'अँध्यारोलाई गाली गर्नुभन्दा एउटा दियो बाल्नु बेस।' र यसलाई व्यवहारमा उतार्ने काम उनी आफैबाट सुरु भइसकेको छ । नेपालमा पहिलोपटक बिजुली बलेको फर्पिङमा आनीका विद्यार्थीहरु ज्ञानको दियो बाल्दैछन्।