तुलसीराम खरेल
गाउँलेहरूले एकमतले काजी कुलबहादुरलाई मुखिया चुनिदिए। यसो गर्छु उसो गर्छु भन्ने काजीको धोखो ठूलै थियो।कतिजना उनको कुरोलाई हावा कुरो भन्थे। धेरै जनाचाहिँ ठूला मान्छेसँग बसउठ छ । काम त यस्तैले गर्छन् भन्थे। गफ गरेर लठ्याउने गफाडी उनको हुलिया बन्न थालिसकेको थियो।
समय बित्न थाल्यो । काजी कुलबहादुरका नकली कुराहरूको वास्तविकता बिस्तारै धेरैले बुझ्न थालिसकेका थिए।गाउँको खेतमा लाग्ने कुलो सुक्न लाग्या थियो । खेती गर्न धेरैले छोडिसकेका थिए । बेरोजगार युवाहरू कुलतमा फसिरहेको देखिन्थ्यो। अनिकाल लागेको बेला बाँडीचुँडी खाने पुरानो चलन हराएको कारण भाइचारा सम्बन्ध थिएन। रिस उठेको मान्छेलाई ठेलेर भित्तामै पुरयाइदिने चलन हुन थालेको थियो गाउँमा।
गाउँलेहरू मिलेर मुखिया परिवर्तन गर्न कसरत सुरु गरे। कसरत हुन थाल्यो कुलबहादुरले सुनिहाले। अब उनी पनि विभिन्न प्रलोभनको पोको बोकेर गाउँ पसे। गाउँलेहरूको एउटा हुद्दाले कुलबहादुरलाई खेदायो। कुलबहादुर रुखमाथि चढे। धमिराले खाइसकेको रुख गर्ल्याम्मै ढल्यो। कुलबहादुरका हातखुट्टा भाँचिएर थला परे। घरमै कुँजिएर बसे। उनको पुरानो घरको बार्दलीबाट हेर्दा आँटिलो अर्को मुखियाले गाउँलेको सहयोगले बनाएको कलकल बगिरहेको कुलो र फराकिलो बाटो टल्केको प्रष्ट देखिन्थ्यो।