निर्मल रमण पराजुली
आस्था श्रद्धाको एक थुङ्गा फूल बोकेर
विश्वाशका पाइलाहरू
जब मन्दिरको सिँढी चढ्न थाले
दुईचार सिँढी उक्लिएपछि
श्रद्धा आस्थामा पहिरो जान थाल्यो
मनले पहिरो रोक्न इन्द्रियहरूलाई
आदेश नदिएको होइन
तर,
अनगिन्ती प्रयास व्यर्थ भय
जब पहिरो रोकियो
मैले इन्द्रियहरूको नेता मनलाई सोधे
हे मन,
म पवित्र ठाउँमा छु
जहाँ भगवान् बस्छन्
जहाँ पुगेपछि पहिरो अनायास शान्त हुन्छ
मनले तत्काल जवाफ दियो
तिमी जहाँ श्रद्धा आस्थाको
फूल बोकेर उभिएका छौ
त्यहाँ भगवान् होइन
ढुङ्गे मन छ
अनि
कठोरताको आभास दिन्छ
जसले तिम्रो पुकार सुन्दैन
अझ भनौ
कसैको पनि पुकार सुन्दैन
न गोमाको सुनेको थियो न पतिव्रता वृन्दाको
अबोध बालिका सँग छलकपट गरी
जग्गे घुम्ने अनि दुखकष्टमा होमिदिने
शिव भगवान् हुन सक्दैनन्
युद्ध जित्न नसकेर छलकपटद्वारा नै
विभिन्न भेष धारण गरी
एउटी नारीको अमूल्य सम्पत्ति
पतिव्रता धर्म नस्ट गरिदिने
विष्णु भगवान् हुन सक्दैनन्
सुन
तिमी र तिम्रो समाज
मानवीयता र सदभावको पर्खाल भत्काएर
अशान्ति र अराजकताको मार्गमा नलाग
भन्नाका खातिर तिम्रा पुर्खाले
रचित अनि मन्चित
एउटा सुन्दर नाटक थियो
जसका पात्र थिए
शिव
विष्णु
अनि ब्रम्हा
फेरि मनले भन्यो
भगवान् त तिमी आफै हौ
जस्को सत्कर्मले
गाउँ समाज अनि राष्ट्र समुन्नत बन्न सक्छ
जसको सदभावले
भाइचाराको माला गुथ्न सक्छ
जसको मित्र भावले अशान्ति र अराजकताको
अन्त्य गरी
बुद्धको आँखाबाट
शान्तिको शीतलता सिँच्न सक्छ
आफूभित्रको भगवान् चिन
श्रद्धा – आस्थाको एक थुँगा फूल
आफैले आफैलाई चढाऊ
तिमी नै भगवान् हौ ।