महेन्द्र चालिसे
बिदाका दिन स्वास्थ्यमन्त्री जिल्ला निरीक्षणमा निस्किएका थिए। दिनभरि जिल्लामा गएर केके निरीक्षण गरे उनै जानून् किनकि बिदाको दिन थियो। फर्कदा राति ढिलो भयो।
बिच बाटोमा आएपछि उनको गाडी दुर्घटना भयो र उनी जीवनमृत्युको दोसांधमा संघर्षरत सरकारी अस्पताल ल्याइयो।
सरकारी अस्पताल त्यसमा पनि बिदाको दिन झन्डैझन्डै मध्यरात। डाक्टरसाब अस्पतालमा कार्यरत इन्टर्न डाक्टरहरूलाई सबै जिम्मा दिएर खै कता हुन। न घरको ल्यान्डलाइन उठ्छ न त मोबाइल नै।
मन्त्रीज्यूको स्वास्थ्य झन्झन् नाजुक हुँदै गइरहेछ र उनलाई तुरुन्तै अप्रेशन थिएटरमा लग्नुपर्छ तत्कालीन उपस्थित इन्टर्न डाक्टरहरूको प्रारम्भिक जाँचमा।
अस्पताल प्रशासन विषेशज्ञ डाक्टरहरूलाई सम्पर्क गर्न थाल्छन्, अहँ कोही पनि डाक्टरसंग सम्पर्क हुन सक्तैन। सबैको फोन स्विच अफ आइरहेको छ। सायद बिदाको रमझम लागेर मस्त निन्द्रामा छन् कि।
उता मन्त्रीजीको स्वास्थ्य स्थिति झन्झन् नाजुक हुन थालिसक्यो। उनी मृत्यु र जिन्दगीको बिचमा रस्साकस्सी गर्दैछन् र लाग्छ कुनै पनि बेला उनीमाथि मृत्युले विजय प्राप्त गर्छ।
उनको यो स्थिति हेरिरहेका इन्टर्न डाक्टरहरू के गर्ने के नगर्नेको स्थितिमा छन्। उनीहरूलाई थाहा छ । यदि तुरुन्तै अप्रेसन नगरे मन्त्रीजीको इहलीला सकिन्छ र तीमध्ये केहीलाई विश्वास पनि छ उनीहरू अप्रेशन गर्न सक्षम छन् तर अप्रेशन गर्ने अधिकार उनीहरूसँग छैन। त के त अधिकार प्राप्त चिकित्सकको अनुपस्थितिमा उनीहरू एउटा जीवनको अन्त्य भैरहेको टुलुटुलु हेरेर बस्ने जुन उनीहरूको अन्तरआत्माले मानिरहेको थिएन तर पदीय दायित्वले त्यो दृष्य हेर्न बाध्य पारिरहेको थियो।
अनुष्टुति, हो डाक्टर अनुष्टुति अलि विद्रोही स्वाभाविक इन्टर्न। उसले आफ्नो तीन महिने इन्टर्न अवधिमा यसै अस्पतालको अप्रेशन थिएटरमा विभिन्न सर्जन डाक्टरहरूलाई दश ओटा जति अप्रेशनमा सघाइसकेकी थिई। हो ऊ अब यो कारुणिक दृष्य हेर्ने पक्षमा भइन् र उसले अप्रेशन थिएटरमा त्यस दिन डयुटी हुने नर्सहरूलाई तुरुन्तै अप्रेशनको तयारी गर्न लगाई र मन्त्रीजीको अचेत शरीरलाई थिएटरमा लैजान भनी।
उसको यो दुस्साहशप्रति उसका साथीहरूले साथ दिएनन् र ऊ एक्लै केही नर्सहरूको सहयोगमा मन्त्रीजीको अप्रेशन गर्न थाली। डेढ दुई घन्टाको अथक प्रयासपछि ऊ अप्रेशन गरेर मन्त्रीजीको जीवन बचाउन सफल भई र मन्त्रीजीलाई अप्रेशन थिएटरबाट पोस्टअप वार्डमा सारेर ऊ आराम गर्न गई।
भोलिपल्टको अखबार, टेलिभिजन लगायत सामाजिक संजालमा डाक्टर अनुष्टुतिको तारिफ र त्यस अस्पतालका विशेषज्ञ डाक्टरहरूको विरोधमा टन्नै समाचार छापिएको थियो। मन्त्रीजी पनि होसमा आइसकेका थिए । उनले अघिल्लो दिनको घटना सबै थाहा पाइसकेका थिए र डाक्टर अनुष्टुतिलाई बोलाएर आभार व्यक्त पनि गरेका थिए। भविष्यमा कुनै समस्या परेमा तुरुन्तै समाधान गर्ने आश्वासनसहित।
यता अस्पताल प्रसाशन भित्रभित्रै कुनै खिचडी पाक्कै थियो। एकातिर मन्त्रीजीको ज्यान बचाइएकोमा अस्पतालको ख्याति बढिरहेको पनि थियो।
एक हप्तापछि मन्त्रीजी अस्पतालबाट डिस्चार्ज भएर गए। मन्त्रीजीकै आदेशबमोजिम अस्पतालले अर्को हप्ता डाक्टर अनुष्टुतिको सम्मानमा एउटा कार्यक्रम गर्ने योजना बनायो र जसमा मन्त्रीजी स्वयं उपस्थित हुने योजना थियो।
निर्धारित समयमा कार्यक्रम आयोजना गरियो जहाँ सबै वक्ताले डाक्टर अनुष्टुतिको मुग्धकण्ठले प्रशंसा गरे र उनको उज्ज्वल भविष्यको कामना गर्दै बधाई दिदै गए।
कार्यक्रमा अन्त्यमा स्वास्थ्यमन्त्रीजीले डाक्टर अनुष्टुतिलाई आफ्नो ज्यान बचाइदिएकोमा धेरैधेरै धन्यवाद दिदै उनको उज्ज्वल भविष्यको सफलताको कामना गर्दै आफूले सक्दो सरसहयोग गर्ने वचनसहित एउटा दोसल्ला ओढाएर उनको हातमा दुईवटा बन्द खाम राखिदिदै पुन धन्यवाद दिदै उनीप्रति अनुग्रहित छु भनेर बिदा भए।
डाक्टर अनुष्टुतिले मन्त्राजीले दिएको खाम खोलिन्। एउटा खाममा अनुष्टुतिको सफलतामा प्रसन्न हुँदै मन्त्रालयले पचास हजार रुपैयांको नगद पुरस्कारसहित प्रशंसापत्र थियो भने अर्को खाममा मन्त्रालयको निर्णय भनेर लेखिएको एउटा पत्र थियो। जसमा लेखिएको थियो, “डाक्टर अनुष्टुति, फलानो मितिमा तपाई एउटा इन्टर्न डाक्टर भएर अख्तियारी र अधिकारबिना बिनासम्बन्धित अधिकारीको आदेश अप्रेशन थिएटरमा गम्भिर विरामीको अप्रेशन गर्ने दुस्साहस गर्नुभएकोले भविष्यमा तपाईले डाक्टरी पेशा गर्न नपाउने गरी तपाईलाई निस्कासन सहित कारबाही गरिएको छ र तपाईका चिकित्सासम्बन्धी सम्पुर्ण डिग्री खोसिएको छ। हालसम्मको तपाईको सेवालाई धन्यवाद !’